प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 जनवरी pp. ८-१३
  • तपाईँ अरूलाई “निकै सान्त्वना” दिन सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ अरूलाई “निकै सान्त्वना” दिन सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अरिस्तार्खसजस्तै वफादार
  • टाइकिकसजस्तै भरोसायोग्य
  • मर्कुसजस्तै मदतगार
  • अरूलाई सान्त्वना दिन अग्रसर हुनुहोस्‌
  • टाइकिकस—भरपर्दो सँगी दास
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • अरिस्तार्खस—एक वफादार सहयोगी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “सबै विलाप गर्नेहरूलाई सान्त्वना” दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • पावलका सहकर्मीहरू—तिनीहरू को थिए?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 जनवरी pp. ८-१३

अध्ययन लेख २

तपाईँ अरूलाई “निकै सान्त्वना” दिन सक्नुहुन्छ

“परमेश्‍वरको राज्यको खातिर यिनीहरू . . . मेरा सहकर्मी हुन्‌ अनि यिनीहरूबाट मैले निकै सान्त्वना पाएको छु।”—कल. ४:११.

गीत ९० एकअर्कालाई प्रोत्साहन देऔँ!

परिचयa

१. यहोवाका धेरैजसो वफादार सेवकले कस्ता तनावपूर्ण अवस्थाको सामना गरिरहेका छन्‌?

संसारभरि यहोवाका धेरैजसो सेवकले तनावपूर्ण र पीडादायी अवस्थाको सामना गरिरहेका छन्‌। के तपाईँको मण्डलीमा पनि यस्ता समस्या सामना गरिरहेका भाइबहिनी छन्‌? केही ख्रिष्टियनले गम्भीर रोगको सामना गर्नुपरेको छ अथवा प्रियजनको मृत्युको चोट सहनुपरेको छ। कतिपयले भने आफ्नो परिवारको सदस्य अथवा घनिष्ठ साथीले सत्य त्यागेकोले असह्‍य पीडा महसुस गरिरहेका छन्‌। कोही-कोहीचाहिँ प्राकृतिक प्रकोपको चपेटामा परेका छन्‌। यी भाइबहिनीलाई सान्त्वनाको आवश्‍यकता छ। हामी कसरी तिनीहरूलाई मदत गर्न सक्छौँ?

२. प्रेषित पावललाई कहिलेकाहीँ किन सान्त्वना चाहिएको थियो?

२ प्रेषित पावलले एकपछि अर्को जोखिमपूर्ण परिस्थितिको सामना गर्नुपऱ्‍यो। (२ कोरि. ११:२३-२८) साथै तिनले आफ्नो “शरीरमा एउटा छेस्को” पनि सहनुपरेको थियो, जुन सायद एक किसिमको स्वास्थ्य समस्या थियो। (२ कोरि. १२:७) कुनै बेला पावलसँगै सेवा गरेका डेमसले “वर्तमान युगको प्रेममा फसेर” तिनलाई त्यागे। (२ तिमो. ४:१०) त्यसैले तिनी निराश भए। पावल पवित्र शक्‍तिद्वारा नियुक्‍त एक साहसी ख्रिष्टियन थिए, जो निःस्वार्थ भई अरूलाई मदत गर्थे। तर कहिलेकाहीँ तिनी पनि निरुत्साहित हुन्थे।—रोमी ९:१, २.

३. यहोवाले पावललाई कसरी सान्त्वना र मदत दिनुभयो?

