प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 डिसेम्बर pp. २२-२७
  • कठिन परिस्थितिमा परेकाहरूलाई मदत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कठिन परिस्थितिमा परेकाहरूलाई मदत गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • महामारीको बेला अरूलाई मदत गर्नुहोस्‌
  • प्रकोपको बेला अरूलाई मदत गर्नुहोस्‌
  • खेदो सहन भाइबहिनीलाई मदत गर्नुहोस्‌
  • सङ्‌कटको बेला तपाईँ शान्ति पाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • एल्डरहरू हो, प्रेषित पावलको अनुकरण गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • के तपाईं प्राकृतिक प्रकोपको सामना गर्न तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००७
  • मण्डलीलाई कसरी व्यवस्थित बनाइएको हुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 डिसेम्बर pp. २२-२७

अध्ययन लेख ५२

कठिन परिस्थितिमा परेकाहरूलाई मदत गर्नुहोस्‌

“तिमीसँग अरूलाई केही दिने क्षमता छ भने खाँचोमा परेकालाई मदत गर्न पछि नहट।”—हितो. ३:२७.

गीत १०३ गोठालाहरू—वरदानको रूपमा पुरुषहरू

परिचयa

१. यहोवा अक्सर आफ्ना सेवकहरूको प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?

कसैको प्रार्थनाको जवाफ दिन यहोवाले तपाईँलाई चलाउन सक्नुहुन्छ भनेर के तपाईँले कहिल्यै सोच्नुभएको छ? यहोवाले एल्डर होस्‌ वा सहायक सेवक, अग्रगामी होस्‌ वा मण्डलीको साधारण प्रकाशक, जवान होस्‌ वा वृद्ध अथवा भाइ होस्‌ वा बहिनी, जोकोहीलाई पनि चलाउन सक्नुहुन्छ। कसैले मदतको लागि गुहार्दा तिनलाई “सान्त्वना” दिन उहाँले अक्सर एल्डरहरू र वफादार भाइबहिनीलाई चलाउनुहुन्छ। (कल. ४:११) यसरी यहोवा र भाइबहिनीको सेवा गर्न पाउनु ठूलो सम्मानको कुरा हो! भाइबहिनीले महामारी, प्रकोप वा खेदो भोग्नुपर्दा हामी तिनीहरूलाई मदत र सान्त्वना दिन सक्छौँ।

महामारीको बेला अरूलाई मदत गर्नुहोस्‌

२. महामारीको बेला अरूलाई मदत गर्न किन सजिलो हुँदैन?

२ महामारीको बेला अरूलाई मदत गर्न पक्कै सजिलो हुँदैन। जस्तै, हामी आफ्ना साथीहरूलाई भेट्‌न चाहन्छौँ होला तर त्यसो गर्नु सुरक्षित नहुन सक्छ। अथवा हामी आर्थिक रूपमा गाह्रो भइरहेको भाइबहिनीलाई खाना खान बोलाउन चाहन्छौँ होला तर त्यो पनि सम्भव नहुन सक्छ। अर्कोतर्फ, हाम्रो आफ्नै परिवारका सदस्यहरू बिरामी छन्‌ वा आर्थिक रूपमा गाह्रो भइरहेको छ भने अरूलाई मदत गर्न चुनौतीपूर्ण हुन सक्छ। तैपनि हामी भाइबहिनीलाई मदत गर्न चाहन्छौँ र यसो गर्दा यहोवा पनि खुसी हुनुहुनेछ। (हितो. ३:२७; १९:१७) त्यसोभए हामी भाइबहिनीलाई कसरी मदत गर्न सक्छौँ?

