“सबै किसिमका मानिसहरू”-लाई प्रचार गर्नुहोस्
१. प्रभावकारी प्रचारकहरू कुन अर्थमा सिपालु कारिगरजस्तै हुन्?
१ एक जना सिपालु कारिगरसित थुप्रै साधन हुन्छ र आफूसित भएको प्रत्येक साधन कहिले र कसरी प्रयोग गर्ने भनेर तिनलाई राम्ररी थाह हुन्छ। त्यसैगरि हामीसित पनि प्रचारकको रूपमा आफ्नो काम पूरा गर्न मदत पुग्ने विभिन्न साधन छन्। उदाहरणको लागि, हामीले “सबै किसिमका मानिसहरू”-लाई प्रचार गर्न सकोस् भनेर विभिन्न विषयमा पुस्तिका प्रकाशित गरिएका छन्। (१ कोरि. ९:२२) यीमध्ये केही पुस्तिकाबारे यसै राज्य सेवा-को अतिरिक्ताङ्कमा उल्लेख गरिएको छ। उक्त अतिरिक्ताङ्कमा ती पुस्तिका कसको लागि तयार पारिएका हुन्, बताइएको छ र हामी ती पुस्तिका कसरी प्रस्तुत गर्न सक्छौं, त्यो पनि सुझाव दिइएको छ।
२. प्रचारमा पुस्तिकाहरू कहिले प्रयोग गर्न सक्छौं?
२ पुस्तिकाहरू कहिले प्रयोग गर्ने: कारिगरले आफूसित भएको कुनै साधन जतिखेर प्रयोग गर्दा फाइदा होला जस्तो देख्छ, त्यही समयमा उक्त साधन प्रयोग गर्छ। त्यसैगरि हामी पनि पुस्तिका प्रस्तुत गर्ने महिनामा मात्र पुस्तिका दिने गर्दैनौं। बरु कसैलाई फाइदा होला जस्तो देखिने जुनसुकै समयमा पुस्तिका प्रस्तुत गर्छौं। उदाहरणको लागि, कुनै महिना हामीले प्रस्तुत गर्नुपर्ने साहित्य बाइबलले सिकाउँछ किताब होला। तर हामी ख्रीष्टियन धर्मबाहेक अरू नै धर्म मान्ने ठाउँमा प्रचार गर्दैछौं भने त्यहाँका मानिसलाई बाइबलबारे त्यति चासो नहुन सक्छ। त्यसैले बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुअघि तिनीहरूको चासो जगाउन उपयुक्त पुस्तिका दिनुपर्ने हुन्छ।
३. साक्षीकार्यमा मदत पुग्ने साधन प्रयोग गर्न हामी किन सिपालु हुनुपर्छ?
३ बाइबलमा निपुण कारिगरको प्रशंसा गरिएको छ। (हितो. २२:२९) पक्कै पनि अहिले हाम्रो समयमा “सुसमाचार घोषणा गर्ने पवित्र काम”-जस्तो महत्त्वपूर्ण काम अरू कुनै छैन। (रोमी १५:१६) “कुनै कुरामा सरम मान्नु नपर्ने कामदार” हुन हामीले आफूसित भएको साधन प्रयोग गर्ने सन्दर्भमा सिपालु हुन अथक प्रयास गर्नुपर्छ।—२ तिमो. २:१५.