निष्पक्ष भई प्रचार गरेर—चासो देखाऔं
१ प्रेरित यूहन्नाले एउटा दर्शनमा “हरेक जाति, कुल, भाषा[का]” मानिसहरूलाई एउटा स्वर्गदूतले अनन्त सुसमाचार सुनाउँदै स्वर्गको बीचमा उडिरहेको देखे। (प्रका. १४:६) के हामी पनि ती स्वर्गदूत जस्तै निष्पक्ष भई प्रचार गर्छौं? हामीमा पूर्वाग्रही सोचाइ हुन सक्छ र यो हामीलाई यादै नहुन सक्छ। हामीले भेट्ने मानिसहरूप्रतिको हाम्रो मनोवृत्तिले सुसमाचार सुनाउने हाम्रो तरिकामा असर गर्न सक्छ। त्यसैकारण, विभिन्न पृष्ठभूमिका मानिसहरूलाई सुसमाचार सुनाउँदा मायालु चासो देखाउनुपर्छ।
२ आफ्नो इलाका विचार गर्नुहोस्: तपाईंको इलाकामा अरू ठाउँका मानिसहरू पनि छन् कि? वा कुनै इलाकामा अरू भाषा बोल्ने मानिसहरू बसोबास गरेका छन् कि? उनीहरूलाई भेटेर अभिवादन गर्न आफै अग्रसर हुनुहोस् र उनीहरूलाई राम्ररी चिन्ने कोसिस गर्नुहोस्। उनीहरूको आवश्यकता र चिन्ताका विषय के-के हुन्, उनीहरूलाई मन पर्ने र मन नपर्ने कुरा के-कस्ता छन् र उनीहरूलाई कस्तो कुरादेखि डर लाग्छ अनि उनीहरूमा कस्तो पूर्वाग्रही सोचाइ छ, बुझ्नुहोस्। अनि त्यसैअनुसार आफूले सुनाउने राज्य सन्देशलाई ढाल्ने कोसिस गर्नुहोस्। (१ कोरि. ९:१९-२३) प्रेरित पावलले जस्तै हामीले पनि आफ्नो इलाकाका सबै मानिसहरूलाई सुसमाचार सुनाउने आफ्नो दायित्व ठान्नुपर्छ, चाहे ती मानिसहरू धनी वा बेग्लै संस्कृतिको वा बेग्लै भाषा बोल्ने वा हाम्रोभन्दा फरक समुदायका नै किन नहोस्?—रोमी १:१४, NW पादटिप्पणी।
३ तर तपाईंले अर्कै भाषा बोल्ने मानिसहरूलाई कसरी साक्षी दिन सक्नुहुन्छ? गुड न्युज फर पिपल अफ अल नेसन्स् (सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार) पुस्तिकाको पूरापूर फाइदा उठाउनुहोस्। तपाईंको इलाकामा सामान्यतया बोलिने अन्य भाषाहरूमा पर्चा वा पुस्तिकाहरू पनि लैजान सक्नुहुन्छ। (जुलाई २००३, हाम्रो राज्य सेवकाई पृष्ठ ८, अनु. २-३ हेर्नुहोस्।) यसबाहेक, केही प्रकाशकहरूले अर्को भाषामा अभिवादन गर्न र छोटो प्रस्तुति गर्न सिकेका छन्। अरूले आफ्नो भाषामा एक दुई वाक्य मात्र भए पनि बोलेको सुन्दा मानिसहरू अक्सर खुसी हुन्छन् र यसले उनीहरूलाई सुसमाचार सुन्न उत्प्रेरित गर्न सक्छ।
४ यहोवाको अनुकरण गर्नुहोस्: भिन्न पृष्ठभूमिका मानिसहरूलाई सुसमाचार सुनाउने प्रयास गर्दा हामीले हाम्रा निष्पक्ष परमेश्वर यहोवाको अनुकरण गरिरहेका हुन्छौं। उहाँ “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा” गर्नुहुन्छ।—१ तिमो. २:३, ४.