प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 अगस्त pp. २६-३१
  • यहोवाको मण्डलीमा अरूको स्थानको कदर गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको मण्डलीमा अरूको स्थानको कदर गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सङ्‌गी एल्डरहरूलाई आदर गर्नुहोस्‌
  • अविवाहित ख्रिष्टियनहरूलाई आदर गरेको देखाउनुहोस्‌
  • तपाईँको भाषा फरर्र बोल्न नसक्ने भाइबहिनीलाई आदर गरेको देखाउनुहोस्‌
  • हामी यहोवाको लागि बहुमूल्य छौँ
  • अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मण्डलीमा शिरत्वको प्रबन्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • विवाह गर्ने र अविवाहित रहनेबारे बुद्धिमानी सल्लाह
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • एल्डरहरू हो, प्रेषित पावलको अनुकरण गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 अगस्त pp. २६-३१

अध्ययन लेख ३५

यहोवाको मण्डलीमा अरूको स्थानको कदर गर्नुहोस्‌

“आँखाले हातलाई यसो भन्‍न सक्दैन: ‘मलाई तिम्रो खाँचो छैन’ अथवा टाउकोले खुट्टाहरूलाई यसो भन्‍न सक्दैन: ‘मलाई तिमीहरूको खाँचो छैन।’”—१ कोरि. १२:२१.

गीत १२४ सधैँ वफादार रहौँ!

परिचयa

१. यहोवाले आफ्ना प्रत्येक वफादार सेवकलाई के दिनुभएको छ?

यहोवाले मण्डलीमा आफ्ना प्रत्येक वफादार सेवकलाई महत्त्वपूर्ण स्थान दिनुभएको छ। हाम्रो भूमिका फरक-फरक भए तापनि हामी सबै जना बहुमूल्य छौँ र हामी सबैलाई एकअर्काको साथ चाहिन्छ। प्रेषित पावलले हामीलाई यो महत्त्वपूर्ण कुरा बुझ्न मदत गर्नेछन्‌। कसरी?

२. एफिसी ४:१६ अनुसार हामीले एकअर्काको मोल गर्नु र मिलेर काम गर्नु किन महत्त्वपूर्ण छ?

२ यस लेखको मुख्य पदमा पावलले जोड दिएझैँ हामीमध्ये कसैले पनि यहोवाको कुनै सेवकलाई यसो भन्‍न सक्दैनौँ: “मलाई तिम्रो खाँचो छैन।” (१ कोरि. १२:२१) मण्डलीको शान्तिपूर्ण वातावरण कायम राख्न हामीले एकअर्काको मोल गर्नुपर्छ र मिलेर काम गर्नुपर्छ। (एफिसी ४:१६ पढ्‌नुहोस्‌) हामीले एकतामा रहेर काम गऱ्‍यौँ भने मण्डलीका सबैले माया पाएको महसुस गर्नेछन्‌ र मण्डली अझै बलियो हुनेछ।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ हामीले मण्डलीका अरू ख्रिष्टियनहरूलाई आदर गरेको देखाउन सक्ने केही क्षेत्र के-के हुन्‌? यस लेखको सुरुमा एल्डरहरूले कसरी सङ्‌गी एल्डरहरूलाई आदर गरेको देखाउन सक्छन्‌ भनेर छलफल गर्नेछौँ। त्यसपछि अविवाहित भाइबहिनीको मोल गरेको कुरा हामी सबैले कसरी देखाउन सक्छौँ भनेर छलफल गर्नेछौँ। अनि अन्तमा हाम्रो भाषा फरर्र बोल्न नसक्ने भाइबहिनीलाई आदर गरेको हामी कसरी देखाउन सक्छौँ भनेर बुझ्नेछौँ।

सङ्‌गी एल्डरहरूलाई आदर गर्नुहोस्‌

४. एल्डरहरूले रोमी १२:१० मा पावलले दिएको कुन सल्लाह पालन गर्नुपर्छ?

