प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 अप्रिल pp. १०-१४
  • यहोवालाई सबैभन्दा उत्तम सेवा चढाएर आनन्दित हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई सबैभन्दा उत्तम सेवा चढाएर आनन्दित हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफूले चाहेजति गर्न नसकेको जस्तो लाग्दा
  • आफूसित भएको वरदान ‘चलाउनुहोस्‌’!
  • अरूको उदाहरणबाट सिक्नुहोस्‌
  • यहोवाको सेवामा आनन्दित हुनुहोस्‌
  • आफ्नो उन्‍नतिमा रमाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • यहोवाको मण्डलीमा तपाईँको स्थान छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • तपाईँ कसरी निराशासित लड्‌न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • अरूलाई दिंदा प्राप्त हुने आनन्दमा भाग लिनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 अप्रिल pp. १०-१४

अध्ययन लेख १६

यहोवालाई सबैभन्दा उत्तम सेवा चढाएर आनन्दित हुनुहोस्‌

“हरेकले आफ्नो काम जाँचोस्‌।”—गला. ६:४.

गीत ३७ सारा ज्यानले यहोवाको सेवा गरौँ

परिचयa

१. हामीलाई केले अपार आनन्द दिन्छ?

यहोवा हामी आनन्दित भएको चाहनुहुन्छ। हामी किन यसो भन्‍न सक्छौँ? किनकि यो उहाँको पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। (गला. ५:२२) लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ भनी बाइबल बताउँछ। त्यसैले साक्षीकार्यमा पूरापूर भाग लिँदा अनि भाइबहिनीलाई विभिन्‍न तरिकामा मदत गर्दा हामी अपार आनन्द पाउन सक्छौँ।—प्रेषि. २०:३५.

२-३. (क) गलाती ६:४ अनुसार यहोवाको सेवामा आफ्नो आनन्द कायम राख्न हामीलाई कुन दुई वटा कुराले मदत गर्छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ गलाती ६:४ मा प्रेषित पावलले हामीलाई आफ्नो आनन्द कायम राख्न मदत गर्ने दुई वटा कुराबारे बताए। (पढ्‌नुहोस्‌।) पहिलो, हाम्रो लक्ष्य यहोवालाई आफ्नो तर्फबाट सबैभन्दा उत्तम सेवा चढाउने हुनुपर्छ। यसो गरिरहेका छौँ भने हामी खुसी हुन सक्छौँ। (मत्ति २२:३६-३८) दोस्रो, हामीले आफूलाई अरूसित तुलना गर्नु हुँदैन। हामीले आफ्नो स्वास्थ्य अवस्था, आफूले पाएको तालिम वा आफ्नो क्षमताले गर्दा जे-जति गर्न सकिरहेका छौँ, त्यसको लागि यहोवाप्रति धन्यवादी हुनुपर्छ। किनकि हामीसित भएको सबै कुरा वास्तवमा उहाँबाटै पाएका हौँ। अर्कोतर्फ साक्षीकार्यको कुनै पक्षमा हामीभन्दा अरू कोही राम्रो छ भने हामी उनीहरूको लागि खुसी हुनुपर्छ। किनकि उनीहरूले आफ्नो क्षमता यहोवाको प्रशंसा गर्न चलाइरहेका छन्‌, आफूलाई अरूभन्दा राम्रो देखाउन वा आफ्नो स्वार्थ पूरा गर्न त होइन। त्यसैले हामीले उनीहरूसित प्रतिस्पर्धा गर्नु हुँदैन बरु उनीहरूबाट सिक्नुपर्छ।

३ यहोवाको सेवामा आफूले चाहेजति गर्न नसकेकोले निराश हुँदा हामीलाई केले मदत गर्न सक्छ, यस लेखमा छलफल गर्नेछौँ। हामी आफूसित भएको जुनसुकै वरदान कसरी सबैभन्दा उत्तम तरिकामा चलाउन सक्छौँ र यसबारे अरूले बसालेको उदाहरणबाट के सिक्न सक्छौँ भनेर पनि बुझ्नेछौँ।

