तयारी—प्रभावकारी पुनःभेटको लागि नभई नहुने कुरा
१. प्रथम शताब्दीमा सुरु भएको ख्रीष्टियान प्रचारकार्य कुन हदसम्म फैलनुपर्ने थियो?
१ “राज्यको सुसमाचार” प्रभावकारी ढंगमा प्रचार गर्न येशूले चेलाहरूलाई राम्ररी तयार पार्नुभयो। (मत्ती ४:२३; ९:३५) प्यालेस्टाइनमा मात्र प्रचार गर्दा येशूले तिनीहरूलाई प्रशिक्षण दिनुभएको थियो। तथापि “सबै देशका जातिहरूलाई चेला” बनाउन ख्रीष्टियान प्रचारकार्य विस्तृत रूपमा फैलनुपर्ने थियो भनेर येशूले स्वर्ग जानुअघि स्पष्ट पार्नुभयो।—मत्ती २८:१९, २०.
२. ‘चेला बनाउन’ येशूले दिएको आज्ञा पालन गर्नुमा के समावेश छ?
२ यसमा परमेश्वरको राज्यको सुसमाचारप्रति चासो देखाएका मानिसहरूलाई फेरि भेट्ने र उनीहरूलाई येशूले सिकाएको कुरा सिकाउने काम समावेश हुने थियो। त्यसकारण, पुनःभेटलाई प्रभावकारी बनाउने हो भने हामीले राम्रो तयारी गर्नैपर्छ।
३. पहिलो भेटमा समेत तपाईं कसरी पुनःभेटको लागि बाटो खोल्न सक्नुहुन्छ?
३ पहिल्यै योजना बनाउनुहोस्: केही प्रकाशकहरू पहिलो भेटको अन्तमा कुनै प्रश्न खडा गर्ने कोसिस गर्छन् र त्यससम्बन्धी छलफल गर्न फेरि आउने प्रतिज्ञा गर्छन्। पुनःभेटमा बाइबलले सिकाउँछ किताबमा भएका जानकारीहरू चलाउँदा बाइबल अध्ययन सुरु गर्न मदत मिलेको अनुभव उनीहरूले गरेका छन्।
४. पुनःभेट गर्न नयाँ अंकको पत्रिका कुरेर बस्नु किन पर्दैन?
४ महिनामा एउटा मात्रै पत्रिका पाउनुको मतलब अर्को महिनाको पत्रिका नपाएसम्म भेट्न जानु पर्दैन भनेको होइन। घरधनीलाई पहिला दिएकै पत्रिकाबाट छलफल गरेर पनि हामी उनीहरूको चासो जगाउन सक्छौं।
५. खास उद्देश्यसहित पुनःभेट गर्दा के फाइदा हुन्छ?
५ उद्देश्य राख्नुहोस्: भेट्न जानुअघि आफ्नो रेकर्ड हेर्नुहोस् र कुन विषयमा छलफल गर्ने भनेर निधो गर्नुहोस्। उदाहरणको लागि, तपाईंले पहिला छोडेको प्रकाशनबाट कुनै बुँदा छलफल गर्नुहोस्। अथवा पहिला कुराकानी गरेकै विषयसँग सम्बन्धित अर्को साहित्य दिनुहोस्। यदि पहिला तपाईंले कुनै प्रश्न खडा गर्नुभएको थियो भनेचाहिं तपाईंको उद्देश्य त्यो प्रश्नको जवाफ दिने हुनुपर्छ। कुरा गरिरहेको विषयलाई समर्थन गर्ने शास्त्रपदलाई जोड दिंदा सीधै बाइबलबाट पढ्ने कोसिस गर्नुहोस्।
६. पुनःभेट गर्नुको हाम्रो लक्ष्य के हो?
६ हाम्रो क्ष्य: पक्कै पनि हाम्रो लक्ष्य बाइबल अध्ययन सुरु गर्नु हो। पुनःभेट गर्दा एक जना भाइले राखेको बाइबल अध्ययनको प्रस्ताव अस्वीकार गरियो। नयाँ अंकका पत्रिकाहरू लिएर हाम्रा भाइ फेरि गए र यसो भने: “आज हामी मानिसहरूलाई बाइबल सम्बन्धित एउटा प्रश्नको जवाफ दिइरहेका छौं।” ती मानिसको प्रतिक्रिया सुनेपछि भाइले एउटा शास्त्रपद पढे र बाइबल अध्ययनको लागि प्रयोग गरिने प्रकाशनबाट एउटा उपयुक्त अनुच्छेद पनि पढे। यसरी नियमित रूपमा बाइबल अध्ययन सुरु भयो।
७. राम्ररी तयार गरेकोले बाइबल अध्ययन सुरु गर्न तपाईंलाई कसरी मदत मिलेको छ?
७ पुनःभेटको लागि तयारी गर्न गरिएको मेहनत त्यसै खेर जाँदैन। हाम्रो आनन्द बढ्नेछ र “अनन्त जीवनका लागि नियुक्त भएकाहरू”-लाई जीवनतर्फ पुऱ्याउने बाटोमा हिंड्न मदत दिने सुअवसर हामीले पाउनेछौं।—प्रेरि. १३:४८.