द वाचटावर पत्रिकामा उत्साहप्रद परिवर्तनहरू!
१ यस वर्षको सुरुतिर मण्डलीमा एउटा उत्साहप्रद घोषणा भएको थियो: सन् २००८ देखि द वाचटावर (प्रहरीधरहरा) पत्रिकाका दुई भिन्नै संस्करण प्रकाशित हुनेछन्। एउटा जनसाधारणका लागि र अर्को हाम्रा मसीही भाइबहिनीका लागि। यो घोषणा सुनेपछि तपाईंको मनमा यी प्रश्नहरू उठे होलान्: ‘यी दुई पत्रिकाबीच के भिन्नता हुनेछ? दुई बेग्ला-बेग्लै संस्करणका फाइदाहरू के-के होलान्? यी नयाँ संस्करणमा कुनै नौला परिवर्तन देख्न पाइन्छ कि? भारतका विभिन्न भाषामा कुन-कुन संस्करण प्रकाशित हुनेछन्?’
२ भिन्नताहरू: द वाचटावर पत्रिकाको महिनाको पहिलो अंकलाई जनसंस्करण भनिनेछ। यस अंकका सम्पूर्ण लेखहरू जनसाधारणलाई ध्यानमा राखेर तयार पारिनेछन्। प्रत्येक महिनाको १५ तारिखको द वाचटावर पत्रिकालाई चाहिं अध्ययन संस्करण भनिनेछ। यो अंक क्षेत्र सेवामा दिइनेछैन। अध्ययन संस्करणमा महिनाभरका सबै अध्ययन लेखहरू र विशेषगरि यहोवाका समर्पित सेवकहरूलाई चाख लाग्ने थप लेख हुनेछन्। द वाचटावर पत्रिकाको जनसंस्करण साक्षीहरू र अझ विशेषगरि गैर-साक्षीहरूका लागि आकर्षक हुनेछ, जसमध्ये कोही-कोही यो पत्रिका पढेर बाइबल अध्ययन गर्न इच्छुक हुन सक्छन्। अवेक! (ब्यूँझनुहोस्!) पत्रिकामा भने धर्ममा आस्था नराख्ने मानिसहरूदेखि गैर-मसीही धर्म मान्ने मानिसहरू सबैलाई रोचक लाग्ने लेखहरू पहिलेजस्तै प्रकाशित भइरहनेछन्।
३ फाइदाहरू: अध्ययन संस्करणका लेखहरूमा “अग्रगामी” जस्ता शब्दलाई गैर-मसीहीहरूले पनि बुझ्ने गरी व्याख्या गर्नु पर्नेछैन। साथै यहोवाका साक्षी तथा आध्यात्मिक प्रगति गरिरहेका बाइबल विद्यार्थीहरूका लागि खासगरि तयार पारिएका सुस्पष्ट जानकारी पनि यस संस्करणमा हुनेछन्। जनसंस्करणको फाइदा नि? जनसंस्करणमा छापिने लेख अनि त्यसको लेखनशैली जनसाधारणलाई ध्यानमा राखेर तयार पारिने हुँदा यसका सम्पूर्ण लेखहरू बुझ्न गैर-साक्षीहरूलाई सजिलो हुनेछ। भनिरहनु नपर्ला, यहोवाका साक्षीहरूले पनि यस अंकमा पाइने जानकारीहरूबाट लाभ उठाउन सक्छन्।
४ नयाँ विशेषताहरू: द वाचटावर पत्रिकाको जनसंस्करणमा केही उत्साहप्रद नयाँ विशेषताहरू समावेश गर्ने योजना छ। जस्तै: सबैले सजिलै बुझ्ने शैलीमा बाइबलका आधारभूत शिक्षासम्बन्धी लेखहरू प्रस्तुत गर्ने। बाइबलले कसरी परिवारलाई मदत गर्न सक्छ भनेर बताउने लेखहरू समावेश गर्ने। केटाकेटी अनि युवायुवतीलाई बाइबल अध्ययन गर्न प्रोत्साहन दिन रमाइला प्रोजेक्टहरू राख्ने। यीबाहेक हरेक अंकमा यहोवाको गुण अनि व्यक्तित्वबारे सिकाउने केही खास बाइबल पदहरू विस्तृत तवरमा छलफल गर्ने लेख प्रकाशित गर्ने।
५ भारतीय भाषाहरू: निम्न भाषाहरूमा द वाचटावर-को मासिक अध्ययन संस्करण अनि त्रैमासिक जनसंस्करण प्रकाशित हुनेछन्: कन्नडा, तामिल, तेलगु, पन्जाबी, बंगाली, मराठी, मल्यालम र हिन्दी। गुजराती, नेपाली अनि मिजो भाषामा चाहिं मासिक संयुक्त संस्करण मात्र छापिनेछ। यस संस्करणको मिति हरेक महिनाको १ तारिख हुनेछ र यसमा अध्ययन संस्करणका सबै अध्ययन लेख अनि जनसंस्करणबाट छानिएका केही लेख समावेश गरिनेछन्। डिसेम्बर १५, २००७ अंकको द वाचटावर-का अध्ययन लेखहरूलाई माथि उल्लिखित भाषाहरूमा पुस्तिकाको रूपमा प्रकाशित गरिनेछ।
६ द वाचटावर पत्रिकाको ढाँचामा परिवर्तन गर्ने यो नयाँ प्रबन्धलाई यहोवाले आशिष् देऊन् भनी हामी प्रार्थना गर्छौं। द वाचटावर अनि अवेक! पत्रिकाले अझ धेरै “योग्य” व्यक्तिहरूकहाँ सुसमाचार पुऱ्याओस् भनेर हामी कामना गर्छौं।—मत्ती १०:११.