‘सबै मानिससित शान्तिसित बस्नुहोस्’
१. हामी आएको मन नपराउने मानिसहरूलाई भेट्दा बाइबलको कुन सल्लाह लागू गर्नुपर्छ?
१ यहोवाका सेवकहरू शान्ति मन पराउँछन्। अनि हामी अरूलाई शान्तिको समाचार प्रचार गर्छौं। (यशै. ५२:७) कोही-कोही मानिस हामी तिनीहरूको घरमा आएको मन पराउँदैनन्। त्यस्तो अवस्थामा कसरी शान्ति कायम गर्न सक्छौं?—रोमी १२:१८.
२. हामीले किन अन्तरदृष्टि देखाउनुपर्छ?
२ अन्तरदृष्टि देखाउनुहोस्: कसै-कसैलाई बाइबलको कुरा मन पर्दैन। त्यसैले तिनीहरू हामीसित रिसाउँछन्। कोही भने अरू नै कारणले रिसाउँछन्। जस्तै: हामी गलत समयमा पुगेको हुनसक्छ। घरधनीलाई आफ्नै कुनै समस्याले पिरोलिरहेको हुनसक्छ। यदि घरधनी सुसमाचारको कारण नै रिसाएको हो भने पनि तिनी हामीसित रिसाएका होइनन्, बरु यस युगको ईश्वरले तिनको दिमागलाई अन्धो तुल्याइदिएको छ भनेर हामीले बिर्सनु हुँदैन। (२ कोरि. ४:४) यसरी चातुर्य अर्थात् अन्तरदृष्टि देखायौं भने हामी शान्त हुन सक्नेछौं।—हितो. १९:११.
३. घरधनीलाई हामी कसरी आदर देखाउन सक्छौं?
३ आदर देखाउनुहोस्: हाम्रो इलाकामा भेटिने थुप्रै मानिस आफ्नो धार्मिक आस्थामा कट्टर हुन्छन्। (२ कोरि. १०:४) हाम्रो कुरा सुन्ने/नसुन्ने त्यो तिनीहरूको आफ्नो इच्छा हो। हामीले घरधनीको धार्मिक आस्थालाई होच्याउने अथवा आफूलाई ठूलो देखाउने गर्नु हुँदैन। तिनले ‘यहाँबाट गइहाल्नू’ भनेमा हामीले आदर देखाउँदै तिनको कुरा मान्नुपर्छ।
४. हामी कसरी दयालु भई बोल्न सक्छौं?
४ दयालु भई बोल्नुहोस्: घरधनीले गाली गरे तापनि हामीले नम्र अनि दयालु भई जवाफ दिनुपर्छ। (कल. ४:६; १ पत्रु. २:२३) भनाभन गर्नुको सट्टा दुवै जना सहमत हुने विषयमा कुरा गर्नुपर्छ। चित्त नबुझ्नुको कारणबारे घरधनीलाई रिस नउठ्ने किसिमले सोध्न सकिन्छ कि? तर तिनी झनै रिसाउला जस्तो देखिन्छ भने कुराकानी त्यहीं टुङ्ग्याउनु बेस हुन्छ।—हितो. ९:७; १७:१४.
५. प्रचारकार्यमा शान्ति कायम गर्दा कस्तो फाइदा हुन्छ?
५ घरधनी रिसाउँदा पनि हामी शान्त रह्यौं भने तिनले त्यो याद गर्नेछन्। अनि अर्को पटक तिनीकहाँ कोही आउँदा तिनी सुसमाचार सुन्न इच्छुक हुनेछन्। (रोमी १२:२०, २१) आफ्नो कुरामै ढिपी गरेजस्तो देखिए तापनि तिनी कुनै दिन हाम्रो भाइ बन्न सक्छन्। (गला. १:१३, १४) तिनले बाइबल सत्यमा चासो देखाऊन् या नदेखाऊन्, हामीले आत्मसंयम देखायौं अनि शान्ति कायम गऱ्यौं भने यहोवाको आदर गर्नेछौं र बाइबल शिक्षाको शोभा बढाउनेछौं।—२ कोरि. ६:३.