मन भाँचिएकाहरूलाई सान्त्वना दिनुहोस्
१ मानिसजातिलाई अहिले जति सान्त्वनाको खाँचो पहिले कहिल्यै परेको थिएन। त्यसैले हाम्रो राजा ख्रीष्ट येशूको अनुकरण गर्दै हामी “मन भाँचिएकाहरूको हृदयलाई निको” पार्ने काम गर्छौं।—यशै. ६१:१.
२ सान्त्वना दिने तरिका: मानिसहरूलाई सान्त्वना दिन हामीले प्रचार गर्दा सन्तुलित अनि सकारात्मक कुराकानी गर्नुपर्छ। हामीले संसारमा भइरहेका नराम्रा घटनाहरू अनि झूटा शिक्षाहरूबारे थोरै कुरा गऱ्यौं भने बाइबलले सिकाउने सत्य कुरा अनि परमेश्वरका सान्त्वनादायी प्रतिज्ञाहरूबारे धेरै कुरा गर्न पाउनेछौं। तर त्यसो भन्दैमा आर-मागेडोनबारे कुरा गर्नै हुन्न भनेको चाहिं होइन। हाम्रो जिम्मेवारी ‘परमप्रभुको ग्रहणयोग्य वर्षबारे’ बताउनुका साथै “हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा” गर्नु अनि “दुष्टलाई त्यसको दुष्ट चालको लागि चेताउनी” दिनु पनि हो। तथापि, हामीले आर-मागेडोनबारे भयानक कुराहरू सुनाएर राज्यको सुसमाचारलाई ओझेलमा पर्न दिनुहुँदैन।—यशै. ६१:२; इज. ३:१८; मत्ती २४:१४.
३ घर-घर प्रचार गर्दा: हामी अक्सर रोगबिमार, प्रियजनको मृत्यु, अन्याय-अत्याचार वा आर्थिक कठिनाइले गर्दा दुःखी भइरहेका मानिसहरू भेटिरहन्छौं। घर-घर प्रचार गर्दा भेटिने यस्ता मानिसहरूलाई हामी येशू ख्रीष्टको अनुकरण गर्दै ‘टिठाउँछौं’ र सहानुभूति प्रकट गर्छौं। (लूका ७:१३; रोमी १२:१५) यस्तो बेला उनीहरूको समस्याको हलबारे बाइबलले के बताउँछ भनेर एक-दुइटा पद देखाउनु राम्रो भए तापनि, हामी उनीहरूको कुरा “सुन्नालाई छिट्टो” हुनुपर्छ; उनीहरूलाई आफ्नो पीडा व्यक्त गर्ने मौका दिनुपर्छ। (याकू. १:१९) यसरी पहिले राम्ररी घरधनीको कुरा सुन्यौं भने तिनलाई कस्तो किसिमको सान्त्वना चाहिएको हो, सो दिन हामीलाई सजिलो हुनेछ।
४ घरधनीको परिस्थिति बुझेपछि कुराकानीको दौडान मौका हेरेर हामी यसो भन्न सक्छौं, “म तपाईंलाई यसबारे बाइबलमा लेखिएका एक-दुइटा सान्त्वनादायी वचन पढेर सुनाउन चाहन्छु।” कुराकानी चलिरहेको बेला घरधनीले कुनै कुरा गलत तरिकाले सोचिरहेको रहेछ भनेर थाह पाउनुभयो भने, तुरुन्तै सच्याउनु बेस हुन्छ वा हुँदैन राम्ररी विचार गर्नुपर्छ। किनकि बातैपिच्छे घरधनीको विचार सच्याइरहनु राम्रो होइन। हाम्रो कोसिस, मन छुने बाइबल पद चलाएर तिनलाई प्रोत्साहन अनि सान्त्वना दिने हुनुपर्छ। यसका लागि हामी रीजनिङ फ्रम द स्क्रिप्चर्स-को (धर्मशास्त्रबाट तर्क गर्ने) पृष्ठ ११७-१२१ मा “प्रोत्साहन” भन्ने शीर्षकमुनि दिइएका जानकारी चलाउन सक्छौं अथवा घरधनीलाई निराशहरूका लागि सान्त्वना भन्ने पर्चा दिएर सँगै पढ्न सक्छौं।
५ अरूलाई सान्त्वना दिने मौका खोज्नुहोस्: तपाईंको टोलमा, काम गर्ने ठाउँमा, स्कूलमा वा नातागोता पर्ने कसैलाई सान्त्वना चाहिरहेको छ कि? छ भने, उनीहरूको घरमै गएर बाइबलले दिने सान्त्वनाका कुरा सुनाउने कोसिस गरे कसो होला? बरु भेट्न जानुअघि कस्तो किसिमको सान्त्वना चाहिएको हो, त्यो पत्ता लगाउनुहोस्। त्यसो गर्नुभयो भने उनीहरूले खोजेकै सान्त्वना दिन सजिलो हुनेछ। हाम्रा केही भाइबहिनीले चिट्ठी लेखेर वा टेलिफोन गरेर पनि सान्त्वना दिएका छन्। मन भाँचिएकाहरूलाई यसरी सहानुभूति देखाउन अनि बाइबल पढेर उनीहरूलाई चाहिएकै सान्त्वना दिन छिमेकीप्रतिको साँचो मायाले हामीलाई हौसला दिनेछ।—लूका १०:२५-३७.
६ हो, शोक गरिरहेका मानिसहरूलाई सान्त्वना दिने, उनीहरूको निन्याउरो अनुहारमा मुस्कान छर्ने, अनि उज्ज्वल भविष्यको आशा दिने जिम्मेवारी हामीलाई सुम्पिएको छ। संसारभरिका मानिसहरूलाई अहिले यस्तै सान्त्वना चाहिएको छ। यहोवाले प्रतिज्ञा गर्नुभएका राम्रा-राम्रा कुरा हामीले आनन्दित भएर सुनायौं भने सोझा मानिसहरूले सान्त्वना अनि आशा पाउनेछन्। मन भाँचिएकाहरूको हृदयलाई निको पार्न अहिले धेरै खाँचो परिरहेको छ भनेर हामी कहिल्यै नबिर्सौं।