आफूले चाहेजति गर्न नसकेको जस्तो लाग्दा

तस्बिरहरूको सँगालो: एक भाइले जीवनको फरक-फरक चरणमा यहोवालाई सबैभन्दा उत्तम सेवा चढाए। १. जवान छँदा तिनले बेथेलमा लन्ड्रीमा काम गरे। २. पछि तिनले आफ्नी पत्नीसँगै अग्रगामी सेवा गरे। ३. ती भाइले आफ्नी पत्नी र दुई छोरीसँगै साक्षीकार्यमा भाग लिए। ४. अहिले वृद्ध भइसकेका उक्‍त भाइ पत्रमार्फत साक्षी दिँदै छन्‌।

हामीले जीवनभर यहोवालाई सबैभन्दा उत्तम सेवा चढाउँदा उहाँ खुसी हुनुहुनेछ (अनुच्छेद ४-६ हेर्नुहोस्‌)b

४. हामी किन निराश हुन सक्छौँ? एउटा उदाहरण दिनुहोस्‌।

४ यहोवाका केही सेवक ढल्कँदो उमेर वा स्वास्थ्य समस्याले गर्दा यहोवाको सेवामा आफूले चाहेजति गर्न नसक्दा निराश भएका छन्‌। यस्तै एउटा उदाहरण क्यारोल बहिनीको हो। तिनी पहिला आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्थिन्‌। त्यहाँ तिनले ३५ वटा बाइबल अध्ययन सञ्चालन गरिन्‌ अनि तिनीहरूमध्ये कतिपयले त बप्तिस्मा पनि गरे। क्यारोलले निकै राम्रो गरिरहेकी थिइन्‌। तर पछि तिनी बिरामी परिन्‌ र धेरैजसो समय घरमै बस्नुपर्ने भयो। तिनी भन्छिन्‌: “मेरो शारीरिक अवस्थाले गर्दा म अरूले जति गर्न सक्दिनँ। त्यसैले एक ख्रिष्टियनको रूपमा आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न सकेकी छैनँ जस्तो लाग्छ। कहिलेकाहीँ मेरो मनमा चाहना र वास्तविकताबीचको द्वन्द्व चलिरहन्छ र यसले गर्दा निकै गाह्रो हुन्छ।” तिनी यहोवाको सेवामा सक्दो गर्न चाहन्छिन्‌। यो साँच्चै प्रशंसनीय कुरा हो! यहोवा यस्तो मनोभावको पक्कै कदर गर्नुहुन्छ।

५. (क) आफ्ना सीमितताहरूले गर्दा निराश भएका छौँ भने हामीले कुन कुरा मनमा राख्नुपर्छ? (ख) तस्बिरमा देखाइएको भाइले कसरी यहोवालाई निरन्तर उत्तम सेवा चढाइरहेका छन्‌?

५ तपाईँ पनि आफ्नो सीमितताले गर्दा निराश हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: ‘यहोवा मबाट के चाहनुहुन्छ?’ अहिलेको अवस्थामा तपाईँले चढाउन सक्ने सबैभन्दा उत्तम सेवा। यो दृश्‍य कल्पना गर्नुहोस्‌: ८० वर्ष नाघिसकेकी एक बहिनी आफू ४० वर्षको हुँदा यहोवाको सेवामा जति गर्न सक्थिन्‌, त्यति गर्न नसकेकीले निराश छिन्‌। हुनत तिनले अहिले पनि यहोवालाई उत्तम सेवा चढाइरहेकी छिन्‌ तर यहोवा यसमा खुसी हुनुहुन्‍न जस्तो तिनलाई लाग्छ। के तिनको सोचाइ सही हो? एकछिन यो कुरा विचार गर्नुहोस्‌: तिनले ४० वर्षको छँदा यहोवालाई उत्तम सेवा चढाइरहेकी थिइन्‌ र अहिले ८० वर्ष नाघिसक्दा पनि त्यसै गरिरहेकी छिन्‌। भन्‍नुको मतलब तिनले यहोवालाई उत्तम सेवा चढाउन कहिल्यै छोडेकी छैनन्‌। तपाईँलाई पनि यहोवा तपाईँको सेवादेखि खुसी हुनुहुन्‍न जस्तो लाग्छ भने यो कुरा सधैँ मनमा राख्नुहोस्‌: यहोवालाई कुन कुराले खुसी बनाउँछ भनेर स्तर तोक्ने हामी होइनौ बरु उहाँ नै हुनुहुन्छ। त्यसैले तपाईँ यहोवाको सेवामा सक्दो गर्दै हुनुहुन्छ भने उहाँले तपाईँलाई यसो भन्‍नुहुनेछ: “स्याबास!”—मत्ति २५:२०-२३ तुलना गर्नुहोस्‌।

