प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 जनवरी pp. १४-१९
  • यहोवा तपाईँलाई माया गर्नुहुन्छ र अनमोल ठान्‍नुहुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा तपाईँलाई माया गर्नुहुन्छ र अनमोल ठान्‍नुहुन्छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामीलाई अनमोल ठान्‍नुहुन्छ
  • बिरामी पर्दा
  • आर्थिक समस्यामा पर्दा
  • वृद्धावस्थामा चाहेजति गर्न नसक्दा
  • कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्दैन
    यहोवासित नजिक हुनुहोस्‌
  • तपाईं परमेश्‍वरको नजरमा मूल्यवान हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवा “मुक्‍ति दिने” परमेश्‍वर—हाम्रो समयमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • तपाईँ यहोवाको नजरमा अनमोल हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 जनवरी pp. १४-१९

अध्ययन लेख ३

यहोवा तपाईँलाई माया गर्नुहुन्छ र अनमोल ठान्‍नुहुन्छ!

“हाम्रो दुर्दशामा उहाँले हामीलाई सम्झनुभयो।”—भज. १३६:२३.

गीत ३३ बिसाऊ भारी यहोवामा

परिचयa

१-२. आज यहोवाका थुप्रै सेवकले कस्ता परिस्थितिको सामना गर्दै छन्‌? त्यसले तिनीहरूलाई कस्तो असर पुऱ्‍याउन सक्छ?

यी तीन परिस्थिति कल्पना गर्नुहोस्‌: एक जवान भाइलाई गम्भीर रोग लागेको छ र त्यसले तिनलाई बिस्तारै कमजोर बनाउँदै छ। पचास वर्ष काटिसकेका एक मेहनती भाइले जागिर गुमाउँछन्‌ र निकै प्रयास गरे तापनि काम पाउँदैनन्‌। एक जना वफादार वृद्धा यहोवाको सेवामा पहिलाजति खटिन सक्दिनन्‌।

२ तपाईँले पनि यस्तै समस्याको सामना गर्दै हुनुहुन्छ भने आफूलाई बेकम्मा महसुस गर्नुहुन्छ होला। त्यस्तो परिस्थितिले गर्दा तपाईँको आनन्द र आत्मसम्मान गुम्न सक्छ अनि अरूसितको सम्बन्धमा असर पर्न सक्छ।

३. सैतान र त्यसको प्रभावमा परेका मानिसहरूले जीवनप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

३ संसारका मानिसहरूले जीवनप्रति सैतानको जस्तै दृष्टिकोण राख्छन्‌। सैतानले मानिसहरूको कुनै महत्त्व नै नभएको जस्तो व्यवहार गर्दै आएको छ। निर्दयी सैतानले हव्वालाई परमेश्‍वरको आज्ञा पालन नगर्दा उनी स्वतन्त्र हुन सक्नेछिन्‌ भनेर बतायो, जबकि त्यसलाई अनाज्ञाकारी हुँदा उनले मृत्युदण्ड पाउनेछिन्‌ भनेर थाह थियो। यस संसारको व्यापार, राजनीति र धर्म सैतानको नियन्त्रणमा छ। त्यसैले हामी व्यापारीहरू, राजनीतिज्ञहरू र धर्मगुरुहरूले सैतानको मनोभाव झल्काउँदै मानिसहरूको जीवन र भावनाको कदर नगरेको देख्दा छक्क पर्दैनौँ।

४. यस लेखमा के छलफल गर्नेछौँ?

४ अर्कोतर्फ, यहोवा हामीले आफूलाई अनमोल ठानेको चाहनुहुन्छ। उहाँले हामीलाई आफू केही कामको छैनँ जस्तो लाग्ने परिस्थितिमा मदत गर्नुहुन्छ। (भज. १३६:२३; रोमी १२:३) यस लेखमा यी परिस्थितिहरूमा यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ, विचार गर्नेछौँ: (१) बिरामी पर्दा, (२) आर्थिक समस्यामा पर्दा अनि (३) वृद्धावस्थाको कारण यहोवाको सेवामा चाहेजति गर्न सकिँदैन जस्तो लाग्दा। तर यहोवाको नजरमा हामी प्रत्येक नै अनमोल छौँ भनेर किन भन्‍न सक्छौँ, पहिला त्यसबारे छलफल गरौँ।

यहोवा हामीलाई अनमोल ठान्‍नुहुन्छ

५. तपाईँ किन मानिस यहोवाको नजरमा अनमोल छ भन्‍न सक्नुहुन्छ?

५ हामी माटोबाट बनिएको भए तापनि माटोभन्दा कता हो कता अनमोल छौँ। (उत्प. २:७) हामी यहोवाको नजरमा अनमोल छौँ भन्‍न सक्नुको केही कारण विचार गर्नुहोस्‌। यहोवाले मानिसलाई उहाँको गुण अनुकरण गर्न सक्नेगरि सृष्टि गर्नुभयो। (उत्प. १:२७) यसरी उहाँले हामीलाई पृथ्वीमा भएका सम्पूर्ण सृष्टिभन्दा उच्च पार्नुभयो। उहाँले हामीलाई पृथ्वी र जनावरहरूको हेरचाह गर्ने जिम्मेवारी दिनुभयो।—भज. ८:४-८.

६. यहोवा त्रुटिपूर्ण मानिसहरूलाई अनमोल ठान्‍नुहुन्छ भन्‍ने कुराको अर्को प्रमाण के हो?

६ आदमले पाप गरेपछि पनि यहोवाले मानिसलाई अनमोल ठान्‍न छोड्‌नुभएन। त्यसैले उहाँले आफ्नो प्यारो छोरा येसुलाई पापको छुडौतीको बलिदानको रूपमा दिनुभयो। (१ युह. ४:९, १०) यहोवाले आदमको पापले गर्दा मरेका “धर्मी र अधर्मी दुवै”-लाई छुडौतीको बलिदानको आधारमा फेरि जीवित पार्नुहुनेछ। (प्रेषि. २४:१५) उहाँको वचनले हाम्रो स्वास्थ्य, आर्थिक अवस्था वा उमेर जस्तोसुकै भए तापनि उहाँ हामीलाई अनमोल ठान्‍नुहुन्छ भनेर देखाउँछ।—प्रेषि. १०:३४, ३५.

७. यहोवा आफ्ना सेवकहरूलाई अनमोल ठान्‍नुहुन्छ भनेर विश्‍वास गर्नुको अन्य कस्ता कारणहरू छन्‌?

७ यहोवा हामीलाई अनमोल ठान्‍नुहुन्छ भनेर विश्‍वास गर्नुको अन्य थुप्रै कारण छन्‌। उहाँले हामीलाई आफूतर्फ खिच्नुभएको छ अनि हामीले सुसमाचार सुन्दा कस्तो प्रतिक्रिया देखायौँ, त्यो पनि याद गर्नुभएको छ। (युह. ६:४४) हामी यहोवासित नजिक हुँदै जाँदा उहाँ पनि हामीसित नजिक हुनुभयो। (याकु. ४:८) त्यति मात्र होइन, उहाँले हामीलाई सिकाउन आफ्नो समय र शक्‍ति खर्चेर पनि हाम्रो कदर गरेको देखाउनुहुन्छ। उहाँलाई हामी अहिले कस्तो व्यक्‍ति हौँ अनि अझ असल व्यक्‍ति बन्‍न के गर्नुपर्छ भनेर थाह छ। साथै उहाँले हामीलाई माया गर्नुहुने भएकोले अनुशासन दिनुहुन्छ। (हितो. ३:११, १२) यी सब यहोवाले हामीलाई अनमोल ठान्‍नुहुन्छ भन्‍ने कुराको अकाट्य प्रमाणहरू हुन्‌।

८. भजन १८:२७-२९ अनुसार चुनौतीहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

८ कसै-कसैले राजा दाउदलाई व्यर्थ मानिस ठान्थे। तर यहोवा तिनलाई माया गर्नुहुन्छ र तिनको साथमा हुनुहुन्छ भनेर दाउद विश्‍वस्त थिए। त्यसैले तिनी गाह्रो अवस्थाबाट गुज्रँदा पनि सकारात्मक हुन सके। (२ समु. १६:५-७) यहोवाले हामीलाई दुःखी हुँदा अथवा चुनौतीहरू सामना गर्नुपर्दा सकारात्मक दृष्टिकोण राख्न र जस्तोसुकै अवरोध पार गर्न मदत गर्नुहुन्छ। (भजन १८:२७-२९ पढ्‌नुहोस्‌) यहोवा हामीसित हुनुभएकोले आनन्दित भई उहाँको सेवा गर्न हामीलाई कुनै कुराले रोक्न सक्दैन। (रोमी ८:३१) यहोवा हामीलाई माया गर्नुहुन्छ र अनमोल ठान्‍नुहुन्छ भनेर याद राख्नुपर्ने तीन वटा खास परिस्थितिबारे अब विचार गरौँ।

