श्रव्य रेकर्डिङहरू कसरी प्रयोग गर्न सक्छौं?
१. छापिएका प्रकाशनबाहेक हामीसित अरू के छ?
१ थुप्रैलाई jw.org बाट परमेश्वरको वचनका सत्य र मीठा-मीठा शब्दहरू पढ्न मन पर्छ। (उप. १२:१०) तर के तपाईंले श्रव्य रेकर्डिङहरू प्रयोग गर्नुभएको छ? यी रेकर्डिङहरूले गर्दा हाम्रो वेबसाइटमा भएका थुप्रै कुराहरू सुन्न सम्भव भएको छ। श्रव्य रेकर्डिङबाट कस्तो लाभ उठाउन सक्छौं?
२. व्यक्तिगत वा पारिवारिक अध्ययनमा कसरी श्रव्य रेकर्डिङ प्रयोग गर्न सक्छौं?
२ व्यक्तिगत वा पारिवारिक अध्ययनको लागि: यात्रा गर्दा अथवा दैनिक कामकुरा गर्दा हाम्रा प्रकाशनहरूको रेकर्डिङ सुनेर समयको सदुपयोग गर्न सक्छौं। (एफि. ५:१५, १६) रेकर्डिङ सुन्दै छापिएको प्रकाशन पनि सँगसँगै हेऱ्यौं भने पारिवारिक उपासनालाई अझ रमाइलो बनाउन सक्छौं। व्यक्तिगत अध्ययनको बेला श्रव्य रेकर्डिङ सुनेमा आफ्नो पढाइमा उन्नति गर्न मदत पाउँछौं अनि भाषा सिकिरहेकाहरूले पनि मदत पाउन सक्छन्।
३. श्रव्य रेकर्डिङबाट क-कसले लाभ उठाउन सक्छन्?
३ क्षेत्र सेवाको लागि: पढ्ने समय नै छैन भनेर सोच्ने मानिसहरू पनि श्रव्य रेकर्डिङ सुन्न इच्छुक हुन सक्छन्। अथवा कहिलेकाहीं बेग्लै भाषा बोल्ने मानिसहरू भेट्न सक्छौं अनि तिनीहरूले “आफ्नो भाषामा” राज्यको सन्देश सुन्न पाउँदा राम्रो प्रतिक्रिया देखाउन सक्छन्। (प्रेषि. २:६-८) कुनै-कुनै ठाउँमा, सुन्नु उनीहरूको संस्कृतिको एउटा महत्त्वपूर्ण भाग हुन सक्छ। उदाहरणको लागि, मङ् संस्कृतिमा मानिसहरूले नयाँ पुस्तालाई मौखिक रूपमा आफ्नो इतिहासबारे बताउने चलन छ। तिनीहरू आफूले सुनेका एक-एक कुरा सम्झन सक्छन्। साथै थुप्रै अफ्रिकी समाजमा मानिसहरू कथा सुन्न मन पराउँछन्।
४. इलाकाका मानिसहरूलाई मदत गर्न आफैलाई कस्ता प्रश्नहरू सोध्न सक्छौं?
४ घरधनीलाई तिनकै भाषाको श्रव्य रेकर्डिङ सुनाउन सक्नुहुन्छ कि? इमेल गरेर पनि कसै-कसैलाई यी रेकर्डिङ पठाउन सक्नुहुन्छ कि? अथवा चासो देखाउने घरधनीलाई श्रव्य रेकर्डिङ सी डी मा भरेर छापिएको प्रकाशनसितै दिन सक्नुहुन्छ कि? किताब, पर्चा, पत्रिका वा पुस्तिकाको पूरै इलेक्ट्रोनिक फाइल दिएका छौं भने त्यसलाई पनि क्षेत्र सेवाको रिपोर्टमा समावेश गर्न सक्छौं। श्रव्य रेकर्डिङहरू व्यक्तिगत अध्ययनमा प्रयोग गर्न र सत्यको बीउ छर्न तयार पारिएको हो।—१ कोरि. ३:६.