४ मण्डलीका सबै एल्डर यहोवाको पवित्र शक्‍तिद्वारा नियुक्‍त भएका हुन्छन्‌। तर उनीहरू प्रत्येकसित फरक-फरक वरदान र फरक-फरक क्षमता छ। (१ कोरि. १२:१७, १८) उनीहरूमध्ये केही भर्खरै नियुक्‍त भएका छन्‌ र अरूको तुलनामा कम अनुभवी छन्‌। कोही भने उमेर र स्वास्थ्य अवस्थाले गर्दा चाहेजति गर्न सक्दैनन्‌। तर कुनै पनि एल्डरले अर्को एल्डरलाई “मलाई तिम्रो खाँचो छैन” भन्‍ने महसुस गराउनु हुँदैन। बरु प्रत्येक एल्डरले रोमी १२:१० मा पावलले दिएको सल्लाह पालन गर्नुपर्छ।—पढ्‌नुहोस्‌।

चित्रहरूको सँगालो: मण्डलीका एल्डरहरू सभा गर्दै छन्‌। १. एक जना पाको एल्डर बोल्दा बाँकी एल्डरहरू सुनिरहेका छन्‌। २. त्यही सभामा एक जना जवान एल्डर बोल्दा बाँकी एल्डरहरू सुनिरहेका छन्‌।

एल्डरहरूले एकअर्काको कुरा ध्यान दिएर सुनेर सङ्‌गी एल्डरलाई आदर गरेको देखाउँछन्‌ (अनुच्छेद ५-६ हेर्नुहोस्‌)

५. एल्डरहरूले एकअर्कालाई आदर गरेको कसरी देखाउँछन्‌ र उनीहरूले यसो गर्नु किन महत्त्वपूर्ण छ?

५ एल्डरहरूले एकअर्काको कुरा ध्यान दिएर सुनेर सङ्‌गी एल्डरलाई आदर गरेको देखाउँछन्‌। एल्डरहरू कुनै गम्भीर मामिलाबारे छलफल गर्न भेला हुँदा यसो गर्नु झनै महत्त्वपूर्ण छ। किन? अक्टोबर १, १९८८ को प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) यसो भनिएको थियो: “कुनै खास परिस्थितिमा लागू हुने वा महत्त्वपूर्ण निर्णय गर्न चाहिने बाइबल सिद्धान्त सम्झन ख्रिष्टले पवित्र शक्‍तिद्वारा एल्डरहरूको निकायमा भएका कुनै पनि एल्डरलाई मदत गर्न सक्नुहुन्छ भन्‍ने कुरा एल्डरहरू मानिलिन्छन्‌। (प्रेषि. १५:६-१५) पवित्र शक्‍तिले एल्डरहरूको निकायका सबै एल्डरलाई मदत गर्छ, एक जनालाई मात्र होइन।”

६. एल्डरहरूले कसरी एकतामा रहेर काम गर्न सक्छन्‌ अनि यसो गर्दा मण्डलीलाई कस्तो लाभ हुन्छ?

६ यदि कुनै एल्डरले सङ्‌गी एल्डरलाई आदर गर्छन्‌ भने तिनी एल्डरहरूको सभामा सधैँ आफै पहिला बोल्न खोज्दैनन्‌। तिनी अरूलाई बोल्नै नदिई आफै मात्र बोलेको बोल्यै गर्दैनन्‌ र आफ्नो कुरा नै सही हो भनेर जिद्दी गर्दैनन्‌। बरु तिनी आफ्नो धारणा नम्र हुँदै र मर्यादित ढङ्‌गमा व्यक्‍त गर्छन्‌। तिनी अरूको कुरा ध्यान दिएर सुन्छन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनी छलफल भइरहेको विषयसित सम्बन्धित बाइबल सिद्धान्तहरू अरूलाई बताउन अनि “विश्‍वासी र बुद्धिमान्‌ दास”-को निर्देशन पछ्याउन तयार हुन्छन्‌। (मत्ति २४:४५-४७) एल्डरहरूले एकअर्कालाई प्रेम र आदर देखाउँदै छलफल गर्दा उनीहरूमाझ परमेश्‍वरको पवित्र शक्‍तिले काम गर्छ अनि यसले मण्डलीलाई बलियो बनाउने निर्णयहरू गर्न उनीहरूलाई डोऱ्‍याउनेछ।—याकु. ३:१७, १८.

अविवाहित ख्रिष्टियनहरूलाई आदर गरेको देखाउनुहोस्‌

७. येसुले अविवाहित रहनुलाई कस्तो दृष्टिकोणले हेर्नुहुन्थ्यो?

७ मण्डलीमा विवाहित दम्पतीहरू र परिवारहरू हुन्छन्‌। तर मण्डलीमा अविवाहित भाइबहिनी पनि थुप्रै हुन्छन्‌। अविवाहित भाइबहिनीप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? येसुले अविवाहित रहनुलाई कस्तो दृष्टिकोणले हेर्नुहुन्थ्यो, त्यसबारे विचार गरौँ। पृथ्वीमा आफ्नो सेवाको दौडान येसुले विवाह गर्नुभएन। उहाँले अविवाहित रहेर पूरै समय र ध्यान आफ्नो असाइनमेन्टमा लगाउनुभयो। येसुले विवाह गर्नै पर्छ वा अविवाहित रहनै पर्छ भनेर कहिल्यै सिकाउनुभएन। तर उहाँले केही ख्रिष्टियनले अविवाहित रहने निर्णय गर्नेछन्‌ भनेर चाहिँ बताउनुभयो। (मत्ति १९:११, १२) येसुले अविवाहित व्यक्‍तिहरूलाई आदर गर्नुभयो। उहाँले तिनीहरूलाई तुच्छ वा केही कुराको कमी भएको व्यक्‍तिको रूपमा हेर्नुभएन।

८. पहिलो कोरिन्थी ७:७-९ अनुसार पावलले ख्रिष्टियनहरूलाई कुन कुरा विचार गर्न प्रोत्साहन दिए?

८ येसुले जस्तै प्रेषित पावलले पनि अविवाहित रहेर सेवाको काम गरे। ख्रिष्टियनहरूले विवाह गर्नु गलत हो भनेर पावलले कहिल्यै सिकाएनन्‌। यो नितान्त व्यक्‍तिगत मामिला हो भनेर तिनले बुझेका थिए। तर पावलले ख्रिष्टियनहरूलाई अविवाहितै रहेर यहोवाको सेवा गर्न सकिन्छ कि भनेर विचार गर्न भने प्रोत्साहन दिए। (१ कोरिन्थी ७:७-९ पढ्‌नुहोस्‌) पावलले अविवाहित ख्रिष्टियनहरूलाई कहिल्यै तुच्छ नजरले हेरेनन्‌। वास्तवमा तिनले गहन जिम्मेवारीहरू सम्हाल्न अविवाहित र जवान भाइ तिमोथिलाई रोजे।b (फिलि. २:१९-२२) त्यसैले कुनै भाइ विवाहित वा अविवाहित भएकै आधारमा तिनी धेरै वा कम योग्य छन्‌ भन्‍ने निष्कर्षमा पुग्नु गलत हुनेछ।—१ कोरि. ७:३२-३५, ३८.

९. विवाह गर्ने र अविवाहित रहनेबारे हामी के भन्‍न सक्छौँ?

९ ख्रिष्टियनहरूले विवाह गर्नै पर्छ वा अविवाहित रहनै पर्छ भनेर येसु र पावल दुवै जनाले सिकाउनुभएन। त्यसोभए विवाह गर्ने र अविवाहित रहनेबारे हामी के भन्‍न सक्छौँ? अक्टोबर १, २०१२ को प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) यस प्रश्‍नको राम्रो जवाफ दिइएको थियो। त्यहाँ यस्तो लेखिएको थियो: “[विवाहित र अविवाहित] दुवै अवस्थालाई परमेश्‍वरको वरदान भन्‍न सकिन्छ। . . . यहोवा [अविवाहित अवस्थालाई] लाज मान्‍नुपर्ने वा दुःखी हुनुपर्ने कुराको रूपमा हेर्नुहुन्‍न।” यो कुरा मनमा राख्दै हामीले मण्डलीमा अविवाहित भाइबहिनीको स्थानको कदर गर्नुपर्छ।

एउटी वृद्ध बहिनी राज्यभवनमा बसिरहेकी छिन्‌। नजिकै एक जना अविवाहित भाइ र अर्को दुई जना भाइ कुराकानी गरिरहेका छन्‌। तिनी त्यस भाइको लागि उपयुक्‍त हुने चार जना अविवाहित बहिनीहरूबारे सोचिरहेकी छिन्‌।

अविवाहित भाइबहिनीको भावनाको कदर गरेको हामी कसरी देखाउन सक्छौँ? (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. अविवाहित भाइबहिनीलाई आदर गरेको हामी कसरी देखाउन सक्छौँ?

१० अविवाहित भाइबहिनीको भावना र परिस्थितिको कदर गरेको हामी कसरी देखाउन सक्छौँ? केही अविवाहित ख्रिष्टियनले विवाह नगर्ने निर्णय गरेका हुन्छन्‌ भन्‍ने कुरा हामीले मनमा राख्नुपर्छ। कोही भने विवाह गर्न त चाहन्छन्‌ तर मनले खाएको मान्छे नभेटेका हुन सक्छन्‌। अरू कतिले भने मृत्युले गर्दा आफ्नो जीवनसाथी गुमाएका हुन सक्छन्‌। कुरा जेसुकै भए पनि हामीले अविवाहित ख्रिष्टियनहरूलाई ‘किन विवाह नगर्नुभएको?’ वा ‘तपाईँको लागि जोडी खोजिदिऊँ कि?’ भनेर सोध्नु उपयुक्‍त हुँदैन। हो, कसै-कसैले तपाईँसित यस्तो मदत माग्लान्‌। तर मदत नमागेको भाइ वा बहिनीलाई ‘जोडी खोजिदिऊँ कि?’ भन्यौँ भने तिनलाई कस्तो लाग्ला? (१ थिस्स. ४:११; १ तिमो. ५:१३) यहोवाप्रति वफादार केही अविवाहित भाइबहिनीले भनेको कुरा अब हामी विचार गरौँ।

११-१२. हामीले कसरी अविवाहित भाइबहिनीलाई निरुत्साहित बनाउन सक्छौँ?

११ आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्ने एक अविवाहित क्षेत्रीय निरीक्षकलाई अविवाहित रहनुका थुप्रै फाइदा छन्‌ जस्तो लाग्छ। तर भाइबहिनीले राम्रै मनसाय राखेर “तपाईँले किन विवाह नगर्नुभएको?” भनेर सोध्दा निरुत्साहित हुन्छु भनेर तिनले बताए। शाखा कार्यालयमा सेवा गर्ने एक अविवाहित भाइले यसो भने: “कहिलेकाहीँ भाइबहिनीले विवाह नगरेकाहरूलाई बिचराको पात्र जस्तो महसुस गराएको मैले याद गरेको छु। यसो गर्दा अविवाहित रहनु भनेको वरदान नभई बोझ हो जस्तो देखिन सक्छ।”

१२ बेथेलमा सेवा गर्ने एक अविवाहित बहिनीले यसो भनिन्‌: “केही प्रकाशकले सबै अविवाहित भाइबहिनीले जोडी खोजिरहेकै हुन्छन्‌ अथवा उनीहरू हरेक जमघटलाई उपयुक्‍त जोडी खोज्ने मौकाको रूपमा हेर्छन्‌ भन्‍ने अनुमान लगाउँछन्‌। एकचोटि म आफ्नो असाइनमेन्टको सिलसिलामा अर्को ठाउँमा गएको थिएँ। म सभाकै साँझ त्यहाँ पुगेँ। म जुन बहिनीको घरमा बसेको थिएँ, उहाँले आफ्नो मण्डलीमा मेरै उमेरको दुई जना भाइ छन्‌ भनेर बताउनुभयो। हुनत उहाँले मेरो लागि जोडी मिलाइदिन खोजेको होइन भनेर बताउनुभयो। तर सभाभवनमा छिर्नेबित्तिकै उहाँले मलाई ती दुई जना भाइलाई भेटाउन लैजानुभयो। त्यतिबेला ती दुई जना भाइ र मलाई कस्तो अप्ठ्यारो भयो, त्यो त भनेर साध्यै छैन।”

१३. एक अविवाहित बहिनीले कस्ता उदाहरणहरूबाट प्रोत्साहन पाइन्‌?

१३ बेथेलमा सेवा गर्ने एक अविवाहित बहिनीले यसो भनिन्‌: “म त्यस्ता केही पाका अविवाहित अग्रगामीहरूलाई चिन्छु, जो विश्‍वासमा बलिया छन्‌, आफ्नो सेवामा दत्तचित्तले लागिरहेका छन्‌, आत्मत्यागी मनोभाव देखाउँछन्‌, आफ्नो सेवामा सन्तुष्ट छन्‌ र मण्डलीमा ठूलो योगदान पुऱ्‍याइरहेका छन्‌। तिनीहरू आफ्नो अविवाहित अवस्थाप्रति सन्तुलित दृष्टिकोण राख्छन्‌; अविवाहित रहेकोमा न तिनीहरू आफूलाई ठूलो ठान्छन्‌ न त आफ्नो जीवनसाथी र परिवार नभएकोले आफू त्यागिएको महसुस नै गर्छन्‌।” त्यसकारण सबैले एकअर्काको आदर र मोल गर्ने मण्डलीको भाग हुन पाउनु कत्ति खुसीको कुरा! त्यहाँ कसैले तपाईँलाई बिचरा ठान्दैनन्‌ वा तपाईँको ईर्ष्या गर्दैनन्‌ अनि कसैले तपाईँलाई बेवास्ता गर्दैनन्‌ वा तपाईँलाई अचाक्ली महत्त्व दिँदैनन्‌। बरु तपाईँ मण्डलीका सबैबाट माया पाएको महसुस गर्नुहुन्छ।

१४. अविवाहित भाइबहिनीलाई आदर गरेको हामी कसरी देखाउन सक्छौँ?

१४ हामीले अविवाहित भाइबहिनीलाई उनीहरू अविवाहित रहेकोले होइन, बरु उनीहरूका राम्रा गुणहरूको आधारमा मोल गऱ्‍यौँ भने उनीहरू हामीप्रति कृतज्ञ हुनेछन्‌। हामीले उनीहरूलाई बिचराको पात्र ठान्‍नुको साटो उनीहरूको वफादारीको मोल गर्नुपर्छ। यसो गऱ्‍यौँ भने हामीले अविवाहित भाइबहिनीलाई “मलाई तिम्रो खाँचो छैन” भनेको जस्तो कहिल्यै महसुस गराउनेछैनौँ। (१ कोरि. १२:२१) बरु हामीले उनीहरूलाई आदर गरेको अनि मण्डलीमा उनीहरूको स्थानको मोल गरेको उनीहरूले महसुस गर्नेछन्‌।

तपाईँको भाषा फरर्र बोल्न नसक्ने भाइबहिनीलाई आदर गरेको देखाउनुहोस्‌

१५. आफ्नो सेवालाई अझ विस्तार गर्न थुप्रै प्रकाशकले कस्ता छाँटकाँट गरेका छन्‌?

१५ हालैका वर्षहरूमा थुप्रै प्रकाशकले आफ्नो सेवालाई अझ विस्तार गर्न नयाँ भाषा सिक्ने लक्ष्य बनाएका छन्‌। यसको लागि तिनीहरूले केही छाँटकाँट पनि गरेका छन्‌। तिनीहरू आफ्नो मातृभाषाको मण्डली छोडेर अर्कै भाषा बोलिने मण्डलीमा सरेका छन्‌, जहाँ राज्य प्रचारकहरूको धेरै आवश्‍यकता छ। (प्रेषि. १६:९) राज्यसम्बन्धी कामकुरालाई प्राथमिकता दिन यी ख्रिष्टियनहरूले गरेको निर्णय उनीहरूको व्यक्‍तिगत निर्णय हो। हुनत नयाँ भाषा फरर्र बोल्न वर्षौँ लाग्न सक्छ। तैपनि तिनीहरूले मण्डलीमा ठूलो योगदान पुऱ्‍याउँछन्‌। तिनीहरूका राम्रा गुणहरू र अनुभवले मण्डलीलाई अझै बलियो र सुदृढ बनाउँछ। हामी यी आत्मत्यागी भाइबहिनीको धेरै मोल गर्छौँ!

१६. कुनै भाइ एल्डर वा सहायक सेवक हुन योग्य छन्‌ कि छैनन्‌ भनेर एल्डरहरूले केको आधारमा पक्का गर्छन्‌?

१६ कुनै भाइले आफूले सेवा गरिरहेको मण्डलीको भाषा फरर्र बोल्न सक्दैनन्‌ भन्दैमा एल्डरहरूको निकाय ती भाइलाई एल्डर वा सहायक सेवकको लागि सिफारिस गर्नदेखि पछि हट्‌दैन। एल्डरहरूले ती भाइ एल्डर वा सहायक सेवक हुन योग्य छन्‌ कि छैनन्‌ भन्‍ने कुरा तिनी स्थानीय मण्डलीको भाषा फरर्र बोल्न सक्छन्‌ कि सक्दैनन्‌, त्यसको आधारमा नभई धर्मशास्त्रीय योग्यताको आधारमा पक्का गर्छन्‌।—१ तिमो. ३:१-१०, १२, १३; ति. १:५-९.

१७. अर्को देशमा बसाइँ सर्दा केही परिवारले कस्ता प्रश्‍नहरूबारे विचार गर्नुपर्ने हुन्छ?

१७ केही ख्रिष्टियन परिवार शरणार्थीको रूपमा वा कामको लागि अर्को देशमा बसाइँ सरेका छन्‌। यस्तो अवस्थामा तिनीहरूका छोराछोरीले स्कुलमा त्यही देशको मुख्य भाषामा पढ्‌नुपर्ने हुन सक्छ। आमाबुबाले पनि काम पाउन त्यही देशको मुख्य भाषा सिक्नुपर्ने हुन सक्छ। तर त्यहाँ उनीहरूकै मातृभाषाको कुनै मण्डली वा समूह छ भने नि? उनीहरू कुन मण्डलीमा जानुपर्छ? त्यही देशको मुख्य भाषा बोलिने मण्डलीमा कि परिवारको मातृभाषा बोलिने मण्डलीमा?

१८. गलाती ६:५ अनुसार परिवारको शिरले गरेको निर्णयको कदर गरेको हामी कसरी देखाउन सक्छौँ?

१८ आफ्नो परिवारलाई कुन भाषाको मण्डलीमा लैजाने भनेर परिवारको शिरले निर्णय गर्नुपर्छ। यो नितान्त व्यक्‍तिगत मामिला भएकोले के गर्दा परिवारको भलाइ हुन्छ, तिनले त्यो विचार गर्नुपर्छ। (गलाती ६:५ पढ्‌नुहोस्‌) परिवारको शिरले गरेको निर्णयको हामीले कदर गर्नुपर्छ। तिनले जे निर्णय गरे तापनि तिनको निर्णय स्विकारौँ अनि तिनको परिवारलाई मण्डलीको महत्त्वपूर्ण अङ्‌गको रूपमा स्वागत गरौँ।—रोमी १५:७.

१९. परिवारको शिरले कुन कुराबारे प्रार्थनापूर्वक विचार गर्नुपर्छ?

१९ अर्को अवस्था विचार गर्ने हो भने, कुनै-कुनै परिवार आमाबुबाको मातृभाषा बोलिने मण्डलीमा सेवा गरिरहेका हुन सक्छन्‌। तर छोराछोरी त्यो भाषा फरर्र बोल्न नसक्ने होलान्‌। त्यो मण्डली राष्ट्रिय भाषा बोलिने इलाकामा छ भने छोराछोरीलाई सभाहरूमा छलफल गरिने कुराहरू बुझ्न गाह्रो परिरहेको र आध्यात्मिक प्रगति गर्न नसकिरहेका हुन सक्छन्‌। किन? किनभने छोराछोरीको स्कुलमा आमाबुबाको मातृभाषामा नभई राष्ट्रिय भाषामा पढाइ हुन सक्छ। यस्तो अवस्थामा परिवारको शिरले आफ्ना छोराछोरीलाई यहोवासित र उहाँका जनहरूसित नजिक हुन कसरी मदत गर्ने भनेर प्रार्थनापूर्वक विचार गर्नुपर्छ। कुरा स्पष्ट छ, तिनीहरूले कि त छोराछोरीलाई आफ्नो मातृभाषामा फरर्र बोल्न सक्ने हुन मदत गर्नुपर्छ कि छोराछोरीले सजिलै बुझ्न सक्ने भाषाको मण्डलीमा सर्नेबारे विचार गर्नुपर्छ। परिवारको शिरले जे निर्णय गर्छन्‌, त्यसलाई तिनी र तिनको परिवार जाने मण्डलीले कदर गर्नुपर्छ र तिनीहरूको मोल गरेको महसुस गराउनुपर्छ।

राज्यभवनमा भइरहेको सभामा नयाँ भाषा सिकिरहेका एक जना भाइ लेखेर टिप्पणी दिइरहेका छन्‌। त्यहाँ उपस्थित भएका अरू भाइबहिनी तिनलाई आदरपूर्ण तरिकामा हेरिरहेका छन्‌।

नयाँ भाषा सिकिरहेका भाइबहिनीलाई आदर गरेको हामी कसरी देखाउन सक्छौँ? (अनुच्छेद २० हेर्नुहोस्‌)

२०. नयाँ भाषा सिकिरहेका भाइबहिनीलाई आदर गरेको हामी कसरी देखाउन सक्छौँ?

२० हामीले यहाँ छलफल गरेका विभिन्‍न कारणले गर्दा थुप्रै मण्डलीमा नयाँ भाषा बोल्न निकै कोसिस गरिरहेका भाइबहिनी छन्‌। तिनीहरूलाई आफूले भन्‍न चाहेको कुरा व्यक्‍त गर्न गाह्रो हुन सक्छ। तैपनि हामीले तिनीहरूको भाषा बोल्ने क्षमतालाई मात्र ध्यान दिएनौँ भने यहोवाप्रति तिनीहरूको प्रेम र उहाँको सेवा गर्ने तिनीहरूको इच्छा देख्नेछौँ। यस्ता सुन्दर गुणहरू देख्न सक्यौँ भने हामी ती भाइबहिनीको गहिरो मोल र आदर गर्नेछौँ। तिनीहरूले हाम्रो भाषा फरर्र बोल्न सक्दैनन्‌ भन्दैमा “मलाई तिम्रो खाँचो छैन” भन्‍ने महसुस गराउनेछैनौँ।

हामी यहोवाको लागि बहुमूल्य छौँ

२१-२२. हामीले कस्तो अनमोल सुअवसर पाएका छौँ?

२१ यहोवाले हामीलाई उहाँको मण्डलीमा महत्त्वपूर्ण स्थान दिनुभएको छ र यो साँच्चै अनमोल सुअवसर हो! हामी पुरुष होऔँ वा स्त्री, विवाहित होऔँ वा अविवाहित, जवान होऔँ वा वृद्ध अनि कुनै भाषा फरर्र बोल्न सक्ने होऔँ वा थोरै मात्र, हामी यहोवाको लागि र एकअर्काको लागि बहुमूल्य छौँ।—रोमी १२:४, ५; कल. ३:१०, ११.

२२ पावलले चलाएको मानव शरीरको उदाहरणबाट हामीले सिकेका थुप्रै राम्रा-राम्रा पाठ जीवनमा लागू गरिरहौँ। यसो गऱ्‍यौँ भने यहोवाको मण्डलीमा आफ्नो र अरूको स्थानको कदर गर्न सक्ने अरू तरिकाहरू पनि खोजिरहनेछौँ।

हामी कसरी आदर गर्न सक्छौँ?

  • एल्डरहरूलाई।

  • अविवाहित भाइबहिनीलाई।

  • हाम्रो भाषा फरर्र बोल्न नसक्ने भाइबहिनीलाई।

गीत ९० एकअर्कालाई प्रोत्साहन देऔँ!

a यहोवाका सेवकहरूको पृष्ठभूमि र मण्डलीमा तिनीहरूको भूमिका फरक-फरक छ। हामीले यहोवाको परिवारको प्रत्येक सदस्यको कदर गर्नु किन महत्त्वपूर्ण छ भनेर बुझ्न यस लेखले हामीलाई मदत गर्नेछ।

b तिमोथिले कहिल्यै विवाह गरेनन्‌ भनेर हामी यकिनका साथ भन्‍न सक्दैनौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने