“कत्ति एउटै इलाकामा प्रचार गर्ने!”
१ तपाईंको इलाकामा बारम्बार प्रचार भइसक्यो, अब कुनै भेडाखाले मानिस नै छैन भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? सायद, तपाईंले यस्तो पनि सोच्नुभएको होला: ‘त्यहाँका मानिसहरूले देखाउने प्रतिक्रिया मलाई राम्ररी थाह छ। चासो नदेखाउने व्यक्तिहरूकहाँ किन फेरि फेरि गई रहने?’ हो, अधिकांश इलाकाहरूमा धेरै पटक प्रचार भइसक्यो। तर यस तथ्यलाई नकारात्मक होइन सकारात्मक दृष्टिकोणले हेर्नुपर्छ। किन? निम्न चारवटा कारणलाई ध्यान दिनुहोस्।
२ हाम्रो प्रार्थनाको सुनुवाइ भएको छ: येशूले यसो भन्नुभयो: “फसल ता प्रशस्त छ, तर खेतालाहरू थोरै छन्, यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्।” (लूका १०:२) दशकौं देखि हामीले यहोवालाई थप मदतको लागि प्रार्थना गरेका छौं। अहिले हामीले अधिकांश ठाउँमा थप खेताला पाएका छौं र एउटै इलाकामा धेरै पटक प्रचार गरिरहेकाछौं। के यो यहोवाले हाम्रो प्रार्थना सुन्नुभएको प्रमाण होइन र? अनि के यसमा हामी आनन्दित हुनु पर्दैन र?
३ निरन्तर लागिरहनाले असल फल प्राप्त हुन्छ: धेरै पटक प्रचार गरिसकिएको इलाकामा पनि मानिसहरूले राज्य सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेका छन् र सत्यको ज्ञान स्वीकारिरहेका छन्। त्यसैले, निष्कपट हृदय भएका अझ धेरै मानिसहरू भेट्टाउने आशा गर्दै हामीले फेरि फेरि प्रचार गरिरहनुपर्छ। (यशै. ६:८-११) येशूका प्रारम्भिक चेलाहरूले गरेझैं आफूलाई जिम्मा दिइएको इलाकाका मानिसहरूकहाँ “जा[न]” नछोड्नुहोस् र परमेश्वरको राज्यप्रति तिनीहरूको चासो बढाउने प्रयत्न गर्नुहोस्।—मत्ती १०:६, ७.
४ पोर्चुगलमा अधिकांश मण्डलीहरू हरेक हप्ता एउटै इलाकामा प्रचार गर्छन्। तर तिनीहरूले अझै भेडाखाले मानिसहरू भेट्टाइरहेका छन्। यस सन्दर्भमा विशेष गरेर एउटी बहिनीको एकदमै सकारात्मक मनोवृत्ति छ। तिनी भन्छिन्: “प्रत्येक बिहान सेवामा जानुअघि बाइबल अध्ययन गर्न इच्छुक व्यक्ति खोज्न मदत दिनुहोस् भनी म यहोवालाई प्रार्थना गर्ने गर्छु।” एक दिन तिनले कपाल काट्ने पसलमा काम गर्ने कामदारहरूसित अध्ययन गर्ने प्रबन्ध मिलाइन्। यद्यपि, पछि एक जना व्यक्तिले मात्र अध्ययन गर्ने चासो देखाए। उक्त व्यक्तिले यसो भने, “यहाँ कसैले पनि मन पराउँदैनन्, तर मलाई मन पर्छ।” एक महिनाभित्र तिनको त्यस अध्ययनले दुईवटा बाइबल अध्ययन सञ्चालन गरिरहेकी थिइन्। त्यसको केही समयमै उनले बप्तिस्मा लिइन् र अग्रगामीको सेवा सुरु गरिन्!
५ काम पूरा भइरहेको छ: येशूले भविष्यवाणी गर्नुभएअनुसारै सुसमाचार प्रचार भइरहेको छ। (मत्ती २४:१४) मानिसहरूले हाम्रो ‘कुरा सुन्न नचाहे’ तापनि हामीले गर्ने प्रचार कार्यले तिनीहरूलाई जनाउ दिइरहेको हुन्छ। कसै कसैले सत्य स्वीकार्दैनन् वा विरोधसमेत गर्नेछन् भनी हामीले बुझेका छौं। तर यस्ता व्यक्तिहरूलाई पनि यहोवाले ल्याउनु हुने न्यायको दिनबारे ठीकसँग चेताउनी दिनुपरेको छ।—इज. २:४, ५; ३:७, ८, १९.
६ हाम्रो काम अझै सकिएको छैन: प्रचार कार्य बन्द गर्ने समय तोक्ने अधिकार हामीसँग छैन। यो कार्य बन्द गर्ने उपयुक्त समय यहोवालाई मात्र थाह छ। हाम्रो इलाकामा सुसमाचार स्वीकार्ने व्यक्तिहरू बाँकी छन् वा छैनन्, त्यो पनि उहाँलाई राम्ररी थाह छ। आज केही मानिसहरूले चासो छैन भनेर त भन्छन् तर तिनीहरूको जीवनमा आइपर्ने ठूलठूला परिवर्तनहरू जस्तै, जागिर गुमाउनु पर्दा, बिमारी हुँदा, आफन्तको मृत्यु हुँदा तिनीहरूले सत्य स्वीकार्न सक्छन्। पूर्वाग्रह वा व्यस्तताले गर्दा धेरै जसो मानिसहरूले हामीले सुनाउने सन्देश राम्ररी सुन्नै नपाएका हुनसक्छन्। पटक-पटक गरिएको मित्रैलो भेटले तिनीहरूलाई ध्यान दिन अनि सुन्न उत्प्रेरित गर्नसक्छ।
७ भर्खरै व्यवहारमा भिजेका र पारिवारिक जिम्मेवारी सम्हालेर जीवनलाई गम्भीरतासाथ लिइरहेकाहरूले सोधिरहेका प्रश्नहरूको उपयुक्त जवाफ यहोवाको वचनले मात्र दिनसक्छ। एक जना कम उमेरकी आमाले दुई जना साक्षीलाई आफ्नो घरमा बोलाइन् र यसो भनिन्: “यहोवाका साक्षीहरूले मेरी आमासँग बाइबलबारे कुरा गर्न खोज्दा उहाँले चासो नदिई इन्कार गर्नुको कारण मैले बुझ्न सकेकी थिइनँ। किनकि त्यतिखेरा म कलिलै थिएँ तर जब म ठूली हुनेछु र विवाह गरेर आफ्नो घरजम गर्नेछु, अनि म यहोवाका साक्षीहरूलाई घरमै बोलाएर बाइबलबारे बताउन आग्रह गर्नेछु भन्ने प्रण गरेकी थिएँ।” तिनले त्यसै गरिन्। यो, सुरुका ती साक्षीहरूले अलिकता पनि दुःख नमानी साक्षी दिएको फल हो।
८ के तपाईं अझ प्रभावकारी बन्नसक्नुहुन्छ? पटक-पटक एउटै इलाकामा काम गर्न गाह्रोजस्तो देखिनुको कारण सधैं नै त्यस इलाकामा बस्ने मानिस नहुनसक्छ। कहिलेकाहीं हामी स्वयम् त्यसको कारण हुनसक्छौं। के हामी नकारात्मक विचार राखेर प्रचारकार्य सुरु गर्छौं? यस्तो नकारात्मक विचारले हाम्रो मनोवृत्ति, बोल्ने तरिका र अनुहारको हाउभाउमा असर गर्नसक्छ। सकारात्मक मनोवृत्ति देखाउनुहोस् र प्रसन्न अनुहार लिएर बोल्नुहोस्। नयाँ नयाँ प्रस्तुतीहरू चलाएर कुराकानी थाल्ने प्रयास गर्नुहोस्। आफ्नो प्रस्तुती सधैं एकै किसिमको नबनाउनुहोस् र प्रस्तुतीमा उन्नति गर्ने प्रयास गर्नुहोस्। सायद तपाईंले सुरुमा सोध्ने प्रश्नलाई बदल्न सक्नुहुन्छ वा कुराकानीको दौडान पहिले नचलाएको नयाँ शास्त्रपद चलाउन सक्नुहुन्छ। त्यस इलाकामा प्रचार गर्दा अरू भाइबहिनीहरूले कुनचाहिं प्रस्तुती प्रभावकारी पाए, सोध्ने गर्नुहोस्। भिन्नाभिन्नै प्रकाशक तथा अग्रगामीहरूसँग काम गर्नुहोस् र तिनीहरूको सेवकाई प्रभावकारी हुन सक्नुको मुख्य कारण के हो, त्यसमा राम्ररी ध्यान दिनुहोस्।
९ राज्य-प्रचार कार्यमा यहोवाको अनुमोदन तथा आशिष् छ र यस कार्यमा भाग लिएर हामीले यहोवा अनि आफ्ना छिमेकीहरूप्रति प्रेम प्रकट गरिरहेका हुन्छौं। (मत्ती २२:३७-३९) त्यसैले, यो कार्य नसकेसम्म प्रचार गरिरहौं र आफ्नो इलाकामा बारम्बार प्रचार गर्नदेखि कहिल्यै नथाकौं।