६. मारियाको अनुभवबाट हामी के सिक्न सक्छौँ?

६ आफूले गर्न नसक्ने कुरामा होइन तर गर्न सक्ने कुरामा ध्यान दियौँ भने हामी आनन्दित हुन सक्छौँ। मारिया बहिनीको अनुभव विचार गरौँ। रोगले गर्दा तिनी यहोवाको सेवामा आफूले चाहेजति गर्न सक्दिनन्‌। सुरुमा त तिनी निराश भइन्‌ र यहोवाको लागि आफू केही कामको छैनँ जस्तो लाग्यो। तर तिनले आफ्नो मण्डलीको रोगले गर्दा ओछ्यानमै थलिएकी बहिनीको अवस्था विचार गरिन्‌। तिनले ती बहिनीलाई मदत गर्ने विचार गरिन्‌। मारिया भन्छिन्‌: “मैले उहाँसँगै मिलेर टेलिफोन र पत्रमार्फत साक्षी दिने योजना बनाएँ। हरेक चोटि यसरी साक्षीकार्यमा भाग लिँदा आफ्नो ख्रिष्टियन बहिनीको लागि केही गर्न सकेकोमा म आफै पनि खुसी र सन्तुष्ट हुन्थेँ।” आफूले गर्न नसक्ने कुरामा होइन तर गर्न सक्ने कुरामा ध्यान दियौँ भने हामी अझै आनन्दित हुन सक्छौँ। तर हामी यहोवाको सेवामा अझ धेरै गर्न सक्छौँ अथवा सेवाको कुनै-कुनै पक्षमा अरूले भन्दा राम्रो गर्न सक्छौँ भने नि?

आफूसित भएको वरदान ‘चलाउनुहोस्‌’!

७. प्रेषित पत्रुसले ख्रिष्टियनहरूलाई कस्तो व्यावहारिक सल्लाह दिए?

७ प्रेषित पत्रुसले परमेश्‍वरको प्रेरणाद्वारा लेखेको पत्रमा भाइहरूलाई आफूसित भएको वरदान र सीप मण्डलीको भाइबहिनीको उत्थान गर्नको लागि चलाउन प्रोत्साहन दिए। पत्रुसले यस्तो लेखे: “तिमीहरू हरेकले परमेश्‍वरबाट वरदान पाएका छौ। त्यसैले . . . परमेश्‍वरको असीम अनुग्रहको असल भण्डारेको रूपमा त्यो वरदान एकअर्काको सेवा गर्नमा चलाओ।” (१ पत्रु. ४:१०) अरू डाही होलान्‌ वा निरुत्साहित होलान्‌ भन्‍ने डरले गर्दा हामी आफूसित भएको वरदान पूरापूर प्रयोग गर्नदेखि पछि हट्‌नु हुँदैन। पछि हट्‌छौँ भने हामीले यहोवालाई सबैभन्दा उत्तम सेवा चढाइरहेका हुँदैनौँ।

८. पहिलो कोरिन्थी ४:६, ७ अनुसार हामीले आफूसित भएको वरदानबारे किन घमन्ड गर्नु हुँदैन?

