पढ्न त्यति नजानेकाहरूलाई पनि सिकाउनुहोस्
१. प्रचारकार्यमा हामीले कस्तो चुनौती सामना गर्नुपर्ने हुन सक्छ?
१ प्रचारकार्यमा भाग लिंदा पढ्न गाह्रो हुनेहरूलाई सत्य सिकाउने चुनौती हामी बेला-बेला सामना गर्छौं। हामी के गर्न सक्छौं?
२. पढ्न त्यति नजानेकाहरूलाई हामी किन आदर देखाउँछौं र कसरी?
२ तिनीहरूलाई आदर गर्नुहोस्: यहोवाले हेर्ने कुरा मानिसको हृदयको अवस्था हो, उसले कति पढेको छ, त्यो होइन। (१ शमू. १६:७; हितो. २१:२) त्यसकारण पढ्न त्यति नजानेकाहरूलाई हामी अनादर गर्दैनौं। आदर देखायौं र धैर्य गऱ्यौं भने यस्ता व्यक्तिहरूले हाम्रो मदत स्वीकार्ने सम्भावना धेरै हुन्छ। (१ पत्रु. ३:१५, NRV) उनलाई बाइबल पद वा अनुच्छेद पढ्न कर नगर्नु पनि यसमा समावेश हुन सक्छ। बाइबलमा भएका अनमोल सत्य अझ धेरै सिक्दै जाँदा पढ्ने क्षमता उन्नति गर्न उनी अग्रसर हुन सक्छन्। किनकि पढ्न जानेमा मात्र उनले परमेश्वरको वचनमा ‘दिनरात ध्यान दिएर’ अर्थात् दिनरात उहाँको वचन गुनगुनाएर पढ्दा पाइने आनन्द अनुभव गर्न सक्नेछन्।—भज. १:२, ३.
३. पढ्न त्यति नजानेकाहरूलाई सिकाउन कस्ता तरिका अपनाउन सकिन्छ?
३ बाइबल अध्ययन गर्दा सिकाउने विभिन्न तरिका: सिकाउन र सिकेको कुरा सम्झिराख्न मानिसलाई मदत गर्ने अत्यन्त राम्रो माध्यम चित्रहरू हुन्। तपाईंले प्रयोग गरिरहेको प्रकाशनमा भएको चित्रलाई विद्यार्थीले कसरी बुझेका छन्, सोध्न सक्नुहुन्छ। त्यसपछि चित्रले सिकाएको कुरा बुझ्न मदत दिने केही खास प्रश्न सोध्नुहोस्। चित्रको कुनै खास बुँदा बुझाउने शास्त्रपदहरू प्रयोग गर्नुहोस्। अध्यायको पुनरावृत्ति गर्न पनि चित्र प्रयोग गर्न सकिन्छ। एकै पटक धेरै कुरा नभन्नुहोस्। अध्यायको मूल विषय र मुख्य बुँदाहरूलाई जोड दिनुहोस् र विषयसँग असम्बन्धित कुराहरूमा लामो गन्थन नगर्नुहोस्। शास्त्रपदहरू सीधै बाइबलबाट पढ्नुहोस् र पढेको कुरा विद्यार्थीले बुझे कि बुझेनन् भनेर पक्का गर्न प्रश्न सोध्नुहोस्। यसले गर्दा पढ्ने क्षमता उन्नति गर्ने उनको चाहना बढ्न सक्छ र आफैले प्रयास गरेर उनले थप बाइबल सत्य खोजी गर्न सक्छन्।
४. बाइबल विद्यार्थीहरूको पढ्ने क्षमता उन्नति गराउन मण्डलीले कसरी मदत दिन सक्छ?
४ पढाइमा उन्नति गर्न मदत पुऱ्याउने तरिका: पढ्न त्यति नजानेका वा फरर्र पढ्न सिक्ने मौका त्यति नपाएकाहरूले पनि राम्रोसँग कुरा बुझ्न र सम्झिरहन सक्छन्। कुनै-कुनै ठाउँमा प्राचीनहरूले मण्डलीमा पढाउने कक्षाको प्रबन्ध मिलाउन सक्छन्। मुक्तिको निम्ति बुद्धिमान् तुल्याउन सक्ने “पवित्र लेखोटहरू” पढ्न त्यति नजानेकाहरूलाई बुझाउन यस्तो व्यावहारिक सुझावले हामीलाई मदत दिन सक्छ।—२ तिमो. ३:१५.