हाम्रो प्राथमिकता
१. येशूले उहाँको लागि सेवाको काम महत्त्वपूर्ण भएको कसरी देखाउनुभयो?
१ येशूको प्राथमिकता सेवाको काम थियो। सकेसम्म धेरै मानिसलाई प्रचार गर्न प्यालेस्टाइनमा कोसौं हिंडेर उहाँले धेरै मेहनत गर्नुभयो। सेवाको काममा धेरै समय र ध्यान दिन सकियोस् भनेर उहाँले आफ्नो जीवन सरल राख्नुभयो। (मत्ती ८:२०) तिनीहरूलाई निको पारिदेऊन् भनेर भीडले उहाँलाई रोक्न खोज्दा उहाँले भन्नुभयो: “मैले अवश्य परमेश्वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।”—लूका ४:४३.
२. येशूको लागि सेवाको काम किन एकदमै महत्त्वपूर्ण थियो?
२ येशूको लागि सेवाको काम किन एकदमै महत्त्वपूर्ण थियो? उहाँको मुख्य चिन्ताको विषय यहोवाको नाउँ पवित्र पार्नु थियो। (मत्ती ६:९) उहाँ आफ्नो स्वर्गमा हुनुहुने बुबालाई माया गर्नुहुन्थ्यो। त्यसैले उहाँको इच्छाबमोजिम गर्न र उहाँको हरेक आज्ञा मान्न चाहनुहुन्थ्यो। (यूह. १४:३१) यसबाहेक, उहाँ मानिसहरूको साँच्चै ख्याल राख्नुहुन्थ्यो र तिनीहरूलाई मदत गर्न चाहनुहुन्थ्यो।—मत्ती ९:३६, ३७.
३. सेवाको काममै हामी केन्द्रित छौं भनेर कसरी देखाउन सक्छौं?
३ येशूको अनुकरण गर्नुहोस्: येशूले जस्तै सेवाको कामलाई प्राथमिकता दिनु चुनौतीपूर्ण हुन सक्छ किनभने संसारले हाम्रो समयको धेरै माग गर्छ र अल्मल्याउने थुप्रै कुराहरू हामीसामु राखिदिन्छ। (मत्ती २४:३७-३९; लूका २१:३४) त्यसैले, नियमित रूपमा प्रचारकार्यको लागि तयारी गर्न र यसमा भाग लिन तालिका मिलाएर हामीले उत्तम कुरा के हो, त्यो खुट्ट्याउनैपर्छ। (फिलि. १:१०, NRV) हामी आफ्नो जीवनशैली सरल राख्ने प्रयास गर्छौं। साथै संसारका थोकहरू पूरै उपभोग गर्नदेखि टाढै बस्छौं।—१ कोरि. ७:३१, NRV.
४. सही कुरालाई प्राथमिकता दिनु अहिले किन एकदमै जरुरी छ?
४ समय सीमित हुँदा बुद्धिमान् व्यक्तिले सबैभन्दा महत्त्वपूर्ण कुरालाई प्राथमिकता दिन्छ। उदाहरणको लागि, यदि ठूलो आँधी आउँदैछ भनेर थाह पाएमा तिनले परिवारको सुरक्षाको लागि प्रबन्धहरू मिलाउन र छरछिमेकलाई पनि सचेत गराउन आफ्नो समय अनि शक्ति खर्च गर्नेछन्। कम महत्त्वका कुराहरूलाई पछि सार्न मिल्छ। आरमागेडोनको आँधी आउनुअघिको समय एकदमै कम छ। (सप. १:१४-१६; १ कोरि. ७:२९) चाहे हामी मण्डलीमा होऔं वा बाहिर, आफ्नो र हाम्रो कुरा सुन्नेहरूको ज्यान बचाउन निरन्तर आफ्नो र आफ्नो शिक्षाको विषयमा होसियार रहनैपर्छ। (१ तिमो. ४:१६) हाम्रो बचाउ सेवाको कामलाई प्राथमिकता दिनुमा निर्भर छ!