८ तपाईँले आफूसित भएको वरदान पूरापूर प्रयोग गर्नुपर्छ तर त्यसबारे घमन्ड गर्नुचाहिँ राम्रो कुरा होइन। (१ कोरिन्थी ४:६, ७ पढ्‌नुहोस्‌।) उदाहरणको लागि, तपाईँ बाइबल अध्ययन सुरु गर्न धेरै सिपालु हुनुहुन्छ होला। तपाईँले आफूसित भएको यो वरदान चलाउनुपर्छ। तर वरदान चलाउनु र त्यसबारे धाक लगाउनु बिलकुलै फरक कुरा हो। एउटा अवस्था विचार गरौँ। तपाईँले भर्खरै एउटा नयाँ बाइबल अध्ययन सुरु गर्नुभएको छ र तपाईँ त्यसबारे आफ्नो क्षेत्र सेवा समूहलाई बताउन उत्सुक हुनुहुन्छ। तर अर्की बहिनीले साक्षीकार्यमा पत्रिका प्रस्तुत गर्न सकेको अनुभव बताइरहेकी छिन्‌। तपाईँले बाइबल अध्ययन सुरु गर्नुभएको छ अनि ती बहिनीले चाहिँ पत्रिका प्रस्तुत गरेकी छिन्‌। अब तपाईँ के गर्नुहुन्छ? हुनत तपाईँको अनुभव सुनेर समूहको सबैले प्रोत्साहन पाउन सक्छन्‌। तर तपाईँ आफ्नो अनुभव अर्को उपयुक्‍त मौकामा बताउने निर्णय गर्नुहुन्छ किनकि पत्रिका मात्र प्रस्तुत गरेकी बहिनी निरुत्साहित हुन सक्छिन्‌। यसो गर्नु साँच्चै दयालु कुरा हो। जेहोस्‌, तपाईँले बाइबल अध्ययनको प्रस्ताव राख्नचाहिँ छोड्‌नु हुँदैन। यो तपाईँसित भएको वरदान छ र यो तपाईँले चलाउनुपर्छ!

९. हामीले आफूसित भएका वरदानहरू कसरी चलाउनुपर्छ?

९ नबिर्सनुहोस्‌, हामीसित भएको जुनसुकै क्षमता हामीले परमेश्‍वरबाटै पाएका हौँ। यस्ता वरदानहरू मण्डलीको उत्थान गर्न चलाउनुपर्छ, आफूलाई अरूभन्दा श्रेष्ठ देखाउन होइन। (फिलि. २:३) आफूसित भएको बल र क्षमता परमेश्‍वरको इच्छा पूरा गर्न प्रयोग गर्छौँ भने हामीले रमाउने कारण पाउनेछौँ। किनकि हामीले आफ्नो बल र क्षमता आफूलाई अरूभन्दा श्रेष्ठ देखाउन वा अरूले भन्दा धेरै गरिरहेको छु भनी देखाउन होइन बरु यहोवाको प्रशंसा गर्न चलाइरहेका हुन्छौँ।

१०. हामीले किन आफूलाई अरूसित तुलना गर्नु हुँदैन?

१० हामी होसियार भएनौँ भने आफ्नो क्षमतालाई अर्को भाइको कमजोरीसित तुलना गर्ने पासोमा पर्न सक्छौँ। जस्तै, एक जना भाइ जनभाषण दिन सिपालु छन्‌ होला र यो तिनमा भएको राम्रो पक्ष हो। तर तिनले मनमनै राम्रो भाषण दिन नसक्ने अर्को भाइभन्दा आफू कता हो कता राम्रो छु भनेर सोचिरहेका हुन सक्छन्‌। तर ती अर्को भाइ अतिथि-सत्कार गर्ने, छोराछोरीलाई तालिम दिने वा साक्षीकार्यमा जोसिलो भई भाग लिने सन्दर्भमा राम्रो हुन सक्छन्‌। आफूसित भएको वरदान यहोवाको सेवा गर्न र अरूलाई मदत गर्न चलाउने सिपालु भाइबहिनी पाएकोमा हामी साँच्चै आभारी छौँ।

अरूको उदाहरणबाट सिक्नुहोस्‌

११. हामीले किन येसुको उदाहरण पछ्याउने कोसिस गर्नुपर्छ?