३. डेजीको मण्डलीका एल्डरहरूबाट हामी के सिक्न सक्छौँ? (यर्मिया २३:४)

३ एल्डरहरूले के गर्न सक्छन्‌? तपाईँ एल्डर हुनुहुन्छ भने आफ्नो बगाललाई राम्ररी चिन्‍ने कोसिस गर्नुहोस्‌। (यर्मिया २३:४ पढ्‌नुहोस्‌।) अघिल्लो लेखमा उल्लेख गरिएकी डेजी भन्छिन्‌: “मेरो क्षेत्र सेवा समूहका एल्डरहरूले म र अरू भाइबहिनीसँग महामारीअघि क्षेत्र सेवामा भाग लिनुहुन्थ्यो र जमघटहरूमा पनि आउनुहुन्थ्यो।”b कोभिड-१९ महामारीको दौडान डेजीले परिवारका केही सदस्य गुमाइन्‌। तर एल्डरहरूले तिनलाई पहिल्यैदेखि राम्ररी चिनेकोले तिनलाई मदत गर्न उनीहरूलाई सजिलो भयो।

४. डेजीलाई मदत गर्न एल्डरहरूलाई किन सजिलो भयो र यसबाट एल्डरहरूले के सिक्न सक्छन्‌?

४ डेजी भन्छिन्‌: “मैले एल्डरहरूलाई राम्ररी चिनेकोले उहाँहरूसित मन खोलेर कुरा गर्न र आफ्नो चिन्ताको कुरा बताउन सजिलो भयो।” यसबाट एल्डरहरूले के सिक्न सक्छन्‌? कुनै सङ्‌कट आउनुअघि नै भाइबहिनीको राम्ररी हेरविचार गर्नुहोस्‌। तिनीहरूको साथी बन्‍नुहोस्‌। महामारी फैलिएकोले तिनीहरूसित भेटेरै कुरा गर्न सकिँदैन भने अरू नै तरिकामा कुराकानी गर्ने प्रयास गर्नुहोस्‌। डेजी अझै यसो भन्छिन्‌: “कहिलेकाहीँ त एकै दिनमा मण्डलीका फरक-फरक एल्डरहरूले मलाई फोन वा मेसेज गर्नुहुन्थ्यो। उहाँहरूले पठाउनुभएका बाइबल पदहरू मलाई थाह भएकै पदहरू थिए तर ती पदहरूले मेरो मन छोयो।”

५. एल्डरहरूले भाइबहिनीको आवश्‍यकताबारे कसरी थाह पाउन सक्छन्‌ र तिनीहरूलाई कसरी मदत गर्न सक्छन्‌?

५ भाइबहिनीलाई कुन कुराको खाँचो छ भनेर थाह पाउने एउटा तरिका तिनलाई अप्ठ्यारोमा नपार्ने प्रश्‍नहरू सोधेर तिनको मनको कुरा निकाल्नु हो। (हितो. २०:५) के तिनीसित पर्याप्त खानेकुरा, औषधी वा अन्य आवश्‍यक सरसामानहरू छ? के तिनको जागिर गुम्ने खतरा छ अथवा तिनलाई घरभाडा तिर्न गाह्रो छ कि? के तिनलाई सरकारले दिने सुविधाहरूको लागि आवेदन बुझाउन मदत चाहिएको छ? डेजीले भाइबहिनीबाट भौतिक मदत पाइन्‌ तर तिनलाई परीक्षाहरू सहन मदत गरेको सबैभन्दा ठूलो कुरा भनेको एल्डरहरूले दिएको भावनात्मक र आध्यात्मिक मदत नै थियो। तिनी भन्छिन्‌: “एल्डरहरूले मसँगै प्रार्थना गर्नुभयो। उहाँहरूले भन्‍नुभएको कुरा त खासै याद छैन। तर मैले कस्तो महसुस गरेको थिएँ, त्योचाहिँ राम्रोसँग याद छ। यहोवाले मलाई ‘तिमी एक्लो छैनौ’ भन्‍नुभएको जस्तै लाग्यो।”—यसै. ४१:१०, १३.

तस्बिरहरूको सँगालो: १. एक भाइ सभाभवनमा सभा सञ्चालन गर्दै छन्‌। तिनी आफ्नो ट्याब्लेटमा भिडियो कन्फरेन्समार्फत जोडिएका बिरामी भाइलाई हेर्दै छन्‌। २. भिडियो कन्फरेन्समार्फत जोडिएका एक वृद्ध भाइ टिप्पणी दिन हात उठाउँदै छन्‌। तिनले अक्सिजनको पाइप लगाएका छन्‌।

सभा सञ्चालन गरिरहेका एल्डर सभाभवनका भाइबहिनीको र भिडियो कन्फरेन्समार्फत जोडिएका बिरामी भाइको प्रोत्साहनदायी टिप्पणीहरू सुन्‍न पाउँदा खुसी छन्‌ (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. भाइबहिनीले अरूलाई कसरी मदत गर्न सक्छन्‌? (तस्बिर हेर्नुहोस्‌।)