बिरामी पर्दा

चित्रहरूको सँगालो: एक भाइ बिरामी परेको बेला नकारात्मक भावनासित जुझिरहेका छन्‌। १. तिनी अस्पतालको शय्यामा बसेर पुर्पुरोमा हात राखिरहेका छन्‌। २. तिनी प्रार्थना गर्दै छन्‌। ३. तिनी बाइबल पढ्‌दै छन्‌। ४. तिनी मुस्कुराउँदै छन्‌।

यहोवाको प्रेरित वचन पढ्यौँ भने बिरामी पर्दा हुने चिन्ता-फिक्रीसित जुझ्न मदत पाउँछौँ (अनुच्छेद ९-१२ हेर्नुहोस्‌)

९. बिरामी पर्दा कस्तो भावनात्मक असर पर्न सक्छ?

९ बिरामी पर्दा भावनात्मक असर पर्न सक्छ अनि अरूको लागि आफू कुनै कामको नभएको महसुस हुन सक्छ। अरूले हाम्रो सीमितताबारे थाह पाउँदा अथवा आफैले केही गर्न नसक्ने र अरूमाथि भर पर्नुपर्ने हुँदा हामी निराश हुन सक्छौँ। अरूलाई हामी बिरामी भएको थाह नहोला तर पहिलेजति गर्न नसक्दा हामीलाई आफैदेखि दिक्क लाग्न सक्छ। यस्तो अवस्थामा यहोवा हामीलाई हौसला दिनुहुन्छ। कसरी?

१०. हितोपदेश १२:२५ अनुसार बिरामी पर्दा हामीले कहाँबाट मदत पाउन सक्छौँ?

१० बिरामी पर्दा हामी “मीठो बोली”-बाट हौसला पाउन सक्छौँ। (हितोपदेश १२:२५ पढ्‌नुहोस्‌) बिरामी भए तापनि यहोवा हामीलाई महत्त्वपूर्ण ठान्‍नुहुन्छ भनेर सम्झाउन उहाँले बाइबलमा प्रोत्साहनका शब्दहरू साँचेर राख्नुभएको छ। (भज. ३१:१९; ४१:३) यहोवाले हामीलाई बिरामी पर्दा चिन्ता-फिक्रीसित जुझ्न मदत गर्नुहुन्छ। त्यसको लागि प्रेरित वचन एक चोटि मात्र होइन, दोहोऱ्‍याई-तेहऱ्‍याई पढ्‌नुपर्छ।

११. एक जना भाइले यहोवाबाट कस्तो मदत पाए?

११ होर्हा नाम गरेको जवान भाइको अनुभव विचार गरौँ। तिनी एक किसिमको गम्भीर रोगले गर्दा बिस्तारै कमजोर हुँदै थिए। त्यसैले तिनले आफू कुनै कामको नभएको महसुस गर्थे। तिनी भन्छन्‌: “रोगले गर्दा यत्ति लाचार हुन्छु भनेर सोचेकै थिइनँ। सबैले मलाई हेर्ने भएकोले असाध्यै अप्ठेरो र लाज लाग्थ्यो। अवस्था बिग्रिँदै गएपछि अब के होला भन्‍ने कुरा मनमा आयो। निराश भएकोले यहोवासित मदत मागेँ।” यहोवाले तिनलाई कसरी मदत गर्नुभयो? तिनी भन्छन्‌: “आफ्नो रोगबारे मात्र सोचिरहने भएकोले पढेको कुरामा ध्यान दिन सक्दिनथेँ। त्यसैले यहोवाले आफ्नो सेवकको ख्याल राख्नुहुने विषयमा लेखिएको भजनका केही पदहरू पढ्‌ने प्रोत्साहन पाएँ। हरेक दिन ती पदहरू दोहोऱ्‍याई-तेहऱ्‍याई पढ्‌थेँ अनि त्यसबाट सान्त्वना र प्रोत्साहन पाएँ। केही समयपछि अरूले म पहिलाभन्दा हँसिलो भएको याद गरे। म आनन्दित भएको देखेर तिनीहरू पनि प्रोत्साहित भएछन्‌। यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुभयो! उहाँले मलाई आफूप्रति सकारात्मक सोचाइ राख्न सिकाउनुभयो। बिरामी भएँ पनि उहाँले मलाई कस्तो ठान्‍नुहुन्छ, त्यसबारे उहाँको वचनमा बताइएको कुरामा ध्यान दिन थालेँ।”

१२. कुनै रोगसित लड्‌दा यहोवाको मदत कसरी पाउन सक्नुहुन्छ?

१२ तपाईँ कुनै रोगसित लड्‌दै हुनुहुन्छ भने यहोवा तपाईँको अवस्था राम्ररी बुझ्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। आफ्नो अवस्था राम्ररी बुझ्न उहाँसित मदत माग्नुहोस्‌। त्यसपछि यहोवाले तपाईँको लागि साँचेर राख्नुभएको प्रोत्साहनदायी कुरा बाइबलमा खोज्नुहोस्‌। यहोवाले आफ्ना सेवकहरूलाई कत्ति अनमोल ठान्‍नुहुन्छ भनेर प्रस्ट पारिएका पदहरूमा ध्यान दिनुहोस्‌। यसो गर्नुभयो भने तपाईँले यहोवा आफ्ना वफादार सेवकहरूको लागि भलो हुनुहुन्छ भनेर बुझ्नुहुनेछ।—भज. ८४:११.

आर्थिक समस्यामा पर्दा

चित्रहरूको सँगालो: एक जना भाइ आर्थिक समस्यामा पर्छन्‌। १. तिनलाई जागिरबाट निकालिन्छ। २. तिनी सदाजस्तो पारिवारिक उपासना सञ्चालन गर्दै छन्‌। ३. तिनी व्यक्‍तिगत बाइबल अध्ययन गर्दै छन्‌। ४. तिनी आफ्नी पत्नीसित प्रचार गर्दै छन्‌।

यहोवाले हाम्रो आवश्‍यकता पूरा गर्नुहुन्छ भनी गर्नुभएको प्रतिज्ञा सम्झियौँ भने जागिर पाउन गाह्रो हुँदा निराश हुनेछैनौँ (अनुच्छेद १३-१५ हेर्नुहोस्‌)

१३. परिवारको शिरलाई जागिर गुमाउँदा कस्तो लाग्न सक्छ?

१३ हरेक परिवारको शिरले आफ्नो परिवारको आवश्‍यकता पूरा गर्न चाहन्छन्‌। तर मानिलिनुहोस्‌, कुनै भाइले आफूले केही गल्ती नगरे तापनि जागिर गुमाउँछन्‌। तिनले नयाँ जागिर खोज्न निकै प्रयास गर्छन्‌ तर पाउँदैनन्‌। यस्तो अवस्थामा तिनले आफूलाई अयोग्य ठान्‍न सक्छन्‌। तिनले यहोवाको प्रतिज्ञामा ध्यान दिँदा कस्तो मदत पाउन सक्छन्‌?

१४. यहोवाले किन आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ?

१४ यहोवा सधैँ आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ। (यहो. २१:४५; २३:१४) उहाँले यसो गर्नुको थुप्रै कारण छन्‌। पहिलो, उहाँले आफ्नो नाम र प्रतिष्ठाको खातिर यसो गर्नुहुनेछ। यहोवाले आफ्ना वफादार सेवकहरूको ख्याल राख्ने वचन दिनुभएको छ र उहाँ आफ्नो प्रतिज्ञा पूरा गर्नुलाई कर्तव्य ठान्‍नुहुन्छ। (भज. ३१:१-३) साथै हामी यहोवाको परिवारको भाग भएकोले उहाँले हाम्रो ख्याल राख्नुभएन भने हामी दुःखी र निराश हुनेछौँ भनेर उहाँलाई थाह छ। उहाँले हाम्रो भौतिक र आध्यात्मिक दुवै आवश्‍यकता पूरा गर्ने प्रतिज्ञा गर्नुभएको छ अनि त्यसो गर्न उहाँलाई कुनै कुराले रोक्न सक्दैन।—मत्ति ६:३०-३३; २४:४५.

१५. (क) प्रथम शताब्दीका ख्रिष्टियनहरूले कुन समस्याको सामना गरे? (ख) भजन ३७:१८, १९ ले हामीलाई कुन कुरामा विश्‍वस्त बनाउँछ?

१५ यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नुको कारण मनमा राख्यौँ भने हामी आर्थिक समस्यामा पर्दा समेत आत्तिनेछैनौँ। प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई विचार गर्नुहोस्‌। यरुसलेमको मण्डलीलाई अत्यन्तै खेदो गर्न थालिएपछि “प्रेषितहरूबाहेक सबै जना . . . तितरबितर भए।” (प्रेषि. ८:१) तिनीहरूको अवस्था कस्तो भयो? तिनीहरूले आर्थिक सङ्‌कटको सामना गर्नुपऱ्‍यो। ख्रिष्टियनहरूले आफ्नो घरबार र व्यापार-व्यवसाय छोडेर जानुपऱ्‍यो होला। तर यहोवाले तिनीहरूलाई त्याग्नुभएन न त तिनीहरूले आफ्नो आनन्द नै गुमाए। (प्रेषि. ८:४; हिब्रू १३:५, ६; याकु. १:२, ३) यहोवाले ती वफादार ख्रिष्टियनहरूलाई सहयोग गर्नुभयो अनि हामीलाई पनि गर्नुहुनेछ।—भजन ३७:१८, १९ पढ्‌नुहोस्‌।

वृद्धावस्थामा चाहेजति गर्न नसक्दा

चित्रहरूको सँगालो: एक वफादार बहिनी वृद्धावस्थामा चाहेजति गर्न नसक्दा खिन्‍न महसुस गर्छिन्‌। १. उनी लौरो समातेर बसिरहेकी छिन्‌ अनि प्रार्थना गर्दै छिन्‌। २. उनी एक जवान बहिनीसित सार्वजनिक साक्षी दिँदै छिन्‌। ३. उनी आफ्नो मण्डलीका केटाकेटीलाई फोटोहरू देखाउँदै छिन्‌। ४. उनी मुस्कुराउँदै छिन्‌, निर्धक्क र प्रोत्साहित देखिन्छिन्‌ अनि आफूलाई अनमोल ठान्छिन्‌।

वृद्धावस्थामा आफूले गर्न सक्ने कुरामा ध्यान दिँदा यहोवाले हामीलाई अनमोल ठान्‍नुहुन्छ अनि वफादार भई गरेको सेवाको कदर गर्नुहुन्छ भनेर विश्‍वस्त हुन सक्छौँ (अनुच्छेद १६-१८ हेर्नुहोस्‌)

१६. कस्तो अवस्थामा हामीलाई यहोवाले हाम्रो उपासनाको कदर गर्नुहुन्‍न होला जस्तो लाग्न सक्छ?

१६ उमेर ढल्कँदै जाँदा हामीलाई यहोवाको सेवामा केही गर्न सकिँदैन जस्तो लाग्न सक्छ। राजा दाउदलाई वृद्धावस्थामा त्यस्तै चिन्ताले सतायो होला। (भज. ७१:९) यहोवाले हामीलाई त्यस्तो महसुस हुँदा कसरी मदत गर्नुहुन्छ?

१७. जेरी बहिनीको अनुभवबाट के सिक्न सक्छौँ?

१७ जेरी बहिनीको अनुभव विचार गर्नुहोस्‌। उनले राज्यभवनको मर्मतसम्भारको तालिम कार्यक्रममा उपस्थित हुने निम्तो पाइन्‌। तर उनी जान चाहँदिन थिइन्‌। उनले भनिन्‌: “मेरो उमेर ढल्किसक्यो अनि श्रीमान्‌ पनि बितिसक्नुभयो। मलाई मर्मतसम्भारको कुनै काम आउँदैन। म यस कामको लागि उपयोगी छैनँ।” उनले तालिमको अघिल्लो रात यहोवालाई प्रार्थना गरेर मनको बह पोखिन्‌। भोलिपल्ट राज्यभवन पुगेपछि पनि उनलाई ‘मेरो यहाँ के काम’ जस्तो लागिरहेको थियो। कार्यक्रममा एक जना भाइले सबैभन्दा महत्त्वपूर्ण सीप भनेकै यहोवाबाट सिक्ने इच्छुकता हो भनी बताए। पहिलाको कुरा सम्झँदै जेरी भन्छिन्‌: “त्यो सीप त मसित छ जस्तो लाग्यो। यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुभएको देख्दा आँसु थाम्नै सकिनँ। मसित पनि उहाँलाई दिन सक्ने केही छ अनि उहाँ मलाई सिकाउन इच्छुक हुनुहुन्छ भनेर आश्‍वासन दिँदै हुनुहुन्थ्यो।” उनी अझै यसो भन्छिन्‌: “त्यहाँ जाँदा डर लागिरहेको थियो अनि ममा कुनै जोस-जाँगर नै थिएन। मैले आफूलाई बेकामको ठानिरहेकी थिएँ। तर कार्यक्रमपछि मेरो आत्मविश्‍वास बढ्यो अनि प्रोत्साहन पनि पाएँ। म पनि काम लाग्ने मान्छे रहेछु जस्तो लाग्यो।”

१८. ढल्कँदो उमेरको बाबजुद यहोवा हाम्रो प्रयासको कदर गर्नुहुन्छ भन्‍नेबारे बाइबलबाट के थाह पाउन सक्छौँ?

१८ हाम्रो उमेर ढल्कँदै गए तापनि यहोवा हामीलाई उपयोगी ठान्‍नुहुन्छ। (भज. ९२:१२-१५) हामीले गर्न सक्ने कुरा सीमित भए पनि अथवा हामीलाई आफ्नो प्रयास नगण्य लागे पनि यहोवाले उहाँको सेवामा हामीले गरेको प्रयासको कदर गर्नुहुन्छ भनी येसुले सिकाउनुभयो। (लुका २१:२-४) त्यसैले आफूले गर्न सक्ने कुरामा ध्यान दिनुहोस्‌। जस्तै: तपाईँ यहोवाबारे अरूलाई बताउन सक्नुहुन्छ, भाइबहिनीको लागि प्रार्थना गर्न सक्नुहुन्छ अनि अरूलाई वफादार भइरहन प्रोत्साहन दिन सक्नुहुन्छ। यहोवाले तपाईँलाई सहकर्मी ठान्‍नुको कारण तपाईँमा भएको सीपले गर्दा नभई उहाँको आज्ञा पालन गर्ने इच्छुकताले गर्दा हो।—१ कोरि. ३:५-९.

१९. रोमी ८:३८, ३९ बाट कस्तो आश्‍वासन पाउन सक्छौँ?

१९ आफ्ना सेवकहरूलाई अनमोल ठान्‍नुहुने यहोवा परमेश्‍वरको उपासना गर्न पाउनु हाम्रो लागि सुअवसर हो! यहोवाले हामीलाई उहाँको इच्छाअनुसार चल्न सृष्टि गर्नुभएको हो अनि साँचो उपासना गर्दा हामी आनन्दित हुन्छौँ। (प्रका. ४:११) संसारले हामीलाई बेकामको ठाने तापनि यहोवा हामीलाई उहाँको सेवक ठान्‍नुहुन्छ। (हिब्रू ११:१६, ३८) हामी बिरामी पर्दा, आर्थिक कठिनाइको सामना गर्दा अथवा वृद्धावस्थाको कारण निरुत्साहित हुँदा स्वर्गमा बस्नुहुने हाम्रो बुबाको मायाबाट हामीलाई कुनै कुराले अलग पार्न सक्दैन भनेर कहिल्यै नबिर्सौँ।—रोमी ८:३८, ३९ पढ्‌नुहोस्‌।

a कुनै परिस्थितिले गर्दा तपाईँले कहिल्यै आफैलाई अयोग्य महसुस गर्नुभएको छ? यस लेखले यहोवाले तपाईँलाई अनमोल ठान्‍नुहुन्छ भनेर सम्झाउनेछ। जीवनमा जस्तोसुकै उतारचढाव आए तापनि तपाईँ कसरी आत्मसम्मान कायम राख्न सक्नुहुन्छ, त्यसबारे पनि यस लेखमा छलफल गरिनेछ।

यहोवाले हामीलाई निम्न अवस्थामा पनि अनमोल ठान्‍नुभएको कसरी देखाउनुहुन्छ?

  • बिरामी पर्दा

  • आर्थिक समस्यामा पर्दा

  • वृद्धावस्थामा चाहेजति गर्न नसक्दा

गीत ३० यहोवा नै मेरा बुबा, ईश्‍वर र साथी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने