के तपाईं हाम्रा प्रकाशनहरूको मोल गर्नु हुन्छ?
१ हीरा र अन्य किम्मती पत्थरहरू तिनीहरूको सौन्दर्यको कारण मात्र बहुमूल्य भएका होइनन्। बरु, तिनीहरूलाई खोज्न र खनेर निकाल्नमा पनि धेरै नै खर्च भएको हुनाकारण ती बहुमूल्य भएका छन्। यहोवा र येशू ख्रीष्टको ज्ञान अझ धेरै नै मूल्यवान हो। ती आत्मिक धनराशिलाई तिनको गहनता र ईश्वरीय बुद्धिका साथ प्रस्तुत गर्ने काम संसारभरिमा हाम्रा प्रकाशनहरूले मात्र गर्दछन्। (रो० ११:३३; फिलि० ३:८) हामीले आफ्ना प्रकाशनहरूका लागि साँचो मूल्याङ्कन कसरी प्रदर्शन गर्न सक्छौं?
२ कतिपय व्यक्तिहरू र परिवारहरूले राज्य सभा-गृहमा जाँदा त्यहाँ राखिएका कुनै एउटा चन्दा बाकसमा खसाल्नका निम्ति नियमित रूपमा चन्दा छुट्ट्याएर राख्ने गर्दछन्। हाम्रा प्रकाशनहरूका लागि आम जनताबाट लिइने चन्दाले ती प्रकाशनहरू तयार गर्नमा लागेको जम्मा खर्चलाई अलिकता पनि ढाक्तैन। अतः, व्यक्तिहरू र मण्डलीहरूले सोसाइटीलाई राज्य सम्बन्धी कामका लागि चन्दा दिने गर्दा, त्यसले अझ बढी प्रकाशनहरूको उत्पादन गर्नमा मद्दत पुऱ्याउँछ।
३ हाम्रा बहुमूल्य प्रकाशनहरूका लागि मूल्याङ्कन प्रदर्शित गर्ने एउटा अर्को तरीका, तिनलाई पाउना साथै पढनु र अध्ययन गर्नु हो। हाम्रा पुस्तकहरू र पत्रिकाहरूमा जीवनदायी आत्मिक आहार हुन्छन्। यसलाई उपभोग गर्ने काम स्थगित गर्नुको सट्टा, सो कार्य तुरुन्तै गरी हाल्नु उचित हुनेछ। वाचटावर पत्रिकालाई सकेसम्म चाँडै पढने कोशिश गर्न सकिन्छ। पछि मण्डलीको सभामा त्यसलाई अध्ययन गर्ने समयका लागि नपर्खनु होस्। प्रकाशनसित राम्रो गरी परिचित भयौं भने, तिनलाई घरघरमा जाँदा प्रस्तुत गर्न हामी अझ निपुण हुनेछौं। यहोवाले विश्वासी र बुद्धिमान दासद्वारा दिनु हुने प्रकाशनहरूका लागि मूल्याङ्कन व्यक्त गर्ने तेस्रो तरीका, सो प्रकाशनहरूलाई आ-आफ्ना घरहरूमा हिफाजत गरेर राख्नु र सावधानीपूर्वक प्रचार-क्षेत्रमा लैजानु हो। (मत्ती २४:४५) के हामीले आफूसित भएका प्रकाशनहरूलाई घरमा सफा-सुग्घर, कुनै एउटा बन्द आलमारीमा अथवा सुखा ठाउँमा राख्ने गर्छौं? सेवकाईमा जानुअघि के हामीले होसियारीका साथ आ-आफ्ना ब्याग तयार पार्छौं? अर्थात् पुस्तकहरू अथवा पत्रिकाहरू ब्यागभित्र हाल्दा वा ब्यागबाट बाहिर निकाल्दा, तिनीहरू नफाटोस् अथवा तिनमा कुनै दाग नलागोस् भनेर के हामी होसियार छौं? होसियार भयौं भने, हामीसित भएका प्रकाशनहरू सधैं नै सफा-सुग्धर रहनेछ र यहोवाका साक्षीहरूको हैसियतमा हामीले आफूलाई उचित ढङ्गमा प्रस्तुत गर्न सक्नेछौं।
४ राज्य सभा-गृहको अथवा हाम्रो घरको आलमारीमा थन्काइ राखिएका प्रकाशनहरूले त्यसको उद्देश्य पूरा गरिरहेको हुने छैन नता कसैले त्यसको मोल गर्न पाउँनेछ। पुराना पुराना पत्रिकाहरू, ब्रोश्यरहरू, पुस्तकहरू र पर्चाहरूको पनि सदुपयोग गर्नु पर्दछ। आफूसित भएका प्रकाशनहरूको गणना हामीले आखिरी पटक कहिले गरेका थियौं? थुप्रिएका प्रकाशनहरूलाई देखेर सायद हामी छक्क पर्यौं होला। हामीसित भएका प्रकाशनहरू अझ पनि के राम्रै अवस्थामा छन्? कतै ती पुराना भएर रङ्ग उडेका, फाटेका वा फोहर भएका त छैनन्? छैनन् भने, हामीले तिनलाई प्रचार कार्यमा वितरण गर्ने हर कोशिश गर्नु आवश्यक छ। नोक्सान भएका प्रकाशनहरूलाई व्यक्तिगत प्रयोगका लागि राखे हुन्छ अथवा त्यसलाई उचित रूपमा फाली दिए पनि हुन्छ। हाल प्रस्तुत गरिने प्रकाशनहरूमै विशेष ध्यान दिने गरे तापनि, हामीले कुनै कुनै बेला चाहिं एउटा बेग्लै प्रकाशन प्रयोग गर्ने फैसला गर्न सक्छौं।
५ वितरणका लागि तपाईंलाई खास कति जति प्रकाशनहरू चाहिन्छ? सो राम्रोसित विचार गर्नु होस्। यसबारे ठीक अन्दाज लगाउनु जरुरी छ। आफूसित पर्याप्त मात्रामा प्रकाशनहरू हुनु आवश्यक छ। विशेष गरी तपाईं अग्रगामी सेवामा हुनुहुन्छ भने। तर यसको अर्थ आफूसित अति नै धेरै मात्रामा प्रकाशनहरू राख्नु होइन, किनकि राज्य सभा-गृहमा, सभाको अघि र सभापश्चात थप प्रकाशनहरू प्राप्त गर्न सकिन्छ। महिनाको सुरुमा आफूलाई चाहिन्दो जति मात्र प्रकाशनहरू लिनु होस् र यी समाप्त हुँदै जाँदा, अझ लिने गर्नु होस्।
६ परमेश्वरको सत्य वचनको मूल्याङ्कन गर्ने मानिसहरूका हातमा हाम्रा प्रकाशनहरू पर्दा, ती अति नै बहुमूल्य साबित हुन्छन्। हामी सबैले नै उपलब्ध प्रकाशनहरूको प्रयोग बुद्धि र विवेकका साथ गर्ने गरौं। यस प्रकार, हाम्रा प्रकाशनहरूको हामीले कुन हदसम्म मोल गर्दछौं, सो देखाउन सक्ने छौं।