प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 अगस्त pp. ३-४
  • पुरुषहरूलाई साक्षी दिन तयार हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पुरुषहरूलाई साक्षी दिन तयार हुनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • बेग्लाबेग्लै धर्म मान्‍ने परिवारहरू पनि आनन्दित हुन सक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न तपाईं अघि बढ्‌न सक्नुहुन्छ कि?
    हाम्रो राज्य सेवकाई—२०१०
  • सत्यले ‘शान्ति होइन तर फूट गराउँछ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्‍याइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 अगस्त pp. ३-४

पुरुषहरूलाई साक्षी दिन तयार हुनुहोस्‌

१. राज्य गतिविधिको हेरविचार गर्न केको अत्यन्तै खाँचो परेको छ?

१ यी आखिरी दिनमा राज्यको सुसमाचार प्रचार गर्ने काम फैलिंदै जाँदा नेतृत्व लिन आध्यात्मिक रूपमा योग्य पुरुषहरूको अत्यन्तै खाँचो परेको छ। (मर्कू. ४:३०-३२; प्रेरि. २०:२८; १ तिमो. ३:१-१३) तर कुनै-कुनै ठाउँमा महिलाको तुलनामा कमै मात्र पुरुषले राज्य सन्देश स्वीकारिरहेका छन्‌। कुनै-कुनै संस्कृतिमा पुरुषहरू धर्मको कुरा आउँदा वा छोराछोरीलाई धार्मिक शिक्षा दिने कुरा आउँदा यो जिम्मेवारी त आमाको हो नि भनेर पन्छिन्छन्‌। आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग हुन र हामीसितै साँचो उपासनामा सामेल हुन अझ धेरै पुरुषहरूलाई हामी कसरी प्रोत्साहन दिन सक्छौं?

२. पुरुषहरूलाई साक्षी दिन पावल र पत्रुसले गरेको प्रयासले कसरी राम्रो नतिजा ल्यायो?

२ पुरुषहरू खोज्नुहोस्‌: परिवारको शिरले सत्य स्वीकारेपछि उनले अक्सर परिवारका अरूलाई पनि शुद्ध उपासनामा भाग लिन हौस्याउँछन्‌। उदाहरणको लागि, प्रचार गरेकोले झ्यालखानामा पर्दा पावल र सिलासले झ्यालखानाका हाकिमलाई साक्षी दिए। ती हाकिम र तिनको परिवारका सबैले बप्तिस्मा लिए। (प्रेरि. १६:२५-३४) कोरिन्थमा पावलले प्रचार गरेको नतिजास्वरूप “सभाघरका शासक क्रिस्पस र उनका सारा परिवार समेतले प्रभुमा विश्‍वास गरे।” (प्रेरि. १८:८) कर्निलियस नाउँ गरेका ‘भक्‍त र परमेश्‍वरको भय मान्‍ने’ कप्तानलाई साक्षी दिन यहोवाले पत्रुसलाई प्रयोग गर्नुभयो। कर्निलियससँगै तिनका आफन्त र तिनका घनिष्ठ मित्रहरूले पनि बप्तिस्मा लिए।—प्रेरि. १०:१-४८.

३. फिलिपको अनुकरण गर्दै तपाईं कस्ता “उच्च पदाधिकारीहरू”-लाई साक्षी दिन सक्नुहुन्छ?

३ “उच्च पदाधिकारीहरू”-लाई साक्षी दिंदा पछिसम्म प्रभाव पर्न सक्छ। (१ तिमो. २:१, २) उदाहरणको लागि, यहोवाको दूतले फिलिपलाई एथियोपिया देशकी महारानीका खजान्ची “ठूला अख्तियारवाला”-सित कुरा गर्न सल्लाह दिए। ती मानिसले “यशैया अगमवक्‍ताको पुस्तक पढिरहेका” फिलिपले सुने र येशूबारे सुसमाचार व्याख्या गरिदिए। ती एथियोपियाली चेला बने र घर फर्कंदा सम्भवतः बाटोमा सुसमाचार फैलाउँदै हिंडे। सायद तिनले महारानी र महारानीको दरबारका अरूलाई पनि साक्षी दिए। यदि तिनले सुसमाचार नसुनाएका भए सायद तिनीहरूले हतपती सुन्‍न पाउने थिएनन्‌।—प्रेरि. ८:२६-३९.

४. पुरुषहरूलाई सुसमाचार सुन्‍ने अझ धेरै मौका हामी कसरी दिन सक्छौं?

४ धेरै पुरुषलाई कसरी भेट्टाउन सकिन्छ?: धेरैजसो पुरुष दिउँसो काममा जाने भएकोले के तपाईं साँझपख, सप्ताहन्तमा वा बिदाका दिनहरूमा प्रचारकार्यमा अझ धेरै समय बिताउन आफ्नो तालिका मिलाउन सक्नुहुन्छ? व्यापारिक इलाकामा नियमित साक्षी दिंदा घरमा कहिल्यै नभेटिने पुरुषहरूलाई साक्षी दिने थप मौका मिल्छ। भाइहरूले आफूसँगै काम गर्ने पुरुष साथीहरूलाई अनौपचारिक साक्षी दिने विशेष प्रयत्न पनि गर्न सक्छन्‌। घर-घरको प्रचारमा जाँदा—अझ विशेषगरि बारम्बार प्रचार गरिएको इलाकामा जाँदा कहिलेकाहीं भाइहरूले घरका पुरुषसित कुराकानी गर्न सकिन्छ कि भनेर सोध्न सक्छन्‌।

५. राज्य सन्देशप्रति चासो देखाउने पुरुषलाई बहिनीले भेटेमा उक्‍त बहिनीले के गर्नुपर्छ?

५ सत्यप्रति चासो देखाउने पुरुषलाई बहिनीले भेटेमा पुनःभेट गर्दा एक्लै जानुहुँदैन। उनले आफ्ना पति वा अर्का प्रकाशकलाई सँगै लैजान सक्छिन्‌। चासो देखाउने उक्‍त व्यक्‍तिले उन्‍नति गर्छन्‌ जस्तो देखिएमा साधारणतया एक जना योग्य भाइलाई सुम्पिदिनु राम्रो हुन्छ।

६. “अझ धेरैलाई हात” पार्न हामी कसरी प्रेरित पावलको अनुकरण गर्न सक्छौं?

६ पुरुषहरूलाई चासो लाग्ने विषय रोज्नुहोस्‌: “अझ धेरैलाई हात” पार्न सकियोस्‌ भनेर प्रेरित पावलले आफ्ना श्रोतालाई विचार गरे र त्यसैअनुसार आफ्नो प्रस्तुति ढाले। (१ कोरि. ९:१९-२३) त्यसैगरि हामीले भेट्‌ने पुरुषहरूलाई के-कस्तो विषयमा चासो लाग्ला भनेर हामीले पनि विचार गर्नुपर्छ र त्यसैअनुसार तयारी गर्नुपर्छ। उदाहरणको लागि, पुरुषहरू अक्सर आर्थिक समस्या, असल सरकार र परिवारको सुरक्षामा चासो राख्छन्‌ र त्यसबारे चिन्ता गर्छन्‌। तिनीहरूले जीवनको उद्देश्‍य, पृथ्वीको भविष्य र परमेश्‍वरले किन दुःखकष्ट हुन दिइरहनुभएको छ भन्‍नेबारे पनि चासो राख्लान्‌। आफ्नो प्रस्तुतिमा बुद्धि देखायौं भने उनीहरूले राज्य-सन्देश सहर्ष स्वीकार्नेछन्‌।—हितो. १६:२३.

७. बेग्लै विश्‍वास भएका पति सभामा उपस्थित हुँदा मण्डलीका सबैले उनमा कस्तो असल प्रभाव पार्न सक्छन्‌?

७ बेग्लै विश्‍वास भएका पतिहरूलाई मदत गर्न अग्रसर हुनुहोस्‌: अक्सर ख्रीष्टियान बहिनीहरूको असल चालचलनले बेग्लै विश्‍वास भएका पतिहरूमा ठूलो प्रभाव पार्ने भए तापनि यस सन्दर्भमा मण्डलीका सदस्यहरूले पनि असल प्रभाव पार्न सक्छन्‌। (१ पत्रु. ३:१-४) बेग्लै विश्‍वास भएका पति आफ्नी पत्नीसितै सभामा आउँदा मण्डलीबाट उनले पाएको न्यानो स्वागत प्रभावशाली साक्षी हुनेछ। उनी सभामा उपस्थित हुनु सत्यप्रति केही न केही चासो छ भन्‍ने कुराको सङ्‌केत हो र उनी बाइबल अध्ययन गर्न इच्छुक भएका हुन सक्छन्‌।

८. बाइबल सत्यप्रति अलिअलि मात्र चासो देखाउने बेग्लै विश्‍वास भएका पतिहरूलाई मदत गर्न भाइहरू कसरी अग्रसर हुन सक्छन्‌?