३ पावलले आफूलाई चाहिएकै सान्त्वना र मदत पाए। कसरी? यहोवाले पक्कै पनि आफ्नो पवित्र शक्‍तिद्वारा तिनलाई बल दिनुभयो। (२ कोरि. ४:७; फिलि. ४:१३) उहाँले सङ्‌गी ख्रिष्टियनहरू चलाएर पनि तिनलाई सान्त्वना दिनुभयो। पावलले केही सहकर्मीहरूबाट “निकै सान्त्वना” पाएको कुरा उल्लेख गरे। (कल. ४:११) तिनले नामैले सम्बोधन गरेकाहरूमध्ये अरिस्तार्खस, टाइकिकस र मर्कुस थिए। तिनीहरूले पावललाई बलियो बनाए, जसले गर्दा पावलले कठिन परिस्थितिको सामना गर्न सके। यी तीन ख्रिष्टियनहरूलाई प्रभावकारी तरिकामा सान्त्वना दिने व्यक्‍ति बन्‍न कस्ता गुणहरूले मदत गऱ्‍यो? अरूलाई सान्त्वना अनि प्रोत्साहन दिँदा हामी कसरी तिनीहरूको असल उदाहरण अनुकरण गर्न सक्छौँ?

अरिस्तार्खसजस्तै वफादार

चित्रहरूको सँगालो: वफादार साथीहरू एकअर्कालाई सान्त्वना दिन्छन्‌। १. डरलाग्दो आँधीबेहरीमा परेका अरिस्तार्खस र प्रेषित पावल समुद्रमा फल्याक समाउँदै छन्‌। पानीको छालले पावललाई नबगाओस्‌ भनेर अरिस्तार्खस तिनको लुगा समाउँछन्‌। २. बितिसकेका बुबाआमाको तस्बिर हेरेर रोइरहेकी जवान बहिनीलाई एक पाको बहिनीले सान्त्वना दिन्छिन्‌।

हामी “दुःखमा” परेका भाइबहिनीलाई मदत गरेर अरिस्तार्खसजस्तै वफादार साथी बन्‍न सक्छौँ (अनुच्छेद ४-५ हेर्नुहोस्‌)c

४. अरिस्तार्खस कसरी पावलको वफादार साथी साबित भए?

४ अरिस्तार्खस थिस्सलोनिकाको म्यासिडोनियाली ख्रिष्टियन थिए। उनी पावलको वफादार साथी साबित भए। पावल तेस्रो मिसनरी यात्राको दौडान एफिसस पुगेको विवरणमा अरिस्तार्खसबारे पहिलो पटक उल्लेख गरिएको पाउँछौँ। तिनीसँगै यात्रा गरिरहेको बेला एउटा भीडले अरिस्तार्खसलाई पक्रियो। (प्रेषि. १९:२९) उनी रिहा भएपछि सुरक्षित हुन अन्त कतै गएनन्‌ बरु वफादार भई पावलसँगै रहे। केही महिनापछि ग्रीसमा शत्रुहरूले पावललाई मार्ने धम्की दिँदा अरिस्तार्खस तिनीसितै थिए। (प्रेषि. २०:२-४) इस्वी संवत्‌ ५८ तिर पावललाई कैदी बनाएर रोममा पठाइँदा अरिस्तार्खसले तिनलाई त्यस लामो यात्रामा साथ दिए। त्यहाँ जाने जहाज दुर्घटनामा पर्दा तिनीहरू त्यसै जहाजमा थिए। (प्रेषि. २७:१, २, ४१) रोम पुगेपछि पनि उनी पावलसँगै केही समय कैदमा रहे जस्तो देखिन्छ। (कल. ४:१०) पावलले ती वफादार साथीबाट पक्कै पनि प्रोत्साहन र सान्त्वना पाए।

५. हितोपदेश १७:१७ अनुसार हामी कसरी वफादार साथी बन्‍न सक्छौँ?

