के तपाईं प्राकृतिक प्रकोपको सामना गर्न तयार हुनुहुन्छ?
१. प्राकृतिक प्रकोपको लागि पूर्वतयारी गर्नु किन बुद्धिमानी हो?
१ संसारभरिका लाखौं मानिसहरू हरेक वर्ष भूकम्प, सुनामी, मनसुनी वर्षा, समुद्री आँधी, हुरी बतास र बाढीबाट प्रभावित हुन्छन्। यसले थुप्रै साक्षी भाइबहिनीहरूलाई पनि पिरोल्छ। यस्ता प्रकोपहरू कुनै पूर्वसुचनाविना आउँछ र हामी सबैलाई असर गर्छ। त्यसैले पूर्वतयारी गर्नु बुद्धिमानी हो।—हितो. २१:५.
२. हामीले प्राचीनहरूलाई आफ्नो नविनतम ठेगाना र टेलिफोन नम्बर किन दिनुपर्छ?
२ पूर्वतयारी: कहिलेकाहीं सरकारले आउँदै गरेको प्रकोपबारे पहिल्यै जनाउ दिन सक्छ। यसरी चेतावनी दिंदा ध्यान दिएर सुन्नुपर्छ। (हितो. २२:३) यस्तो अवस्था आइपर्दा प्राचीनहरूले मण्डलीका सबैलाई सम्पर्क गरेर आवश्यक तयारी गर्न मदत गर्नेछन्। प्रकोप आएपछि, प्राचीनहरूले मण्डलीसित संगत गर्ने सबैलाई सम्पर्क गर्न प्रयास गर्नेछन् अनि तिनीहरू सुरक्षित छन् कि छैनन्, कस्तो सहयोग चाहिन सक्छ भनेर बुझ्न खोज्नेछन्। प्राचीनहरूसित प्रत्येक सदस्यको नविनतम जानकारी छैन भने महत्त्वपूर्ण समय त्यत्तिकै खेर जान सक्छ। त्यसकारण सबै प्रकाशकहरूले आफ्नो नविनतम ठेगाना र टेलिफोन नम्बर मण्डलीको सचिव र आफ्नो पुस्तक अध्ययन निरीक्षकलाई दिनु बेस हो।
३. प्राकृतिक प्रकोपको जोखिम भएको क्षेत्रमा बस्छौं भने प्राचीनहरूलाई कसरी सहयोग गर्न सक्छौं?
३ तपाईंको मण्डली प्राकृतिक प्रकोपको जोखिम भएको क्षेत्रमा पर्छ भने प्राचीनहरूले प्रकाशकहरूसित त्यस इलाकाभन्दा बाहिर बस्ने नातेदार वा साथीको नाउँ र टेलिफोन नम्बर माग्न सक्छन्, जसलाई आपत्कालीन अवस्थामा सम्पर्क गर्न सकिनेछ। यसले गर्दा प्रकोपग्रस्त इलाकाबाट को-को अन्यत्र सरिसके भनेर पत्ता लगाउन प्राचीनहरूलाई सजिलो हुन्छ। प्राचीनहरूले मण्डलीको लागि पूर्वयोजना बनाउन सक्छन्। आपत्कालीन अवस्थामा आफूसित तयार राख्नुपर्ने सरसामानको सूची, अन्यत्र सर्ने प्रबन्ध अनि विशेष हेरविचारको आवश्यकता पर्नेहरूलाई कसरी सहयोग गर्ने जस्ता कुराहरू पूर्वयोजनामा समावेश गर्न सकिन्छ। यस्ता मायालु प्रबन्धहरूलाई सहयोग गर्नु महत्त्वपूर्ण छ।—हिब्रू १३:१७.
४. आफ्नो इलाकामा प्रकोप आयो भने के गर्नुपर्छ?
४ प्रकोपपछि: तपाईं बस्नुहुने ठाउँमा प्राकृतिक प्रकोप आयो भने के गर्नुपर्छ? तपाईंको परिवारलाई तत्काल चाहिने भौतिक कुराहरू छन् कि छैनन्, पक्का गर्नुहोस्। सक्नुहुन्छ भने, अरूलाई पनि मदत गर्नुहोस्। आफ्नो मण्डली पुस्तक अध्ययन निरीक्षक वा अर्को प्राचीनलाई सकेसम्म छिटो सम्पर्क गर्ने प्रयास गर्नुहोस्। तपाईं सुरक्षित हुनुहुन्छ र कुनै मदत चाहिंदैन भने पनि सम्पर्क गर्नुपर्छ। कुनै प्रकारको सहयोग चाहिन्छ भने तपाईंलाई मदत गर्न भाइहरूले सक्दो प्रयास गरिरहनुभएको छ भनेर ढुक्क हुनुहोस्। (१ कोरि. १३:४, ७) यहोवालाई तपाईंको अवस्था राम्ररी थाह छ भनेर नबिर्सनुहोस्; उहाँले नै तपाईंलाई सँभाल्नुहुनेछ भनेर भरोसा राख्नुहोस्। (भज. ३७:३९; ६२:८) अरूलाई आध्यात्मिक तथा भावनात्मक मदत दिन सजग हुनुहोस्। (२ कोरि. १:३, ४) सभा र प्रचारकार्यमा सकेसम्म चाँडो भाग लिन थाल्नुहोस्।—मत्ती ६:३३.
५. प्राकृतिक प्रकोपको खतराले हामी मसीहीहरूलाई कसरी असर गर्छ?
५ हुन त, प्राकृतिक प्रकोपको खतराले मानिसहरूलाई निकै चिन्तित बनाउँछ। तर हामी भविष्यप्रति निर्धक्क हुन सक्छौं। चाँडै, सबै विपत्तिहरू नामेट हुनेछन्। (प्रका. २१:४) त्यसो नहोउन्जेल, दुःखकष्ट र कठिनाइ हुने समयको लागि तयारी गर्न व्यावहारिक कदम चाल्दै अरूलाई जोसका साथ सुसमाचार प्रचार गरिरहौं।