आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्? पुस्तिका चलाउने तरिका
बाइबल विद्यार्थीलाई हाम्रो सङ्गठनतर्फ डोऱ्याउन तयार पारिएको नयाँ पुस्तिका
१. यहोवाको इच्छा पुस्तिकाको तीनवटा उद्देश्य के-के हुन्?
१ के तपाईंले आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्? पुस्तिका चलाउन थालिसक्नुभयो? यस पुस्तिकाले (१) हामी कस्ता मानिसहरू हौं, (२) हाम्रो गतिविधि कस्तो छ र (३) हाम्रो सङ्गठनले कसरी काम गरिरहेको छ भनेर बुझ्न बाइबल विद्यार्थीहरूलाई मदत दिन्छ। यहोवाको इच्छा पुस्तिकाका पाठहरू एक पानाको मात्र भएकोले प्रत्येक अध्ययनपछि पाँचदेखि दस मिनेटभित्रमा छलफल गर्न सकिन्छ।
२. यो पुस्तिकाको संरचना र विशेषताबारे बताउनुहोस्।
२ यसको संरचना कस्तो छ: यस पुस्तिकालाई तीन भागमा विभाजित गरिएको छ। प्रत्येक भागमा माथि बताइएझैं यहोवाको सङ्गठनको विभिन्न पक्षबारे चर्चा गरिएको छ। यस पुस्तिकामा २८ वटा पाठहरू छन्। प्रत्येक पाठको शीर्षक प्रश्नको रूपमा छ र गाढा अक्षरमा लेखिएका उपशीर्षकहरूले त्यसको जवाफ दिन्छ। संसारका ५० भन्दा धेरै देशमा खिचिएको फोटो क्याप्सनसहित यस पुस्तिकामा छ। यसले हाम्रो गतिविधि अन्तरराष्ट्रिय रूपमा सञ्चालन भइरहेको कुरा देखाउँछ। थुप्रै पाठहरूमा “अरू कुरा पनि जान्नुहोस्” भन्ने पेटी छ। पेटीहरूमा विद्यार्थीले गर्न सक्ने थप बुँदाहरू दिइएका छन् र ती सुझावअनुसार गर्न विद्यार्थीलाई प्रोत्साहन दिन सक्नुहुन्छ।
३. यहोवाको इच्छा पुस्तिका तपाईं कसरी प्रयोग गर्न सक्नुहुन्छ?
३ यसलाई कसरी प्रयोग गर्ने: शीर्षकमा दिइएको प्रश्न सुरुमा देखाउनुहोस्। त्यसपछि सँगै पाठ पढ्दा गाढा अक्षरमा लेखिएका उपशीर्षकहरूलाई जोड दिनुहोस्। अन्तमा पानाको पुछारमा दिइएको पुनरावृत्ति प्रश्न छलफल गर्नुहोस्। तपाईं पूरै पाठ पढ्न सक्नुहुन्छ वा भाग-भाग पढ्दै छलफल पनि गर्न सक्नुहुन्छ। उल्लेख गरिएका शास्त्रपदमध्ये कुन पढ्ने भनेर आफै विचार गर्नुहोस्। चित्रहरू र “अरू कुरा पनि जान्नुहोस्” पेटी छलफल गर्न नबिर्सनुहोस्। साधारणतया पाठहरू क्रमैसँग छलफल गर्नु बेस हो। तर आवश्यकताअनुसार अर्को कुनै पाठ पनि छलफल गर्न सक्नुहुन्छ। उदाहरणको लागि सम्मेलन वा अधिवेशन नजिकिंदै छ भने पाठ ११ छलफल गर्न सक्नुहुन्छ।
४. यो नयाँ पुस्तिका पाएकोमा तपाईं किन खुसी हुनुहुन्छ?
४ हामीले कोही व्यक्तिसित बाइबल अध्ययन सञ्चालन गर्दा तिनलाई स्वर्गमा बस्नुहुने बुबालाई चिन्न मदत गरिरहेका हुन्छौं। हामीले तिनलाई यहोवाको सङ्गठनको विषयमा पनि सिकाउनुपर्छ। (हितो. ६:२०) यसको लागि यो नयाँ पुस्तिका पाएकोमा हामी कत्ति खुसी छौं!