५ अरिस्तार्खसजस्तै हामी आफ्ना भाइबहिनीलाई सुखमा मात्र नभई “दुःखमा” पनि साथ दिएर वफादार साथी बन्‍न सक्छौँ। (हितोपदेश १७:१७ पढ्‌नुहोस्‌) चुनौतीहरू पार गरिसकेपछि पनि हाम्रा भाइबहिनीलाई सान्त्वनाको आवश्‍यकता परिरहन सक्छ। क्यान्सरको कारणले तीन महिनाभित्रै बुबा र आमा दुवै गुमाएकी फ्रान्सेसb यसो भन्छिन्‌: “कठिन परिस्थितिको पीडा लामो समयसम्म रहिरहन्छ। आमाबुबा गुमाएको केही समय बितिसकेपछि पनि मलाई अझै गाह्रो भइरहेको छ भनेर बुझ्ने वफादार साथीहरूप्रति म निकै कृतज्ञ छु।”

६. वफादारीले हामीलाई के गर्न जुरमुऱ्‍याउँछ?

६ वफादार साथीहरू अरूलाई मदत गर्न आफ्नो समय र शक्‍ति खर्च गर्छन्‌। पिटर नाम गरेको भाइको अनुभव विचार गरौँ। डाक्टरले उनलाई प्राणघातक रोग लागेको र धेरै दिन बाँच्दैनन्‌ भनेर बताए। उनकी पत्नी क्याथ्रिन यसो भन्छिन्‌: “हाम्रो मण्डलीको एक दम्पतीले हामीलाई अस्पतालसम्म लगिदिए र त्यहाँ पिटरको रोग पत्ता लाग्यो। त्यति नै बेला त्यस्तो गाह्रो अवस्थाको दौडान उहाँहरूले हामीलाई एक्लै नछोड्‌ने वाचा गर्नुभयो। हामीलाई मदत चाहिँदा उहाँहरूले सधैँ हामीलाई साथ दिनुभएको छ।” कठिन परिस्थितिको सामना गर्न मदत गर्ने साँचो साथीहरू पाएकोमा हामी कत्ति ढुक्क हुन सक्छौँ!

टाइकिकसजस्तै भरोसायोग्य

चित्रहरूको सँगालो: भरोसायोग्य साथीहरू समस्याको सामना गरिरहेकाहरूलाई मदत गर्छन्‌। १. झ्यालखानामा परेका प्रेषित पावल टाइकिकसलाई पत्र दिन्छन्‌। २. अस्पतालमा वृद्ध भाइलाई एक जवान भाइ मदत गर्छन्‌।

हामी समस्याको सामना गरिरहेकाहरूको लागि टाइकिकसजस्तै भरोसायोग्य साथी हुन सक्छौँ (अनुच्छेद ७-९ हेर्नुहोस्‌)d

७-८. कलस्सी ४:७-९ अनुसार टाइकिकस कसरी भरोसायोग्य साबित भए?

७ टाइकिकस रोमी साम्राज्यको एसिया प्रान्तका ख्रिष्टियन थिए। उनी पावलका भरोसायोग्य साथी थिए। (प्रेषि. २०:४) इस्वी संवत्‌ ५५ तिर पावलले यहुदियाका ख्रिष्टियनहरूका लागि चन्दा सङ्‌कलन गर्ने प्रबन्ध गरे। त्यसबेला तिनले टाइकिकसलाई त्यो महत्त्वपूर्ण काममा सघाउने जिम्मा दिएका हुन सक्छन्‌। (२ कोरि. ८:१८-२०) पछि पावल रोममा पहिलो पटक कैदमा पर्दा टाइकिकस तिनको सन्देशवाहक भए। उनले एसियाका मण्डलीहरूलाई पावलको प्रोत्साहनदायी पत्र र सन्देश पुऱ्‍याए।—कल. ४:७-९.

८ टाइकिकस अन्तसम्मै पावलको भरोसायोग्य साथी रहे। (ति. ३:१२) त्यसबेलाका सबै ख्रिष्टियन टाइकिकसजस्तो भरपर्दो थिएनन्‌। इस्वी संवत्‌ ६५ तिर पावल दोस्रो पटक कैदमा पर्दा तिनले एसिया प्रान्तका धेरैजसो ख्रिष्टियनले तिनीसित सङ्‌गत गर्न छोडेको कुरा उल्लेख गरेका छन्‌। सायद तिनीहरू मानिसहरूसित डराएका थिए। (२ तिमो. १:१५) तर तिनी टाइकिकसमाथि भर पर्न सक्थे, त्यसैले उनलाई अर्को जिम्मेवारी पनि दिए। (२ तिमो. ४:१२) टाइकिकसजस्तो असल साथी पाएकोमा पावलले पक्कै गर्व गरे।

९. हामी कसरी टाइकिकसको अनुकरण गर्न सक्छौँ?

९ हामी टाइकिकसको अनुकरण गर्दै भरोसायोग्य साथी बन्‍न सक्छौँ। हामी भाइबहिनीलाई मदत गर्ने वाचा मात्र गर्दैनौँ तर तिनीहरूलाई व्यावहारिक तरिकामा सहयोग पनि गर्छौँ। (मत्ति ५:३७; लुका १६:१०) मदत चाहिएकाहरूले हामीमा भर पर्न सकिन्छ भनेर थाह पाउँदा ढुक्क महसुस गर्छन्‌। यसको कारणबारे एउटी बहिनी यसो भन्छिन्‌: “कसैले तपाईँलाई मदत गर्ने वाचा गरेको छ भने उसले मदत गर्ला कि नगर्ला भनेर चिन्ता गर्नुपर्दैन।”

१०. हितोपदेश १८:२४ अनुसार चुनौती वा निराशाको सामना गरिरहेकाहरूले कोबाट सान्त्वना पाउन सक्छन्‌?

१० चुनौती वा निराशाको सामना गरिरहेकाहरूले अक्सर भरोसायोग्य साथीलाई मनको बह पोखेर सान्त्वना पाउँछन्‌। (हितोपदेश १८:२४ पढ्‌नुहोस्‌) आफ्नो छोरा बहिष्कार हुँदा विजयको मनै भाँचियो। तिनले भने, “म आफ्नो भावना भरोसायोग्य साथीलाई पोख्न चाहन्थेँ।” कार्लोसले गल्ती गरेकोले मण्डलीमा आफूले पाएको सुअवसर गुमाउनुपऱ्‍यो। तिनी भन्छन्‌: “मलाई मनको कुरा खुलेर पोखाउन सकिने ‘सुरक्षित ठाउँ’ चाहिएको थियो। वास्तवमा मेरो कुरा बुझिदिने कोही चाहिएको थियो।” कार्लोसको लागि एल्डरहरू त्यो सुरक्षित ठाउँ साबित भए, जसले तिनलाई समस्या पार गर्न मदत गरे। एल्डरहरू समझदार हुन्छन्‌ र आफूले भनेको कुरा गोप्य राख्नेछन्‌ भनेर थाह पाउँदा तिनले सान्त्वना पाए।

११. घनिष्ठ र भरोसायोग्य साथी बन्‍न के गर्नुपर्छ?

११ घनिष्ठ र भरोसायोग्य साथी बन्‍न धीरजी हुनुपर्छ। झानाको पतिले तिनलाई छोड्‌दा उनले घनिष्ठ साथीहरूलाई आफ्नो मनको बह पोखेर सान्त्वना पाइन्‌। उनी भन्छिन्‌: “मैले सायद एउटै कुरा दोहोऱ्‍याई-तेहऱ्‍याई भनिरहेको थिएँ तैपनि उनीहरूले मेरो कुरा ध्यान दिएर सुने।” अरूको कुरा ध्यान दिएर सुन्दा हामी पनि असल साथी भइरहेका हुन्छौँ।

मर्कुसजस्तै मदतगार

चित्रहरूको सँगालो: भाइबहिनीहरू राजीखुसी अरूलाई व्यावहारिक मदत दिन्छन्‌। १. मर्कुस प्रेषित पावलको लागि खानेकुरा ल्याइदिन्छन्‌। २. एक साक्षी दम्पती एउटा परिवारको लागि पानी र खानेकुरा ल्याइदिन्छन्‌।

मर्कुसको मदतले पावललाई अन्तसम्म सहन मदत गऱ्‍यो अनि हामी पनि गाह्रो परिस्थितिको बेला भाइबहिनीलाई मदत गर्न सक्छौँ (अनुच्छेद १२-१४ हेर्नुहोस्‌)e

१२. मर्कुस को थिए? तिनी कसरी मदतगार साबित भए?

१२ मर्कुस यरुसलेमका यहुदी ख्रिष्टियन थिए। तिनका नातेदार बर्णाबास प्रख्यात मिसनरी थिए। (कल. ४:१०) मर्कुसको परिवार सम्पन्‍न थियो जस्तो देखिन्छ। तैपनि तिनले धनसम्पत्तिलाई जीवनमा पहिलो स्थान दिएनन्‌। तिनी सधैँ अरूलाई मदत गर्थे। अरूको लागि केही गरिदिँदा तिनलाई खुसी लाग्थ्यो। उदाहरणको लागि, तिनले प्रेषित पावल र प्रेषित पत्रुससँगै थुप्रै चोटि सेवा गर्दा सायद तिनीहरूको लागि खानेकुरा किन्‍ने र बासको प्रबन्ध मिलाउने गर्थे। किनकि ती प्रेषितहरूले थुप्रै जिम्मेवारी सम्हाल्नुपर्थ्यो। (प्रेषि. १३:२-५; १ पत्रु. ५:१३) पावलले मर्कुसलाई “परमेश्‍वरको राज्यको खातिर . . . मेरा सहकर्मी” र “बल दिने मदतगार” भने।—कल. ४:१०, ११, फुटनोट।

१३. दोस्रो तिमोथि ४:११ अनुसार मर्कुसले वफादार भई गरेको सेवाको पावलले कदर गरे भनेर कसरी देखिन्छ?

१३ मर्कुस पावलका घनिष्ठ साथीहरूमध्ये एक थिए। इस्वी संवत्‌ ६५ तिर पावल रोममा अन्तिम पटक कैदमा पर्दा तिनले तिमोथिलाई दोस्रो पत्र लेखे। त्यस पत्रमा पावलले तिमोथिलाई रोममा आउन र मर्कुसलाई पनि सँगै ल्याउन आग्रह गरे। (२ तिमो. ४:११) पावलले मर्कुसले वफादार भई गरेको सेवाको पक्कै कदर गरे। त्यसैले तिनले त्यस महत्त्वपूर्ण घडीमा मर्कुसलाई बोलाए। मर्कुसले पावललाई व्यावहारिक मदत गरे। सायद तिनले नै पावलको लागि खानेकुरा अथवा पत्रहरू लेख्न मुठा र मसी ल्याइदिन्थे। मर्कुसबाट पाएको सहयोग र प्रोत्साहनले गर्दा पावलले पक्कै पनि आफूलाई मृत्युदण्ड दिइने दिनसम्म सहन सके।

१४-१५. अरूलाई व्यावहारिक मदत दिनेबारे मत्ति ७:१२ बाट के सिक्न सक्छौँ?

१४ मत्ति ७:१२ पढ्‌नुहोस्‌। चुनौतीहरूको सामना गर्नुपर्दा व्यावहारिक मदत गर्ने व्यक्‍तिहरूप्रति हामी निकै कृतज्ञ हुन्छौँ। दुर्घटनामा बुबा गुमाएका रायन भन्छन्‌, “कठिन अवस्थामा दिनानुदिन गर्ने काम पनि गर्न गाह्रो हुन्छ। कसैले सानोतिनो व्यावहारिक मदत गरिदिँदा समेत धेरै सान्त्वना पाउँछौँ।”

१५ हामीले अरूको अवस्था राम्ररी बुझ्न प्रयास गऱ्‍यौँ भने तिनीहरूलाई व्यावहारिक मदत गर्न सक्नेछौँ। उदाहरणको लागि, एउटी बहिनीले अग्रसर भएर सुरुमा उल्लेख गरिएको पिटर र क्याथ्रिनलाई अस्पतालसम्म पुऱ्‍याउने प्रबन्ध मिलाइन्‌। पिटर र क्याथ्रिन दुवै गाडी चलाउन सक्ने अवस्थामा थिएनन्‌। त्यसैले ती बहिनीले तालिका बनाइन्‌ र त्यसैअनुसार भाइबहिनीले त्यस दम्पतीलाई पालैपालो अस्पताल पुऱ्‍याउने र ल्याउने गर्थे। नतिजा कस्तो भयो? क्याथ्रिन भन्छिन्‌, “हाम्रो काँधबाट गह्रौँ बोझ हटेको महसुस भयो।” तपाईँले गर्ने सानोतिनो व्यावहारिक मदतबाट पनि धेरै सान्त्वना मिल्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌।

१६. मर्कुसले बसालेको उदाहरणबाट सान्त्वना दिने विषयमा कस्तो कुरा सिक्न सक्छौँ?

१६ प्रथम शताब्दीका चेला मर्कुस पक्कै पनि व्यस्त थिए। तिनको काँधमा गहन जिम्मेवारीहरू थिए। तीमध्ये एउटा तिनले आफ्नै नामको सुसमाचारको पुस्तक लेख्नु थियो। तैपनि मर्कुसले पावललाई सान्त्वना दिन समय निकाले अनि पावललाई पनि मर्कुससित मदत माग्न सजिलो लाग्थ्यो। एन्जलाको परिवारको एक जना सदस्यको हत्या भएकोले तिनले गहिरो भावनात्मक चोट सहनुपऱ्‍यो। तिनी आफूलाई सान्त्वना दिन अग्रसर हुनेहरूप्रति कृतज्ञ महसुस गरिन्‌। तिनी भन्छिन्‌, “साथीहरू मदत गर्न आफै अघि सर्दा उनीहरूसित कुरा गर्न सजिलो लाग्छ। तिनीहरूले मनैदेखि मदत गर्न चाहेको महसुस हुन्छ।” हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ, ‘के म भाइबहिनीलाई सान्त्वना दिन अग्रसर व्यक्‍ति भनेर चिनिन्छु?’

अरूलाई सान्त्वना दिन अग्रसर हुनुहोस्‌

१७. दोस्रो कोरिन्थी १:३, ४ मनन गर्दा अरूलाई सान्त्वना दिन हामी कसरी जुरमुरिन्छौँ?

१७ सान्त्वना चाहिएका भाइबहिनी थुप्रै छन्‌। अरूले हामीलाई सान्त्वना दिन जे भनेका वा गरेका थिए, हामी पनि त्यसरी नै अरूलाई सान्त्वना दिन सक्छौँ। हजुरआमाको मृत्युको पीडा भोगेकी निनो भन्छिन्‌: “यदि हामी यहोवाको लागि उपयोगी व्यक्‍ति बन्छौँ भने उहाँले हामीमार्फत अरूलाई सान्त्वना दिनुहुन्छ।” (२ कोरिन्थी १:३, ४ पढ्‌नुहोस्‌) सुरुमा उल्लेख गरिएकी फ्रान्सेस भन्छिन्‌: “दोस्रो कोरिन्थी १:४ मा लेखिएको कुरा सत्य हो। हामीले जसरी अरूबाट सान्त्वना पाएका थियौँ, त्यसरी नै अरूलाई सान्त्वना दिन सक्छौँ।”

१८. (क) कसै-कसैलाई सान्त्वना दिन किन अप्ठेरो लाग्न सक्छ? (ख) हामी कसरी अरूलाई प्रभावकारी तरिकामा सान्त्वना दिन सक्छौँ? एउटा उदाहरण दिनुहोस्‌।

१८ हामीलाई अप्ठेरो लागे तापनि अरूलाई सान्त्वना दिन अग्रसर हुनुपर्छ। कठिन परिस्थितिको सामना गरिरहेकाहरूलाई सान्त्वना दिन के भन्‍ने वा के गर्ने भनेर थाह नभएकोले अप्ठेरो लाग्न सक्छ। पल नाम गरेका एल्डरले आफ्नो बुबा गुमाएपछि आफूलाई सान्त्वना दिन अरूले गरेको प्रयास सम्झँदै यसो भन्छन्‌: “मसँग कुरा गर्न उहाँहरूलाई अप्ठेरो लागिरहेको थियो। उहाँहरू के भन्‍ने, कसरी भन्‍ने भनेर अलमलमा पर्नुभएको थियो। तैपनि उहाँहरूले सान्त्वना र मदत दिन गरेको प्रयास देखेर मेरो मन छोयो।” अर्को उदाहरण विचार गरौँ। शक्‍तिशाली भूकम्प अनुभव गरेका टाजन यसो भन्छन्‌, “साँच्चै भन्‍नुपर्दा भूकम्पपछि मानिसहरूले लेखेर पठाएका एक-एक कुरा मलाई याद छैन। तैपनि तिनीहरूले मेरो हालखबर बुझ्न गरेको प्रयास भने मलाई अझै याद छ।” अरूको ख्याल गरेको देखायौँ भने प्रभावकारी तरिकामा सान्त्वना दिन सक्छौँ।

१९. तपाईँ किन “निकै सान्त्वना”-को स्रोत बन्‍न चाहनुहुन्छ?

१९ यस युगको आखिरी समय नजिकिँदै जाँदा संसारको अवस्था झन्‌झनै खस्कनेछ र जीवन अझै गाह्रो हुनेछ। (२ तिमो. ३:१३) हामीलाई सान्त्वनाको आवश्‍यकता परिरहनेछ किनभने हामी जन्मजातै पापी र त्रुटिपूर्ण छौँ। प्रेषित पावलले सङ्‌गी ख्रिष्टियनहरूबाट प्रोत्साहन पाएकोले आफ्नो जीवनको अन्तसम्मै वफादार भई सहन सके। हामी पनि अरिस्तार्खसजस्तै वफादार, टाइकिकसजस्तै भरोसायोग्य अनि मर्कुसजस्तै मदतगार होऔँ। त्यसो गर्दा हामी आफ्ना भाइबहिनीलाई सत्यमा अडिग रहिरहन मदत गरिरहेका हुन्छौँ।—१ थिस्स. ३:२, ३.

a प्रेषित पावलले आफ्नो जीवनमा थुप्रै गाह्रो परिस्थितिको सामना गरे। त्यस्तो बेला तिनले आफ्ना सहकर्मीहरूबाट निकै सान्त्वना पाए। यस लेखमा अरूलाई सान्त्वना दिन ती सहकर्मीहरूलाई प्रभावकारी बनाएको तीन वटा खास गुणबारे विचार गर्नेछौँ। साथै तिनीहरूको अनुकरण कसरी गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ।

b यस लेखमा केही नामहरू परिवर्तन गरिएका छन्‌।

तपाईँ कसरी यी व्यक्‍तिहरूले जस्तै अरूलाई सान्त्वना दिन सक्नुहुन्छ?

  • अरिस्तार्खस

  • टाइकिकस

  • मर्कुस

गीत १११ हामी आनन्दित हुनुको कारण

c चित्रको व्याख्या: जहाज दुर्घटनामा पर्दा अरिस्तार्खस र पावल त्यसै जहाजमा थिए।

d चित्रको व्याख्या: टाइकिकसले पावलको पत्रहरू मण्डलीहरूमा पुऱ्‍याउने जिम्मा पाएका थिए।

e चित्रको व्याख्या: मर्कुसले पावललाई व्यावहारिक मदत गरे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने