सिकाउन उपयोगी साधनहरू
१. ख्रीष्टियन प्रचारकहरू कसरी कारिगरजस्तै हुन्?
१ कारिगरहरू विभिन्न किसिमको साधन प्रयोग गर्छन्। तिनीहरू कुनै-कुनै साधन खास काममा प्रयोग गर्छन् भने धेरैजसोचाहिं नियमित काममा प्रयोग गर्छन्। अनुभवी कारिगरहरू विशेषगरि नियमित प्रयोग गर्ने साधन आफूसितै राख्छन्। त्यस्ता साधनहरू नियमित प्रयोग गर्ने भएकोले तिनीहरू ती प्रयोग गर्न सिपालु हुन्छन्। बाइबलले सबै ख्रीष्टियनलाई प्रचारकार्यमा मेहनत गर्न र “कुनै कुरामा सरम मान्नु नपर्ने कामदार” हुन प्रोत्साहन दिएको छ। (२ तिमो. २:१५) अरूलाई सिकाउन प्रयोग गरिने सबैभन्दा महत्त्वपूर्ण साधन के हो? ‘चेला बनाउन’ हामी मुख्यतः परमेश्वरको वचन बाइबल प्रयोग गर्छौं। (मत्ती २८:१९, २०) त्यसैले “सत्यको वचन ठीकसित प्रयोग गर्न” हर प्रयास गर्नुपर्छ। साथै हामीले सिकाउन प्रयोग गर्दै आएका अरू साधनहरू पनि छन्। मानिसहरूलाई सत्य सिकाउनको लागि यी साधनहरू प्रयोग गर्न ख्रीष्टियनहरू सिपालु हुनुपर्छ।—हितो. २२:२९.
२. साधारणतया हामी प्रचारकार्यमा के-कस्ता साधनहरू चलाउँछौं?
२ साधारणतया चलाउने साधनहरू: हामी बाइबलबाहेक कस्ता साधनहरू प्रयोग गर्न सक्छौं? प्रायजसो हामी बाइबलले वास्तवमा के सिकाउँछ? किताब प्रयोग गर्छौं। यस किताबबाट अध्ययन गराइसकेपछि विद्यार्थीले आफ्नो जीवनमा बाइबलको सिद्धान्त लागू गर्न सकोस् भनेर “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख” किताब प्रयोग गर्छौं। त्यसैले यी दुई प्रकाशन चलाउन हामी सिपालु हुनुपर्छ। यसबाहेक प्रचारकार्यमा केही पुस्तिकाहरू पनि चलाउन सक्छौं। बाइबल अध्ययन सुरु गर्ने एउटा प्रभावकारी साधन परमेश्वरबाट आएको सुसमाचार! पुस्तिका हो। हाम्रो इलाकामा राम्ररी लेखपढ गर्न नजान्ने मानिसहरू छन् होला। अथवा अर्कै भाषा बोल्ने मानिसहरू पनि हुन सक्छन् अनि तिनीहरूको भाषामा हाम्रा प्रकाशनहरू थोरै वा कुनै पनि नहुन सक्छ। त्यसो हो भने सृष्टिकर्ताको कुरा सुन्नुहोस् वा सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् भन्ने पुस्तिका प्रयोग गर्न सक्छौं। बाइबल विद्यार्थीहरूलाई सङ्गठनमा डोऱ्याउन उपयोगी साधन आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्? पुस्तिका हो। चेला बनाउने काममा उपयोगी हुन सक्ने भिडियोहरू पनि छन्। जस्तै: बाइबल किन पढ्नुपर्छ?, बाइबल अध्ययन कसरी गरिन्छ? र राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? यी भिडियोहरू प्रचारकार्यमा प्रयोग गर्न पनि हामी सिपालु हुनुपर्छ।
३. हाम्रो राज्य सेवा-का आगामी अङ्कहरूले हामीलाई के गर्न मदत गर्नेछ?
३ हाम्रो राज्य सेवा-का आगामी अङ्कहरूले यी प्रकाशनहरू चलाउन हामीलाई सिपालु बनाउनेछ। यी साधनहरू प्रभावकारी तरिकामा चलाउने प्रयास गऱ्यौं भने हामीले यो सल्लाह पालन गरिरहेका हुनेछौं, “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैं होसियार होऊ। ती कुराहरूलाई पक्रिराख, यसो गऱ्यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्नेहरूको उद्धार गर्नेछौ।”—१ तिमो. ४:१६.