गृह बाइबल अध्ययनहरू सुरु गर्न
१ साँचो मसीहीहरूका लागि एउटा अति नै फलदायी र सन्तोषजनक अनुभव एकजना अर्को व्यक्तिलाई गृह बाइबल अध्ययनद्वारा सच्चाइ सिकाउनु हो। तापनि कसैकसैले चाहिं सेवकाईको यो अर्थपूर्ण भागबाट आनन्द उठाएका छैनन् होला किनभने बाइबल अध्ययन सुरु र सञ्चालन गर्न तिनीहरू आफूलाई असमर्थ ठान्छन्। थुप्रै योग्य प्रकाशकहरू र अग्रगामीहरूले पनि कुनै समयमा आफूलाई यस्तै ठान्थे। तर यहोवामाथि भरोसा राख्दै र हाम्रो राज्य सेवकाईमा दिएका सुझावहरू प्रयोगमा ल्याउँदै, तिनीहरूले बाइबल अध्ययनहरू सुरु र सञ्चालन गर्न सिके। तिनीहरूले सेवकाईमा आफ्नो आनन्द बढाउन सके। सोही लक्ष्य तपाईंले पनि राख्न सक्नुहुन्छ।
२ सोझै निम्ताउने र पर्चाहरू प्रयोग गर्ने तरिका: अध्ययन सुरु गर्ने सबैभन्दा सजिलो तरिकाहरू मध्ये एउटा त सोझै निम्ताउने तरिका हो। कुनै कुनै मानिसलाई बाइबल अध्ययन गर्न आत्मीयतासाथ निम्ताउने खाँचो मात्र पर्छ। घरधनीलाई यति मात्र भने पनि पुग्छ: “बाइबल र पृथ्वीका लागि परमेश्वरको उद्देश्यबारे आफ्नो ज्ञान बढाउनका लागि के तपाईं आफ्नो घरैमा व्यक्तिगत रूपमा बाइबल अध्ययन गर्न चाहनुहुन्छ?” अथवा गृह बाइबल अध्ययन कसरी सञ्चालित हुन्छ, सो तपाईं प्रदर्शित गर्न चाहनु हुन्छ भनेर तपाईंले घरधनीलाई भन्न सक्नुहुन्छ। धेरैले यो प्रबन्ध स्वीकार्न इन्कार गरे तापनि, यसलाई स्वीकार गर्ने व्यक्ति फेला पर्दा अनुभव हुने आनन्दलाई सधैं आफ्नो सामुन्ने राख्नु होस्!
३ बाइबल अध्ययन सुरु गर्ने एउटा अर्को तरिका हो हाम्रा पर्चाहरू मध्ये कुनै एउटाको प्रयोग। हेर्नमा सानो भए तापनि यिनमा भएको सन्देश चाहिं शक्तिशाली र पत्यारलाग्दो हुन्छ। तर एउटा पर्चाद्वारा अध्ययन कसरी सुरु गर्न सकिन्छ? प्रथमतः जुन विषयमा घरधनीको चासो होला भनी तपाईं ठान्नु हुन्छ, सो विषय भएको पर्चा घरधनीलाई दिनुहोस्। यसपछि पर्चाको प्रथम अनुच्छेद तपाईंसित पढ्ने अनुरोध उनलाई गर्नुहोस्। त्यहाँ उल्लिखित शास्त्रपदहरू शास्त्र खोलेर पढ्नु होस् र पर्चाको विषयवस्तुसित ती कसरी सम्बन्धित छन्, सो छलफल गर्नुहोस्। प्रथम भेटमा सम्भवतः तपाईं एक वा दुई अनुच्छेदहरू मात्र पढ्न सक्नुहुन्छ। तर बाइबलबाट रुचिकर कुराहरू सिकेको घरधनीले महसुस गर्न थालेपछि तपाईंले पनि छलफलमा अझ बढी समय बिताउन सक्नु हुन्छ।
४ बाइबलमात्र प्रयोग गर्न: कुनै कुनै बेला एकजना व्यक्ति बाइबलको कुरा छलफल गर्न तयार हुन्छन् तर औपचारिक अध्ययन अथवा हाम्रो कुनै प्रकाशन प्रयोग गर्न चाहिं हिचकिचाउँन सक्छन्। यस्तो परिस्थितिमा पनि रिजनिङ्ग अथवा सधैंभरि बाँच्न पुस्तकका विभिन्न भागहरूमा आधारित रुचिकर शास्त्रीय छलफलहरू तयार गरेर तपाईंले बाइबल अध्ययन सुरु र सञ्चालन गर्न सक्नु हुन्छ। खालि यसप्रकारको व्यक्तिकहाँ जाँदा चाहिं बाइबलमात्र प्रयोग गर्नु उचित हुन्छ। यस्ता छलफलहरू परिस्थितिअनुसार १५ देखि २० मिनेट अथवा अझ लामो हुन सक्छ। यी छलफलहरू नियमित ढङ्गमा र घरधनीलाई बाइबलका सच्चाइहरू क्रमानुसार सिकाउने गर्नु भयो भने तपाईंले एउटा बाइबल अध्ययन सुरु गर्नु भएको हुनेछ र यसलाई बाइबल अध्ययन भनेर रिपोर्ट गर्न सक्नुहुन्छ। उचित समयमा सधैंभरि बाँच्न पुस्तक प्रस्तुत गर्नुहोस् र त्यसबाट औपचारिक ढङ्गमा बाइबल अध्ययन सञ्चालन गर्न सक्नुहुन्छ।
५ क्षेत्र सेवकाईमा बाहेक के तपाईंले आफ्ना छरछिमेकीहरू, चिनजानहरू अथवा परिवारका सदस्यहरूसित बाइबल अध्ययन सुरु गर्ने मौका खोज्नु भएको छ? तपाईंले सो निकै समयअघि गर्नु भएको थियो कि? के तपाईंले हालसालैमा पनि कोशिश गर्नु भएको छ? र एउटा तरिका सफल नभएको खण्डमा अर्को तरिका अपनाउने कोशिश गर्ने विचार गर्नु भएको छ कि?
६ दिइएका सुझावहरूलाई प्रयोगमा ल्याउँदै क्षेत्र सेवकाईमा लागिरहनु भयो र यहोवाको आशिषका लागि उहाँमाथि भरोसा राख्नु भयो भने तपाईं गृह बाइबल अध्ययनहरू सुरु गर्नमा सफल हुन सक्नुहुनेछ। सच्चाईको शक्ति र यहोवाले दिनु हुने मदतलाई कहिले पनि तुच्छ नठान्नु होस्। गृह बाइबल अध्ययनहरू सुरु र सञ्चालन गरेर क्षेत्र सेवकाईमा आफ्नो आनन्द बढाउनु होस्।