प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 जनवरी pp. १७-२१
  • “पवित्र शक्‍ति आफैले हाम्रो मनलाई बोध गराउँछ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “पवित्र शक्‍ति आफैले हाम्रो मनलाई बोध गराउँछ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कुनै व्यक्‍ति कसरी अभिषेक हुन्छ?
  • अभिषेक भएको कुरा कसरी थाह हुन्छ?
  • ‘फेरि जन्मँदाको’ अनुभूति
  • तपाईंले बोलावट पाउनुभएको छ?
  • “पवित्र शक्‍ति आफैले . . . साक्षी दिन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • स्वर्गीय बोलाहट वास्तवमा कसले पाएका छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • के तपाईंले “सत्यका आत्मा” पाउनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • “हामी तपाईंसितै जानेछौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 जनवरी pp. १७-२१
इस्वी संवत्‌ ३३ को पेन्तिकोसमा अभिषिक्‍त ख्रीष्टियनहरूको टाउकोमा देखिएको जिब्रोजस्तो ज्वाला

“पवित्र शक्‍ति आफैले हाम्रो मनलाई बोध गराउँछ”

“हामी परमेश्‍वरका सन्तान हौं भनेर पवित्र शक्‍ति आफैले हाम्रो मनलाई बोध गराउँछ।” —रोमी ८:१६.

गीत: १०९, १०८

अभिषिक्‍त जनहरू अभिषेक हुने विषयमा तलका पदहरूबाट के सिक्न सक्छौं?

  • २ कोरि. १:२१, २२; २ पत्रु. १:१०, ११

  • रोमी ८:१५, १६; १ यूह. २:२०, २७

१-३. पेन्तिकोसको दिनमा कस्तो महत्त्वपूर्ण घटना घट्‌छ? त्यो घटनाले बाइबलको कुन भविष्यवाणी पूरा गर्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

आज आइतबारको दिन। बिहान नौ बजेतिरको कुरा हो। यरूशलेमका बासिन्दाहरूका लागि यो दिन एकदमै विशेष छ। आज तिनीहरू विशेष चाड मनाउँदै छन्‌। यो विश्राम दिन पनि हो। प्रधान पुजारीले मन्दिरमा बिहान चढाउनुपर्ने सबै बलिदान चढाइसकेका छन्‌। अब तिनले खमिर हालेर बनाइएको नयाँ अन्‍नको दुइटा रोटी चढाउनै लागेका छन्‌। यस्तो भेटीलाई डोलाउने बलि भनिन्छ। यो भेटी चढाउन लाग्दा त्यहाँ भएका सबै मानिसहरूको अनुहारमा खुसी छाएको देखिन्छ। (लेवी २३:१५-२०) यो भेटीले अब गहुँ कटनी गर्ने बेला सुरु भयो भनेर सङ्‌केत गर्छ। हो, यो विशेष दिन इस्वी संवत्‌ ३३ को पेन्तिकोसको दिन हो।

२ मन्दिर परिसरमा यी सबै कुरा भइरहेको बेला त्यही सहरको एउटा घरको माथिल्लो कोठामा भने अर्कै किसिमको विशेष घटना हुन लागेको छ। त्यो कोठामा १२० जना ख्रीष्टियन भेला भएका छन्‌ र “एक चित्तको भएर प्रार्थना गरिरहेका” छन्‌। (प्रेषि. १:१३-१५) वास्तवमा हरेक वर्ष पेन्तिकोसको दिन प्रधान पुजारीले जुन काम गर्थ्यो, त्यसले अब हुनै लागेको घटनालाई सङ्‌केत गर्छ। साथै त्यो घटनाले लगभग ८०० वर्षअघि भविष्यवक्‍ता योएलले गरेको भविष्यवाणी पनि पूरा गर्छ। (योए. २:२८-३२; प्रेषि. २:१६-२१) त्यसोभए त्यस्तो महत्त्वपूर्ण घटना कुन थियो त? 

