बाइबल अध्ययन सञ्चालन गर्न अस्वीकार नगर्नुहोस्!
१. अरूको भलो हुने काम गर्न ‘अस्वीकार गर्दैनौं’ भनेर हामी कसरी देखाउँछौं?
१ हामी आफूलाई जिम्मा दिइएको इलाकाका मानिसहरूको भलो हुने काम गर्न ‘अस्वीकार गर्दैनौं।’ (हितो. ३:२७) त्यसैले, त उनीहरूलाई परमेश्वरको राज्यको सुसमाचार लगनशील भई प्रचार गर्छौं। परमेश्वरको राज्य आएपछि सबैले सुखको दिन देख्न पाउनेछन् भनेर हामी मानिसहरूलाई सबैभन्दा राम्रो खबर दिन्छौं। अनौपचारिक प्रचार गरेर अथवा साहित्य दिएर तपाईंले परमेश्वरको राज्यले दिने आशा यथासक्दो सबैसित बाँडिरहनुभएको होला। तर के बाइबल अध्ययन पनि सञ्चालन गरिरहनुभएको छ? छैन भने, बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखे कसो होला?
२. के कारणले गर्दा हामी बाइबल अध्ययन सञ्चालन गर्नदेखि हच्किरहेका हुन सक्छौं?
२ बाइबल अध्ययन सञ्चालन गर्न बाधा पुऱ्याउने थुप्रै कुरा होलान्। तर सबैभन्दा ठूलो बाधा त अक्सर हाम्रो आफ्नै दृष्टिकोणले पुऱ्याइरहेको हुन्छ। हाम्रा केही भाइबहिनी बाइबल अध्ययन सञ्चालन गर्ने भन्ने बित्तिकै हच्किन्छन्। आफूसित बाइबल अध्ययन सञ्चालन गर्ने योग्यता नै छैन भनेर उनीहरू महसुस गर्छन्। कतिचाहिं बेफुर्सदीले गर्दा बाइबल अध्ययन सञ्चालन गर्न चाहँदैनन्। जिज्ञासु मानिसहरूसित बाइबल अध्ययन गरेर कसरी उनीहरूको भलो हुने काम गर्न ‘अस्वीकार नगर्ने’ निम्न केही सुझाव तपाईंका लागि मदतकारी साबित हुन सक्छन्।—मत्ती २८:१९; प्रेरि. २०:२०.
३. बाइबल अध्ययन गराउन हामी किन योग्य छौं?
३ मसित बाइबल अध्ययन सञ्चालन गर्ने योग्यता नै छैन: धेरै पढेलेखेको नभएकोले अथवा अरू कारणले गर्दा तपाईंलाई बाइबल अध्ययन सञ्चालन गर्न डर लागिरहेको हुन सक्छ। तर नबिर्सनुहोस्, प्रथम शताब्दीका कुशल मसीही सेवकहरू पनि “अपठित र अजान” थिए। उसोभए, तिनीहरू कसरी परमेश्वरको वचन सिकाउन सिपालु भए? किनकि तिनीहरू “येशूको साथमा रहन्थे।” (प्रेरि. ४:१३) महान् गुरु येशूसित तिनीहरूले धेरै कुरा सिके। उहाँले के-के सिकाउनुभयो र कसरी सिकाउनुभयो हामी अहिले बाइबल पढेर थाह पाउन सक्छौं। तपाईं धेरै पढेलेखेको हुनुहुन्न होला, तर तपाईंले पाइरहेको आध्यात्मिक शिक्षा संसारकै सबैभन्दा ठूलो शिक्षा हो भनेर नबिर्सनुहोस्।—यशै. ५०:४; २ कोरि. ३:५.
४. आमोसलाई हेरेर हामी के कुरा सिक्न सक्छौं?
४ गलत काम गर्ने राजा, महाराजा अनि ठूलाठालुहरूलाई हप्काउन यहोवा कहिलेकाहीं अगमवक्ताहरूलाई चलाउनुहुन्थ्यो। उहाँले चलाउनुभएका अगमवक्ताहरूमध्ये एक जना आमोस हुन्। तिनी साधारण मानिस थिए। “म ता अगमवक्ता होइन, नता अगमवक्ताको छोरोनै हुँ! तर म एउटा गोठाला र किम्बुका रूखहरू छिवल्ने मानिस हुँ” भनेर आमोस आफैले स्वीकारेका छन्। (आमो. ७:१४) तर त्यतिखेर बाछाको उपासना गर्ने पुजारी अमस्याहलाई यहोवाको दण्ड सुनाउन आमोस डराएनन्। (आमो. ७:१६, १७) हामीले गरिरहेको काम परमेश्वरको काम हो भनेर कहिल्यै नबिर्सनुहोस्। त्यसैले उहाँको काम पूरा गर्न हामीसित जे-जस्तो योग्यता हुनुपर्छ, त्यो उहाँले नै दिनुहुनेछ।—२ तिमो. ३:१७.
५. फुर्सद नभए पनि हामीले किन बाइबल अध्ययन सञ्चालन गर्ने कोसिस गर्नुपर्छ?
५ मसित फुर्सदै छैन: जतिसुकै व्यस्त भए पनि नियमित तवरले प्रचारमा जाने समय त पक्कै छुट्याउनुभएको होला। उसोभए, बाइबल अध्ययन सञ्चालन गर्ने समय पनि निकाल्ने कोसिस गरे कसो होला? किनकि बाइबल अध्ययन सञ्चालन गर्नु हामीले गर्ने प्रचारको कामको सबैभन्दा रमाइलो पक्ष साबित हुन सक्छ। यसबाहेक, यहोवाको वचनले मानिसहरूको जीवनलाई कसरी परिवर्तन गर्दो रहेछ, बाइबल अध्ययन गर्दा त्यो देख्ने विशेष मौका तपाईंले पाउनुहुनेछ। (हिब्रू ४:१२) मानिसहरूलाई “सत्यको ज्ञान” सिकाउन हामी जे-जस्तो त्याग गर्छौं, त्योदेखि यहोवा प्रसन्न हुनुहुन्छ। (१ तिमो. २:४) हामीसित अध्ययन गर्ने व्यक्तिले गलत बाटो छोडेर आध्यात्मिक प्रगति गर्दा स्वर्गदूतहरूलाई समेत खुसी लाग्छ।—लूका १५:१०.
६. यहोवाको सदिच्छा पूरा गर्ने के सुअवसर हामीले पाएका छौं?
६ यहोवा परमेश्वर “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा . . . गर्नुहुन्छ।” (१ तिमो. २:४) मानिसहरूसित बाइबल अध्ययन गर्न ‘अस्वीकार नगरेर’ यहोवाको यस्तो सदिच्छा पूरा गर्नु पाउनु हाम्रो लागि साँच्चै ठूलो सम्मानको कुरा हो!