८ अर्कोतर्फ केही पतिहरू सुरु-सुरुमा बाइबलप्रति अलिअलि मात्र चासो देखाउँछन्‌ तर पछि आफूलाई सजिलो लाग्ने भाइसित बाइबलबारे छलफल गर्न इच्छुक भइरहेका पनि हुन सक्छन्‌। एउटा मण्डलीका भाइहरूले धार्मिक रूपमा विभाजित परिवारलाई कहिलेकाहीं भेट्‌न जाँदा बेग्लै विश्‍वास भएका पतिसित उनलाई चासो भएकै विषयमा कुराकानी गर्ने विशेष प्रयास गरे। यसले अन्तमा आध्यात्मिक छलफल गर्ने बाटो खोल्यो र अहिले उनले बप्तिस्मा लिइसके। अर्को घटना यस्तो छ: एक जना भाइले बेग्लै विश्‍वास भएका एक जना मित्रैलो पतिलाई तिनको घरको पर्खाल बनाउन सघाए। यसरी व्यक्‍तिगत चासो देखाएकोले बाइबल अध्ययन सुरु भयो। (गला. ६:१०; फिलि. २:४) यदि तपाईं ख्रीष्टियान भाइ हुनुहुन्छ भने बेग्लै विश्‍वास भएका एक-दुई जना पतिलाई मदत गर्न अग्रसर हुनुभए कसो होला?

९. ख्रीष्टियान पुरुषहरूलाई प्रशिक्षण दिंदा नतिजा कस्तो हुन सक्छ?

९ भविष्यको लागि प्रशिक्षण दिनुहोस्‌: राज्य सन्देश स्वीकारेर यहोवाको सेवामा जिम्मेवारी वहन गर्न अग्रसर हुने पुरुषहरू “मानिसहरूलाई वरदान” [“पुरुषहरूमध्ये वरदान,” NW] हुन सक्छन्‌ जसले ख्रीष्टियान प्राचीनहरूको हैसियतमा आफ्नो क्षमता र बल यहोवाका जनहरूको मण्डलीको खातिर प्रयोग गर्छन्‌। (एफि. ४:८; भज. ६८:१८) यस्ता पुरुषहरू राजीखुसीले र उत्सुक भई मण्डलीको गोठालो गर्छन्‌। (१ पत्रु. ५:२, ३) यी पुरुषहरू विश्‍वभरिका भाइबहिनीका लागि आशिष्‌ साबित हुन्छन्‌।

१०. पावललाई मदत गर्न हननियाले गरेको प्रयासले कसरी धेरैलाई लाभ पुऱ्‍यायो?

१० उदाहरणको लागि, कुनै बेला ख्रीष्टियानहरूलाई सताउने शावल पछि “अन्यजातिहरूको प्रेरित” भए। (रोमी ११:१३) ख्रीष्टियानहरूलाई सताउने भएकोले शावललाई प्रचार गर्न चेला हननिया सुरुमा हिचकिचाए। तैपनि हननियाले प्रभुको निर्देशन स्वीकारे र ती मानिससँग कुरा गरे जो पछि गएर प्रेरित पावल बने। पावलले गरेको प्रचार सुनेका हजारौंले लाभ उठाए भने परमेश्‍वरको वचनमा उनीद्वारा लिपिबद्ध प्रेरित पत्रहरूबाट फाइदा उठाउने पनि लाखौं छन्‌।—प्रेरि. ९:३-१९; २ तिमो. ३:१६, १७.

११. पुरुषहरूलाई साक्षी दिन जस्तोसुकै छाँटकाँट गर्न हामी किन तयार हुनुपर्छ?

११ त्यसकारण पुरुषहरूलाई साक्षी दिन जस्तोसुकै छाँटकाँट गर्नुपरे तापनि गरौं। यो लक्ष्यको पछि लाग्दा यहोवाको इच्छा गर्न हामीले गरेको लगनशील प्रयास र राज्य गतिविधिप्रति हामीले देखाएको चासोको लागि उहाँको आशिष्‌ पाउने कुरामा ढुक्क हुन सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने