परमेश्वरको राज्य प्रचारकार्य —एउटा अनमोल सुअवसर
१ दिनहुँ, पृथ्वीका अरबौं बासिन्दाहरूले जीवनको लागि परमेश्वरले दिनुहुने प्रचुर प्रबन्धहरूबाट लाभ उठाउँछन्। (मत्ती ५:४५) तथापि, कमैले मात्र परमेश्वरको राज्यको सुसमाचार प्रचार गरेर आफ्नो सृष्टिकर्ताप्रति मूल्याङ्कन देखाउने अनमोल सुअवसर पाउँछन्। (मत्ती २४:१४) यस अनमोल सुअवसरको तपाईं कत्तिको मोल गर्नुहुन्छ?
२ परमेश्वरको राज्य प्रचारकार्यले उहाँको आदर गर्नुका साथै वर्तमान भद्रगोल समयको कारण निराशित मानिसहरूलाई आशा र शान्ति प्रदान गर्छ। (हिब्रू १३:१५) यस सन्देश स्वीकार्नेहरूले अनन्त जीवन पाउँछन्। (यूह. १७:३) कुन सांसारिक पेसाले यस्ता लाभहरू दिन्छ? प्रेरित पावलले आफ्नो सेवकाईप्रति देखाएको मूल्याङ्कन उनको सेवकाईमा प्रस्टै झल्किन्थ्यो। उनले सेवकाईलाई अमूल्य धन ठान्थे।—प्रेरि. २०:२०, २१, २४; २ कोरि. ४:१, ७.
३ हाम्रो अनमोल सुअवसरप्रति कृतज्ञता देखाउने: प्रचार गर्ने यस सुअवसरप्रति कृतज्ञता देखाउने एउटा तरिका आफ्नो सेवकाईको गुणस्तरमा ध्यान दिनु हो। के हामी हाम्रो कुरा सुन्नेहरूको हृदय छुने प्रस्तुतिहरू तयार पार्न समय निकाल्छौं? के हामी धर्मशास्त्र चलाउने र मानिसहरूसित तर्क गर्ने आफ्नो सीपलाई तिखार्न सक्छौं? के हामी आफूलाई खटाइएको इलाका पूरै ढाक्छौं? के हामी बाइबल अध्ययन सुरु गर्न र सञ्चालन गर्न सक्छौं? विगत र वर्तमानका विश्वासी मसीहीहरू जस्तै हामी पनि यस क्रियाकलापलाई उचित दृष्टिकोणले हेर्छौं र यस सुअवसरको कदर गर्छौं।—मत्ती २५:१४-२३.
४ बुढेसकाल, बिमारी वा अन्य कठिन परिस्थितिको बावजुद सेवकाईमा भाग लिन तपाईंले गर्नुभएको अथक प्रयासहरूलाई मूल्याङ्कन गरिन्छ भनी थाह पाउँदा पक्कै पनि आश्वासनदायी हुन्छ। यहोवाको सेवा गर्न गरिएका यस्ता प्रयासहरूको उहाँ मोल गर्नुहुन्छ भनी परमेश्वरको वचनले हामीलाई आश्वासन दिन्छ साथै अरूको दृष्टिकोणमा सामान्यजस्तो देखिने प्रयासलाई समेत परमेश्वर मूल्यवान् ठान्नुहुन्छ।—लूका २१:१-४.
५ परमेश्वरको राज्यको प्रचार गर्नु ठूलो सन्तुष्टिको स्रोत हो। एक जना ९२ वर्षीया बहिनीले यसो भनिन्: “आफू परमेश्वरको सेवामा समर्पित भएर बिताएको ८० वर्षलाई फर्केर हेर्न पाउनु कत्रो ठूलो सुअवसर हो अनि मलाई कुनै पछुतो पनि छैन! म फेरि बाँच्न पाएँ भने आफ्नो जीवन यसरी नै बिताउने छु। किनभने, ‘परमेश्वरको करुणा जीवनभन्दा उत्तम छ।’ ” (भज. ६३:३) परमेश्वरबाट पाएको यस अनमोल सुअवसर अर्थात् परमेश्वरको राज्य प्रचारकार्यलाई हामी पनि अमूल्य धन ठानौं।