प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 अप्रिल pp. २०-२५
  • तपाईँ यहोवाको नजरमा अनमोल हुनुहुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ यहोवाको नजरमा अनमोल हुनुहुन्छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको मायामा शङ्‌का गर्नु खतरनाक छ
  • पावलको उदाहरणबाट हामी के सिक्न सक्छौँ?
  • बाइबल अध्ययन, प्रार्थना र वफादार साथीहरूबाट मदत
  • यहोवाको प्रेम पाउन लायकको भइरहनुहोस्‌
  • यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवा र अरूप्रतिको प्रेमलाई बढाउँदै लैजानुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • आफ्नो प्रेम सेलाउन नदिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • कसले हामीलाई परमेश्‍वरको प्रेमबाट अलग गर्नसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 अप्रिल pp. २०-२५

अध्ययन लेख १७

तपाईँ यहोवाको नजरमा अनमोल हुनुहुन्छ!

“यहोवा आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ।”—भज. १४९:४.

गीत १०८ परमेश्‍वरको अटल प्रेम

परिचयa

विभिन्‍न देशका आनन्दित मानिसहरू।

स्वर्गमा बस्नुहुने हाम्रा बुबा हामी प्रत्येकसित “खुसी हुनुहुन्छ” (अनुच्छेद १ हेर्नुहोस्‌)

१. यहोवा आफ्ना सेवकहरूको कुन कुरा याद गर्नुहुन्छ?

यहोवा परमेश्‍वर “आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ।” (भज. १४९:४) कस्तो मनै छुने कुरा नि, होइन? यहोवा हामीमा भएका असल गुणहरू याद गर्नुहुन्छ, हाम्रो क्षमता देख्नुहुन्छ र हामीलाई उहाँतर्फ खिच्नुहुन्छ। हामी उहाँप्रति वफादार भइरह्‍यौँ भने उहाँ पनि सधैँभरि हामीसँगै रहनुहुनेछ!—युह. ६:४४.

२. यहोवाले माया गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्न कसै-कसैलाई किन गाह्रो लाग्छ?

२ कसै-कसैलाई यस्तो लाग्ला, ‘यहोवा आफ्ना मानिसहरूलाई समूहको रूपमा माया गर्नुहुन्छ भन्‍ने कुरा त मलाई थाह छ तर के उहाँ मलाई व्यक्‍तिगत रूपमा पनि माया गर्नुहुन्छ होला र?’ कसै-कसैको मनमा किन यस्तो प्रश्‍न उठ्‌छ? बाल्यावस्थामा निकै दुःख पाएकी ओक्सानाb यसो भन्छिन्‌: “बप्तिस्मा गरेर अग्रगामी सेवा थाल्दा म निकै खुसी थिएँ तर यसको १५ वर्षपछि मलाई विगतका नमीठा यादहरूले सताउन थाल्यो। मैले यहोवाको अनुमोदन गुमाइसकेँ र म उहाँको माया पाउन लायकको छैनँ जस्तो मैले महसुस गरेँ।” अग्रगामी बहिनी युआलाई पनि विचार गर्नुहोस्‌। तिनको बाल्यावस्था पनि सुखद थिएन। तिनी यसो भन्छिन्‌: “मैले यहोवालाई आफ्नो जीवन समर्पण गरेँ किनकि म उहाँलाई खुसी बनाउन चाहन्थेँ। तर म कहिल्यै पनि उहाँको माया पाउन लायकको हुन सक्दिनँ भन्‍ने कुरामा म पक्का थिएँ।”

३. हामी यस लेखमा के छलफल गर्नेछौँ?

३ माथि उल्लेख गरिएका वफादार ख्रिष्टियनहरूले जस्तै तपाईँ यहोवालाई धेरै माया गर्नुहुन्छ तर उहाँले चाहिँ तपाईँलाई माया गर्नुहुन्‍न जस्तो लाग्छ कि? यहोवा तपाईँको साँच्चै ख्याल राख्नुहुन्छ भनेर तपाईँ किन विश्‍वस्त हुनुपर्छ? अनि नकारात्मक भावनाहरूले सताउँदा त्यो सहन तपाईँलाई केले मदत गर्न सक्छ? आउनुहोस्‌, जवाफ पत्ता लगाऔँ।

यहोवाको मायामा शङ्‌का गर्नु खतरनाक छ

४. यहोवाको मायामा शङ्‌का गर्नु किन खतरनाक छ?

