साहसी तैपनि शान्तिमा रहने
१ हामीले प्रचार गर्ने धैरै मानिसहरू बाइबल सत्यसँग बाझिने किसिमका निष्कपट विश्वासहरू व्यक्त गर्छन्। तैपनि हामीले साहसका साथ प्रचार गर्नुपर्छ तर त्यसको साथै हामी “सबै मानिसहरूसँग शान्तिमा” रहन पनि चाहन्छौं र उनीहरूलाई अनावश्यक रूपमा रीस उठाउन चाहँदैनौं। (रोमी १२:१८; प्रेरि. ४:२९) राज्य सन्देश सुनाउँदा हामी कसरी साहसी हुनुका साथै शान्तिमा रहन सक्छौं?
२ सहमत हुन सकिने विषय खोज्नुहोस्: शान्तिमय व्यक्ति वादविवादबाट अलग्गै बस्छन्। घरधनीले गहिरोसँग विश्वास गर्दै आएका कुराहरूलाई अनावश्यक रूपमा खण्डन गर्दैमा उनी हाम्रो सन्देशप्रति आकर्षित हुँदैनन्। यदि उनले गलत धारणा व्यक्त गरेमा, हुनसक्छ दुवै पक्ष सहमत हुन सक्ने बुँदालाई हामी चलाखीपूर्ण तरिकामा चलाउन सक्छौं। साझा समझदारीको विषयमा जोड दिंदै कुरा गर्दा हामीले घरधनीको नकारात्मक विचारलाई हटाउन सक्छौं र उनलाई भित्रैदेखि सन्देश सुन्न उत्प्रेरित गरिरहेका हुन्छौं।
३ घरधनीको गलत विचारधारालाई बेवास्ता गऱ्यौं भने के हामीले सम्झौता गरिरहेको वा सत्यलाई कमजोर बनाइरहेको हुन्छौं? हुँदैनौं। मसीही सेवकको हैसियतमा हाम्रो जिम्मेवारी सम्पूर्ण गलत धारणाहरूलाई सच्याउँदै हिंड्नु होइन, बरु राज्यको सुसमाचार प्रचार गर्नु हो। (मत्ती २४:१४) कसैले गलत दृष्टिकोण व्यक्त गर्दा त्यसको विरोध गर्नुभन्दा त्यसलाई उक्त व्यक्तिको विचार बुझ्ने मौकाको रूपमा हेर्न सक्छौं।—हितो. १६:२३.
४ मर्यादा देखाउनुहोस्: गलत शिक्षाहरूको खण्डन गर्दा हामी साहसी र आँटिलो हुनुपर्ने समय पनि आउन सक्छ। तरैपनि हामी शान्तिमय व्यक्तिहरू भएकाले गलत शिक्षा विश्वास गर्ने र सिकाउनेहरूबारे घरधनीलाई बताउँदा तिनीहरूको खिल्ली उडाउँदैनौं र अपमानजनक शब्दहरू पनि प्रयोग गर्दैनौं। आफै ठूलो भन्ने मनोभावले मानिसहरूलाई हाम्रो सन्देश सुन्नदेखि तर्काउँछ तर नम्र र दयालु व्यवहारले सत्यप्रति प्रेम भएकाहरूको हृदय खोलिदिन्छ। हाम्रो कुरा सुन्नेहरू र उनीहरूको विश्वासप्रति आदर देखाउँदा हामीले तिनीहरूप्रति मर्यादा देखाइरहेका हुन्छौं, जसले गर्दा उनीहरूलाई हाम्रो सन्देश स्वीकार्न सजिलो हुन्छ।
५ आफूले प्रचार गरेका मानिसहरूको विश्वासलाई प्रेरित पावलले मनमा राखे र उनीहरूको हृदयलाई नै छुने किसिमले सुसमाचार सुनाउने तरिकाहरू खोजे। (प्रेरि. १७:२२–३१) उनी ‘कुनै किसिमले कसै कसैलाई बचाइहालूँ भनेर’ राजीखुसीसाथ ‘सबैका निम्ति सबै कुरा’ भए। (१ कोरि. ९:२२) साहसी भई सुसमाचार सुनाउँदा शान्तिमा रहेर हामीले पनि त्यसै गर्न सक्छौं।