प्रगतिशील प्रचारक हुनुहोस्
१ आफ्ना सेवकहरूले आध्यात्मिक प्रगति गर्दा स्वर्गका हाम्रा पिता यहोवा प्रसन्न हुनुहुन्छ। आध्यात्मिक प्रगति गर्नुमा परिपक्व अनि सुसमाचारको प्रभावकारी साक्षी हुन अघि बढ्नु समावेश छ। पावलले निरीक्षक तिमोथीलाई उनको “प्रगति सबैमा प्रकट” होस् भनेर पढाइ र शिक्षामा लागिरहन प्रोत्साहन दिए। (१ तिमो. ४:१३-१५) हामी सबैले र हामीमध्ये अनुभवी प्रकाशकहरूले समेत प्रचार गर्ने तरिकामा अझै प्रगति गर्न प्रयास गर्नु आवश्यक छ।
२ लक्ष्य राख्नुहोस्: प्रगति गर्ने हो भने लक्ष्य राख्नुपर्छ। हामी कस्ता लक्ष्यहरू राख्न सक्छौं? आध्यात्मिक तरवार बाइबललाई अझ सिपालु ढंगमा चलाउने प्रयास गर्न सक्छौं। (एफि. ६:१७) सायद सडक साक्षी, टेलिफोन साक्षी अथवा व्यापारिक इलाकामा साक्षी दिनेजस्ता सेवाको कुनै पक्षमा केही उन्नति गर्न खाँचो छ कि? सायद अझ प्रभावकारी तरिकामा पुनःभेट गर्न सक्छौं। अर्को राम्रो लक्ष्यचाहिं बाइबल अध्ययन सुरु तथा सञ्चालन गर्ने क्षेत्रमा दक्षता बढाउनु हो।
३ प्रबन्धहरू: मण्डलीका सभाहरू, अझ विशेषगरि ईश्वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभा, प्रचारकको रूपमा हाम्रो कला तिखार्न मदत दिनका लागि तयार पारिएका हुन्। यी सभाहरूका लागि तयारी गर्न, यिनमा उपस्थित हुन र सभाबाट पाएका सल्लाहलाई लागू गर्न हामी जति धेरै प्रयास गर्छौं, त्यति नै बढी लाभ उठाउनेछौं।—२ कोरि. ९:६.
४ हामीले एक-अर्कालाई प्रगति गर्न पनि मदत गर्नुपर्छ। (हितो. २७:१७) हामीसँगै प्रचार गरिरहेका भाइबहिनीको प्रस्तुतिलाई ध्यान दिएर सुन्दा प्रगति गर्न सक्छौं। त्यसको साथै, हामीलाई मदत गर्न पुस्तक अध्ययन निरीक्षकले थप प्रबन्ध पनि मिलाउन सक्छन्। हामीलाई प्रचारकार्यमा प्रभावकारी हुन र अपार आनन्द प्राप्त गर्न मदत गर्ने अनुभवी अग्रगामी तथा अन्य प्रकाशक हामीमाझ हुनु कत्ति ठूलो आशिष्को कुरा हो! हाम्रो पुस्तक अध्ययन समूहमा कोही नयाँ प्रकाशक छन् कि? सायद, उनलाई सँगै प्रचारमा जान बोलाउन सक्छौं।
५ आज भइरहेको सबैभन्दा महत्त्वपूर्ण काम ख्रीष्टियान प्रचारकार्य नै हो। यहोवालाई “स्तुतिको बलिदान” चढाउँदा हामी उहाँलाई सर्वोत्तम कुरा दिन चाहन्छौं। (हिब्रू १३:१५) प्रगतिशील प्रचारक हुन प्रयास गर्छौं भने हामी ‘सत्यको वचनलाई ठीकसँग प्रयोग गरी शर्माउन नपर्ने खेताला’ हुनेछौं।—२ तिमो. २:१५.