पछि नहट्नुहोस्—व्यस्त तालिकामा छाँटकाँट गर्नुहोस्
१. कोही-कोही बाइबल अध्ययनको प्रस्ताव राख्न किन हिचकिचाउँछन्?
१ कोही-कोही आफ्नो व्यस्त तालिकाले गर्दा बाइबल अध्ययनको प्रस्ताव राख्न हिचकिचाउँछन्। बाइबल विद्यार्थीलाई मदत गर्न समय दिनुपर्ने हुन्छ। अध्ययनको लागि तयारी गर्न, अध्ययन सञ्चालन गर्न र विद्यार्थीलाई विभिन्न चुनौतीसित लड्नको लागि मदत गर्न समय दिनुपर्ने हुन्छ। प्रेषित पावल थिस्सलोनिकाका भाइबहिनीलाई यहोवाबारे सिक्नको लागि मदत गर्न आफ्नो ज्यान दिनसमेत तयार भए। (१ थिस्स. २:७, ८) हामी व्यस्त भए तापनि कसरी बाइबल अध्ययन सञ्चालन गर्न सक्छौं?
२. समय खर्च गर्ने सम्बन्धमा यहोवाप्रतिको मायाले कस्तो प्रभाव पार्छ?
२ उपासनाको लागि समय चाहिन्छ: वास्तवमा भन्ने हो भने उपासनाको लागि समय चाहिन्छ। जस्तै:- नियमित रूपमा सभामा उपस्थित हुन, क्षेत्र सेवामा भाग लिन, बाइबल पढ्न र प्रार्थना गर्न धेरै समय दिनुपर्ने हुन्छ। विवाहित दम्पती आफू व्यस्त भए पनि आफ्नो जीवनसाथीलाई समय दिन खुसीसाथ तयार हुन्छन्। हामी यहोवालाई धेरै माया गर्छौं। त्यसैले उहाँको उपासनाको लागि अझ धेरै ‘समय किन्न’ इच्छुक हुनुपर्छ। (एफि. ५:१५-१७; १ यूह. ५:३) चेला बनाउने काम हाम्रो उपासनाको महत्त्वपूर्ण भाग हो भनेर येशूले बताउनुभयो। (मत्ती २८:१९, २०) हामीले येशूको यस कुरामा मनन गर्दा बाइबल अध्ययन सञ्चालन गर्ने जिम्मेवारी स्वीकार्नदेखि पछि नहट्न मदत पाउँछौं।
३. विभिन्न कारणले हाम्रो तालिकामा बाधा पुगे तापनि हामी कसरी बाइबल अध्ययन सञ्चालन गर्न सक्छौं?
३ तर जागिर, दीर्घकालीन स्वास्थ्य समस्या वा ईश्वरतान्त्रिक जिम्मेवारीले गर्दा हाम्रो क्षेत्र सेवाको तालिकामा बाधा पुग्यो भने के गर्न सक्छौं? कामको सिलसिलामा बाहिर जानै पर्ने अवस्था आइपर्दा केही प्रकाशकले फोनमार्फत वा कम्प्युटरमार्फत बाइबल अध्ययन सञ्चालन गरेका छन्। दीर्घकालीन स्वास्थ्य समस्या भएकाहरूले विद्यार्थीलाई अध्ययनको लागि घरमै बोलाएका छन्। कसै-कसैले भने आफू अध्ययन गराउन सक्ने अवस्थामा नहुँदा आफ्नो सट्टामा अध्ययन गराउन कुनै भरपर्दो प्रकाशकको प्रबन्ध मिलाएका छन्।
४. बाइबल अध्ययन सञ्चालन गर्दा के-कस्ता आशिष्हरू पाउन सकिन्छ?
४ अरूलाई सत्य सिक्न मदत गर्न आफ्नो समय अनि शक्ति दिन पाउँदा पावल धेरै आनन्दित भए। (प्रेषि. २०:३५) थिस्सलोनिकाका भाइबहिनीलाई गरेको मदतबारे विचार गर्दा तिनी यहोवालाई धन्यवाद दिन उत्प्रेरित भए। (१ थिस्स. १:२) व्यस्त तालिकाको बाबजुद बाइबल अध्ययन सञ्चालन गर्ने काममा भाग लियौं भने क्षेत्र सेवाबाट अझ धेरै आनन्द अनि सन्तुष्टि पाउन सक्छौं।