प्रचारकार्यको मुख्य उद्देश्य के हो?
१. मानिसहरूको जीवन बचाउने हो भने हामीले के गर्नुपर्छ?
१ सन् २०१४ को सेवा रिपोर्टले परमेश्वरका सेवकहरू राज्यको सुसमाचार सुनाउन जोसिला र तत्पर छन् भनेर देखाउँछ। (मत्ती २४:१४) घर-घरको प्रचारकार्य, पर्चा र निम्तो बाँड्ने विशेष अभियान अनि सार्वजनिक साक्षीकार्यमार्फत हामीले धेरैभन्दा धेरै मानिसहरूलाई बाइबलको सन्देश सुनाउन सकेका छौं। मानिसहरूको जीवन बचाउने हो भने हामीले तिनीहरूलाई येशूको चेला बन्न मदत गर्नुपर्छ। यसको लागि तिनीहरूले बाइबल अध्ययन गर्नुपर्छ।—१ तिमो. २:४.
२. बाइबल अध्ययनको प्रस्ताव राख्न सधैं तयार छौं भनेर देखाउन हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?
२ बाइबल अध्ययनको प्रस्ताव राख्न सधैं तयार हुनुहोस्: कुनै मानिसले चासो देखाएमा तिनीसित बाइबल अध्ययन सुरु गर्ने उद्देश्य राखेर के तपाईं तिनको सम्पर्क ठेगाना लिनुहुन्छ र तिनलाई चाँडै भेट्ने प्रयास गर्नुहुन्छ? तपाईंले पहिलो भेटमै बाइबल अध्ययन सुरु नगरेको कति भयो? नियमित रूपमा पत्रिका दिने गरेको व्यक्तिलाई बाइबल अध्ययनको प्रस्ताव नराखेको कति भयो? बाइबल किन पढ्नुपर्छ? र बाइबल अध्ययन कसरी गरिन्छ? जस्ता भिडियोहरू के तपाईंले आफ्ना सहकर्मी, सहपाठी, छिमेकी, आफन्त र अरू चिनेजानेकालाई देखाउनुभएको छ? सार्वजनिक साक्षी दिंदा बाइबल अध्ययन गरिने प्रकाशन लिएका व्यक्तिलाई त्यस प्रकाशनबाट बाइबल अध्ययन गर्न सकिन्छ भनेर पनि बताउनुहुन्छ कि?
३. सत्य सिकाउन हामी कसरी सफल हुन सक्छौं?
३ यहोवा र येशूको मदत: येशूले “चेला बनाओ” भन्ने आज्ञा दिनुअघि “जाओ” भन्नुभयो। यो शब्दले निकै मेहनत गर्नुपर्ने र आफै अग्रसर भएर गर्नुपर्ने कामलाई बुझाउँछ। तर यस्तो काम गर्न उहाँले हामीलाई एक्लै छोड्नुभएको छैन बरु हामीसितै हुने वाचा गर्नुभएको छ। (मत्ती २८:१९, २०) यहोवाले हामीलाई पवित्र शक्ति दिनुका साथै मानिसहरूलाई सिकाउन चाहिने तालिम र अन्य सामाग्री दिनुभएको छ। (जक. ४:६; २ कोरि. ४:७) हामीलाई “इच्छा गर्न र त्यसअनुसार काम गर्न” मदत गर्नुहोस् भनेर यहोवा परमेश्वरलाई प्रार्थना गर्न सक्छौं।—फिलि. २:१३.
४. चेला बनाउनुलाई आफ्नो मुख्य उद्देश्य बनाउनुपर्छ, किन?
४ सुसमाचार प्रचार गर्न पाउँदा हामीलाई असाध्यै आनन्द लाग्छ। तर कसैलाई सत्य सिक्न अनि ‘जीवनतर्फ लैजाने बाटोमा’ हिंड्न मदत गर्दा हाम्रो आनन्द अझ बढ्छ। (मत्ती ७:१४; १ थिस्स. २:१९, २०) सबैभन्दा महत्त्वपूर्ण कुरा, चेला बनाउनुलाई आफ्नो मुख्य उद्देश्य बनाउँदा यहोवालाई खुसी बनाइरहेका हुन्छौं किनभने उहाँ “कोही पनि नाश नहोस्” तर सबैले पश्चात्ताप गरोस् भन्ने चाहनुहुन्छ।—२ पत्रु. ३:९.