राम्ररी लेखपढ गर्न नजान्नेहरूलाई मदत गर्नुहोस्
१. राम्ररी लेखपढ गर्न नजान्नेहरूलाई बाइबलको कुरा सिकाउन किन गाह्रो हुन सक्छ?
१ राम्ररी लेखपढ गर्न नजान्ने घरधनीलाई आध्यात्मिक कुरामा चासो हुन सक्छ। तर बाइबल र अरू किताब पढ्ने कुरा आउँदा भने हिचकिचाउन सक्छन्। त्यसैले सुरुमै बाइबलले सिकाउँछ किताब दिनु प्रभावकारी नहुन सक्छ। त्यसोभए तिनीहरूलाई बाइबलको कुरा सिक्न कसरी मदत गर्न सक्छौं? यसबारे २० भन्दा धेरै देशका अनुभवी प्रकाशकहरूले कस्ता सुझाव दिएका छन्, आउनुहोस् हेरौं।
२. राम्री लेखपढ गर्न नजान्नेहरूको लागि कस्ता प्रकाशन प्रभावकारी हुन्छन्?
२ यदि बाइबल विद्यार्थीलाई अलि-अलि पढ्न आउँछ वा पटक्कै आउँदैन भने सृष्टिकर्ताको कुरा सुन्नुहोस् वा सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिकाबाट अध्ययन सुरु गर्न सक्नुहुन्छ। अमेरिकाका एक जना अग्रगामी भाइ घरधनीलाई यी दुइटा पुस्तिका देखाएर कुनचाहिं सजिलो छ भनेर सोध्ने गर्छन्। केन्याको शाखा कार्यालयले यी पुस्तिका निकै प्रभावकारी भएको पाएको छ। किनभने अफ्रिकी समाजमा प्रश्न-उत्तर गरेर भन्दा कथा सुनाएर सिकाउने चलन छ। पढेलेखेको व्यक्तिलाई प्रश्न-उत्तर गरेर छलफल गर्नु सजिलो लाग्ला तर यही तरिका स्कूलमा धेरै नपढेको व्यक्तिलाई गाह्रो हुन सक्छ। विद्यार्थीलाई अलि-अलि पढ्न आउँछ भने थुप्रै प्रकाशकले परमेश्वरबाट आएको सुसमाचार!, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ! अथवा बाइबलका कथाहरू भएको मेरो पुस्तक-जस्ता प्रकाशनबाट अध्ययन सुरु गर्छन्।
३. लेखपढ गर्न नजान्नेहरूको विषयमा के थाह पायौं भने राम्ररी सिकाउन सक्छौं?
३ प्रशंसा गर्नुहोस्: कुनै व्यक्तिले लेखपढ गर्न सिकेको छैन भने तिनीहरू अप्ठ्यारो महसुस गर्छन् अनि तिनीहरूसित आत्म-सम्मानको पनि कमी हुन्छ। त्यसैले तिनीहरूलाई सजिलो महसुस गराउनु बाइबल सत्य सिकाउने पहिलो कदम हो। लेखपढ गर्न नजान्ने भए तापनि तिनीहरूसित नयाँ कुरा सिक्न सक्ने क्षमता हुन्छ। तिनीहरूलाई आदर देखाउनुहोस्। (१ पत्रु. ३:१५) आफ्नो मेहनत खेर जाँदैन अनि आफ्नो आध्यात्मिक उन्नति हुँदै छ भन्ने महसुस गरे भने तिनीहरूले अध्ययन गर्न छोड्नेछैनन्। त्यसैले खुला मनले तिनीहरूको प्रशंसा गर्नुहोस्।
कुनै व्यक्तिले लेखपढ गर्न सिकेको छैन भने तिनीहरू अप्ठ्यारो महसुस गर्छन् अनि तिनीहरूसित आत्म-सम्मानको पनि कमी हुन्छ। त्यसैले तिनीहरूलाई सजिलो महसुस गराउनु बाइबल सत्य सिकाउने पहिलो कदम हो।
४. अलि-अलि मात्र पढ्न जान्ने विद्यार्थीलाई अध्ययनको तयारी गर्न कसरी प्रोत्साहन दिन सक्छौं?
४ विद्यार्थीलाई अलि-अलि मात्र पढ्न आउँछ भने पनि अध्ययनको तयारी गर्न प्रोत्साहन दिनुहोस्। दक्षिण अफ्रिकाका केही प्रकाशकले आफ्ना विद्यार्थीहरूलाई तिनको परिवार वा साथीभाइसित मदत माग्न प्रोत्साहन दिने गर्छन्। बेलायतका एक जना प्रकाशक आफ्ना विद्यार्थीहरूलाई तयारी कसरी गर्ने भनेर सिकाउन आफ्नै किताबबाट केही अनुच्छेद पढ्न लगाउँछन्। यसरी चिन्ह लगाइएको अनुच्छेद हेरेर छलफल गर्दा प्रश्नको जवाफ दिन कति सजिलो हुने रहेछ भनेर विद्यार्थीलाई महसुस हुन्छ। भारतका एक भाइले आफ्ना विद्यार्थीहरूलाई अर्को हप्ता छलफल गर्ने पाठमा भएका चित्रहरू हेर्न अनि मनन गर्न प्रोत्साहन दिन्छन्।
५. अध्ययनको क्रममा हामी कसरी धैर्य देखाउन सक्छौं?
५ धैर्य गर्नुहोस्: जुनसुकै प्रकाशन चलाएर अध्ययन गरे तापनि मुख्य कुरामा ध्यान खिच्नुहोस् र राम्ररी बुझाउनुहोस्। सुरु-सुरुमा १० देखि १५ मिनेट मात्र छलफल गर्नु बेस हुन्छ। धेरै अनुच्छेद भ्याउने कोसिस नगर्नुहोस्; केही अनुच्छेद मात्र छलफल गर्नुहोस्। विद्यार्थीले बिस्तारै पढ्छन् भने धैर्य गर्नुहोस्। यहोवाप्रतिको कृतज्ञता बढ्दै जाँदा तिनी आफ्नो पढाइलाई अझै सुधार्न उत्प्रेरित हुनेछन्। आफ्नो विद्यार्थीले यसो गरेको चाहनुहुन्छ भने तिनलाई सुरुदेखि नै सभामा बोलाउनु बेस हुन्छ।
६. विद्यार्थीलाई कसरी पढ्न सिकाउन सक्छौं?
६ बाइबल विद्यार्थीले लेखपढ गर्न सिक्यो भने उसले छिटो-छिटो उन्नति गर्न सक्छ। (भज. १:१-३) थुप्रै प्रकाशकले अध्ययन सकेपछि आफ्नो विद्यार्थीलाई लेखपढ गर्न सिकाउने गरेका छन्। विद्यार्थी लेखपढ गर्न नजानेर निराश भएमा तिनको आत्मबल बढाउन तिनले सिक्न सकेका केही कुराबारे तिनलाई बताउनुहोस्। यहोवाले तिनको कोसिसमाथि आशिष् दिनुहुन्छ भनेर ढुक्क बनाउनुहोस्। अनि मदतको लागि प्रार्थना गर्न प्रोत्साहन दिनुहोस्। (हितो. १६:३; १ यूह. ५:१४, १५) बेलायतका केही प्रकाशकले आफ्ना विद्यार्थीहरूलाई हासिल गर्न सकिने लक्ष्यहरू राख्न प्रोत्साहन दिन्छन्। जस्तै: सुरुमा अक्षरहरू राम्ररी चिन्ने, बाइबल पदहरू भेट्टाउने र पढ्ने अनि त्यसपछि सरल भाषामा भएको बाइबल प्रकाशनहरू पढ्ने। कसैलाई पढ्न सिकाउनु भनेको कसरी पढ्ने भनेर सिकाउनु मात्र होइन, तिनीहरूमा पढ्ने इच्छा जगाउनु पनि हो।
७. अलि-अलि लेखपढ गर्न जान्नेहरूलाई बाइबल सत्य सिकाउनदेखि किन पछि हट्नु हुँदैन?
७ कसैलाई राम्ररी लेखपढ गर्ने आउँदैन भन्दैमा यहोवा तिनीहरूलाई तुच्छ ठान्नुहुन्न। (अय्यू. ३४:१९) यहोवा मानिसको हृदय जाँच्नुहुन्छ। (१ इति. २८:९) त्यसैले लेखपढ गर्न नजान्नेहरूलाई बाइबल सत्य सिकाउनदेखि पछि नहट्नुहोस्। बाइबल अध्ययन सुरु गर्नको लागि हामीसित राम्रा प्रकाशन थुप्रै छन्। पछि तपाईंले बाइबलले सिकाउँछ किताबबाट अध्ययन गर्न सक्नुहुन्छ र बाइबलको कुरा अझ राम्ररी बुझाउन सक्नुहुन्छ।