केटाकेटी हो—तपाईंहरूले के कस्ता आध्यात्मिक लक्ष्यहरू राख्नुभएको छ?
१ आनन्दित हुनको निम्ति अर्थपूर्ण कार्य तथा हासिल गर्न सकिने लक्ष्यहरूले कत्तिको महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भनी यहोवालाई थाह छ। (उत्पत्ति १:२८; २:१५, १९ हेर्नुहोस्।) आज, यहोवाले आफ्ना जनहरूलाई प्रचार गर्ने तथा सिकाउने कार्यभार सुम्पनुभएको छ। अन्ततः, प्रमोदवनमा अनन्त जीवन पाउने पनि हाम्रो लक्ष्य छ। यसैबीच, हाम्रो शक्ति र साधनलाई ठीक ठाउँमा प्रयोग गर्न प्रगतिशील आध्यात्मिक लक्ष्यहरू राख्नुपर्छ।—१ कोरि. ९:२६.
२ केटाकेटीहरूका लागि व्यवहारिक लक्ष्यहरू: केटाकेटीहरूले आफ्नो व्यक्तिगत क्षमतालाई ध्यानमा राखेर ईश्वरतान्त्रिक लक्ष्यहरू राख्नुपर्छ। (१ तिमो. ४:१५) लेखपढ गर्न जान्नुअघि नै कोही कोहीले कलिलै उमेरमा बाइबल पुस्तकका नाउँहरू कण्ठ पार्ने लक्ष्य हासिल गर्न सकेका छन्। पारिवारिक अध्ययनद्वारा बच्चाहरूले सभाहरूका लागि तयारी गर्न सिक्छन्। यसले तिनीहरूलाई सभाहरूमा अर्थपूर्ण टिप्पणीहरू दिन तथा ईश्वरतान्त्रिक सेवकाई पाठशालामा भाग लिने लक्ष्य हासिल गर्न मदत पुऱ्याउँछ। आमाबाबुसँगसँगै क्षेत्र सेवकाईमा जाँदा बच्चाहरूले साक्षी कार्यमा भाग लिन सिक्छन् अनि बप्तिस्मा अप्राप्त प्रकाशक हुने लक्ष्यतर्फ अगाडि बढिरहेका हुन्छन्। स-साना बच्चाहरूले समर्पण र बप्तिस्माको लक्ष्य राख्नुपर्छ भन्ने महत्त्वमाथि आमाबाबुले जोड दिनुपर्छ।
३ तपाईं किशोर हुनुहुन्छ भने के कस्ता आध्यात्मिक लक्ष्य राख्नुभएको छ? अहिले नै “आफ्ना सृष्टिकर्त्ताको सम्झना” गर्न अत्यावश्यक लक्ष्यहरू राख्नुहोस्। (उप. १२:१; भज. ७१:१७) स्कूलमा बिदा हुने महिनाहरूमा सहायक अग्रगामी गरे कसो होला? नियमित अग्रगामीको हैसियतमा पूर्ण-समय सेवक हुनेबारे के तपाईंले सोच्नुभएको छ? नयाँ भाषा सिक्नेबारे तपाईंको विचार कस्तो छ? नयाँ भाषा सिक्नुभयो भने तपाईंले भविष्यमा आफ्नो इलाकाको वा अन्त कतै विदेशी भाषा बोल्ने समूह वा मण्डलीलाई सहयोग पुऱ्याउन सक्नुहुनेछ। अहिले बेथेलमा वा परिभ्रमण निरीक्षकको रूपमा वा मिसनरीको रूपमा सेवा गरिरहेका थुप्रैले स्कूलमा छँदै पूर्ण-समय सेवकाईलाई आफ्नो जीवनको लक्ष्य बनाएका थिए। तपाईंले पनि त्यस्तै लक्ष्य राख्नुभए कसो होला?
४ कलिलै छँदादेखि येशूको उदाहरण नक्कल गर्न यत्न गर्नुहोस्। उहाँ १२ वर्षको कलिलो उमेरमा पनि आध्यात्मिक कुराहरूबारे बिनारोकटोक बोल्नुहुन्थ्यो। (लूका २:४२-४९, ५२) येशूले जस्तै परमेश्वरको राज्यबारे निपुणतापूर्वक सिकाउन व्यक्तिगत अध्ययन गर्ने, दिनहुँ बाइबल पढ्ने र सभाहरू तथा सेवकाईमा परिपक्व मसीहीहरूसित सरसंगति गर्नेजस्ता लाभकारी लक्ष्यहरू राख्नसक्छौं।