४ प्रेममा हामीलाई कुनै काम गर्न उत्प्रेरणा दिने शक्‍ति हुन्छ। यहोवा हामीलाई माया गर्नुहुन्छ र साथ दिनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भयौँ भने जीवनमा जस्तोसुकै चुनौती आइपरे पनि तनमनले उहाँको सेवा गर्न उत्प्रेरित हुनेछौँ। तर यहोवा हाम्रो ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा शङ्‌का गऱ्‍यौँ भने हाम्रो “बल घट्‌नेछ।” (हितो. २४:१०) निराश भयौँ र परमेश्‍वरको मायामा शङ्‌का गर्न थाल्यौँ भने हामी सजिलै सैतानको आक्रमणको सिकार हुन पुग्छौँ।—एफि. ६:१६.

५. परमेश्‍वरको मायामा शङ्‌का गर्दा कसै-कसैलाई के भएको छ?

५ शङ्‌काले गर्दा हाम्रा केही वफादार दाजुभाइ दिदीबहिनी आध्यात्मिक रूपमा कमजोर भएका छन्‌। जेम्स नाम गरेका एक एल्डर यसो भन्छन्‌: “म बेथेलमा सेवा गर्दै थिएँ र विदेशी भाषाको मण्डलीसित सङ्‌गत गरेर आनन्द उठाउँदै थिएँ। तैपनि मैले गरेका त्यागहरू यहोवाले स्विकार्नुभएको छ होला र जस्तो मलाई लाग्थ्यो। समय बित्दै जाँदा यहोवाले मेरा प्रार्थनाहरू सुन्‍नुहुन्छ भन्‍ने कुरामा शङ्‌कासमेत गर्न थालेँ।” पूर्ण-समय सेवा गरिरहेकी इभा यसो भन्छिन्‌: “यहोवाको मायामा शङ्‌का गर्नु खतरनाक छ भनेर मैले महसुस गरेँ। किनकि यसले हामीले यहोवाको सेवामा गर्ने हरेक कुरालाई असर गर्छ। यस्तो शङ्‌काले आध्यात्मिक कुराहरूप्रतिको हाम्रो चाहना घट्‌छ र यहोवाको सेवा गर्दा पाइने आनन्द पनि गुम्छ।” नियमित अग्रगामी र एल्डरको रूपमा सेवा गरिरहेका भाइ मिखाएल यसो भन्छन्‌: “परमेश्‍वरले तपाईँलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा शङ्‌का गर्न थाल्नुभयो भने तपाईँ बिस्तारै यहोवादेखि तर्केर जानुहुनेछ।”

६. परमेश्‍वरको मायामा शङ्‌का लाग्न थाल्यो भने हामीले तुरुन्तै के गर्नुपर्छ?

६ नकारात्मक सोचाइले हाम्रो आध्यात्मिकतालाई कुन हदसम्म असर गर्न सक्छ भन्‍ने कुरा यी अनुभवहरूले देखाउँछ। परमेश्‍वरको मायामा शङ्‌का लाग्न थाल्यो भने हामीले के गर्नुपर्छ? त्यस्तो शङ्‌का हटाउन तुरुन्तै कदम चाल्नुपर्छ। “मनको बेचैनी” हटाउन सकूँ अनि ‘हृदय र सोच्ने क्षमताको रक्षा गर्ने परमेश्‍वरको शान्ति’ पाउन सकूँ भनेर यहोवालाई बिन्ती गर्नुहोस्‌। (भज. १३९:२३; फुटनोट; फिलि. ४:६, ७) यस्तो महसुस गर्ने तपाईँ मात्र हुनुहुन्‍न भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। अरू वफादार दाजुभाइ दिदीबहिनीले पनि यस्तै नकारात्मक भावनाहरूसित सङ्‌घर्ष गरिरहेका छन्‌। अनि विगतका यहोवाका सेवकहरूले समेत यस्ता चुनौतीहरू सामना गरेका थिए। प्रेषित पावलको उदाहरणबाट हामी के सिक्न सक्छौँ, अब विचार गरौँ।

पावलको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

७. पावलले कस्ता समस्याहरूको सामना गरे?

७ के तपाईँ कहिलेकाहीँ तीनथुप्रो जिम्मेवारीको बोझले गर्दा थकित महसुस गर्नुहुन्छ? यदि त्यसो हो भने तपाईँ पावलको अवस्था राम्ररी बुझ्न सक्नुहुन्छ। तिनलाई एउटा मात्र होइन तर “सबै मण्डलीको चिन्ताले” दिनदिनै सताउँथ्यो। (२ कोरि. ११:२३-२८) कुनै दीर्घकालीन स्वास्थ्य समस्याले तपाईँको आनन्द खोसिरहेको छ कि? पावलको “शरीरमा एउटा छेस्को” थियो र त्यसले तिनलाई बारम्बार दुःख दिइरहन्थ्यो। त्यो छेस्को तिनले भोगिरहेको कुनै स्वास्थ्य समस्या हुन सक्छ र तिनी त्यसबाट मुक्‍ति पाउन चाहन्थे। (२ कोरि. १२:७-१०) आफूमा भएका कमीकमजोरीले गर्दा तपाईँ निराश हुनुहुन्छ कि? पावल पनि कहिलेकाहीँ निराश भएका थिए। आफ्ना कमीकमजोरीसित निरन्तर सङ्‌घर्ष गर्नुपरेकोले तिनले आफैलाई “लाचार मानिस” भने।—रोमी ७:२१-२४.

८. समस्याहरू सहन पावललाई केले मदत गऱ्‍यो?

८ विभिन्‍न परीक्षा र निराशाजनक परिस्थितिको बाबजुद पावलले यहोवाको सेवा गरिरहे। त्यसो गर्न तिनलाई केले बल दियो? हुन त तिनी आफ्ना कमीकमजोरीसित सङ्‌घर्ष गर्दै थिए तर फिरौतीको बलिदानमा तिनको विश्‍वास बलियो थियो। येसुको यो प्रतिज्ञा तिनलाई राम्ररी थाह थियो: “[ममाथि] विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (युह. ३:१६; रोमी ६:२३) फिरौतीको बलिदानमा विश्‍वास गर्नेमध्ये एक जना पावल पनि थिए। कसैले गम्भीर पाप गरे पनि पश्‍चात्ताप गऱ्‍यो भने यहोवा उसलाई क्षमा दिन तयार हुनुहुन्छ भन्‍ने कुरा पावलले राम्ररी बुझेका थिए।—भज. ८६:५.

९. गलाती २:२० मा पाइने पावलका शब्दहरूबाट हामी के सिक्न सक्छौँ?

९ परमेश्‍वरले ख्रिष्टमार्फत व्यक्‍त गर्नुभएको प्रेममा शक्‍ति छ भन्‍ने कुरामा पनि पावल विश्‍वास गर्थे। (गलाती २:२० पढ्‌नुहोस्‌।) यस पदको अन्तमा भएका आश्‍वासनदायी शब्दहरू विचार गर्नुहोस्‌। पावलले यसो भने: ‘परमेश्‍वरको छोराले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।’ पावलले विगतमा थुप्रै गलत काम गरेका थिए। तर तिनले यस्तो सोचेनन्‌, ‘यहोवा अरू भाइबहिनीलाई पक्कै माया गर्नुहुन्छ तर मचाहिँ उहाँको माया पाउन लायकको छैनँ।’ पावलले रोमका ख्रिष्टियनहरूलाई यो कुरा सम्झाए: “हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो” (रोमी ५:८) परमेश्‍वरको प्रेमको कुनै सीमा छैन!

१०. रोमी ८:३८, ३९ बाट हामी के सिक्न सक्छौँ?

१० रोमी ८:३८, ३९ पढ्‌नुहोस्‌। परमेश्‍वरको प्रेममा शक्‍ति छ भन्‍ने कुरामा पावललाई रतीभर शङ्‌का थिएन। कुनै पनि कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्दैन भनेर तिनले लेखे। यहोवाले इस्राएल राष्ट्रसित धीरजी भई व्यवहार गर्नुभएको कुरा पावललाई थाह थियो। यहोवाले तिनलाई कसरी कृपा देखाउनुभयो भन्‍ने कुरा पनि पावललाई थाह थियो। अर्को शब्दमा भन्‍नुपर्दा, पावल यसो भन्दै थिए: ‘यहोवाले आफ्नै छोरालाई मेरो निम्ति मर्न पठाउनुभयो। के त्यसोभए मैले उहाँको मायामा शङ्‌का गर्न मिल्छ र?’—रोमी ८:३२.