३ प्रेषित २:२-४ पढ्‌नुहोस्‌। त्यो माथिल्लो कोठामा भेला भएका सबै ख्रीष्टियनमाथि परमेश्‍वरको पवित्र शक्‍ति खन्याइन्छ। (प्रेषि. १:८) तिनीहरू आफूले देखेका र सुनेका अचम्मलाग्दा कुराहरूबारे मानिसहरूलाई बताउन थाल्छन्‌ अनि भविष्यवाणी गर्न थाल्छन्‌। त्यसपछि त्यहाँ ओइरो लागेका मानिसहरूलाई प्रेषित पत्रुसले भर्खरै भएको घटनाको महत्त्वबारे बताउँछन्‌। तिनी यसो भन्छन्‌: “पश्‍चात्ताप गर्नुहोस्‌ र तपाईंहरू हरेकले आ-आफ्ना पापहरूका क्षमाको लागि येशू ख्रीष्टको नाममा बप्तिस्मा गर्नुहोस्‌ अनि तपाईंहरूले वरदानस्वरूप पवित्र शक्‍ति सित्तैंमा पाउनुहुनेछ।” त्यसपछि त्यहाँ भएका करिब ३,००० जनाले बप्तिस्मा गर्छन्‌। अनि तिनीहरूले पनि पवित्र शक्‍ति पाउँछन्‌।—प्रेषि. २:३७, ३८, ४१.

४. (क) पेन्तिकोसको दिन हाम्रो लागि किन महत्त्वपूर्ण छ? (ख) यो घटना भएकै दिन धेरै वर्ष पहिला अर्को कुन घटना घटेको थियो? (नोट हेर्नुहोस्‌)

४ इस्वी संवत्‌ ३३ पेन्तिकोस हाम्रो लागि किन महत्त्वपूर्ण छ? त्यो दिन महत्त्वपूर्ण हुनुको कारण, यरूशलेमको मन्दिरमा भएको घटनाले गर्दा होइन। बरु हाम्रा प्रधान पुजारी येशू ख्रीष्टले त्यो दिन भविष्यवाणी पूरा गर्नुभएकोले हो।[१] यरूशलेमको मन्दिरमा सेवा गर्ने प्रधान पुजारीले त्यो दिन यहोवा परमेश्‍वरलाई खमिर हालेको दुइटा रोटी चढाउँथे। त्यो रोटीले पापी मानिसहरूमध्येबाट परमेश्‍वरको धर्मपुत्र हुन छानिएका अभिषिक्‍त चेलाहरूलाई सङ्‌केत गर्छ। यसरी मानिसहरूबाट छानिएका केही “अगौटे फल”-का लागि स्वर्ग जाने बाटो खुल्यो अनि तिनीहरूले भविष्यमा राजाको रूपमा आज्ञाकारी मानिसहरूलाई अनगिन्ती आशिष्‌ दिने मौका पाए। (याकू. १:१८; १ पत्रु. २:९) त्यसैले चाहे हामी स्वर्गमा येशूसँगै शासन गर्ने आशा भएकाहरू होऔं वा यसै पृथ्वीमा अनन्त जीवन पाउने, हामी सबैको लागि इस्वी संवत्‌ ३३ को पेन्तिकोस महत्त्वपूर्ण छ।

कुनै व्यक्‍ति कसरी अभिषेक हुन्छ?

५. सबै अभिषिक्‍त जन एउटै तरिकाले अभिषेक हुँदैनन्‌ भनेर हामी किन भन्‍न सक्छौं?

५ पवित्र शक्‍ति खन्याइएको दिन तपाईं पनि त्यहीं हुनुभएको भए तपाईंले त्यो दिन कहिल्यै भुल्नुहुने थिएन। सबैको शिरमा जिब्रोजस्तो देखिने आगोको ज्वाला देखेको वा विदेशी भाषामा बोल्ने चमत्कारी वरदान पाएको भए आफू पवित्र शक्‍तिले अभिषेक भएको हो भन्‍ने कुरामा तपाईंलाई कुनै शङ्‌का लाग्ने थिएन। (प्रेषि. २:६-१२) के त्यसोभए अहिलेका अभिषिक्‍त जनहरू पनि त्यतिबेलाका १२० जना चेला जसरी नै अभिषेक हुन्छन्‌ त? अहँ, हुँदैनन्‌। किनभने त्यतिबेला पनि यरूशलेममा रहेका बाँकी मानिसहरू बप्तिस्मा गरेको बेलामा मात्र पवित्र शक्‍तिले अभिषेक भएका थिए। (प्रेषि. २:३८) तिनीहरूको शिरमा जिब्रोजस्तो देखिने कुनै ज्वाला थिएन। अनि सबै अभिषिक्‍त जन बप्तिस्मा गरेकै दिन मात्र पवित्र शक्‍तिद्वारा अभिषेक हुन्छन्‌ भन्‍ने पनि छैन। किनभने सामरियाका मानिसहरू बप्तिस्मा गरेको केही समय बितिसकेपछि मात्र पवित्र शक्‍तिद्वारा अभिषेक भएका थिए। (प्रेषि. ८:१४-१७) साथै अभिषेक हुने सन्दर्भमा अर्को एउटा विशेष घटना घटेको विवरण पनि बाइबलमा छ; कर्नीलियस र तिनका घराना बप्तिस्मा गर्नुअघि नै पवित्र शक्‍तिद्वारा अभिषेक भइसकेका थिए।—प्रेषि. १०:४४-४८.

६. सबै अभिषिक्‍त जनले के पाउँछन्‌ र यसले तिनीहरूलाई कस्तो प्रभाव पार्छ?

६ हो, त्यसैले हामी भन्‍न सक्छौं, सबै अभिषिक्‍त जन एउटै तरिकाले अभिषेक हुँदैनन्‌। कसै-कसैले बोलावट पाएको तुरुन्तै महसुस गर्न सक्छन्‌ भने कसै-कसैलाई आफू अभिषेक भएको कुरा बुझ्न वा स्वीकार्न केही समय लाग्न सक्छ। तर तिनीहरू जुनसुकै तरिकामा अभिषेक भए तापनि एउटा कुरा भने समान छ। त्यसबारे प्रेषित पावल यसो भन्छन्‌: “तिमीहरूले विश्‍वास गरेपछि उहाँद्वारै तिमीहरूमाथि पवित्र शक्‍तिद्वारा छाप पनि लगाइयो, जुन तिमीहरूलाई दिने प्रतिज्ञा गरिएको थियो। . . . हामीले पाउने उत्तराधिकारको बैनाको रूपमा परमेश्‍वरले यो पवित्र शक्‍ति हामीलाई दिनुभयो।” (एफि. १:१३, १४) पवित्र शक्‍तिद्वारा अभिषेक हुने कुरालाई सामान किन्दा किस्ताबन्दीमा पैसा तिर्ने कुरासित तुलना गर्न सकिन्छ। जसरी किस्ताबन्दीमा पैसा तिर्दा भविष्यमा त्यो सामान आफ्नो हुन्छ भन्‍ने कुराको ग्यारेन्टी हुन्छ, त्यसरी नै परमेश्‍वरबाट बैनाको रूपमा पवित्र शक्‍ति पाउँदा अभिषिक्‍त जनहरू भविष्यमा आफूले पाउने इनामबारे ढुक्क हुन सक्छन्‌।—२ कोरिन्थी १:२१, २२; ५:५ पढ्‌नुहोस्‌।

७. स्वर्गीय इनाम पाउन प्रत्येक अभिषिक्‍त ख्रीष्टियनले के गर्नुपर्छ?

७ के त्यसको मतलब बैनाको रूपमा पवित्र शक्‍ति पाउने सबै अभिषिक्‍त जनले स्वर्गीय इनाम पाउँछन्‌ भन्‍ने ग्यारेन्टी छ त? अहँ, छैन। यसरी पवित्र शक्‍ति पाउने व्यक्‍ति आफूले स्वर्गीय बोलावट पाएको कुरामा त पक्का हुन सक्छन्‌ तर उसले स्वर्गीय इनाम पाउने कि नपाउने भन्‍ने कुरा चाहिं ऊ वफादार रहन्छ कि रहँदैन, त्यसमा भर पर्छ। यो कुरालाई पत्रुसले यसरी व्याख्या गरेका छन्‌: “यसकारण, हे भाइहरू हो, परमेश्‍वरले ज-जसलाई बोलाउनुभएको छ अनि छान्‍नुभएको छ, तिनीहरूमध्ये एक भइरहन तिमीहरू यथासक्दो गर, किनकि तिमीहरूले यी कुराहरू गरिरह्‍यौ भने कुनै हालतमा असफल हुनेछैनौ। भनौं भने, तिमीहरूले यसप्रकार हाम्रा प्रभु अनि उद्धारक येशू ख्रीष्टको चिरस्थायी राज्यभित्र महिमायुक्‍त प्रवेश पाउनेछौ।” (२ पत्रु. १:१०, ११) त्यसैले प्रत्येक अभिषिक्‍त ख्रीष्टियनले अन्तसम्मै वफादार रहन यथासक्दो गर्नै पर्छ। यसो गरेन भने उसले स्वर्गीय बोलावट पाएको कुनै अर्थ रहनेछैन।—हिब्रू ३:१; प्रका. २:१०.

अभिषेक भएको कुरा कसरी थाह हुन्छ?

८, ९. (क) परमेश्‍वरका थुप्रै सेवकलाई अभिषेक हुने कुरा बुझ्न किन गाह्रो लाग्छ? (ख) कुनै व्यक्‍तिले स्वर्गीय बोलावट पाएको कुरा कसरी थाह पाउँछन्‌?

८ कुनै व्यक्‍ति कसरी अभिषेक हुन्छ भनेर बुझ्न अहिले परमेश्‍वरका थुप्रै सेवकलाई गाह्रो लाग्छ अनि त्यस्तो लाग्नु स्वाभाविक पनि हो। किनकि तिनीहरू आफैले यस्तो कुरा अनुभव गरेका हुँदैनन्‌। परमेश्‍वरको सुरुको उद्देश्‍यलाई विचार गर्ने हो भने मानिसजाति यसै पृथ्वीमा सधैंभरि बाँचोस्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो। (उत्प. १:२८; भज. ३७:२९) त्यसैले राजा र पुजारीको रूपमा मानिसहरूलाई छानेर स्वर्ग लैजाने कुरा स्वाभाविक होइन। यो त पछि गरिएको प्रबन्ध हो। त्यसैले अभिषेक भएर स्वर्गीय बोलावट पाएकाहरूको सोचविचार, भावना अनि आशा सबै परिवर्तन हुन्छ।—एफिसी १:१८ पढ्‌नुहोस्‌।

९ कुनै व्यक्‍तिले आफूले स्वर्गीय बोलावट पाएको अथवा विशेष बैना पाएको कसरी थाह पाउँछन्‌? यसको जवाफ हामी पावलका शब्दहरूमा पाउन सक्छौं। “पवित्र जन बन्‍न बोलाइएको” रोमका अभिषिक्‍त भाइहरूलाई तिनले यसो भनेका थिए: “परमेश्‍वरको पवित्र शक्‍तिले हामीलाई दास बनाउँदैन न त फेरि भयभीत बनाउँछ, बरु त्यही पवित्र शक्‍तिले हामीलाई परमेश्‍वरको धर्मपुत्र बनाउँछ र त्यही शक्‍तिद्वारा हामी ‘अब्बा, हे बुबा!’ भनेर पुकार्छौं। हामी परमेश्‍वरका सन्तान हौं भनेर पवित्र शक्‍ति आफैले हाम्रो मनलाई बोध गराउँछ।” (रोमी १:७; ८:१५, १६) यसको मतलब, यहोवा परमेश्‍वरले भविष्यमा आफ्नो राज्यको शासक हुन कसैलाई रोज्दा त्यो कुरा उक्‍त व्यक्‍तिलाई पवित्र शक्‍तिद्वारा थाह दिनुहुन्छ।—१ थिस्स. २:१२.

१०. पहिलो यूहन्‍ना २:२७ मा लेखिएको “तिमीहरूलाई कसैले सिकाइरहनु आवश्‍यक छैन” भन्‍ने वाक्यांशले वास्तवमा के भन्‍न खोजेको हो?

१० कुनै व्यक्‍तिलाई परमेश्‍वरबाट बोलावट भएको छ भने अरू कसैले त्यो कुरा प्रमाणित गर्नु आवश्‍यक छैन। यहोवाले नै तिनीहरूलाई यो कुरामा ढुक्क बनाउनुहुन्छ। प्रेषित यूहन्‍नाले आफ्ना समयका अभिषिक्‍त ख्रीष्टियनहरूलाई यसो भने: “तिमीहरूको अभिषेक पवित्र परमेश्‍वरबाट भएको छ; त्यसैले तिमीहरू सबैलाई सत्य थाह छ।” तिनले अझै यसो भने: “जहाँसम्म तिमीहरूको कुरा छ, परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिद्वारा तिमीहरूलाई अभिषेक गर्नुभएको छ र यो पवित्र शक्‍ति तिमीहरूमा रहिरहन्छ अनि तिमीहरूलाई कसैले सिकाइरहनु आवश्‍यक छैन। तर परमेश्‍वरले तिमीहरूलाई अभिषेक गरेर त्यसैद्वारा सबै कुरा सिकाइरहनुभएको छ। तिमीहरूको यो अभिषेक झूटा होइन तर साँचो हो। अनि त्यसले तिमीहरूलाई सिकाएअनुसारै तिमीहरू उहाँसित एकतामा रहिरहो।” (१ यूह. २:२०, २७) हो, अरूलाई जस्तै तिनीहरूलाई पनि आध्यात्मिक निर्देशन चाहिन्छ। तर तिनीहरू अभिषेक भएको कुरामा भने अरूले प्रमाण दिनुपर्दैन। किनभने ब्रह्‍माण्डकै महान्‌ शक्‍ति अर्थात्‌ यहोवाको पवित्र शक्‍तिद्वारा अभिषेक भएको कुरामा तिनीहरू पहिल्यै विश्‍वस्त भइसकेका हुन्छन्‌।

‘फेरि जन्मँदाको’ अनुभूति

११, १२. अभिषिक्‍त ख्रीष्टियनहरूलाई आफू अभिषेक हुँदा कस्तो लाग्न सक्छ तर तिनीहरू कुन कुरामा शङ्‌का गर्दैनन्‌?

११ कुनै व्यक्‍ति पवित्र शक्‍तिद्वारा अभिषेक भइसकेपछि तिनीहरूमा थुप्रै परिवर्तन आउँछ। यहाँसम्म कि, येशूले यो कुरालाई ‘फेरि जन्मने’ कुरासित समेत तुलना गर्नुभयो।[२] (यूह. ३:३, ५) उहाँले थप यसो भन्‍नुभयो: “तिमीहरू फेरि जन्मनुपर्छ भनी मैले तिमीलाई भनेकोमा अचम्म नमान। बतास आफूलाई जता इच्छा लाग्छ, त्यतै बहन्छ। तिमीले बतास चलेको आवाज त सुन्छौ तर त्यो कहाँबाट आएको हो र कहाँ जाँदैछ, तिमीलाई थाह हुँदैन। पवित्र शक्‍तिद्वारा जन्मेको हरेक मानिस पनि त्यस्तै हुन्छ।” (यूह. ३:७, ८) त्यसैले यस्तो बोलावट नपाएका मानिसहरूले यो कुरा पूर्ण रूपमा बुझ्नु त असम्भव नै छ।

१२ स्वर्गीय बोलावट पाएका मानिसहरूलाई आफू छनौट भएकोमा अचम्म लाग्न सक्छ। तिनीहरूलाई यस्तो लाग्न सक्छ: ‘यहोवाले मलाई किन छान्‍नुभयो? अरूलाई किन छान्‍नुभएन?’ तिनीहरूलाई आफू यसको लागि योग्य छु कि छैन भन्‍ने प्रश्‍न समेत उठ्‌न सक्छ। तर परमेश्‍वरबाट यस्तो बोलावट पाएकोमा भने तिनीहरू रत्तीभर शङ्‌का गर्दैनन्‌। बरु तिनीहरू औधी खुसी र कृतज्ञ हुन्छन्‌। तिनीहरू पत्रुस जस्तै महसुस गर्छन्‌, जसले परमेश्‍वरको प्रेरणा पाएर यस्तो लेखे: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर अनि बुबा धन्यका होऊन्‌, किनकि येशू ख्रीष्टलाई मृत्युबाट पुनर्जीवित गरेर परमेश्‍वरले आफ्नो ठूलो कृपाअनुसार हामीलाई नयाँ जन्म दिएर जीवित आशा अनि अविनाशी, विशुद्ध र नओइलाउने उत्तराधिकार दिनुभयो, जुन तिमीहरूका लागि स्वर्गमा साँचिएको छ।” (१ पत्रु. १:३, ४) यी शब्दहरू पढ्‌दा अभिषिक्‍त ख्रीष्टियनहरूले यहोवा ‘मसितै कुरा गर्दै हुनुहुन्छ’ भनेर महसुस गर्छन्‌।

१३. पवित्र शक्‍तिद्वारा अभिषेक भएको व्यक्‍तिको सोचाइमा कस्तो परिवर्तन आउँछ र तिनीहरूमा यस्तो परिवर्तन आउनुको कारण के हो?

१३ परमेश्‍वरको पवित्र शक्‍तिद्वारा अभिषेक हुनुभन्दा अघि यी अभिषिक्‍त जनहरूले पनि यसै पृथ्वीमा सधैंभरि बाँच्ने आशा राखेका थिए। यहोवाले यो पृथ्वीलाई सुन्दर बनाउनुभएको अनि त्यतिबेला आफूले पनि आशिष्‌ पाएको तिनीहरू कल्पना गर्थे। अनि हामी जस्तै तिनीहरू पनि आफूले माया गरेका मानिसहरू पुनर्जीवित हुने दिन कहिले आउला भनेर पर्खिरहेका थिए। साथै आफैले घर बनाएको, आफैले रोपेको रूखको फल टप्पटप्प टिपेर खाएको दृश्‍य पनि तिनीहरू मनमा कोर्थे। (यशै. ६५:२१-२३) तर एकाएक तिनीहरूको सोचाइ किन परिवर्तन भयो? दिक्क लागेकोले वा धेरै दुःख पाएकोले पो हो कि? पृथ्वीमा सधैंभरि बाँच्ने आशादेखि झिजो लागेर पो हो कि? अथवा स्वर्गीय जीवन कस्तो होला भनेर बुझ्न मन लागेर पो हो कि? त्यसो त होइन। बरु यहोवा परमेश्‍वरले चाहनुभएकोले नै तिनीहरूले आफ्नो सोचाइ परिवर्तन गरेका हुन्‌। स्वर्गीय आशाको लागि छानिसकेपछि यहोवा परमेश्‍वरले आफ्नो पवित्र शक्‍ति चलाएर तिनीहरूको सोचाइ अनि आशा बदलिदिनुभयो।

१४. अभिषिक्‍त जनहरू अहिलेको जीवनलाई कस्तो ठान्छन्‌?

१४ के यसको मतलब अभिषिक्‍त जनहरू मर्न चाहन्छन्‌ भन्‍ने हो त? परमेश्‍वरको प्रेरणा पाएर प्रेषित पावल यसबारे यस्तो जवाफ दिन्छन्‌: “वास्तवमा, हामी जो यस पालमा छौं, बोझले दबिएर सुस्केरा हाल्छौं, किनकि हामी यो फुकाल्न होइन तर अर्को धारण गर्न चाहन्छौं, ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्‌।” (२ कोरि. ५:४) तिनीहरू अहिलेको जीवनदेखि विरक्‍त लागेर मर्न चाहेका होइनन्‌। तिनीहरू जीवनको एक-एक पल आफ्ना साथीभाइ अनि परिवारसँगै बिताउन र तिनीहरूसँगै मिलेर यहोवा परमेश्‍वरको सेवा गर्न चाहन्छन्‌। तर अहिले तिनीहरूले जसरी जीवन बिताइरहेको भए तापनि भविष्यमा आफूले पाउने इनाम मनमा राख्छन्‌।—१ कोरि. १५:५३; २ पत्रु. १:४; १ यूह. ३:२, ३; प्रका. २०:६.

तपाईंले बोलावट पाउनुभएको छ?

१५. कस्ता कुराहरू अनुभव गर्दैमा पवित्र शक्‍तिद्वारा अभिषेक भएको छ भन्‍न मिल्दैन?

१५ तपाईंलाई लाग्ला: ‘कतै यहोवाले मलाई पनि स्वर्गीय जीवनको निम्ति बोलाउनुभएको त छैन?’ त्यसो हो भने तपाईंले केही महत्त्वपूर्ण प्रश्‍नबारे विचार गर्नुभएको हुन सक्छ। के तपाईं प्रचारमा एकदमै जोसिलो हुनुहुन्छ? के तपाईंलाई “परमेश्‍वरका गहिरा कुराहरूसमेत खोजतलास” गर्न मन पर्छ? (१ कोरि. २:१०) के तपाईंले प्रचारमा निकै राम्रो अनुभव बटुल्नुभएको छ? यहोवाको इच्छाअनुसार गर्न के तपाईं एकदमै जोसिलो हुनुहुन्छ? अरूलाई आध्यात्मिक मदत गर्ने काम आफ्नो काँधमा छ भन्‍ने सोच्नुहुन्छ कि? यहोवाले आफूलाई थुप्रै तरिकामा मदत गरेको कुरा अनुभव गर्नुभएको छ कि? यी सबै प्रश्‍नहरूको जवाफ सकारात्मक हुँदैमा के तपाईंलाई स्वर्गीय बोलावट भएको छ भन्‍न मिल्छ? अहँ, मिल्दैन। किन? किनभने यी कुराहरू स्वर्गीय आशा भएकाहरूले मात्र अनुभव गर्छन्‌ भन्‍ने छैन। स्वर्गीय आशा होस्‌ वा पृथ्वीमै बस्ने, तिनीहरू सबैमा यहोवाको पवित्र शक्‍तिले उत्तिकै काम गर्छ। वास्तवमा भन्‍ने हो भने, तपाईंलाई ‘स्वर्गीय बोलावट पाएको छु कि छैन’ भनेर शङ्‌का लाग्छ भने, कुरा स्पष्ट छ, तपाईंले स्वर्गीय बोलावट पाउनुभएको छैन। यहोवाबाट बोलावट पाउने व्यक्‍तिहरूले त्यस्तो शङ्‌का गर्दै गर्दैनन्‌। तिनीहरू बोलावट पाएको कुरामा शतप्रतिशत पक्का हुन्छन्‌।

१६. पवित्र शक्‍तिको मदत पाउनेजति सबैले नै स्वर्गीय बोलावट पाएका हुँदैनन्‌ भनेर हामी किन भन्‍न सक्छौं?

१६ बाइबल विवरणहरू केलाउने हो भने हामी पवित्र शक्‍तिको मदत पाएका थुप्रै विश्‍वासी पुरुष तथा स्त्रीहरूको उदाहरण पाउँछौं। तर तिनीहरूको आशा स्वर्ग जाने थिएन। यस्तै एक जना विश्‍वासी पुरुष हुन्‌—बप्तिस्मा गराउने यूहन्‍ना। येशूले तिनको निकै प्रशंसा गर्नुभयो तर तिनी स्वर्गीय राज्यको शासक हुनेछैनन्‌ भनेर उहाँले स्पष्ट पार्नुभयो। (मत्ती ११:१०, ११) दाऊदलाई पनि पवित्र शक्‍तिले मदत गरेको थियो। (१ शमू. १६:१३) तिनीसित धर्मशास्त्रको गहिरो ज्ञान थियो। तिनले बाइबलका केही अंश लेख्ने मौका समेत पाएका थिए। (मर्कू. १२:३६) तर पेन्तिकोसको दिन पत्रुसले “दाऊद स्वर्गमा उक्लेनन्‌” भनेर बताए। (प्रेषि. २:३४) यी सबै विश्‍वासी व्यक्‍तिमाथि पवित्र शक्‍तिले काम गऱ्‍यो तर त्यो शक्‍तिले तिनीहरू स्वर्गीय जीवनको लागि छनौट भएको साक्षी भने दिएन। यसको मतलब तिनीहरू स्वर्गमा शासन गर्न लायकका थिएनन्‌ भन्‍ने चाहिं होइन। बरु तिनीहरूले पुनर्जीवित भएर सुन्दर संसारमा जीवन बिताएको परमेश्‍वर चाहनुहुन्छ भन्‍ने हो।—यूह. ५:२८, २९; प्रेषि. २४:१५.

१७, १८. (क) आज यहोवाका थुप्रै सेवकले कस्तो आशा राखेका छन्‌? (ख) हामी अर्को लेखमा के छलफल गर्नेछौं?

१७ अहिले यहोवाका सेवकहरूमध्ये धेरैजसोले स्वर्गीय बोलावट पाएका छैनन्‌। तिनीहरू दाऊद, बप्तिस्मा गराउने यूहन्‍ना अनि पुरातन समयका अरू विश्‍वासी पुरुष र स्त्रीले जस्तै यसै पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्छन्‌। अब्राहामजस्तै तिनीहरू परमेश्‍वरको राज्यको अधीनमा बस्ने समयको प्रतीक्षा गर्दै छन्‌। (हिब्रू ११:१०) अन्तको दिनमा स्वर्गीय आशा पाएका थोरै व्यक्‍ति मात्र यस पृथ्वीमा बाँकी रहनेछन्‌। (प्रका. १२:१७) यसको मतलब स्वर्गीय आशा पाएका १ लाख ४४ हजारमध्ये धेरैजसो पुनर्जीवित भएर स्वर्ग गइसकेका छन्‌।

१८ कसैले ‘स्वर्गीय बोलावट पाएको छु’ भन्छन्‌ भने पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्ने व्यक्‍तिले तिनलाई कुन नजरले हेर्नुपर्छ? तपाईंको मण्डलीमा प्रभुको साँझको भोजमा कसैले प्रतीक खान थाल्यो भने तपाईं के गर्नुहुन्छ? अभिषिक्‍त जनहरूको सङ्‌ख्या बढ्‌दै गएकोमा के हामी चिन्तित हुनुपर्छ? यी प्रश्‍नहरूको जवाफ हामी अर्को लेखमा पाउनेछौं।

^ [१] (अनुच्छेद ४) सीनै पर्वतमा मोशालाई व्यवस्था दिइएको दिनमै पेन्तिकोसको चाड मनाउने गरिएको हुन सक्छ। (प्रस्थ. १९:१) यदि त्यसो हो भने मोशाले इस्राएल राष्ट्रलाई व्यवस्थाको करार दिएकै दिन येशू ख्रीष्टले पनि नयाँ राष्ट्र अर्थात्‌ आध्यात्मिक इस्राएलसित नयाँ करार बाँध्नुभयो।

^ [२] (अनुच्छेद ११) फेरि जन्मने विषयमा थप बुझ्नको लागि प्रहरीधरहरा, मे १, २००९, पृष्ठ ३-११ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने