सुसमाचार पुस्तिकाबाट सिकाउनुहोस्
१. सुसमाचार पुस्तिका कसरी तयार पारिएको छ?
१ हाम्रो राज्य सेवा-को जुलाई अङ्कमा छलफल गरिएझैं परमेश्वरबाट आएको सुसमाचार! पुस्तिका सिकाउन उपयोगी साधनमध्ये एक हो। उल्लिखित शास्त्रपदहरू उद्धरण नगरिएकोले घरधनीले सिधै बाइबलबाट पढ्न सक्छन्। हाम्रा थुप्रै प्रकाशन पाठक आफैले पढेर बुझ्न सक्नेगरि तयार पारिएका छन् तर यो पुस्तिकाचाहिं अध्ययन सञ्चालकसँगै बसेर छलफल गर्ने हिसाबले तयार पारिएको हो। त्यसैले यो पुस्तिका प्रस्तुत गर्दा बाइबल अध्ययन कसरी गरिन्छ भनेर देखाउनु राम्रो हो। यसो गर्दा बाइबलबाट सुसमाचार सिक्नु कत्ति महत्त्वपूर्ण छ भनेर घरधनीले बुझ्न सक्छन्।—मत्ती १३:४४.
२. पहिलो भेटमा सुसमाचार पुस्तिका कसरी प्रयोग गर्न सक्छौं?
२ पहिलो भेटमा: तपाईं यसो भन्न सक्नुहुन्छ, “मानिसहरू भविष्य कस्तो होला भनेर चिन्ता गर्छन्। तपाईंको विचारमा संसारको अवस्था कहिल्यै सुध्रिएला? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलमा पाइने सुसमाचारले हामीलाई उज्ज्वल भविष्यको आशा दिन्छ। यस पुस्तिकामा केही प्रश्नहरू छन् जसको जवाफ बाइबलमा पाइन्छ।” घरधनीलाई पुस्तिका दिनुहोस् र अन्तिम पृष्ठमा भएको कुनै एउटा प्रश्न रोज्न लगाउनुहोस्। त्यसपछि घरधनीले रोजेको अध्यायको पहिलो अनुच्छेद छलफल गरेर देखाउनुहोस्। अर्को तरिकाचाहिं, घरधनीलाई तपाईंले नै रोज्नुभएको अध्यायमा आधारित कुनै एउटा रोचक प्रश्न सोध्नुहोस् र यस प्रश्नको जवाफ बाइबलले कसरी दिन्छ भनेर उक्त पुस्तिकाबाट देखाउनुहोस्। त्यस अध्यायसम्बन्धी कुनै भिडियो jw.org मा छ भने त्यो पनि देखाउन सक्नुहुन्छ।
३. सुसमाचार पुस्तिका प्रयोग गरेर कसरी बाइबल अध्ययन सञ्चालन गर्न सक्नुहुन्छ, बताउनुहोस्।
३ बाइबल अध्ययन कसरी सञ्चालन गर्न सकिन्छ? (१) घरधनीलाई मुख्य बुँदा बुझाउन गाढा अक्षरमा दिइएको प्रश्न पढ्नुहोस्। (२) त्यसपछि अनुच्छेद पढ्नुहोस्। (३) छड्के अक्षरमा दिइएको बाइबल पद पढ्नुहोस् र त्यस बाइबल पदले उक्त प्रश्नको जवाफ थाह पाउन कसरी मदत गर्छ भनेर बुझाउन घरधनीलाई सोच्न लगाउने प्रश्नहरू सोध्नुहोस्। (४) त्यस प्रश्नको जवाफ दिने अर्को अनुच्छेद पनि छ भने माथिको दोस्रो र तेस्रो बुँदाअनुसारै गर्नुहोस्। प्रश्नसित मिल्दोजुल्दो कुनै भिडियो छ र तपाईंले पहिला देखाउनुभएको छैन भने छलफलको दौडान देखाउनुहोस्। (५) अन्तमा घरधनीले साँच्चै बुझे कि बुझेनन् पक्का गर्न फेरि गाढा अक्षरमा छापिएको प्रश्न सोध्नुहोस्।
४. यो पुस्तिका सिपालु भई चलाउन हामीलाई केले मदत गर्न सक्छ?
४ यो पुस्तिका पहिला आफैले राम्ररी पढ्नुहोस् अनि मौका पाउनेबित्तिकै प्रयोग गर्नुहोस्। हरेक पटक अध्ययनमा जानुअघि बाइबल विद्यार्थीबारे सोच्नुहोस्। छलफल गरिने अनुच्छेदमा भएका बाइबल पदहरू चलाएर तिनीसित कसरी तर्क गर्न सकिन्छ भनेर सोच्नुहोस्। (हितो. १५:२८; प्रेषि. १७:२, ३) तपाईं अनुभवी र सिपालु हुँदै जाँदा मानिसहरूलाई बाइबल सत्य सिकाउन तपाईंलाई सबैभन्दा मन पर्ने साधन सुसमाचार पुस्तिका हुनेछ।