दृष्टिविहीनलाई यहोवाबारे सिक्न मदत गर्नुहोस्
१. येशूले कसरी दृष्टिविहीनलाई अनुकम्पा देखाउनुभयो?
१ येशूको मृत्यु हुनुभन्दा केही दिन अघिको कुरा हो। उहाँ यरिहो सहरबाट निस्केर जाँदै गर्दा दुई जना अन्धा माग्नेहरू यसरी कराउँछन्, “हे प्रभु . . . हामीमाथि कृपा गर्नुहोस्!” हुन त येशू आफूले भोग्नै लागेको कठिनाइको तनावमा हुनुहुन्थ्यो। तर उहाँ रोकिनुभयो र तिनीहरूलाई बोलाएर निको पार्नुभयो। (मत्ती २०:२९-३४) हामी कसरी येशूले जस्तै दृष्टिविहीनलाई अनुकम्पा देखाउन सक्छौं?
२. सार्वजनिक ठाउँमा भेटिएका दृष्टिविहीन मानिसलाई कसरी साक्षी दिन सक्छौ?
२ मदत गर्नुहोस्: सार्वजनिक ठाउँमा दृष्टिविहीनलाई भेट्नुभयो भने आफ्नो परिचय दिनुहोस् अनि ‘मदत गर्न सक्छु कि’ भनी सोध्नुहोस्। यस्ता व्यक्तिहरू मानिसहरूसित कुरा गर्न अप्ठ्यारो मान्न सक्छन्। तर तपाईंले साँचो चासो देखाएर राम्रो व्यवहार गर्नुभयो भने तिनीहरूले सजिलो महसुस गर्नेछन्। दृष्टिविहीन मानिसहरूको क्षमता एउटै हुँदैन। कसैलाई थोरै मदत गरे पुग्छ भने कसैलाई धेरै मदत चाहिन सक्छ। यसरी मदत गरेपछि तपाईं मानिसहरूलाई बाइबलको कुरा सिकाएर पनि मदत दिइरहेको छु भनेर बताउन सक्नुहुन्छ। तिनलाई भजन १४६:८ वा यशैया ३५:५, ६ जस्ता शास्त्रपद पढेर सुनाउन सक्नुहुन्छ। तिनी ब्रेललिपि पढ्न सक्छन् भने ब्रेललिपिमा भएको प्रकाशन पढ्न चाहन्छन् कि सोध्नुहोस्। तपाईंले jw.org बाट केही श्रव्य फाइलहरू डाउनलोड गरेर तिनलाई सुनाउन सक्नुहुन्छ। तिनको कम्प्युटरमा पढेर सुनाउने प्रोग्राम छ भने तिनले jw.org बाट हाम्रा प्रकाशनहरू डाउनलोड गरेर पनि सुन्न सक्छन् भनेर बताउनुहोस्। जस्तै: RTF (रिच टेक्स्ट फर्म्याट) फर्म्याटका प्रकाशनहरू डाउनलोड गर्न सक्छन्।—“दृष्टिविहीनलाई मदत गर्दा ध्यान दिनुपर्ने कुराहरू” भन्ने पेटी हेर्नुहोस्।
३. हाम्रो इलाकामा भएका दृष्टिविहीन मानिसहरूलाई हामी कसरी खोज्न सक्छौं?
३ दृष्टिविहीनलाई खोज्नुहोस्: घरघरको प्रचारमा हामी दृष्टिविहीन मानिसलाई त्यत्ति भेट्टाउँदैनौं किनकि तिनीहरू अपरिचित मानिससित कुरा गर्न अप्ठ्यारो मान्छन्। त्यसैले यस्ता मानिसहरूलाई ‘खोजेर’ साक्षी दिन निकै मेहनत गर्नुपर्छ। (मत्ती १०:११) तपाईंको स्कुलमा वा काम गर्ने ठाउँमा दृष्टिविहीन मानिसहरू छन् कि? तिनीहरूसित कुरा गर्नुहोस्। तपाईंको इलाकामा दृष्टिविहीनहरूको स्कुल छ भने ब्रेललिपिमा भएका हाम्रा प्रकाशन स्कुलको लाइब्रेरीमा राख्न सकिन्छ कि भनेर सोध्नुहोस्। दृष्टिविहीन मानिस भएको कुनै परिवारसित तपाईंको चिनजान छ कि? के तपाईंको इलाकामा दृष्टिविहीनलाई मदत गर्ने कुनै संस्था छ? परिवारका सदस्यहरू, रिसेप्सनमा काम गर्ने वा संस्थाका निर्देशकलाई यहोवाका साक्षीहरू दृष्टिविहीनलाई मदत गर्न इच्छुक छन् भनी बताउनुहोस्। साथै ब्रेललिपिमा प्रकाशन वा श्रव्य रेकर्डिङ् पनि ल्याइदिन सक्छन् भनी जानकारी दिनुहोस्। परमेश्वरले चाँडै नै दृष्टिविहीन मानिसहरूलाई निको पारिदिनुहुनेछ भनेर बाइबलमा गरेको प्रतिज्ञा देखाउनुहोस्। तपाईं आउनुको उद्देश्य बताउनुभयो भने दृष्टिविहीन मानिसहरूलाई भेट्न सजिलो हुन्छ।
४. ज्यानेटको अनुभवबाट के सिक्न सक्छौं?
४ ज्यानेट नाम गरेकी एक दृष्टिविहीन बहिनी दृष्टिविहीनहरू बस्ने घरमा गइन्। तिनले एक जवान महिलासित कुरा गरिन्। ज्यानेटले ती महिलालाई यसो भनिन्: “यस पृथ्वीमा हुँदा येशूले दृष्टिविहीन मानिसहरूको दृष्टि फर्काइदिनुभयो। भविष्यमा पनि सबै दृष्टिविहीन मानिसहरूको दृष्टि फर्काइदिनुहुनेछ।” तिनले प्रकाश २१:३, ४ पढिन् अनि परमेश्वरको राज्यले त्यो प्रतिज्ञा कसरी पूरा गर्नेछ भनी बताइन्। ती महिलाले भनिन्: “मैले यस्तो कुरा दृष्टिविहिन व्यक्तिबाट कहिल्यै सुनेकी थिइनँ। हामी वा हाम्रा पुर्खाहरूले केही गलत काम गरेकोले हामी दृष्टिविहीन हुनु परेको हो भनी दृष्टि भएका मानिसहरूले भन्ने गर्छन्।” ती महिलालाई ज्यानेटले बाइबलले सिकाउँछ किताबको लिङ्क पठाइन्। अहिले हप्ताको दुई चोटि बाइबल अध्ययन हुँदै छ।
५. हामीले येशूले जस्तै दृष्टिविहीनलाई निको पार्न नसके तापनि तिनीहरूलाई चासो देखाउँदा कस्तो अवसर पाउनेछौं?
५ येशूले जस्तै दृष्टिविहीनलाई हामी निको पार्न सक्दैनौं। तर यस युगको ईश्वरले अन्धा बनाइदिएका सबै मानिस जसमा दृष्टिविहीन मानिसहरू पनि पर्छन्, हामी तिनीहरूलाई परमेश्वरको वचन बुझ्न मदत गर्न सक्छौं। (२ कोरि. ४:४) येशूले यरिहोनजिकै दुई जना मानिसलाई निको पारिदिनुभयो किनकि तिनीहरूलाई देखेर उहाँ ‘टिठाउनुभयो।’ (मत्ती २०:३४) हामीले पनि यसरी नै चासो देखायौं भने यहोवा परमेश्वरबारे सिकाउने सुअवसर पाउनेछौं।