तपाईं परमेश्वरको नजरमा मूल्यवान हुनुहुन्छ!
“अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु। यसैकारण तँप्रति मैले मेरो विश्वासयोग्यता कायम राखेको [तँलाई करुणा देखाएर मतर्फ खिंचेको, न्युव] छु।”—यर्मिया ३१:३.
१. त्यतिबेलाका साधारण मानिसहरूप्रति येशूको दृष्टिकोण र फरिसीहरूको दृष्टिकोणमा के भिन्नता थियो?
उहाँको नजरमा मायालु भाव झल्किएको तिनीहरूले देख्न सक्थे। येशू भनिने यो मानिस तिनीहरूका धार्मिक नेताहरू जस्तो पटक्कै हुनुहुन्नथियो; उहाँले मानिसहरूको ख्याल राख्नुहुन्थ्यो। मानिसहरू देखेर उहाँको हृदय दयाले भरिन्थ्यो किनभने तिनीहरू “गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) तिनीहरूका धार्मिक नेताहरू मायालु अनि दयालु परमेश्वरको प्रतिनिधित्व गर्ने मायालु गोठालाहरू हुनुपर्थ्यो। तर त्यसको उल्टो सर्वसाधारणलाई तिनीहरू तुच्छ अनि श्रापित ठान्थे।a (यूहन्ना ७:४७-४९; इजकिएल ३४:४ तुलना गर्नुहोस्।) स्पष्ट छ, त्यस्तो टेढो, अशास्त्रीय दृष्टिकोण यहोवाले आफ्नो जनप्रति राख्नुहुने दृष्टिकोणभन्दा फरक थियो। उहाँले आफ्नो इस्राएल राष्ट्रलाई यसो भन्नुभएको थियो: “अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु।”—यर्मिया ३१:३.
२. परमेश्वरको नजरमा अय्यूब निकम्मा छ भनेर तिनका तीन मित्रहरूले कसरी विश्वस्त गराउन खोजे?
२ यद्यपि, यहोवाका प्रिय भेडाहरूलाई तिनीहरू निकम्मा छन् भनेर विश्वस्त गराउन खोज्ने पहिलो मानिसहरू निस्सन्देह फरिसीहरू थिएनन्। अय्यूबको उदाहरणलाई सम्झनुहोस्। यहोवाको नजरमा अय्यूब धर्मी अनि निर्दोष थिए तर तिनलाई भेट्न आउने तीन “सान्त्वनादाताहरूले” तिनलाई अनैतिक र नामोनिसान नहुने गरी मर्ने दुष्ट धर्मत्यागी भनी लाञ्छना लगाए। परमेश्वरले आफ्नै स्वर्गदूतहरूलाई समेत भरोसा नगर्नुहुने र स्वर्गलाई अशुद्ध ठान्नुहुने हुँदा अय्यूबको धार्मिकतालाई उहाँले कुनै मोलको सम्झनु हुनेछैन भनेर तिनीहरूले जोड दिए!—अय्यूब १:८; ४:१८; १५:१५, १६; १८:१७-१९; २२:३.
३. आफू निकम्मा अनि प्रेमको पात्र हुन अयोग्य छ भनी मानिसहरूलाई विश्वस्त गराउन शैतानले आज के-कस्ता उपायहरू रच्छ?
