असल बानी बसाल्नुहोस् र प्रचुर आशिष् पाउनुहोस्
१. तपाईंले आफ्नो आध्यात्मिक गतिविधिको तालिका जाँच्नु किन लाभदायी छ?
१ बप्तिस्मा लिएपछि सुरु-सुरुमा तपाईंले परमेश्वरको उपसानासित सम्बन्धित गतिविधिको तालिका पछ्याउन निकै प्रयास गर्नुहुन्थ्यो होला। जस्तै: बाइबल अध्ययन गर्ने, मसीही सभाहरू धाउने, क्षेत्र सेवामा जाने र प्रार्थना गर्ने। तपाईंको त्यस्तो प्रयासमा यहोवाले आशिष् दिनुभएकोले उहाँसित तपाईंको सम्बन्ध बलियो भयो। अहिले त तपाईंले बप्तिस्मा लिनुभएको केही वर्ष बितिसक्यो होला। के अहिले पनि सुरु-सुरुमा जस्तै आध्यात्मिक गतिविधिको तालिका राम्ररी पछ्याइरहनुभएको छ?
२. दिनहुँ बाइबल पढ्ने बानी बसाल्दा हामीलाई कस्तो फाइदा हुन्छ?
२ आफ्नो तालिका जाँच्नुहोस्: के तपाईंले हरेक दिन बाइबलको केही भाग पढ्ने बानी बसाल्नुभएको छ? यसो गर्दा प्रशस्त आशिष् पाइन्छ! (यहो. १:८; भज. १:२, ३) प्राचीन इस्राएलका राजाले व्यवस्थाको पुस्तकको नक्कल प्रति बनाएर त्यसलाई “जीवनभरि” पढ्नुपर्थ्यो। यसो गर्नुको फाइदा? उनले नम्रता खेती गर्ने थिए र यहोवाका आज्ञाबाट नतर्किन उहाँको डर मान्न सिक्ने थिए। (व्यव. १७:१८-२०) त्यस्तैगरि आज पनि दिनहुँ बाइबल पढ्दा यस दुष्ट र भ्रष्ट संसारबीच हामी निर्दोष रहन सक्छौं। यसले हामीलाई मसीही सेवकाईको लागि सुसज्जित हुन पनि मदत दिन्छ।—फिलि. २:१५; २ तिमो. ३:१७.
३. सभाहरू नियमित धाउँदा हामी कस्ता आशिष्हरू पाउँछौं?
३ सभाघरमा जाने येशूको बानी थियो जहाँ धर्मशास्त्र छलफल गरिन्थ्यो। (लूका ४:१६) निस्सन्देह, यसले उहाँलाई आफूले पछि भोग्नुपर्ने परीक्षाको सामना गर्न सक्षम बनायो। हामी पनि मण्डलीका सभाहरूमा पाइने आध्यात्मिक निर्देशन र ‘आपसी . . . सान्त्वनाबाट’ शक्ति पाउँछौं। (रोमी १:१२) आफ्ना आध्यात्मिक भाइहरूसित एकसाथ भेला हुँदा यी आखिरी दिनका कठिनाइहरू सहन मदत पाउँछौं। (हिब्रू १०:२४, २५) मण्डलीका सबै सभाहरू धाउने तपाईंको बानी के अहिले पनि कायमै छ?
४. हरेक हप्ता क्षेत्र सेवामा भाग लिंदा हामीलाई कस्तो लाभ हुन्छ?
४ येशूका प्रेरितहरूले “दिनदिनै . . . मन्दिरमा र घरघरमा गएर” सुसमाचार सुनाउँथे भनेर बाइबल बताउँछ। (प्रेरि. ५:४२) हामी दिनदिनै प्रचार गर्न त नसकौंला, तैपनि हरेक हप्ता कुनै अन्य प्रकारले क्षेत्र सेवामा भाग लिने बानी बसाल्न सक्छौं कि? यसो गर्दा हामी पक्कै पनि परमेश्वरको वचन चलाउन पोख्त हुनेछौं र अरूलाई बाइबल सत्य सिकाएर प्रोत्साहनदायी अनुभवहरू बटुल्नेछौं।
५. यहोवालाई नियमित तवरमा प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ?
५ अगमवक्ता दानियलले जीवनभरि “निरन्तर” यहोवाको सेवा गर्दा प्रचुर आशिष् पाए। उनको त्यो सेवामा यहोवालाई नियमित प्रार्थना गर्नु पनि समावेश थियो। (दानि. ६:१०, १६, २०) त्यसैगरि, हामीले पनि यहोवालाई हृदयदेखि नियमित प्रार्थना गर्दा उहाँले पवित्र आत्मा पठाउनुभएर आशिष् दिनुहुनेछ। (लूका ११:९-१३) त्यसबाहेक, प्रार्थनाको जवाफ दिनुहुँदै उहाँ हाम्रो नजिक आउनुहुन्छ जसले गर्दा हामी उहाँसित घनिष्ठ सम्बन्ध राख्न सक्छौं। (भज. २५:१४; याकू. ४:८) कस्तो महान् इनाम! तसर्थ, आध्यात्मिक तालिका पछ्याउने असल बानी बसाल्न अथक प्रयास गरौं र यहोवाबाट प्रचुर आशिष् पाऔं!