आफ्नो आध्यात्मिक लक्ष्यमा कसरी पुग्ने
१. थुप्रै जवान मसीहीहरूले कस्ता लक्ष्यहरू राख्छन्?
१ तपाईं जवान मसीहीहरूले जीवनमा जे-जस्तो लक्ष्यहरू राख्नुभएको छ, ती पक्कै पनि यहोवा परमेश्वरप्रतिको प्रेम र ‘पहिले राज्यको खोजी गर’ भनी येशूले सबै मसीहीहरूलाई भन्नुभएको शब्दहरूबाट प्रभावित भएको होला। (मत्ती ६:३३) आफ्नो सेवकाईलाई बढाउन अग्रगामी गर्ने वा राज्य प्रचारकहरूको आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्ने तपाईंको लक्ष्य हुन सक्छ। कसै-कसैको चाहिं राज्यभवन निर्माण कार्यमा स्वयम्सेवा गर्ने, शाखा कार्यालयमा सेवा गर्ने वा मिसनरी बन्ने विचार हुन सक्छ। यी लक्ष्यहरू कत्ति सन्तोषजनक र प्रशंसनीय छन्!
२. आध्यात्मिक लक्ष्यमा पुग्न तपाईंलाई कुन कुराले मदत गर्छ?
२ आध्यात्मिक लक्ष्यमा पुग्ने एउटा मदत आफ्ना लक्ष्यहरू लेखेरै राख्नु हो। जुलाई १५, २००४ को प्रहरीधरहरा-मा यसो भनिएको छ: “कुनै अस्पष्ट विचारलाई व्यक्त गर्न जब हामी शब्दहरूको चयन गर्छौं तब मात्र त्यो विचार स्पष्ट अनि ठोस हुन्छ। त्यसैले [तपाईं] आफ्ना लक्ष्यहरू र ती हासिल गर्ने तरिकाहरू लेख्न [चाहनुहुन्छ] होला।” यसबाहेक, लामो समयमा हासिल गर्ने लक्ष्यहरू प्राप्त गर्ने क्रममा बीच-बीचमा राखिने स-साना लक्ष्यहरूले तपाईंलाई आफ्नो प्रगति नाप्न र आफ्नो लक्ष्यमा केन्द्रित हुन मदत गर्छ।
३. थोरै समयमा हासिल हुने कस्ता लक्ष्यहरू राख्दा बप्तिस्माको लागि योग्य हुन मदत मिल्छ?
३ थोरै समयमा हासिल हुने लक्ष्यहरू: बप्तिस्मा लिइसक्नुभएको छैन भने त्यो लक्ष्यमा पुग्न तपाईंले के गर्नुपर्छ, विचार गर्नुहोस्। तपाईंले बाइबलका आधारभूत शिक्षाहरू अझ राम्ररी बुझ्नुपर्ने हुन सक्छ। त्यसो हो भने, बाइबलले सिकाउँछ किताबमा उल्लेख गरिएका पदहरू सबै पढेर उक्त किताब विस्तृत अध्ययन गर्ने लक्ष्य राख्नुहोस्। (१ तिमो. ४:१५) बेथेल सेवा गर्ने तथा मिसनरी हुन प्रशिक्षणको लागि गिलियड स्कूल जानेहरूले बाइबल पढिसिध्याउनुपर्छ। त्यसै गरी तपाईंले पनि पूरै बाइबल पढ्ने लक्ष्य राखे कसो होला? त्यसपछि दिनहुँ बाइबल पढ्ने कार्यक्रम नटुटाउनुहोस्। (भज. १:२, ३) यस्तो कार्यक्रमले तपाईंलाई आध्यात्मिक तवरमा बढ्न कत्ति मदत गर्छ होला, विचार गर्नुहोस् त! हरेक चोटि बाइबल पढ्दा र अध्ययन गर्दा सुरुमा र अन्तमा हार्दिक प्रार्थना गर्नुहोस् र सिकेको कुरा व्यवहारमा उतार्ने कोसिस गर्नुहोस्।—याकू. १:२५.
४. बेथेल वा मिसनरी सेवा गर्ने लक्ष्य राखेका मसीहीले थोरै समयमा हासिल हुने कस्ता लक्ष्यहरू राख्न सक्छन्?
४ तपाईंले बप्तिस्मा लिइसक्नुभएको छ भने कस्ता थप लक्ष्य राख्न सक्नुहुन्छ? प्रचार गर्ने तरिकामा प्रगति गर्नुपरेको छ कि? उदाहरणका लागि, क्षेत्र सेवकाईमा बाइबल चलाउन अझ सिपालु हुने लक्ष्य राख्न सकिन्छ कि? (२ तिमो. २:१५) तपाईंले आफ्नो सेवकाईलाई कसरी बढाउन सक्नुहुन्छ? आफ्नो उमेर र परिस्थिति सुहाउँदो थोरै समयमा हासिल हुने लक्ष्यहरू राख्नुहोस् र यसो गर्दा लामो समयमा हासिल हुने लक्ष्यमा पुग्न मदत मिल्छ।
५. थोरै समयमा हासिल हुने लक्ष्य राख्दा एक जना भाइको बेथेल सेवा गर्ने लक्ष्य कसरी पूरा भयो, बताउनुहोस्।
५ लक्ष्यमा पुग्न सफल अनुभव: उन्नाइस वर्षीय टोनी यहोवाका साक्षीहरूको शाखा कार्यालय घुमेपछि उनमा बेथेल सेवा गर्ने इच्छा पलायो। तर त्यतिखेर उनी बरालिएर हिंडिरहेका थिए, परमेश्वरमा आफ्नो जीवन समर्पण पनि गरेका थिएनन्। टोनीले आफ्नो जीवन अब परमेश्वरको स्तरअनुसार बिताउने निर्णय गरे र बप्तिस्माको लागि तयार हुने लक्ष्य राखे। त्यस लक्ष्यमा पुगेपछि उनले पहिला सहायक अग्रगामी अनि त्यसपछि नियमित अग्रगामी सेवा गर्ने लक्ष्य राखे। कुन मितिदेखि अग्रगामी सुरु गर्ने भनेर क्यालेन्डरमा चिह्न पनि लगाए। केही समय अग्रगामी सेवा गरेपछि उनलाई बेथेल सेवाको लागि बोलाइँदा उनी कत्ति खुसी भए होलान्, कल्पना गर्नुहोस् त!
६. आध्यात्मिक लक्ष्यमा पुग्न तपाईंलाई कुन कुराले मदत गर्नेछ?
६ राज्य गतिविधिलाई पहिलो स्थान दिनुभयो भने तपाईं पनि आफ्नो आध्यात्मिक लक्ष्यमा पुग्न सक्नुहुन्छ। “आफूले गर्ने सबै काम” यहोवालाई प्रार्थनामा बताउनुहोस् र ती पूरा गर्न लगनशील भई लाग्नुहोस्।—हितो. १६:३; २१:५.