३ कसैले तिनीहरूलाई प्रेम गर्दैनन् र तिनीहरू निकम्मा छन् भनी मानिसहरूलाई विश्वस्त गराउन शैतानले आजसम्म पनि त्यही ‘धूर्त युक्ति’ चलाउँदैछ। (एफिसी ६:११) हो, त्यसले मानिसहरूको अहंकार र घमण्डलाई उक्साएर अक्सर बहकाउने गर्छ। (२ कोरिन्थी ११:३) तर कमजोर मानिसहरूको आत्मसम्मानमा घात पुऱ्याउन पनि त्यसले आनन्द मान्छ। विशेषगरि यी “आखिरी दिन[मा]” यो कुरा सत्य साबित भएको छ। अधिकांश मानिसहरू “स्वाभाविक प्रेम” रहित परिवारहरूमा हुर्कन्छन्; थुप्रै मानिसहरूले दिनहुँ हिंस्रक, स्वार्थी र असंयमी मानिसहरूको सामना गर्नुपर्ने हुन्छ। (२ तिमोथी ३:१-५) वर्षौंदेखि सहँदै आएको असभ्य व्यवहार, रंगभेद, घृणा वा दुर्व्यवहारले गर्दा आफू निकम्मा र घृणाको पात्र हुँ भनी त्यस्ता मानिसहरू विश्वस्त भएको हुनसक्छन्। एक जना मानिसले यो लेखे: “म न ता मानिसहरूलाई प्रेम गर्छु न कसैले मलाई प्रेम गरेकै महसुस गर्छु। परमेश्वरले मेरो विषयमा चिन्ता गर्नुहुन्छ भनेर विश्वास गर्न मलाई असाध्यै गाह्रो लाग्छ।”
४, ५. (क) आफूलाई निकम्मा सम्झने विचारधारा किन शास्त्र विपरीत हो? (ख) हाम्रा सबै यत्नहरू व्यर्थ छन् भन्ठान्नाले आउन सक्ने एउटा खतरापूर्ण नतिजा के हो?
४ आफूलाई निकम्मा सम्झने विचारले परमेश्वरको वचनको मुटु अर्थात् छुटकाराको बलिदानको शिक्षामा घात पुऱ्याउँछ। (यूहन्ना ३:१६) हामीलाई सधैंभरि बाँच्ने अवसर प्रदान गर्न परमेश्वरले आफ्नै पुत्रको मूल्यवान जीवन दिनुभएर ठूलो मोल चुकाउन सक्नुहुन्छ भने, उहाँले अवश्य हामीलाई प्रेम गर्नुहुन्छ; निस्सन्देह उहाँको नजरमा हामी केही मोलको हुनुपर्छ!
५ यसबाहेक, हामीले परमेश्वरलाई अप्रसन्न तुल्याइरहेका छौं र हाम्रा सबै प्रयत्न बेकार छन् भनेर महसुस गर्नु कति निरुत्साहजनक छ! (हितोपदेश २४:१० तुलना गर्नुहोस्।) यस्तो नकारात्मक दृष्टिकोणको अगाडि यथासम्भव परमेश्वरको बढी सेवा गर्ने मदत दिन असल मनसायले दिइएको प्रोत्साहनसमेत दोषारोपणझैं लाग्नसक्छ। जति नै गरे तापनि आफूले गरिरहेको सेवा पर्याप्त छैन भनेर त्यसले हाम्रो अन्तर आत्माको विश्वासलाई झकझकाउन खोजेको जस्तो देखिन सक्छ।
६. आफूप्रति अति नकारात्मक विचारहरू राख्ने प्रवृत्ति निवारण गर्ने उत्तम औषधी के हो?
६ यदि तपाईं यस्तै नकारात्मक अनुभूतिहरू महसुस गर्दै हुनुहुन्छ भने निराश नहुनुहोस्। समय-समयमा हामीमध्ये धेरै जना आफैसित कठोर हुन्छौं। परमेश्वरको वचन, “सच्याउन” र “किल्लाहरू भत्काउनसक्ने” किसिमले तयार पारिएको छ भनेर पनि नबिर्सनुहोस्। (२ तिमोथी ३:१६; २ कोरिन्थी १०:४) प्रेरित यूहन्नाले यसरी लेखे: “यसैमा हामी जान्दछौं, कि हामी सत्यका छौं, र जुन कुरामा हाम्रो हृदयले दोष लाउँछ, त्यस विषयमा हामीले हाम्रो हृदयलाई परमेश्वरको सामने निश्चय गराऔं। किनभने परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र सबै कुरा जान्नुहुन्छ।” (१ यूहन्ना ३:१९, २०) त्यसोभए आउनुहोस्, परमेश्वरको नजरमा हामी मूल्यवान छौं भनेर बाइबलले हामीलाई सिकाउने तीन तरिकाहरू छलफल गरौं।
यहोवाले तपाईंको मोल गर्नुहुन्छ
७. परमेश्वरको नजरमा तिनीहरूको मूल्यबारे येशूले सबै मसीहीहरूलाई कसरी सिकाउनुभयो?
७ प्रथमतः हामी प्रत्येक परमेश्वरको नजरमा मूल्यवान छौं भनेर बाइबलले प्रत्यक्ष रूपमा सिकाउँछ। येशूले यसो भन्नुभयो: “के दुइ पैसामा पाँचवटा भँगेरा बिक्तैनन्? औ तीमध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न। तर तिमीहरूको कपालको केशसमेत गनिएका छन्। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ़ता किम्मती छौ।” (लूका १२:६, ७) त्यतिबेला किनबेच गरिने खानेकुराहरूमध्ये भँगेरा सबैभन्दा सस्तो थियो। यद्यपि, तिनीहरूका सृष्टिकर्ताले तिनीहरूमध्ये एउटालाई पनि बिर्सनुहुन्नथियो। यसप्रकार उहाँले अति प्रभावकारी तुलनाको आधार बसाल्नुभयो: भँगेराभन्दा कयौं गुना मूल्यवान भएको हुँदा परमेश्वरले मानिसहरूको सबै कुरा जान्नुहुन्छ। मानौं हाम्रो शिरको एक-एक केशको गणना भएझैं!
८. यहोवाले हाम्रो शिरको केश गन्न सक्नुहुन्छ भनेर विश्वास गर्नु किन तार्किक छ?
८ एक-एक केशको गणना? येशूको उदाहरणको यस पक्षमाथि तपाईंलाई शंका लाग्छ भने यस तथ्यलाई एकछिन विचार गर्नुहोस्: परमेश्वरले आफ्ना सेवकहरूलाई यति राम्ररी स्मरणमा राख्नु भएको छ, उहाँले तिनीहरूको जटिल आनुवंशिक कोड र वर्षौंको स्मरण अनि अनुभवहरूलगायत एक-एक विवरणसहित तिनीहरूको पुनरुत्थान गर्न सक्नुहुन्छ। यो कुरालाई विचार गर्ने हो भने, (सामान्यतया १,००,००० केश उम्रने) हाम्रो शिरको केश गन्नु सानु कामजस्तो देखिन्छ!—लूका २०:३७, ३८.
यहोवाले हामीमा के देख्नुहुन्छ?
९. (क) यहोवाले मोल गर्नुहुने केही गुनहरू के के हुन्? (ख) ती गुनहरू उहाँको नजरमा किन मूल्यवान छन् जस्तो तपाईंलाई लाग्छ?
९ दोस्रो, यहोवाले हाम्रो कुन कुराको मोल गर्नुहुन्छ भनेर बाइबलले हामीलाई सिकाउँछ। सरल भाषामा भन्ने हो भने उहाँ हाम्रो सकारात्मक गुनहरू तथा प्रयत्नहरू देखेर रमाउनुहुन्छ। राजा दाऊदले आफ्नो छोरा सुलेमानलाई यसो भने: “परमेश्वरले सबै हृदय जाँच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाह पाउनुहुन्छ।” (१ इतिहास २८:९) हिंसा र घृणाले भरिएको यस संसारमा करोडौं मानिसहरूको हृदय जाँच्नुहुँदा शान्ति, सत्य र धार्मिकतालाई प्रेम गर्ने एउटा हृदय भेटाउनु भयो भने, परमेश्वरलाई कति खुशी लाग्दो हो! (यूहन्ना १:४७ तुलना गर्नुहोस्; १ पत्रुस ३:४) उहाँप्रति प्रेमले विभोर हुने अनि उहाँको विषयमा जान्न खोज्ने र अरूसँग त्यस्तो ज्ञान बाँड्न चाहने हृदय परमेश्वरले भेटाउनुहुँदा के हुन्छ? उहाँबारे अरूसँग कुरा गर्नेहरूतर्फ उहाँ कान थाप्नुहुन्छ र “उहाँको डर मान्नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ” उहाँले “सम्झनाको पुस्तकमा” समेत लेखेर राख्नुभएको छ भनेर मलाकी ३:१६ मा यहोवा हामीलाई बताउनुहुन्छ। त्यस्ता गुनहरू उहाँको निम्ति मूल्यवान छन्!
१०, ११. (क) यहोवाले तिनीहरूका असल गुनहरूको मोल गर्नुहुन्छ भन्ने कुराको प्रमाणलाई किन कसै-कसैले नगण्य सम्झन सक्छन्? (ख) थोरै होस् वा धेरै, यहोवाले असल गुनहरूको मोल गर्नुहुन्छ भनेर अबियाको उदाहरणले कसरी देखाउँछ?
१० तथापि, परमेश्वरको नजरमा हामी मूल्यवान छौं भन्ने प्रमाणलाई आत्मदोषी हृदयले नकार्न सक्छ। त्यसले मनमनै गुनासो गर्न सक्छ, ‘तर ती गुनहरूमा मभन्दा उदाहरणीय व्यक्तिहरू अरू थुप्रै छन् नि। तिनीहरूसँग मेरो तुलना गर्नुहुँदा यहोवालाई कति निराश लाग्दो हो!’ तर यहोवाले तुलना गर्नुहुन्न, उहाँ कठोर पनि हुनुहुन्न न ता उहाँले एक एक कुरा सिद्ध खोज्नुहुन्छ। (गलाती ६:४) उहाँले बडो होशियारीसाथ मानिसहरूको हृदय पढ्नुहुन्छ र धेरै-थोरै जति नै भए तापनि असल गुनहरूको मोल गर्नुहुन्छ।
११ उदाहरणको लागि, राजा यारोबामका पूरै धर्मत्यागी राजघरानालाई “कसिंगर” बढारेझैं खतम गर्ने आज्ञा दिनुहुँदा यहोवाले राजाका छोराहरूमध्ये अबियाको मात्र उचित रीतिले मृत-संस्कार गर्नू भन्ने आज्ञा दिनुभयो। किन? किनभने “त्यसमा मात्र परमप्रभु इस्राएलका परमेश्वरले केही असल कुरा भेट्टाउनु[भयो]।” (१ राजा १४:१०, १३) के यसको अर्थ अबिया यहोवाको विश्वासी उपासक थिए? नहुन पनि सक्छ, किनभने तिनी आफ्नो दुष्ट घरानाझैं मरे। (व्यवस्था २४:१६) तैपनि यहोवाले अबियाको हृदयमा देख्नुभएको “केही असल कुरा[को]” मोल गर्नुभयो र त्यसअनुसार व्यवहार पनि गर्नुभयो। माथ्यु हेनरीज कमेन्टरी अन द होल बाइबल-ले (माथ्यु हेनरीद्वारा सम्पूर्ण बाइबलको टिप्पणी) यसो भन्छ: “यदि कसैमा केही असल गुन छ भने जति नै थोरै भए तापनि परमेश्वरले त्यसको खोजी गर्नुहुन्छ र उहाँ खुशी हुनुहुन्छ।” अनि यो पनि स्मरण रहोस्, तपाईंले विश्वासीपूर्वक परमेश्वरको सेवा गर्ने प्रयत्न गर्नुभयो भने उहाँले तपाईंमा थोरै असल गुन भेटाउनु भए पनि त्यसलाई उहाँले बढाउन सक्नुहुन्छ।
१२, १३. (क) यहोवाले हाम्रा प्रयत्नहरूको मोल गर्नुहुन्छ भनेर भजन १३९:३ ले कसरी देखाउँछ? (ख) यहोवाले हाम्रा गतिविधिहरूलाई चाल्नुहुन्छ भनेर कुन अर्थमा भन्न सकिन्छ?
१२ त्यस्तैगरि यहोवाले हाम्रो प्रयत्नको पनि मोल गर्नुहुन्छ। भजन १३९:१-३ मा हामी यो लेखिएको पाउँछौं: “हे परमप्रभु, तपाईंले मलाई जाँचेर चिन्नुभएको छ। तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ, तपाईंले टाढ़ैबाट मेरो विचार बुझ्नुहुन्छ। तपाईंले मेरो चाल र मेरो सुताइ ठीक ठीक गरेर जाँच गरी चिन्नुहुन्छ, र मेरो सबै चालचलनको भेद थाह पाउनुहुन्छ।” अतः यहोवालाई हाम्रा सबै क्रियाकलापहरू थाह छ। तर कुरा त्यतिकैमा टुंगिदैन। हिब्रू भाषामा “मेरो सबै चालचलनको भेद थाह पाउनुहुन्छ” भन्ने वाक्यांशको अर्थ “तपाईं मेरो सबै चालचलनको मोल गर्नुहुन्छ” वा “तपाईं मेरो सबै चालचलनको कदर गर्नुहुन्छ” हुनसक्छ। (मत्ती ६:१९, २० तुलना गर्नुहोस्।) तर हामी असिद्ध र पापी हुँदाहुँदै यहोवाले कसरी हाम्रो सबै चालचलनको कदर गर्न सक्नुहुन्छ?
१३ केही शास्त्रज्ञहरूअनुसार, यहोवाले तिनको चाल र सुताइ “जाँच” गर्नुभएको छ भनी दाऊदले लेखेका शब्दहरूको अर्थ हिब्रूमा अक्षरसः “चाल्नु” वा “निफन्नु” हुनु निकै चाखलाग्दो छ। एउटा पुस्तकले यस सम्बन्धमा यसो भन्छ: “त्यसको अर्थ . . . भुसजति निफनेर अन्न अर्थात् मूल्यवान कुरा मात्र जोगाउनु हो। अतः प्रतीकात्मक भाषामा भन्ने हो भने परमेश्वरले तिनलाई चाल्नुभयो . . . उहाँले भुस अथवा मूल्यहीन कुराहरूलाई फ्याँक्नु भएर असल र महत्त्वपूर्ण कुरा मात्र राख्नुभयो।” यद्यपि, आत्मदोषी हृदयले विपरीत ढंगमा हाम्रा क्रियाकलापहरूलाई चाल्न सक्छ, बितेका समयमा हामीले गरेका गल्तीहरूलाई कोट्याएर त्यसले हामीलाई दोषी ठहराउनसक्छ र आफूले प्राप्त गरेका उपलब्धिहरूलाई त्यतिकै लत्याउनसक्छ। तर हामीले निष्कपटतापूर्वक पश्चात्ताप गऱ्यौं र आफ्ना गल्तीहरूलाई फेरि नदोहोऱ्याउने यत्न गऱ्यौं भने यहोवाले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ। (भजन १०३:१०-१४; प्रेरित ३:१९) उहाँले खराब कुराहरूलाई चाल्नु भएर असल कामहरूलाई सम्झनुहुन्छ। वास्तवमा, हामी उहाँप्रति वफादार होउञ्जेल उहाँले हाम्रा असल कामहरूलाई सधैंभरि सम्झनुहुन्छ। ती कुराहरूलाई बिर्सनु उहाँ अधार्मिकता सम्झनुहुन्छ र उहाँ कहिल्यै अधर्मी हुनुहुन्न!—हिब्रू ६:१०.
१४. मसीही सेवकाईमा हामी जे गर्छौं, यहोवाले त्यसको मोल गर्नुहुन्छ भनेर कुन कुराले देखाउँछ?
१४ परमेश्वरले मूल्यवान सम्झनुहुने केही असल कामहरू के के हुन्? स्पष्ट भन्ने हो भने उहाँको पुत्र, येशू ख्रीष्टको अनुकरण गर्न हामी जे-जति गर्छौं ती सबै। (१ पत्रुस २:२१) त्यसोभए, एउटा महत्त्वपूर्ण काम निस्सन्देह परमेश्वरको राज्यको सुसमाचार फैलाउनु हो। रोमी १०:१५ मा हामी यस्तो लेखिएको पाउँछौं: “असल कुराका शुभ समाचार ल्याउनेहरूका खुट्टा कति राम्रा!” हाम्रो जाबो खुट्टालाई हामी साधारणतया “राम्रा” ठान्दैनौं होला तर पावलले यहाँ चलाएको शब्द र रिबेका, राहेल तथा यूसुफजस्तो सुन्दरताका लागि नाउँ चलेका मानिसहरूका वर्णन गर्न ग्रीक सेप्टुआजिन्ट संस्करणले चलाएको शब्द एउटै थियो। (उत्पत्ति २६:७; २९:१७; ३९:६) अतः हाम्रो परमेश्वर यहोवाको सेवामा लाग्नु उहाँको नजरमा सुन्दर तथा मूल्यवान कुरा हो।—मत्ती २४:१४; २८:१९, २०.
१५, १६. यहोवाले किन हाम्रो धीरजको मोल गर्नुहुन्छ र भजनसंग्रह ५६:८ मा उल्लिखित राजा दाऊदका शब्दहरूले कसरी यसको पुष्टि दिन्छ?
१५ परमेश्वरले मोल गर्नुहुने अर्को गुन हाम्रो धीरज हो। (मत्ती २४:१३) स्मरण रहोस्, तपाईंले यहोवालाई त्यागोस् भनी शैतान चाहन्छ। हरेक दिन जसै तपाईं यहोवाप्रति वफादार रहनुहुन्छ शैतानलाई मुखभरी जवाफ दिन तपाईं मदत गर्नुहुन्छ। (हितोपदेश २७:११) कहिलेकाहीं धैय धारण गर्नु सजिलो हुँदैन। स्वास्थ्यसम्बन्धी समस्या, आर्थिक विपत्ति, भावनात्मक तनाव र अन्य बाधाहरूले गर्दा हरेक दिन परीक्षा समान हुनसक्छ। तर यस्ता परीक्षाहरू सम्मुख धैय धारण गर्नु यहोवाको नजरमा झनै मूल्यवान छ। त्यसैकारण राजा दाऊदले आफ्नो आँसुलाई प्रतीकात्मक “भाँडामा” राख्न यहोवालाई अनुरोध गरे र निर्धक्क भएर यस्तो प्रश्न गरे, “ती सबै तपाईंको पुस्तकमा छन्?” (भजन ५६:८) हो, यहोवाप्रति वफादार रहन हामीले खपेका आँसु अनि कष्टलाई उहाँले मूल्यवान सम्झनुहुन्छ र त्यसलाई बिर्सनुहुन्न। ती कुराहरू पनि उहाँको नजरमा मूल्यवान छन्।
१६ हाम्रा राम्रा गुन तथा प्रयत्नहरूलाई ध्यानमा राख्दा हामी प्रत्येकमा यहोवाले मूल्यवान कुरा पाउनुहुन्छ भनी कति स्पष्ट हुन्छ! शैतानको संसारले हामीसित जस्तोसुकै व्यवहार गरेको होस्, यहोवाले हामीलाई मूल्यवान अनि “सबै जाति जातिका धन-सम्पत्ति[को]” एउटा भाग सम्झनुहुन्छ।—हाग्गै २:७.
आफ्नो प्रेम प्रदर्शन गर्न यहोवाले के गर्नुभएको छ
१७. यहोवा अनि येशूले हामी प्रत्येकलाई व्यक्तिगत तवरमा प्रेम गर्नुहुन्छ भनेर ख्रीष्टले दिनुभएको छुटकाराको बलिदानले किन हामीलाई विश्वस्त गराउनुपर्छ?
१७ तेस्रो, हामीप्रति आफ्नो प्रेम प्रमाणित गर्न उहाँले थुप्रै कामहरू गर्नुहुन्छ। हामी निकम्मा छौं वा प्रेमका पात्र होइनौं भन्ने शैतानी झूटको सबैभन्दा बलियो जवाफ, अवश्य ख्रीष्टले दिनुभएको छुटकाराको बलिदान हो। शूलीमा लट्काइँदा येशूले भोग्नुभएको कष्टकर मृत्यु र आफ्नो प्रिय पुत्रको त्यस्तो मृत्यु हेर्नु पर्दा यहोवाले भोग्नुभएको त्योभन्दा अचाक्ली पीडा हामीप्रति उहाँको प्रेमको प्रमाण हो भनेर हामीले कहिल्यै भुल्नुहुँदैन। यसबाहेक त्यो प्रेम हामीलाई व्यक्तिगत तवरमा गरिएको प्रेम हो। प्रेरित पावलले त्यस्तै दृष्टिकोण राखेका थिए, किनकि तिनले यसो भनेर लेखे: “परमेश्वरका पुत्र[ले] . . . मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो।”—गलाती २:२०.
१८. कुन अर्थमा यहोवाले हामीलाई ख्रीष्टतर्फ खिंच्नुहुन्छ?
१८ व्यक्तिगत तवरमा ख्रीष्टको बलिदानबाट लाभ उठाउन मदत गर्नुभएर पनि यहोवाले हामीप्रति आफ्नो प्रेम प्रमाणित गर्नुभएको छ। यूहन्ना ६:४४ मा येशूले यसो भन्नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्तैन।” व्यक्ति-व्यक्तिसम्म पुग्ने प्रचार-कार्य तथा आध्यात्मिक सच्चाइ बुझ्ने अनि हाम्रा सीमितता र असिद्धताहरूका बावजूद ती सच्चाइलाई प्रयोगमा ल्याउने मदत दिन आफूले चलाउने पवित्र आत्माद्वारा यहोवाले व्यक्तिगत तवरमा आफूतर्फ र अनन्त जीवनको आशातर्फ हामीलाई खिंच्नुहुन्छ। यसप्रकार इस्राएलको सम्बन्धमा यहोवाले जे भन्नुभयो त्यही कुरा हाम्रो सम्बन्धमा पनि भन्न सक्नुहुन्छ: “अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु। यसैकारण तँप्रति मैले मेरो विश्वासयोग्यता कायम राखेको [तँलाई करुणा देखाएर मतर्फ खिंचेको, न्युव] छु।”—यर्मिया ३१:३.
१९. यहोवाले व्यक्तिगत रूपमा हामीलाई प्रेम गर्नुहुन्छ भनेर प्रार्थना गर्ने सुअवसरले हामीलाई किन विश्वस्त गराउनु पर्ने हो?
१९ यद्यपि, प्रार्थना गर्ने सुअवसरद्वारा सायद हामीले यहोवाको प्रेम सबैभन्दा आत्मीय ढंगमा महसुस गर्न सक्छौं। उहाँले हामी सबैलाई “निरन्तर प्रार्थना” गर्ने निमन्त्रणा दिनुहुन्छ। (१ थिस्सलोनिकी ५:१७) उहाँले सुन्नुहुन्छ! उहाँलाई “प्रार्थना सुन्नुहुने” भनेर समेत सम्बोधन गरिएको छ। (भजन ६५:२) उहाँले अरूलगायत आफ्नो पुत्रलाई समेत यो अभिभारा सुम्पनुभएको छैन। यसो सोच्नुहोस् त: सारा ब्रम्हाण्डका सृष्टिकर्ताले निर्धक्कतासाथ प्रार्थनाद्वारा उहाँसँग सम्पर्क राख्न हामीलाई आग्रह गर्नुहुन्छ। तपाईंको प्रार्थनाले यहोवालाई ती कामहरू गर्न समेत उत्प्रेरित गर्नसक्छ जुन काम अन्यथा उहाँले गर्नुहुने थिएन होला।—हिब्रू ४:१६; याकूब ५:१६; यशैया ३८:१-१६ हेर्नुहोस्।
२०. हामीप्रति परमेश्वरको प्रेम आत्ममहत्त्व वा अहम् भावना राख्ने बहाना किन होइन?
२० यद्यपि, कुनै पनि सन्तुलित मसीहीले परमेश्वरको प्रेम अनि सम्मानको यस्तो प्रमाणलाई बहाना बनाउँदै आफूलाई चाहिनेभन्दा बढी महत्त्व दिनेछैन। पावलले यसप्रकार लेखे: “मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढ़ी नसम्झ, तर परमेश्वरले हरेकलाई बाँड़िदिनुभएको विश्वासको नापबमोजिम सुबुद्धिले सम्झ।” (रोमी १२:३) अतः स्वर्गमा हुनुहुने हाम्रो पिताको न्यानो प्रेमको आनन्द उठाउँदै हामी सबै शुद्ध मनका होऔं र परमेश्वरको करुणालाई हलका नठानौं।—लूका १७:१० तुलना गर्नुहोस्।
२१. कुन शैतानी झूटको हामीले निरन्तर विरोध गर्नुपर्छ र कुन ईश्वरीय सत्यमाथि हामीले सधैं मनन गर्नुपर्छ?
२१ मरणशील अवस्थामा गुज्रिरहेको यो थोत्रो संसारमा शैतानले प्रवर्द्धन गर्ने कुनै पनि विचारधारालाई हामी सबैले आफ्नो पूरा बलले विरोध गरौं। यसमा आफूलाई निकम्मा सम्झिने अथवा प्रेमका पात्र नठान्ने विचारलाई त्याग्नु समावेश छ। यहोवाको अथाह प्रेमसमेत बढ्न नदिने बाधाको रूपमा आफूलाई हेर्नुभएको छ अथवा आफ्ना असल कार्यहरूलाई साह्रै महत्त्वहीन सम्झेर अरूले के सम्झलान् भनी सोच्नु भएको छ वा परमेश्वरको मूल्यवान पुत्रको बलिदानले समेत ढाक्न नसक्ने ठूलो पाप गरेछु भनी ठान्नुभएको छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ। यस रीतिरिवाजमा बिताइरहनुभएको जीवनले तपाईंलाई त्यस्ता झूटहरू सिकाइरहेको छ भने त्यसलाई इन्कार गर्नुहोस्, घृणा गर्नुहोस्। किनकि ती त्यसैको लागि योग्य छन्। आउनुहोस्, प्रेरित पावलद्वारा लिखित रोमी ८:३८, ३९ का ईश्वर प्रेरित शब्दहरूलाई हामी सधैंभरि आफ्नो मनमा राखौं: “म यो निश्चय जान्दछु, कि नता मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न वर्त्तमानका कुराहरूले, न पछि हुने कुराहरूले, न शक्तिहरूले, न उँचाइले, न गहराइले, न अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्नसक्नेछ।”
[फुटनोट]
a वास्तवमा गरिबहरूलाई तिनीहरूले “एमहारेट्स” अथवा “धर्तीका मानिसहरू” भनेर टालदिन्थे। एक शास्त्रज्ञअनुसार धन-सम्पत्तिको मामिलामा तिनीहरूको साक्षी पत्रलाई भरोसा नगर्नू, तिनीहरूको आतिथ्य नगर्नू अनि निम्तो पनि नस्वीकार्नू र तिनीहरूसित केही नकिन्नू भनेर फरिसीहरूले सिकाउँथे। त्यस्ता मानिसहरूलाई आफ्नो छोरी दिनु भनेको आफूलाई सीमित गराउनु र पशुको अगाडि निस्सहाय छोड्नु बराबर हो भनेर तिनीहरूका धार्मिक नेताहरू भन्ने गर्थे।
तपाईंलाई कस्तो लाग्छ?
◻ हामी निकम्मा छौं र कसैले हामीलाई प्रेम गर्दैन भनेर शैतानले हामीलाई किन विश्वस्त गराउन खोज्छ?
◻ यहोवाले हामी प्रत्येकको मोल गर्नुहुन्छ भनेर येशूले कसरी सिकाउनुभयो?
◻ यहोवाले हाम्रा असल गुनहरूको मोल गर्नुहुन्छ भनेर हामी कसरी थाह पाउनसक्छौं?
◻ यहोवाले हाम्रा प्रयत्नहरूलाई मूल्यवान सम्झनुहुन्छ भन्ने कुरामा हामी कसरी निश्चिन्त हुनसक्छौं?
◻ व्यक्तिगत रूपमा हामी सबैका लागि यहोवाले आफ्नो प्रेम कसरी प्रमाणित गर्नुभएको छ?
[पृष्ठ १३-मा भएको चित्र]
उहाँको नाउँबारे सोच्ने जति सबैलाई यहोवाले सम्झनुहुन्छ र आफ्नो स्मरणमा राख्नुहुन्छ