११ हुनत हामीले आफूलाई अरूसित तुलना गर्नु हुँदैन तर यहोवाका वफादार जनहरूको उदाहरणबाट थुप्रै कुरा सिक्न सक्छौँ। येसुको उदाहरण विचार गरौँ। उहाँ त्रुटिरहित हुनुभए तापनि हामी उहाँका सुन्दर गुणहरू र उहाँले गर्नुभएका असल कामहरूबाट सिक्न सक्छौँ। (१ पत्रु. २:२१) हामीले उहाँको उदाहरण सक्दो राम्रो तरिकामा पछ्याउने प्रयास गऱ्‍यौँ भने हामी यहोवाको अझ राम्रो सेवक हुन र साक्षीकार्यमा अझ प्रभावकारी हुन सक्नेछौँ।

१२-१३. राजा दाउदबाट हामी के सिक्न सक्छौँ?

१२ परमेश्‍वरको वचनमा यस्ता थुप्रै पुरुष र स्त्रीबारे लेखिएको छ, जो त्रुटिपूर्ण थिए तर हामी तिनीहरूको देखासिकी गर्न सक्छौँ। (हिब्रू ६:१२) यहोवाको “मन पर्ने मानिस” दाउदबारे विचार गरौँ। (प्रेषि. १३:२२) हुनत तिनी त्रुटिपूर्ण थिए र तिनले गम्भीर गल्तीहरू गरे। तैपनि तिनी हाम्रो लागि राम्रो उदाहरण हुन्‌। किन? किनकि परमेश्‍वरले तिनलाई सुधार्नुहुँदा तिनले स्पष्टीकरण दिन खोजेनन्‌। बरु तिनले सल्लाह स्विकारे र मनैदेखि पश्‍चात्ताप गरे। अनि यहोवाले पनि तिनलाई क्षमा दिनुभयो।—भज. ५१:३, ४, १०-१२.

१३ हामी आफैलाई यस्ता प्रश्‍नहरू सोधेर दाउदबाट सिक्न सक्छौँ: ‘सल्लाह पाउँदा म कस्तो प्रतिक्रिया देखाउँछु? म तुरुन्तै आफ्नो गल्ती स्विकार्छु कि स्पष्टीकरण दिन खोज्छु? के मेरो अरूमाथि दोष थोपर्ने बानी छ? के म फेरि गल्ती नदोहोऱ्‍याउने प्रयास गर्छु?’ बाइबलकालीन समयका अरू वफादार जनहरूबारे अध्ययन गर्दा तपाईँले यस्तै प्रश्‍नहरू सोध्न सक्नुहुन्छ। तिनीहरूले सामना गरेको चुनौती र अहिले तपाईँले सामना गरिरहनुभएको चुनौती मिल्दोजुल्दो छ कि? तिनीहरूले कस्ता असल गुणहरू देखाए? बाइबलको कुनै पात्रबारे पढ्‌दा आफैलाई सोध्नुहोस्‌: ‘म पनि कसरी यी वफादार सेवकजस्तै हुन सक्छु?’

१४. मण्डलीका भाइबहिनीको उदाहरणबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

१४ हामी मण्डलीका वृद्ध र जवान भाइबहिनीको उदाहरणबाट पनि थुप्रै लाभ उठाउन सक्छौँ। उदाहरणको लागि, तपाईँको मण्डलीमा साथीको दबाब, परिवारको विरोध वा गम्भीर स्वास्थ्य समस्याको सामना गरिरहेको कुनै भाइ वा बहिनी छन्‌ कि? तपाईँले तिनको अनुकरण गर्न सक्ने कुनै राम्रो गुण याद गर्नुभएको छ कि? अथवा तिनको अनुभवबाट आफूले भोगिरहेका परीक्षाहरू सहने व्यावहारिक तरिकाहरू सिक्न सक्नुहुन्छ कि? यहोवामाथि विश्‍वास देखाउने सन्दर्भमा राम्रो उदाहरण बसालेका यस्ता भाइबहिनी पाएकोमा हामी आभारी छौँ।—हिब्रू १३:७; याकु. १:२, ३.

यहोवाको सेवामा आनन्दित हुनुहोस्‌

१५. पावलले यहोवाको सेवामा आनन्दित भइरहन मदत गर्ने कस्तो सल्लाह दिए?

१५ मण्डलीको शान्ति र एकतामा योगदान पुऱ्‍याउन हामी प्रत्येकले सबैभन्दा उत्तम कुरा दिनुपर्छ। प्रथम शताब्दीका ख्रिष्टियनहरूको उदाहरण विचार गरौँ। तिनीहरूसित विभिन्‍न वरदान थियो र तिनीहरूले फरक-फरक जिम्मेवारी पाएका थिए। (१ कोरि. १२:४, ७-११) तैपनि तिनीहरूमाझ प्रतिस्पर्धा र फुट थिएन। बरु पावलले तिनीहरू प्रत्येकलाई ‘ख्रिष्टको शरीरलाई बढाउँदै लैजान’ आफूले जे दिन सक्छ, त्यो दिन आग्रह गरे। पावलले एफिसीहरूलाई यस्तो लेखे: “जब शरीरको हरेक अङ्‌गले राम्ररी काम गर्छ, तब सम्पूर्ण शरीर प्रेममा एकसाथ बढ्‌दै जान्छ।” (एफि. ४:१-३, ११, १२, १६) पावलको सल्लाहअनुसार चल्दा मण्डलीमा शान्ति र एकता छायो अनि आज ख्रिष्टियन मण्डलीमा पनि शान्ति र एकता छ।

१६. हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ? (हिब्रू ६:१०)

१६ आफूलाई अरूसित तुलना नगर्ने सङ्‌कल्प गर्नुहोस्‌। बरु येसुको उदाहरणबाट सिक्नुहोस्‌ र उहाँका गुणहरू अनुकरण गर्ने प्रयास गर्नुहोस्‌। साथै बाइबलकालीन समयमा र आधुनिक समयमा यहोवामाथि विश्‍वास देखाएका व्यक्‍तिहरूको उदाहरणबाट लाभ उठाउनुहोस्‌। यहोवालाई सबैभन्दा उत्तम सेवा चढाउँदा ‘तपाईँको कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न’ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (हिब्रू ६:१० पढ्‌नुहोस्‌।) यहोवाको सेवामा आनन्दित भइरहनुहोस्‌ अनि उहाँलाई तनमनको सेवा चढाउन तपाईँले गरेको प्रयास देखेर यहोवा खुसी हुनुहुन्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामीले किन आफूलाई अरूसित तुलना गर्नु हुँदैन?

  • आफ्नो परिस्थितिले गर्दा यहोवाको सेवामा आफूले चाहेजति गर्न नसक्दा पनि हामी किन आनन्दित हुन सक्छौँ?

  • हामी अरूको राम्रो उदाहरणबाट कसरी लाभ उठाउन सक्छौँ?

गीत ६५ बढ्‌दै जाऊ!

a हामी अरूले बसालेको उदाहरण हेरेर लाभ उठाउन सक्छौँ। तर हामी जोगिनुपर्ने खतराहरू पनि छन्‌। यस लेखले हामीलाई आफ्नो आनन्द कायम राख्न अनि आफूलाई अरूसित तुलना गरेर घमन्डी वा निराश नहुन मदत गर्नेछ।

b तस्बिरको व्याख्या: एक भाइले जवान छँदा बेथेल सेवा गरे। पछि तिनको विवाह भयो र तिनले आफ्नी पत्नीसितै अग्रगामी सेवा गरे। छोराछोरी जन्मेपछि तिनले उनीहरूलाई साक्षीकार्यमा प्रशिक्षण दिए। अहिले वृद्धावस्थामा पनि पत्रमार्फत साक्षी दिएर यहोवालाई सबैभन्दा उत्तम सेवा चढाइरहेका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने