बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्ययनबाट मजा लिनुहोस्
१ “ईश्वरीय आज्ञाकारिता” जिल्ला अधिवेशनमा बाइबलले वास्तवमा के सिकाउँछ? किताब विमोचन हुँदा उपस्थित सबै दंग थिए। अब चाँडै हामी क्षेत्र सेवकाईमा अक्सर यही किताब चलाउनेछौं। विशेष गरी बाइबल अध्ययनमा। त्यसैले, यो नयाँ किताबसित राम्ररी परिचित त हुनैपऱ्यो। परिचित हुने मौका हामीसित छ किनभने अप्रिल १७, २००६ को हप्तादेखि यस किताबबाट मण्डली पुस्तक अध्ययन हुनेछ।
२ पुस्तक अध्ययन निरीक्षकले अध्यायको सुरुमा दिइएका प्रश्नहरूतिर ध्यान खिंच्नेछन्। त्यसपछि, पृष्ठको तल दिइएका प्रश्नहरू सोधेर अध्ययन सञ्चालन गर्नेछन्। मुख्य-मुख्य बाइबल पदहरू पढेर छलफल गरिनेछ। प्रत्येक अध्यायको अन्तमा दिइएको पेटी “बाइबलले के सिकाउँछ” छलफल गर्नु लाभदायी हुनेछ किनभने अध्यायको सुरुका प्रश्नहरूको धर्मशास्त्रीय जवाफ त्यहाँ पाइन्छ। किताबमा विषयवस्तुहरू स्पष्ट, सरल र रोचक ढंगमा चर्चा गरिएकाले टिप्पणी गर्न पनि मजा आउँछ।
३ यस किताबको परिशिष्टमा विभिन्न थप जानकारी दिइएको छ। बाइबल विद्यार्थीलाई बुझाउन थप जानकारी चाहिएमा परिशिष्ट हेर्न सकिन्छ। पुस्तक अध्ययनको दौडान बेला-बेलामा परिशिष्टका अंशहरू छलफल गरिनेछ। पुस्तक अध्ययनमा पढ्ने भाइले नै परिशिष्ट पढ्नेछन्। लामो विषय चाहिं टुक्राएर छलफल गर्न सकिन्छ। परिशिष्टमा छलफल गर्नको लागि प्रश्नहरू दिइएका छैनन्। तर निरीक्षकले मुख्य बुँदा प्रस्ट्याउने प्रश्नहरू सोधेर टिप्पणी गर्न लगाउन सक्छन्।
४ पुस्तक अध्ययनमा बाइबलले सिकाउँछ किताबको अध्ययन अलिक द्रुत गतिमा हुनेछ। तर बाइबल विद्यार्थीहरूसित अध्ययन गर्दा यही गति पछ्याउन मिल्दैन। विशेष गरी, बाइबलको ज्ञान कम भएका वा हुँदै नभएकाहरूसित त्यसरी अध्ययन गर्न झनै मिल्दैन। (प्रेरि. २६:२८, २९) गृह बाइबल अध्ययन गर्दा बाइबल पदहरू, दृष्टान्त र अन्य कुराहरूको राम्ररी छलफल गर्नुपर्ने हुन्छ। तसर्थ, बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पुस्तक अध्ययनको सभा एउटा पनि नछुटाउने र टिप्पणी गर्ने लक्ष्य राख्नुहोस्।