बाइबल प्रकाशनहरू सदुपयोग गरौं
१, २. थुप्रै मानिसहरू हाम्रो प्रकाशनलाई कस्तो ठान्छन् र कुन प्रश्न खडा हुन्छ?
१ एक व्यक्तिले हाम्रो मुख्यालयलाई यस्तो पत्र लेखे, “सन् १९६५ देखि नै मैले तपाईंहरूका प्रकाशन पढ्दै आएको छु। पढ्दा बाइबल पनि पल्टाउने गर्छु र सबै कुरा बाइबलकै हुन्छ। नढाँटी भन्नुपर्दा, बाइबल र तपाईंहरूका प्रकाशन पढेर नै परमेश्वर र येशूबारे साँचो कुरा थाह पाउँदैछु। मैले चाहेको कुरा पनि यही थियो।” उनले यसै पत्रमा बाइबल अध्ययनको अनुरोध पनि गरेका छन्।
२ उक्त व्यक्तिजस्तै विश्वभर लाखौं मानिसहरू “विश्वासी र बुद्धिमान दास[ले]” दिएका बाइबल प्रकाशनहरू पाएकोमा आभारी छन्। (मत्ती २४:४५) हरेक वर्ष, धेरै प्रकाशनहरू छापिन्छन्। किन? स्वच्छ हृदयका मानिसहरू “सत्यको ज्ञानमा आऊन्” भनेर। (१ तिमो. २:४) त्यसैले, हामीले बाइबल प्रकाशन सदुपयोग गर्नुपर्छ। तर कसरी?
३. प्रकाशनहरू खेर नफाल्न के गर्न सक्छौं?
३ खेर नफालौं: कतै पुस्तक-पुस्तिका घरमा थन्को लागिरहेको छ कि! ती अनमोल प्रकाशनहरू त्यतिकै खेर नफाल्न के गर्ने? विचार पुऱ्याई चाहिने जति मात्र मण्डलीबाट लैजाऔं। एकैचोटि घरमा थुप्रिनेगरि लानुभन्दा एक-दुइटा लाँदै-चलाउँदै, लाँदै-चलाउँदै गरौं। यसो गर्दा, घरमा थाक लाग्ने कुरै भएन। अनि पत्रिका पनि चाङ लागेको छ भने अर्डर घटाइ हाल्नु बेस होला।
४. मण्डलीमा थुप्रिएको पुराना प्रकाशनहरू के गर्न सकिन्छ?
४ पुराना प्रकाशनहरू के गर्ने? आफ्नो मण्डलीमा थुप्रिएका केही पुराना प्रकाशनहरू अरू मण्डलीलाई चाहिएको हुन सक्छ। साहित्य संयोजकले यो कुराको सोधखोज गर्नुपर्छ। ती प्रकाशनहरू प्रकाशकहरूले आफन्त, बाइबल विद्यार्थी र अरूलाई पनि दिन सक्छन्। नयाँ व्यक्तिहरूसित ती पुराना प्रकाशनहरू छैन होला। उनीहरूले पाएमा रमाई-रमाई लानेछन्।
५. हामी कसरी प्रकाशनहरूप्रति मूल्याङ्कन देखाउन सक्छौं?
५ असल मानिसहरूलाई यहोवाको अद्भुत उद्देश्य सिकाउनु नै हाम्रो प्रकाशनको मुख्य ध्येय हो। हामी यही चाहन्छौं पनि। जसरी येशूले भीडलाई खुवाइसकेपछि उब्रेको खानेकुरा खेर फाल्न दिनुभएन, हामीले पनि बाइबल प्रकाशनहरू खेर फाल्नु हुँदैन। (यूह. ६:११-१३) हाम्रा प्रकाशनहरूले जीवनदायी सन्देश बोकेका हुन्छन्। एकछिन सोचौं त! ती प्रकाशन घरमै त्यसै थन्किरहेका छन् भने के त्यो अमूल्य सन्देश असल मानिसहरूले पाउलान्? तसर्थ, चाहिने जति मात्र प्रकाशन लैजाऔं र अरूको हितमा सदुपयोग गरौं।