बाइबल अध्ययनमा “परमेश्वरको प्रेम” किताब कसरी प्रयोग गर्ने?
१. “परमेश्वरको प्रेम” किताब कुन उद्देश्यले तयार पारिएको हो?
१ “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख” किताब बाइबलका आधारभूत शिक्षाहरू सिकाउन नभई आचरणसम्बन्धी यहोवाका स्तरहरू जान्न र त्यसलाई प्रेम गर्न मदत गर्ने हेतुले तयार पारिएको हो। यो किताब हामीले घरघरको प्रचारकार्यमा चलाउनेछैनौं।
२. यो किताब कसरी प्रयोग गरिनेछ र कससित?
२ बाइबल विद्यार्थीसित बाइबलले सिकाउँछ किताबबाट अध्ययन सिद्धिएपछि यस किताबबाट अध्ययन सुरु गर्नुपर्छ। कोही-कोही बाइबल विद्यार्थीले आफूले सिकेको कुरा तुरुन्तै लागू गरिहाल्छन् भने कोही-कोहीले त्यसअनुसार गर्न समय लगाउँछन् भनी नबिर्सनुहोस्। प्रत्येक चोटि अध्ययन गर्दा विद्यार्थीको क्षमताअनुसार तिनलाई सजिलो महसुस हुने गरी सञ्चालन गर्नुपर्छ। छलफल गरिएको विषयवस्तु तिनले राम्ररी बुझेका छन् कि छैनन्, पक्का गर्नुहोस्। प्रायजसो अवस्थामा पहिला पनि केही किताबबाट अध्ययन गरिसकेको तर मण्डलीका सभाहरूमा नआउने र सिकाइएको बाइबलको शिक्षाअनुसार आफ्नो जीवनमा परिवर्तन ल्याउन पटक्कै इच्छा नदेखाएको व्यक्तिसित यो किताबबाट अध्ययन गर्नु आवश्यक छैन।
३. हामीले हाल उपासना किताबबाट अध्ययन सञ्चालन गरिरहेका छौं भने के गर्नुपर्छ?
३ हाल तपाईंले उपासना किताबबाट अध्ययन सञ्चालन गरिरहनुभएको छ र अन्तिम केही अध्याय मात्र बाँकी छन् भने त्यही किताबबाट अध्ययन सिध्याएर बाइबल विद्यार्थीलाई “परमेश्वरको प्रेम” किताब आफै पढ्न प्रोत्साहन दिने निर्णय गर्न सक्नुहुन्छ। अन्यथा, “परमेश्वरको प्रेम” किताबबाट पहिलो अध्यायदेखि अध्ययन सुरु गर्नु बेस हुन्छ। बाइबलले सिकाउँछ किताबमा जस्तै यस किताबमा भएका अतिरिक्त लेख छलफल गर्नै पर्छ भन्ने छैन।
४. बाइबलले सिकाउँछ वा “परमेश्वरको प्रेम” किताबबाट अध्ययन सिद्धिनुअघि नै विद्यार्थीले बप्तिस्मा गरिसकेका छन् भने के गर्नुपर्छ?
४ बाइबलले सिकाउँछ वा “परमेश्वरको प्रेम” किताबबाट अध्ययन सिद्धिनुअघि नै विद्यार्थीले बप्तिस्मा गरिसकेका छन् भने “परमेश्वरको प्रेम” किताबबाट अध्ययन नसिद्धिएसम्म अध्ययन जारी राख्नुपर्छ। विद्यार्थीले बप्तिस्मा गरिसकेका छन् भने पनि तिनीसित अध्ययन गरेको समय, पुनःभेट र अध्ययनको रिपोर्ट तपाईंले बुझाउन सक्नुहुन्छ। तपाईं सँगै गएका प्रकाशकले पनि अध्ययनमा बिताएको समयको रिपोर्ट बुझाउन सक्छन्।
५. केही समयदेखि प्रचारकार्यमा निष्क्रिय भएका प्रकाशकलाई मदत गर्न “परमेश्वरको प्रेम” किताब कसरी प्रयोग गर्न सकिन्छ?
५ मण्डलीको सेवा समितिको सदस्यले तपाईंलाई प्रचारकार्यमा निष्क्रिय भएका प्रकाशकसित अध्ययन सञ्चालन गर्न भन्न सक्छन्। अनि तिनीसित “परमेश्वरको प्रेम” किताबबाट कुन-कुन अध्याय छलफल गर्ने भनेर पनि बताउन सक्छन्। त्यस्तो अध्ययन लामो समयसम्म गरिरहनु आवश्यक छैन। यो किताब आफूलाई “परमेश्वरको प्रेम” पाउन लायकको बनाइराख्न एउटा एकदमै राम्रो प्रबन्ध हो!—यहू. २१.