परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
१. जनवरी ६ मा सुरु हुने हप्तादेखि मण्डली बाइबल अध्ययनमा हामी कुन किताब पढ्नेछौं?
१ जनवरी ६, २०१४ मा सुरु हुने हप्तादेखि मण्डली बाइबल अध्ययनमा हामी परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस् किताब पढ्नेछौं। यो किताब प्रेषितहरूका कार्यमा लिपिबद्ध रोमाञ्चकारी घटनाहरू महसुस गर्न सक्नेगरि तयार पारिएको छ। यस किताबमा प्रत्येक पदको व्याख्या गरिएको छैन। बरु, प्रेषितको किताबमा भएका विवरणहरूबाट सिक्न सकिने पाठ अनि त्यसलाई व्यक्तिगत रूपमा कसरी लागू गर्न सक्छौं, त्यसबारे चर्चा गरिएको छ।—रोमी १५:४.
२. साक्षी दिनुहोस् किताब कसरी तयार पारिएको छ, बताउनुहोस्।
२ किताब कसरी तयार पारिएको छ: पृष्ठ २ मा परिचालक निकायको मायालु चिठी छ। उक्त चिठीमा यस किताबबाट हामीले के-कस्तो लाभ उठाउन सक्छौं भनेर बताइएको छ। अध्याय २ देखि प्रत्येक अध्यायको शीर्षकमुनि दिइएको वाक्यले उक्त अध्यायको मूल विषयबारे बताउँछ र त्यसपछि दिइएको शास्त्रपदले प्रेषितको किताबको कुन अंश छलफल गरिएको हो भनेर बताउँछ। थुप्रै अध्यायमा जानकारीमूलक पेटीहरू छन्। ती पेटीहरूबाट हामी व्यक्ति, ठाउँ वा घटनाबारे थप जानकारी पाउन सक्छौं। पानाको दायाँ वा बायाँपट्टि छोडिएको खाली ठाउँमा आफूले सिकेका कुराहरू लेख्न सक्छौं। किताबभरि नै बाइबलका महत्त्वपूर्ण घटनाहरू कल्पना गर्न मदत गर्ने जीवन्त चित्रहरू छन्। ती चित्रहरूबारे थप जानकारी तपाईं अन्तिम पृष्ठमा दिइएको चित्रहरूको सूचीबाट पाउन सक्नुहुन्छ। किताबको सुरुमा र अन्तमा नक्साहरू पनि दिइएका छन्। ती नक्साहरूले प्रथम शताब्दीका हाम्रा सँगी उपासकहरू सुसमाचार प्रचार गर्दै “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाका”-को कहाँ-कहाँसम्म पुगे भनेर कल्पना गर्न मदत गर्छ।—प्रेषि. १:८.
३. प्रेषितको किताब अध्ययन गर्दा हामी कस्ता महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पाउँछौं?
३ महत्त्वपूर्ण प्रश्नका जवाफ: प्रेषितको किताब अध्ययन गर्दा हामी ख्रीष्टियन सेवाबारे केही महत्त्वपूर्ण प्रश्नको स्पष्ट जवाफ पाउँछौं। उदाहरणका लागि, येशूका चेलाहरूको कस्तो काम र सन्देशले उनीहरूको साँचो चिनारी दिन्छ? कसले विश्वव्यापी प्रचारकार्यलाई डोऱ्याउँछ अनि कसरी? सतावट र विरोध आइपर्दा ख्रीष्टियनहरूले कस्ता मौका पाउँछन्? हाम्रो प्रचारकार्यमा पवित्र शक्तिको कस्तो भूमिका छ?
४. हामी यो प्रकाशनबाट कसरी पूरापूर लाभ उठाउन सक्छौं?
४ यस प्रबन्धबाट पूरापूर लाभ उठाउन छलफल हुने विषयवस्तु पहिल्यै पढ्नुहोस् र मण्डलीमा गरिने छलफलमा भाग लिन तयारी गर्नुहोस्। प्रत्येक सभामा उपस्थित हुनुहोस् र सिकेका कुराहरू प्रचारकार्यमा कसरी लागू गर्न सकिन्छ, विचार गर्नुहोस्। यो पढूँ-पढूँ लाग्ने प्रकाशन अध्ययन गरेर हामी परमेश्वरको राज्यबारे राम्ररी साक्षी दिन उत्प्रेरित हुन सकौं!—प्रेषि. २८:२३.