चित्रहरूको सँगालो: १. पावल पहिला फरिसी छँदा एक ख्रिष्टियनलाई झ्यालखानामा हाल्ने आदेश दिँदै छन्‌। २. पावल ख्रिष्टियन भएपछि एक जवान भाइलाई प्रोत्साहन दिँदै छन्‌।

विगतमा हामीले गल्तीहरू गरेका थियौँ होला तर यहोवाले ती गल्तीहरूमा नभई हामीले अहिले गरिरहेको र भविष्यमा गर्ने कुराहरूमा ध्यान दिनुहुन्छ (अनुच्छेद ११ हेर्नुहोस्‌)c

११. पहिलो तिमोथि १:१२-१५ अनुसार पावलले विगतमा कस्ता पापहरू गरेका थिए? तर यहोवा तिनलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा पावल किन पक्का थिए?

११ पहिलो तिमोथि १:१२-१५ पढ्‌नुहोस्‌। विगतमा गरेका गल्तीहरूबारे सोच्दा पावललाई पक्कै नमीठो लाग्थ्यो होला। तिनले आफू पापीहरूमध्ये “मुख्य हुँ” भने। हुन पनि सत्यको ज्ञान सिक्नुअघि पावलले ख्रिष्टियनहरूलाई सहरैपिच्छे खेदो गरे। कसै-कसैलाई झ्यालखानामा थुने अनि तिनीहरूलाई मृत्युदण्ड दिने कुरा उठ्‌दा त्यसको पक्षमा मत खसाले। (प्रेषि. २६:१०, ११) आफ्नो अनुमतिमा मृत्युदण्ड दिइएका केही ख्रिष्टियनहरूको जवान छोराछोरीलाई भेट्‌दा पावललाई कस्तो महसुस भयो होला, के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? पावलले आफ्ना गल्तीहरूको लागि पश्‍चात्ताप गरे। तर आफ्नो विगतलाई बदल्न सक्दिनँ भन्‍ने कुरा पनि तिनलाई थाह थियो। ख्रिष्ट तिनको निम्ति मर्नुभएको हो भन्‍ने कुरा पावलले स्विकारे र विश्‍वस्त भएर यस्तो लेखे: “म जे हुँ, त्यो परमेश्‍वरको असीम अनुग्रहले गर्दा भएको हुँ।” (१ कोरि. १५:३, १०) यसबाट हामी के सिक्न सक्छौँ? ख्रिष्ट तपाईँको निम्ति मर्नुभयो अनि तपाईँले यहोवासित न्यानो र व्यक्‍तिगत सम्बन्ध गाँस्न सकोस्‌ भनेर उहाँले तपाईँको निम्ति ढोका खोलिदिनुभयो भन्‍ने कुरा स्विकार्नुहोस्‌। (प्रेषि. ३:१९) विगतमा हामीले यहोवाको साक्षी हुनुअघि वा भएपछि पनि गल्तीहरू गरेका थियौँ होला तर यहोवाले ती गल्तीहरूमा नभई हामीले अहिले गरिरहेको र भविष्यमा गर्ने कुराहरूमा ध्यान दिनुहुन्छ।—यसै. १:१८.

१२. आफू बेकामको छु वा माया पाउन लायकको छैनँ जस्तो लाग्दा १ युहन्‍ना ३:१९, २० का शब्दहरूले हामीलाई कसरी मदत गर्न सक्छ?