६ अरू भाइबहिनीले के गर्न सक्छन्‌? यस्तो अवस्थामा एल्डरहरूले नेतृत्व लिएको आशा गर्नु उचित हो तर यहोवा हामी सबैले एकअर्कालाई प्रोत्साहन र मदत दिएको चाहनुहुन्छ। (गला. ६:१०) बिरामी भएको कसैलाई हामीले देखाउने मायाको सानो अभिव्यक्‍तिले पनि ठूलो काम गर्न सक्छ। जस्तै: साना केटाकेटीले निराश भएको कुनै भाइलाई कार्ड वा चित्र कोरेर पठाउन सक्छन्‌। जवान भाइबहिनीले कुनै बहिनीको लागि किनमेल वा अन्य जरुरी काम गरिदिन सक्छन्‌। अथवा बिरामी भएको कसैलाई खाना बनाएर तिनको घरबाहिर छोडिदिन सक्छन्‌। महामारी फैलिरहेको बेला मण्डलीको सबैलाई प्रोत्साहन चाहिन्छ। त्यसैले हामी सभामा भौतिक रूपमा उपस्थित होऔँ वा भिडियो कन्फरेन्समार्फत, भाइबहिनीसित कुराकानी गर्न सभापछि केही बेर बस्न सक्छौँ। यस्तो अवस्थामा एल्डरहरूलाई पनि प्रोत्साहनको खाँचो पर्छ। कसै-कसैले एल्डरहरूलाई धन्यवादका शब्दहरू लेखेर पठाएका छन्‌ किनकि तिनीहरू महामारीको बेला भाइबहिनीको लागि पहिलाभन्दा झन्‌ धेरै खटिन्छन्‌। ‘एकअर्कालाई प्रोत्साहन दिइरहन अनि एकअर्काको उत्थान गरिरहन’ हामी सबैले सक्दो गर्नु कत्ति राम्रो कुरा!—१ थिस्स. ५:११.

प्रकोपको बेला अरूलाई मदत गर्नुहोस्‌

७. प्रकोपमा परेकाहरूले कस्ता कुराहरू गुमाउन सक्छन्‌?

७ प्रकोपले मानिसको जीवन क्षणभरमै भताभुङ्‌ग पारिदिन सक्छ। प्रकोपको मारमा परेकाहरूले आफ्नो धनसम्पत्ति, घर वा प्रियजनसमेत गुमाउन सक्छन्‌। हाम्रा भाइबहिनी पनि यस्ता अप्रिय घटनाहरूदेखि अछुतो छैनन्‌। हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौँ?

८. एल्डरहरू र परिवारका शिरहरूले प्रकोपको लागि कसरी पूर्वतयारी गर्न सक्छन्‌?

८ एल्डरहरूले के गर्न सक्छन्‌? एल्डरहरू हो, मण्डलीका भाइबहिनीलाई प्रकोपको लागि पूर्वतयारी गर्न मदत गर्नुहोस्‌। प्रकोप आइपर्दा सुरक्षित रहन कस्ता कदमहरू चाल्ने र एल्डरहरूलाई कसरी सम्पर्क गर्ने भनेर भाइबहिनीलाई थाह दिनुहोस्‌। अघिल्लो लेखमा उल्लेख गरिएकी मार्गरेट भन्छिन्‌: “एल्डरहरूले डढेलोको खतरा अझै टरेको छैन भनेर हामीलाई स्थानीय आवश्‍यकतामा सचेत गराउनुभयो। अख्तियारवालाहरूले अन्यत्र सर्न आदेश दिए वा अवस्था खतरनाक हुँदै गयो भने तुरुन्तै भाग्न एल्डरहरूले सल्लाह दिए।” यो साँच्चै नै समय सापेक्षिक जानकारी थियो किनकि त्यसको पाँच हप्तापछि नै एकदमै डरलाग्दो डढेलो लाग्न सुरु भयो। पारिवारिक उपासनामा परिवारका शिरहरूले आपत्‌कालीन अवस्थामा प्रत्येक सदस्यले के गर्ने भनेर छलफल गर्न सक्छन्‌। यसरी पूर्वतयारी गर्दा तपाईँ र तपाईँको छोराछोरीले प्रकोपको बेला पनि नआत्तीकन आवश्‍यक कदम चाल्न सक्नुहुनेछ।

९. एल्डरहरूले प्रकोपअघि र पछि के-कस्तो काम गर्नुपर्छ?

९ तपाईँ समूह निरीक्षक हुनुहुन्छ भने प्रकोप आउनुअघि नै आफ्नो क्षेत्र सेवा समूहका सबै भाइबहिनीको फोन नम्बर र ठेगानाको सूची बनाउनुहोस्‌ र कसैको सम्पर्क जानकारी परिवर्तन भयो भने तुरुन्तै सूचीमा छाँटकाँट गरिहाल्नुहोस्‌। अनि प्रकोप आइपर्दा प्रत्येक भाइबहिनीलाई सम्पर्क गरेर तिनीहरूलाई के-कस्ता कुराको खाँचो छ भनेर बुझ्नुहोस्‌। त्यसपछि यसबारे तुरुन्तै एल्डरहरूको निकायको संयोजकलाई खबर गर्नुहोस्‌ र तिनले त्यो जानकारी क्षेत्रीय निरीक्षकलाई पठाउनेछन्‌। यसरी सबै मिलेर काम गर्दा भाइबहिनीले आवश्‍यक मदत पाउँछन्‌। डढेलो लागेपछि मार्गरेटको क्षेत्रीय निरीक्षक ३६ घण्टासम्म जागै बसे र घर छोड्‌न बाध्य भएका ४५० जना भाइबहिनीलाई सम्पर्क गर्न र तिनीहरूको लागि बन्दोबस्त मिलाउन एल्डरहरूसित मिलेर काम गरे। (२ कोरि. ११:२७) यसले गर्दा सबैको लागि बस्ने ठाउँको प्रबन्ध मिलाउन सम्भव भयो।

१०. एल्डरहरूले बगालको हेरविचार गर्नुलाई किन महत्त्वपूर्ण ठान्छन्‌? (युहन्‍ना २१:१५)

१० प्रकोप आइपर्दा एल्डरहरूले भाइबहिनीलाई आध्यात्मिक र भावनात्मक मदत दिनुपर्छ। (१ पत्रु. ५:२) एल्डरहरूले सबैभन्दा पहिला भाइबहिनी सुरक्षित छन्‌ कि छैनन्‌ अनि तिनीहरूसित खानेकुरा, लुगाफाटा र बस्ने ठाउँ छ कि छैन भनेर पक्का गर्नुपर्छ। तर प्रकोप सकिएको धेरै पछिसम्म पनि कसै-कसैलाई आध्यात्मिक र भावनात्मक मदत चाहिरहन सक्छ। (युहन्‍ना २१:१५ पढ्‌नुहोस्‌।) एउटा शाखा समितिका सदस्य ह्‍यारोल्ड, जसले प्रकोपमा परेका भाइबहिनीलाई भेटेका छन्‌, तिनले यसो भने: “भाइबहिनीहरू बिस्तारै सामान्य दिनचर्यामा फर्के तापनि तिनीहरूको मनको घाउ निको हुन समय लाग्न सक्छ। कसै-कसैले प्रकोपमा आफ्नो प्रियजन वा पुर्ख्यौली सम्पत्ति गुमाएका हुन सक्छन्‌। कोही-कोहीचाहिँ मृत्युको मुखमै पुगेर बाँचेका हुन सक्छन्‌। यस्ता नमीठा सम्झनाहरूले तिनीहरूलाई पछिसम्म पनि सताइरहन सक्छ। तर यस्तो महसुस गर्नु स्वाभाविक हो, विश्‍वासको कमी होइन।”

११. प्रकोपबाट बचेका परिवारहरूलाई कस्तो मदत चाहिन सक्छ?

११ एल्डरहरू “रुनेहरूसित रोओ” भन्‍ने सल्लाह पालन गर्छन्‌। (रोमी १२:१५) एल्डरहरूले प्रकोपबाट बचेकाहरूलाई यहोवा र भाइबहिनी तिनीहरूलाई माया गर्नुहुन्छ भनेर आश्‍वासन दिन सक्छन्‌। साथै मण्डलीका परिवारहरूलाई प्रार्थना, अध्ययन, सभाको उपस्थिति र साक्षीकार्यजस्ता गतिविधिमा लागिरहन पनि मदत गर्न सक्छन्‌। आमाबुबाहरू हो, छोराछोरीलाई कुनै पनि प्रकोपले नाश गर्न नसक्ने कुराहरूमा ध्यान दिन मदत गर्नुहोस्‌। यसो गर्न एल्डरहरूले तपाईँलाई मदत गर्नेछन्‌। साथै यहोवा तिनीहरूको साथी बन्‍नुहुनेछ र तिनीहरूलाई कहिल्यै त्याग्नुहुनेछैन भन्‍ने कुरा सम्झाउनुहोस्‌। विश्‍वव्यापी परिवारले तिनीहरूलाई सधैँ मदत गर्नेछ भन्‍ने कुरा पनि बुझाउनुहोस्‌।—१ पत्रु. २:१७.

पालमा बसिरहेका आमाछोरालाई एक दम्पतीले खानेकुरा र अरू सामानहरू दिँदै छ।

के तपाईँ प्रकोपको बेला स्वयंसेवा गर्न तयार हुनुहुन्छ? (अनुच्छेद १२ हेर्नुहोस्‌)e

१२. अरू भाइबहिनीले प्रकोप राहतकार्यलाई कसरी सघाउन सक्छन्‌? (तस्बिर हेर्नुहोस्‌।)

१२ अरू भाइबहिनीले के गर्न सक्छन्‌? प्रकोप प्रभावित इलाका तपाईँ बस्ने ठाउँबाट नजिकै छ भने आफ्नो तर्फबाट के गर्न सक्छु भनेर एल्डरहरूलाई सोध्नुहोस्‌। सायद तपाईँ प्रकोपले गर्दा अन्यत्र सरेकाहरूलाई वा निर्माण स्वयंसेवकहरूलाई आफ्नो घरमा बास दिन सक्नुहुन्छ। अथवा खाँचोमा परेका भाइबहिनीलाई खानेकुरा वा अन्य आवश्‍यक सरसामान लगिदिन सक्नुहुन्छ। तर प्रकोप प्रभावित इलाका तपाईँ बस्ने ठाउँबाट टाढा छ भने पनि तपाईँ मदत गर्न सक्नुहुन्छ। कसरी? त्यहाँका भाइबहिनीको लागि प्रार्थना गरिदिएर। (२ कोरि. १:८-११) तपाईँ विश्‍वव्यापी कार्यको लागि अनुदान दिएर पनि राहतकार्यलाई सघाउन सक्नुहुन्छ। (२ कोरि. ८:२-५) तपाईँ प्रभावित इलाकामा गएर स्वयंसेवा गर्न सक्नुहुन्छ भने यसबारे एल्डरहरूलाई जानकारी दिनुहोस्‌। राहतकार्यमा सघाउन बोलाइयो भने तपाईँलाई आवश्‍यकताअनुसार प्रयोग गर्न थप तालिम पनि दिइन सक्छ।

खेदो सहन भाइबहिनीलाई मदत गर्नुहोस्‌

१३. हाम्रो काममाथि प्रतिबन्ध लागेको देशका भाइबहिनीले कस्ता चुनौतीहरूको सामना गर्छन्‌?

१३ हाम्रो काममाथि प्रतिबन्ध लागेका देशहरूमा खेदोले गर्दा भाइबहिनीको जीवन झनै कष्टकर भएको छ। हामीले जस्तै तिनीहरूले पनि आर्थिक समस्या झेल्नुपर्छ, तिनीहरू पनि बिरामी पर्छन्‌ अनि मृत्युले गर्दा प्रियजन गुमाउँछन्‌। प्रतिबन्धले गर्दा एल्डरहरू प्रोत्साहन चाहिएका भाइबहिनीलाई भेट्‌न वा सीधै कुराकानी गर्न असमर्थ हुन सक्छन्‌। अघिल्लो लेखमा उल्लेख गरिएका आन्ड्रेले पनि त्यस्तै अनुभव गरे। तिनको क्षेत्र सेवा समूहकी एक बहिनीले आर्थिक समस्या झेलिरहेकी थिइन्‌। त्यही समयमा तिनी कार दुर्घटनामा परिन्‌। तिनको थुप्रै चोटि शल्यक्रिया गर्नुपऱ्‍यो र तिनी काम गर्न नसक्ने भइन्‌। तर यहोवालाई तिनको अवस्था राम्ररी थाह थियो। त्यसैले तिनलाई मदत गर्न उहाँले भाइबहिनीलाई चलाउनुभयो।

१४. एल्डरहरूले यहोवामा भर परेको कसरी देखाउन सक्छन्‌?

१४ एल्डरहरूले के गर्न सक्छन्‌? आन्ड्रेले ती बहिनीको लागि प्रार्थना गरे र तिनलाई सक्दो मदत गरे। यहोवाले आन्ड्रेको प्रार्थनाको जवाफ कसरी दिनुभयो? ती बहिनीलाई मदत गर्न यहोवाले तुलनात्मक रूपमा अलि धेरै स्वतन्त्रता पाएका भाइबहिनीलाई चलाउनुभयो। केही भाइबहिनीले तिनलाई अस्पताल लगिदिए र केहीले भने आर्थिक सहयोग गरे। आफ्नो तर्फबाट सक्दो गर्न यहोवाले ती भाइबहिनीलाई चलाउनुभयो र तिनीहरूको प्रयासमा आशिष्‌ दिनुभयो। (हिब्रू १३:१६) एल्डरहरू हो, तपाईँ प्रतिबन्ध लगाइएको देशमा बस्नुहुन्छ भने मण्डलीको ख्याल राख्न भाइबहिनीको मदत लिनुहोस्‌। (यर्मि. ३६:५, ६) सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवामा भर पर्नुहोस्‌। भाइबहिनीको आवश्‍यकता पूरा गर्न यहोवाले तपाईँलाई पक्कै मदत दिनुहुनेछ।

१५. खेदोमा पर्दा हामी कसरी एकता कायम गर्न सक्छौँ?

१५ अरू भाइबहिनीले के गर्न सक्छन्‌? प्रतिबन्ध लगाइएको देशमा हामी स-सानो समूहमा मात्र भेला हुन सक्छौँ होला। यस्तो अवस्थामा आपसमा शान्तिमय सम्बन्ध कायम राख्न झनै चुनौतीपूर्ण हुन सक्छ। एकअर्कासित होइन, सैतानसित लड्‌नुहोस्‌। भाइबहिनीको कमीकमजोरीलाई बेवास्ता गर्नुहोस्‌ वा मतभिन्‍नता हुँदा तुरुन्तै सुल्झाउनुहोस्‌। (हितो. १९:११; एफि. ४:२६) एकअर्कालाई मदत गर्न अग्रसर हुनुहोस्‌। (ति. ३:१४) माथि उल्लेख गरिएकी बहिनीलाई क्षेत्र सेवा समूहका सबै मिलेर मदत गर्दा तिनीहरू परिवारजस्तै घनिष्ठ भए।—भज. १३३:१.

१६. कलस्सी ४:३, १८ अनुसार खेदोमा परेका भाइबहिनीलाई कसरी मदत गर्न सक्छौँ?

१६ हाम्रा हजारौँ भाइबहिनीले सरकारी प्रतिबन्धको बाबजुद यहोवाको सेवा गरिरहेका छन्‌। तिनीहरूमध्ये केही आफ्नो विश्‍वासको खातिर जेलमा परेका छन्‌। हामी तिनीहरूको लागि, तिनीहरूको परिवारको लागि अनि आफ्नो स्वतन्त्रता नै खतरामा पारेर तिनीहरूलाई आध्यात्मिक, भौतिक र कानुनी मदत दिने भाइबहिनीको लागि प्रार्थना गर्न सक्छौँ।c (कलस्सी ४:३, १८ पढ्‌नुहोस्‌।) प्रार्थनाको शक्‍तिलाई कहिल्यै हल्कासित नलिनुहोस्‌।—२ थिस्स. ३:१, २; १ तिमो. २:१, २.

आमाबुबा आफ्ना छोराछोरीसँगै पारिवारिक उपासना गर्दै छन्‌। छोराले “दानिएल: तिनले जीवनभर विश्‍वास देखाए” भिडियोबाट सिकेको कुरा बताउँदै छन्‌।

तपाईँ परिवारसँग मिलेर खेदोको लागि कसरी अहिल्यै तयारी गर्न सक्नुहुन्छ? (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. तपाईँ खेदोको लागि कसरी अहिल्यै तयारी गर्न सक्नुहुन्छ?

१७ तपाईँ र तपाईँको परिवारले खेदोको लागि अहिल्यै तयारी गर्न सक्नुहुन्छ। (प्रेषि. १४:२२) तर भविष्यमा हुन सक्ने एक-एक नराम्रा घटनाबारे सोचेर नबस्नुहोस्‌। बरु यहोवासितको मित्रता बलियो बनाउनुहोस्‌ र छोराछोरीलाई पनि त्यसै गर्न मदत दिनुहोस्‌। चिन्ताले सताउँदा परमेश्‍वरलाई आफ्नो मनको बह पोखाउनुहोस्‌। (भज. ६२:७, ८) तपाईँहरू किन यहोवामा भरोसा राख्न सक्नुहुन्छ भनेर परिवारै मिलेर छलफल गर्नुहोस्‌।d प्रकोपको लागि पूर्वतयारी गरेजस्तै खेदोको लागि पनि तयारी गर्नुभयो र यहोवामा भरोसा गर्नुभयो भने तपाईँका छोराछोरी साहसी हुन र शान्त रहन सक्नेछन्‌।

१८. हाम्रो भविष्य कस्तो छ?

१८ परमेश्‍वरको शान्ति पाएकोले हामी सुरक्षित महसुस गर्छौँ। (फिलि. ४:६, ७) यसले हामीलाई रोगबिमार, प्रकोप र खेदोको बाबजुद शान्त रहन मदत गर्छ। यहोवाले हामीलाई मदत गर्न मेहनती एल्डरहरू चलाउनुहुन्छ। उहाँले हामी प्रत्येकलाई पनि एकअर्कालाई मदत गर्ने सुअवसर दिनुभएको छ। अहिले हामीले अनुभव गरिरहेको शान्तिले हामीलाई भविष्यमा अझ ठूलठूला परीक्षाहरू र “महासङ्‌कष्ट”-को लागि समेत तयार बनाउँछ। (मत्ति २४:२१) त्यस कठिन घडीमा हामीले आफ्नो शान्ति कायम गर्नुपर्ने हुन्छ र अरूलाई पनि त्यसै गर्न मदत दिनुपर्ने हुन्छ। तर त्यसपछि हामीले चिन्तित बनाउने कुनै पनि किसिमको सङ्‌कष्ट भोग्नुपर्नेछैन। अन्ततः यहोवाले हाम्रो लागि साँचेर राख्नुभएको चिरस्थायी शान्ति हामीले पाउनेछौँ।—यसै. २६:३, ४.

निम्न परिस्थितिमा शान्ति पाउन तपाईँ अरूलाई कसरी मदत गर्न सक्नुहुन्छ?

  • महामारीको बेला

  • प्रकोप आइपर्दा

  • खेदो भोग्नुपर्दा

गीत १०९ प्रगाढ प्रेम

a कठिन परिस्थितिमा परेकाहरूलाई मदत गर्न यहोवा अक्सर आफ्ना वफादार सेवकहरूलाई चलाउनुहुन्छ। अरूलाई प्रोत्साहन दिन यहोवा तपाईँलाई पनि चलाउन सक्नुहुन्छ। समस्यामा परेकाहरूलाई हामी कसरी मदत गर्न सक्छौँ, अब विचार गरौँ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

c जेलमा परेका भाइबहिनीसम्म व्यक्‍तिगत पत्रहरू पठाउन शाखा कार्यालय वा मुख्यालयको लागि सम्भव हुँदैन।

d जुलाई २०१९ अङ्‌कको प्रहरीधरहरा-को “खेदोको सामना गर्न अहिल्यै तयारी गर्नुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

e तस्बिरको व्याख्या: एक दम्पतीले प्रकोपको बेला पालमा बसिरहेको एउटा परिवारलाई खानेकुरा ल्याइदिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने