बाइबलले सिकाउँछ—बाइबल अध्ययन गराउने मुख्य पुस्तक
१ “ईश्वरीय आज्ञाकारिता” जिल्ला अधिवेशनमा बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तक विमोचन हुँदा हामी कत्ति हर्षित भएका थियौं! दोस्रो दिनको अन्तमा यो पुस्तक पाउँदा सबै कत्ति रमाएका थिए! यो नयाँ पुस्तक कसरी चलाइनेछ? यो, बाइबल अध्ययन गराउने हाम्रो मुख्य पुस्तक हुनेछ। यो नयाँ पुस्तक मार्च महिनादेखि मात्र प्रचारमा चलाइने भए तापनि बाइबल अध्ययन सुरु र सञ्चालन गर्न भने यसलाई चलाइहाल्न प्रकाशकहरूलाई प्रोत्साहित गरिन्छ।
२ हाल भइरहेका बाइबल अध्ययनहरू: ज्ञान पुस्तक वा चाहनुहुन्छ पुस्तिकाबाट बाइबल अध्ययन गराइरहेका प्रकाशकहरूले यो नयाँ पुस्तक कहिले र कसरी प्रयोग गर्ने, राम्ररी सोचविचार गर्नुपर्छ। अध्ययन हालै मात्र सुरु गरिएको छ भने सीधै नयाँ पुस्तकबाट अध्ययन सुरु गर्न सकिन्छ। ज्ञान पुस्तकको बीच-बीचतिर पुगिसकेको छ भने छलफल भइरहेको विषयवस्तुसित मिल्दो अध्याय नयाँ पुस्तकमा खोजेर त्यहींबाट अध्ययन अघि बढाउन सकिन्छ। ज्ञान पुस्तक सिद्धिनै लागेको छ भने चाहिं ज्ञान पुस्तकबाटै अध्ययन सिध्याउनु बेस।
३ निश्चय पनि हामी सबैले यस्ता थुप्रै मानिसहरू चिन्छौं होला जसले यो नयाँ पुस्तकको अध्ययनबाट लाभ उठाउनेछन्। बाइबल सत्य क्रमिक रूपमा प्रस्तुत गरिएको यो पुस्तकबाट ती व्यक्तिहरूलाई बाइबल अध्ययन गर्ने प्रस्ताव राखे कसो होला? उदाहरणको लागि, चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तकबाट अध्ययन गरिसकेको तर समर्पण र बप्तिस्मासम्म प्रगति नगरेका व्यक्तिसित यो पुस्तकबाट फेरि अध्ययन सुरु गर्न सकिन्छ। आमाबाबुले पनि आफ्ना छोराछोरीलाई सही ज्ञान सिकाउन यसैबाट अध्ययन गराउन सक्छन्।—कल. १:९, १०.
४ यस पुस्तकपछि अर्को पुस्तकबाट अध्ययन गर्ने कि नगर्ने? बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकबाट अध्ययन सकिएपछि अर्को पुस्तकबाट अध्ययन गर्ने प्रबन्ध छ कि छैन? छ। बाइबल विद्यार्थीले बिस्तारै भए पनि प्रगति गरिरहेको छ र सिकिरहेको कुराको साँच्चै मूल्यांकन पनि गर्छ भने एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् पुस्तकबाट अध्ययन जारी राख्न सकिन्छ। चेला बनाओ भनी हामीलाई दिइएको काम पूरा गर्न बाइबलले सिकाउँछ पुस्तक एउटा प्रभावकारी साधन साबित हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं।—मत्ती २८:१९, २०.