१२ येसु हाम्रा पापहरू ढाक्न मर्नुभयो भन्‍ने कुरा सोच्दा तपाईँलाई यस्तो लाग्न सक्छ, ‘म त्यसको लायक छैनँ।’ तपाईँलाई किन त्यस्तो महसुस हुन सक्छ? हाम्रो त्रुटिपूर्ण हृदयले हामीलाई झुक्क्याउन सक्छ। आफू बेकामको छु वा माया पाउन लायकको छैनँ जस्तो हामीलाई लाग्न सक्छ। (१ युहन्‍ना ३:१९, २० पढ्‌नुहोस्‌।) त्यस्तो लाग्दा “परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ” भन्‍ने कुरा मनमा राख्नुपर्छ। हाम्रो हृदयको कुनै कुनामा लुकेर बसेका नकारात्मक भावनाहरूभन्दा स्वर्गमा बस्नुहुने हाम्रा बुबाको प्रेम र क्षमा कता हो कता शक्‍तिशाली छ। यहोवा हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा हामीले आफैलाई विश्‍वस्त बनाउनुपर्छ। यसको लागि हामीले परमेश्‍वरको वचन पढ्‌नुपर्छ, निरन्तर प्रार्थना गर्नुपर्छ अनि परमेश्‍वरका वफादार सेवकहरूसित नियमित रूपमा सङ्‌गत गर्नुपर्छ। यी कुराहरू गर्नु किन महत्त्वपूर्ण छ?

बाइबल अध्ययन, प्रार्थना र वफादार साथीहरूबाट मदत

१३. परमेश्‍वरको वचन अध्ययन गर्दा हामीलाई कस्तो फाइदा हुन्छ? (“परमेश्‍वरको वचनले तिनीहरूलाई कसरी मदत गऱ्‍यो?” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१३ हरेक दिन परमेश्‍वरको वचन अध्ययन गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले यहोवाका थुप्रै मनमोहक गुणहरू अझ राम्ररी देख्न सक्नुहुनेछ। साथै तपाईँले यहोवाको माया आफैले महसुस गर्न सक्नुहुनेछ। हरेक दिन परमेश्‍वरको वचनको केही अंश पढेर मनन गर्नुभयो भने यसले तपाईँलाई आफ्नो गलत सोचाइ र चाहनाहरू “सच्याउन” मदत गर्नेछ र तपाईँले अझ राम्ररी सोच्न सक्नुहुनेछ। (२ तिमो. ३:१६) यहोवाको नजरमा आफ्नो कुनै मोल छैन भन्‍ने भावनासित सङ्‌घर्ष गरेका एक एल्डर केभिन यसो भन्छन्‌: “भजन १०३ अध्याय पढेर त्यसमा मनन गर्दा मैले आफ्नो सोचाइ सच्याउन अनि परमेश्‍वर मेरो विषयमा के सोच्नुहुन्छ भनेर बुझ्न सकेँ।” अगाडि उल्लेख गरिएकी इभा यसो भन्छिन्‌: “म हरेक दिनको अन्तमा यहोवाका विचारहरूबारे मनन गर्ने गर्छु। यसो गर्दा मैले मनोशान्ति पाउँछु अनि मेरो विश्‍वास पनि बलियो हुन्छ।”

परमेश्‍वरको वचनले तिनीहरूलाई कसरी मदत गऱ्‍यो?

एक बहिनी बसमा बाइबल पढ्‌दै छिन्‌।
  • “बाइबलको गहिरो अध्ययन गर्दा म यहोवा र अरूबारे सोच्ने गर्छु।”—मिखाएल

  • “राम्रो आध्यात्मिक तालिका कायम राख्दा मैले नकारात्मक भावनाहरूलाई पन्छाउन मदत पाएको छु। कहिलेकाहीँ त बाइबल नपढूँ कि जस्तो पनि लाग्छ तर त्यस्तो सोचाइलाई हटाएर बाइबल पढ्‌दा यहोवा मलाई माया गर्नुहुन्छ भन्‍ने कुरा सम्झने मौका पाउँछु।”—केभिन

  • “मलाई भजनको किताब पढ्‌न मन पर्छ। मलाई सबैभन्दा मनपर्ने अध्याय २७ हो। बेलाबेलामा म यो अध्यायको पद १ देखि ६, १० अनि १२ देखि १४ पढेर मनन गर्ने गर्छु।”—ओक्साना

  • “म आफ्नो दिनचर्या सुरु गर्नुअघि परमेश्‍वरको वचनको केही अंश पढ्‌ने गर्छु र प्रार्थना गर्ने गर्छु। हरेकचोटि बाइबल पढ्‌दा मैले त्यसबाट आफूलाई चाहिएकै मदत पाउँछु।”—जेम्स

  • “यहोवाको वचन पढ्‌दा म उहाँसित अझ नजिक भएको महसुस गर्छु। त्यसपछि मैले मनोशान्ति पाउँछु। यहोवाले मलाई बलियो पार्नुभएको छ र उहाँको शान्ति दिनुभएको छ। परमेश्‍वरको वचन अध्ययन गर्दा यहोवा मलाई कहिल्यै बिर्सनुहुन्‍न भन्‍ने कुरामा पक्का हुन सकेको छु।”—सेइजी

१४. प्रार्थनाले हामीलाई कसरी मदत गर्छ?

१४ निरन्तर प्रार्थना गर्नुहोस्‌। (१ थिस्स. ५:१७) हामीले आफ्नो साथीसित नियमित रूपमा अनि मन खोलेर कुराकानी गऱ्‍यौँ भने हाम्रो मित्रता अझ प्रगाढ हुन्छ। यहोवासितको हाम्रो मित्रतामा पनि यही कुरा लागू हुन्छ। हामीले प्रार्थनामा उहाँलाई आफ्नो भावना, विचार र चिन्ता पोख्यौँ भने हामीले उहाँमाथि भरोसा गरेको अनि उहाँ हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरा बुझेको देखाइरहेका हुन्छौँ। (भज. ९४:१७-१९; १ युह. ५:१४, १५) अगाडि उल्लेख गरिएकी युआ यसो भन्छिन्‌: “प्रार्थना गर्दा म यहोवालाई दिनभरि के-के गरेँ भनेर बताउने मात्र गर्दिनँ बरु मन खोलेर आफ्ना भावनाहरू पोखाउँछु। यसो गर्दा मैले यहोवालाई कुनै कम्पनीको हाकिमको रूपमा होइन तर आफ्नो छोराछोरीलाई साँच्चै माया गर्ने बुबाको रूपमा हेर्न सकेँ।”—“के तपाईँले यो पढ्‌नुभयो?” भन्‍ने पेटी हेर्नुहोस्‌।

के तपाईँले यो पढ्‌नुभयो?

के तपाईँले यहोवासित नजिक हुनुहोस्‌ (अङ्‌ग्रेजी) किताब पढ्‌नुभएको छ? यदि छैन भने आफ्नो व्यक्‍तिगत अध्ययनमा यो किताब पढ्‌ने योजना बनाउनुभए कसो होला? अमेरिकाको क्यालिफोर्नियामा बस्ने एक पाठकले यसो भनिन्‌: “यो किताब पढ्‌दा र यसमा मनन गर्दा मेरो जीवन पहिलाको भन्दा राम्रो भएको छ अनि स्वर्गमा बस्नुहुने बुबासितको सम्बन्ध पनि अझ प्रगाढ भएको छ। अहिले मलाई यहोवा मेरो साथी हुनुहुन्छ जस्तो लाग्छ। . . . म यहोवालाई धेरै प्रेम गर्छु र ममा यस्ता भावनाहरू जगाउने किताब यही नै हो।”

१५. यहोवाले हामी प्रत्येकलाई ख्याल गरेको कसरी देखाउनुभएको छ?

१५ वफादार साथीहरूसित सङ्‌गत गर्नुहोस्‌। तिनीहरू यहोवाले तपाईँलाई दिनुभएको उपहार हुन्‌। (याकु. १:१७) स्वर्गमा बस्नुहुने हाम्रो बुबाले हामीलाई ‘सधैँ माया गर्ने’ आध्यात्मिक परिवार दिनुभएर हामी प्रत्येकलाई ख्याल गरेको देखाउनुभएको छ। (हितो. १७:१७) कलस्सीका ख्रिष्टियनहरूलाई लेखेको पत्रमा पावलले आफूलाई साथ दिएका केही ख्रिष्टियनबारे चर्चा गरेका छन्‌ अनि तिनीहरूबाट आफूले “निकै सान्त्वना पाएको” कुरा बताएका छन्‌। (कल. ४:१०, ११) येसु ख्रिष्टलाई समेत स्वर्गदूतहरू र आफ्ना मानव साथीहरूको मदत चाहिएको थियो र उहाँले तिनीहरूबाट पाएको मदतको कदर गर्नुभयो।—लुका २२:२८, ४३.

१६. वफादार साथीहरूले हामीलाई यहोवासित अझ नजिक हुन कसरी मदत गर्न सक्छन्‌?

१६ के तपाईँ यहोवाले उपहारस्वरूप दिनुभएको वफादार साथीहरूको मदत खोज्नुहुन्छ र तिनीहरूले मदत दिन खोज्दा स्विकार्नुहुन्छ? परिपक्व साथीलाई आफ्नो चिन्ता पोखाउनु कमजोरीको चिन्ह होइन। बरु यसो गर्दा हाम्रै सुरक्षा हुन्छ। अगाडि उल्लेख गरिएका जेम्स के भन्छन्‌, विचार गर्नुहोस्‌: “परिपक्व ख्रिष्टियनहरूलाई साथी बनाउँदा मैले धेरै मदत पाएको छु। मलाई नकारात्मक भावनाहरूले सताउँदा ती प्यारा साथीहरूले मेरो कुरा धैर्य गर्दै सुन्‍नुहुन्छ अनि ‘म तिमीलाई माया गर्छु’ भन्‍नुहुन्छ। मैले उहाँहरूमार्फत यहोवाको माया र हेरचाह महसुस गर्न सकेको छु।” हाम्रा आध्यात्मिक दाजुभाइ दिदीबहिनीसित घनिष्ठ मित्रता गाँस्नु र त्यसलाई कायम राख्नु साँच्चै महत्त्वपूर्ण छ।

यहोवाको प्रेम पाउन लायकको भइरहनुहोस्‌

१७-१८. हामीले कसको कुरा सुन्‍नुपर्छ र किन?

१७ सैतान हामीले सही काम गर्न छोडेको चाहन्छ। यहोवा हामीलाई माया गर्नुहुन्‍न र हामी अनन्त जीवन पाउन लायकको छैनौँ भन्‍ने हामीले सोचेको त्यो चाहन्छ। तर यो कुरा साँचो होइन भनेर हामीले बुझेका छौँ।

१८ यहोवा तपाईँलाई माया गर्नुहुन्छ। तपाईँ यहोवाको नजरमा बहुमूल्य हुनुहुन्छ। तपाईँ उहाँप्रति आज्ञाकारी हुनुभयो भने येसुजस्तै तपाईँ पनि उहाँको “प्रेम पाउन लायकको” भइरहनुहुनेछ। (युह. १५:१०) त्यसैले सैतानको अनि तपाईँको आफ्नै छली हृदयको कुरा पनि नसुन्‍नुहोस्‌। बरु यहोवाको कुरा सुन्‍नुहोस्‌। उहाँ हामी प्रत्येकमा असल कुरा खोज्नुहुन्छ। “यहोवा आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ” भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌ र ती मानिसहरूमध्ये तपाईँ पनि एक जना हुनुहुन्छ!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • यहोवाको मायामा शङ्‌का लाग्दा हामीले त्यो शङ्‌का किन हटाउनुपर्छ?

  • प्रेषित पावल र आधुनिक समयका यहोवाका सेवकहरूबाट हामी के सिक्न सक्छौँ?

  • बाइबल अध्ययन, प्रार्थना र वफादार साथीहरूले हामीलाई कसरी मदत गर्न सक्छन्‌?

गीत १४१ जीवन—एउटा चमत्कार

a हाम्रा केही दाजुभाइ दिदीबहिनीलाई यहोवाले आफूलाई माया गर्नुहुन्छ भन्‍ने कुरा विश्‍वास गर्न गाह्रो लाग्छ। यहोवा हामी एक-एक जनालाई माया गर्नुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ, त्यसबारे यस लेखमा छलफल गर्नेछौँ। यहोवाको मायामा शङ्‌का लाग्दा त्यो शङ्‌का कसरी हटाउन सक्छौँ, त्यसबारे पनि छलफल गर्नेछौँ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

c चित्रको व्याख्या: विगतमा पावलले थुप्रै ख्रिष्टियनलाई झ्यालखानामा थुन्‍न लगाए। येसुले तिनको निम्ति गर्नुभएको कुरा स्विकारेपछि तिनी परिवर्तन भए अनि ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई प्रोत्साहन दिए। तिनीहरूमध्ये कोही-कोही पहिला पावलले खेदो गरेका ख्रिष्टियनहरूको परिवारको सदस्य वा आफन्त थिए होलान्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने