बाइबल अध्ययन सञ्चालन गर्ने लक्ष्य बनाउनुहोस्
१ “आफ्ना आँखा गाडेर खेतबारीहरू हेर, किनभने ती अहिलेनै कटनीको लागि पहेंला भएका छन्।” (यूह. ४:३५) येशूका यी शब्दहरू आज दुरुस्त पूरा भइरहेको यहोवाका साक्षीहरूले महसुस गरिरहेका छन्।
२ यहोवाको मार्ग सिक्न इच्छुक इमानदार मानिसहरू अझै भेटिन्छन्। वर्षेनी थुप्रै नयाँ चेलाहरूले बप्तिस्मा लिनुले यसको पुष्टि गर्छ। बाइबल अध्ययन सञ्चालन गर्न साँच्चै इच्छुक हुनुहुन्छ भने तपाईंले के गर्नुपर्ला?
३ लक्ष्य बनाउनुहोस्: सबैभन्दा पहिला, नियमित बाइबल अध्ययन सुरु गर्ने र सञ्चालन गर्ने लक्ष्य बनाउनुहोस्। प्रचार गर्दा यो लक्ष्य मनमा राख्नुहोस्। प्रचार गर्नुका साथै सिकाउनु पनि हाम्रो मसीही जिम्मेवारी हो। त्यसैले सकेजति धेरै जनासित बाइबल अध्ययन सञ्चालन गर्ने कोसिस हामी सबैले गर्नुपर्छ।—मत्ती २४:१४; २८:१९, २०.
४ मनमा राख्नुपर्ने अन्य कुरा: राज्य प्रचारकहरूले यहोवालाई हृदय खोलेर प्रार्थना पनि गर्नैपर्छ। साँचो परमेश्वरलाई चिन्न पाऊँ भनेर प्रार्थना गर्ने मानिसहरू हामी बेलाबेलामा भेटिरहन्छौं। यस्ता मानिसहरूलाई भेट्टाउन यहोवाले हामीलाई प्रयोग गर्नु कत्ति ठूलो आशिष् हो।—हाग्गै २:७; प्रेरि. १०:१, २.
५ एउटी बहिनीले बाइबल अध्ययन सञ्चालन गर्न पाऊँ भनेर प्रार्थना गरिन् र त्यसपछि काम गर्ने ठाउँमा के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? शीर्षकको केही प्रति पर्चा राखिन्। अनि एउटी आइमाईले पर्चा लिएर सरसर्ती पढेपछि कूपन भर्न थालिन्। त्यसपछि हाम्री बहिनीले यस आइमाईसित कुराकानी थालिन् र तिनीसित बाइबल अध्ययन सुरु गरिन्।
६ बाइबल अध्ययन सुरु गर्न र सञ्चालन गर्न सफल साबित भइसकेका सँगी भाइबहिनीले तपाईंलाई बाइबल अध्ययन सञ्चालन गर्ने लक्ष्य प्राप्त गर्न मदत दिन सक्छन्। बाइबल अध्ययन गर्न चाहने मानिस भेट्टाउन सकूँ भनेर प्रार्थना गर्नुहोस् र यो लक्ष्य प्राप्त गर्न उपलब्ध सम्पूर्ण मदतको पूरापूर फाइदा लिनुहोस्। यसो गर्नुभयो भने, सायद छिट्टै बाइबल अध्ययन सञ्चालन गर्दा पाइने आनन्द अनुभव गर्न पाउनुहुनेछ।