प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
भाग १२: विद्यार्थीहरूलाई बाइबल अध्ययन सुरु र सञ्चालन गर्न मदत दिने
१ बाइबल विद्यार्थीहरू क्षेत्र सेवकाईमा भाग लिन थालेपछि आफ्नै बाइबल अध्ययन सुरु र सञ्चालन गर्ने कुरा सोच्दा मात्रै पनि उनीहरूको मुटु ढुकढुक हुन थाल्न सक्छ। हामी कसरी उनीहरूलाई आफ्नो सेवकाईको यस महत्त्वपूर्ण पक्षमा निर्धक्क बनाउन सक्छौं?—मत्ती २४:१४; २८:१९, २०.
२ बप्तिस्मा अप्राप्त प्रकाशक हुँदासम्ममा बाइबल विद्यार्थीले ईश्वरतान्त्रिक सेवकाई स्कूलबाट सम्भवतः पूरापूर लाभ उठाइसकेका हुन सक्छन्। असाइनमेन्ट तयारी र प्रस्तुत गर्ने प्रशिक्षण पाएर उनी “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला” हुन चाहिने शिक्षण कलामा खारिंदै जान्छन्।—२ तिमो. २:१५.
३ उदाहरणद्वारा सिकाउनुहोस्: येशूले चेलाहरूलाई स्पष्ट निर्देशन दिनुभएर अनि आफैले असल उदाहरण बसाल्नुभएर प्रशिक्षण दिनुहुन्थ्यो। उहाँले भन्नुभयो: “हरेक निपुण भएपछि आफ्ना गुरु जत्तिकै हुनेछ।” (लूका ६:४०) तपाईंले पनि येशूले जस्तै सेवकाईमा असल उदाहरण बसाल्नुपर्छ। विद्यार्थीले सेवकाईमा तपाईंको उदाहरण देखेपछि बाइबल अध्ययन सुरु गर्ने मनसाय राखेर पुनःभेट गर्नुपर्ने रहेछ भनेर बुझ्नेछन्।
४ बाइबल अध्ययनको प्रस्ताव राख्दा, यस अध्ययनको प्रबन्धबारे घरधनीलाई सबै कुरा बताइरहनु पर्दैन भनेर आफ्नो विद्यार्थीलाई बुझाउनुहोस्। प्राय अध्ययन गरिने प्रकाशनको एक वा दुई अनुच्छेद मात्र चलाएर बाइबल अध्ययन कसरी गरिन्छ भनी घरधनीलाई देखाउनु राम्रो हुन्छ। यस विषयमा मदतकारी सुझावहरू हाम्रो राज्य सेवकाई-को यसै अंकको पृष्ठ ८ र जनवरी २००२, पृष्ठ ६ मा पाउन सकिन्छ।
५ मिल्छ भने, विद्यार्थीलाई आफूसित वा अर्को अनुभवी प्रकाशकसित बाइबल अध्ययनहरूमा जान निम्त्याउनुहोस्। उनलाई कुनै अनुच्छेदमा वा मुख्य शास्त्रपदबाट टिप्पणी गर्न लगाउन सक्नुहुन्छ। यसो गर्दा, प्रगतिशील बाइबल अध्ययन सञ्चालन कसरी गर्न सकिने रहेछ भनी विद्यार्थी आफैले हेरेर धेरै कुरा सिक्नेछन्। (हितो. २७:१७; २ तिमो. २:२) उनको प्रशंसा गर्नुहोस् र उनले कसरी उन्नति गर्न सक्छन् बताउनुहोस्।
६ बप्तिस्मा अप्राप्त नयाँ प्रकाशकहरूलाई परमेश्वरको वचनको शिक्षक हुन प्रशिक्षण दिंदा उनीहरू बाइबल अध्ययन सुरु र सञ्चालन गर्ने “सुकर्म[को]” लागि सुसज्जित हुनेछन्। (२ तिमो. ३:१७) “जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्” भन्ने यो मायालु निमन्त्रणा दिने काममा उनीहरूसित हातेमालो गर्न पाउँदा कत्ति ठूलो सन्तुष्टि पाइन्छ।—प्रका. २२:१७.