जसरी व्यापारीले आफ्नो सेक्रेटरीलाई चिठी लेख्न लगाउँछन्, त्यसरी नै ईश्वरले केही वफादार मानिसहरूलाई पवित्र धर्मशास्त्र लेख्न लगाउनुभयो
मायालु सृष्टिकर्ताले कसरी आफ्नो प्रतिज्ञाहरूबारे बताउनुहुन्छ?
मानिसजातिलाई सृष्टि गर्नुभएदेखि नै सृष्टिकर्ताले तिनीहरूसित कुरा गर्दै आउनुभएको छ। उहाँले विगतमा स्वर्गदूतहरू र भविष्यवक्ताहरूमार्फत कुरा गर्नुभयो। साथै उहाँले आफ्नो सन्देश र आशिष्हरूबारे लिखित रूपमा साँचेर राख्न लगाउनुभएको छ। ईश्वरका यी प्रतिज्ञाहरूले हाम्रो भविष्य उज्ज्वल बनाउँछ। त्यसोभए आज उहाँका प्रतिज्ञाहरू केमा पाउन सक्नुहुन्छ?
ईश्वरले हाम्रो लागि दिनुभएको सन्देश पवित्र धर्मशास्त्रमा पाइन्छ। (२ तिमोथि ३:१६) उहाँले कसरी भविष्यवक्ताहरूलाई आफ्नो सन्देश लेख्न लगाउनुभयो? उहाँले आफ्नो विचार लेखकहरूको मनमा हालिदिनुभयो र तिनीहरूले ती लेखे। (२ पत्रुस १:२१) यो बुझ्न एउटा व्यापारीको उदाहरण विचार गरौँ। तिनले आफ्नो सेक्रेटरीलाई चिठी लेख्न लगाए तापनि त्यसमा भएको सन्देश ती व्यापारीकै हुन्छ। त्यसैगरि ईश्वरले मानिसहरूलाई आफ्नो सन्देश लेख्न लगाउनुभए तापनि ती पवित्र लेखोटहरूको वास्तविक ग्रन्थकार उहाँ नै हुनुहुन्छ।
ईश्वरको सन्देश सबैले पढ्न सक्छन्
ईश्वरको सन्देश असाध्यै महत्त्वपूर्ण भएकोले उहाँ सबै मानिसले यो पढेको र बुझेको चाहनुहुन्छ। आज ‘हरेक राष्ट्र, कुल र भाषाका’ मानिसहरूले उहाँको “सदासर्वदा रहने सुसमाचार” सजिलै सुन्न पाउँछन्। (प्रकाश १४:६) ईश्वरको आशिष्ले गर्दा यो पवित्र लेखोट पूर्ण वा आंशिक गरेर ३ हजारभन्दा धेरै भाषामा उपलब्ध हुन सकेको हो। संसारको कुनै पनि किताब यति धेरै भाषामा पाइँदैन।