प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 अप्रिल pp. २६-२९
  • “अहिले मलाई प्रचारकार्य धेरै मन पर्छ!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “अहिले मलाई प्रचारकार्य धेरै मन पर्छ!”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मैले आफ्नो आनन्द गुमाएँ
  • अपेक्षा नगरेको तर बहुमूल्य पाठ
  • प्रचारकार्यप्रतिको मेरो प्रेम फेरि जाग्यो
  • मैले जीवनभरि साथ दिने अग्रगामी साथी पाएँ
  • यहोवाले हामीलाई थुप्रै आशिष्‌ दिनुभयो
  • त्योभन्दा सन्तोषजनक जीवनको म कल्पना गर्न सक्दिनँ
  • तपाईंले किन प्रार्थना गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • अप्रिल—‘परिश्रम र प्रयत्न’ गर्नुपर्ने महिना
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 अप्रिल pp. २६-२९
भेनेसा भिसिनी।

जीवनी

“अहिले मलाई प्रचारकार्य धेरै मन पर्छ!”

भेनेसा भिसिनीको वृत्तान्तमा आधारित

न्युजिल्यान्डको दक्षिणी टापुमा पर्ने बालक्लुथा सहरमा म हुर्केँ। सानो छँदा म यहोवालाई माया गर्थेँ र साक्षी हुन पाएकोमा खुसी पनि थिएँ। सभाहरूलाई मैले कहिल्यै बोझको रूपमा लिइनँ। मण्डलीका भाइबहिनीहरूमाझ हुन पाउँदा म सुरक्षित र आनन्दित महसुस गर्थेँ। लजालु स्वभावको भए पनि हरेक हप्ता प्रचारकार्यमा जान पाउँदा मलाई खुसी लाग्थ्यो। स्कुलका साथीहरू र अरूलाई प्रचार गर्न मलाई रमाइलो लाग्थ्यो। एघार वर्षकी छँदा मैले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेँ। एक जना यहोवाको साक्षी हुन पाएकोमा म गर्व महसुस गर्थेँ।

मैले आफ्नो आनन्द गुमाएँ

दुःखको कुरा, किशोरावस्थामा प्रवेश गरेपछि यहोवासितको मेरो सम्बन्ध चिसिँदै गयो। मेरा स्कुलका साथीहरू स्वतन्त्र देखिन्थे र म पनि त्यस्तै स्वतन्त्रता चाहन्थेँ। आमाबुबाले मेरो लागि बनाउनुभएको नियमहरू र ख्रिष्टियन स्तरहरू मलाई बोझजस्तो लाग्न थाल्यो। अनि आध्यात्मिक गतिविधिमा भाग लिन झिजो लाग्न थाल्यो। मैले यहोवाको अस्तित्वमा कहिल्यै शङ्‌का गरिनँ। तर मैले आध्यात्मिक रूपमा खोक्रो महसुस गर्न थालेँ।

म आकलझुकल मात्र प्रचारमा जान्थेँ। म प्रचारको लागि कहिल्यै तयारी गर्दिनथेँ। त्यसैले घरधनीसित कुराकानी सुरु गर्न वा राम्ररी साक्षी दिन सक्दिनथेँ। मेरो एउटा पनि पुनःभेट वा बाइबल अध्ययन थिएन। त्यसैले मलाई प्रचारकार्य मन पर्न छोड्यो। म आफैलाई यस्तो प्रश्‍न सोध्थेँ: ‘यस्तो काम हप्तैपिच्छे महिनैपिच्छे कसरी गर्ने?’

सत्र वर्ष पुगेपछि ममा आत्मनिर्भर हुने चाहना झनै प्रबल भयो। त्यसैले मैले आफ्नो सामान प्याक गरेँ अनि घर छोडेर अस्ट्रेलिया गएँ। मैले यस्तो निर्णय गर्दा आमाबुबा धेरै दुःखी हुनुभयो। उहाँहरूलाई मेरो चिन्ता त लाग्थ्यो तर मैले आफ्नो आध्यात्मिक तालिका कायम राख्नेछु भनेर उहाँहरू ढुक्क हुनुहुन्थ्यो।

अस्ट्रेलियामा मेरो आध्यात्मिकता झनै कमजोर भयो। म कहिलेकाहीँ मात्र सभा जान्थेँ। मैले मण्डलीमा आफ्नै उमेरका साथीहरू बनाएँ। तिनीहरू मजस्तै आज सभामा उपस्थित हुन्थे भने भोलिचाहिँ रक्सी पिउन र मोजमस्ती गर्न नाइटक्लबहरूमा जान्थे। आफ्नो जीवनको त्यस पाटोलाई फर्केर हेर्दा मैले दुइटा डुङ्‌गामा खुट्टा हालेको थिएँ भनेर अहिले महसुस हुन्छ। म सत्यमा पनि थिएँ अनि मलाई सांसारिक मोजमस्ती पनि मन पर्थ्यो। तर म पटक्कै खुसी थिइनँ।

अपेक्षा नगरेको तर बहुमूल्य पाठ

लगभग दुई वर्षपछि मैले एक जना दिदीलाई भेटेँ। उहाँलाई भेटेपछि मैले आफ्नो जीवनलाई फेरि केलाएर हेर्ने मौका पाएँ। म पाँच जना अविवाहित बहिनीसँगै एउटा घरमा बस्थेँ। हामीले क्षेत्रीय निरीक्षक र उहाँकी पत्नी तामारालाई एक हप्ताको लागि हाम्रै घरमा बस्न बोलायौँ। उहाँको पति मण्डलीको कामले बाहिर जानुभएको बेला तामारा दिदी हामीसित समय बिताउनुहुन्थ्यो र रमाइलो गर्नुहुन्थ्यो। मलाई उहाँसित समय बिताउन मन पर्थ्यो। उहाँ नम्र हुनुहुन्थ्यो र मलाई उहाँसित कुरा गर्न सजिलो लाग्थ्यो। यस्तो आध्यात्मिक व्यक्‍ति पनि यति रमाइलो हुन सक्छ भनेर मैले कहिल्यै सोचेकी थिइनँ।

तामारा दिदी धेरै जोसिलो हुनुहुन्थ्यो। सत्य र प्रचारकार्यप्रति उहाँको जोस देखेर हामीले पनि हौसला पायौँ। उहाँ यहोवाको सेवामा सकेजति गर्न पाएकोमा खुसी हुनुहुन्थ्यो। तर मचाहिँ खुसी थिइनँ। किनभने मैले यहोवाको सेवा झारा टार्ने उद्देश्‍यले मात्र गरिरहेको थिएँ। उहाँको सकारात्मक मनोवृत्ति र साँचो आनन्द देख्दा त्यसले मेरो जीवनमा ठूलो प्रभाव पाऱ्‍यो। उहाँको उदाहरणले गर्दा मैले बाइबलको एउटा महत्त्वपूर्ण सत्यमा मनन गर्न सकेँ: यहोवा आफ्ना सेवकहरू “रमाउँदै” अनि “खुसीले कराउँदै” उहाँको सेवा गरेको चाहनुहुन्छ।—भज. १००:२.

प्रचारकार्यप्रतिको मेरो प्रेम फेरि जाग्यो

म पनि तामारा दिदीजस्तै आनन्दित हुन चाहन्थेँ। तर त्यस्तो आनन्द पाउन मैले ठूला परिवर्तनहरू गर्नुपर्थ्यो। हुन त समय लाग्यो तर मैले स-साना कुराहरूबाट सुरु गरेँ। मैले प्रचारकार्यको लागि तयारी गर्न थालेँ र बेलाबेलामा सहायक अग्रगामी सेवा पनि गर्न थालेँ। यसो गर्दा म प्रचारमा निर्धक्क भएर बोल्न सकेँ। प्रचारमा जति धेरै बाइबल प्रयोग गर्थेँ, त्यति नै सन्तुष्टि पाउँथेँ। त्यसको केही समयपछि त मैले हरेक महिना सहायक अग्रगामी सेवा गर्न थालेँ।

मैले मण्डलीमा सबै उमेरका साथीहरू बनाएँ। उहाँहरू यहोवाको सेवामा आफूले सक्दो गर्दै हुनुहुन्थ्यो र आनन्दित पनि हुनुहुन्थ्यो। उहाँहरूको उदाहरणले मलाई जीवनमा कुन कुरालाई प्रथम स्थानमा राख्ने भनेर बुझ्न र राम्रो आध्यात्मिक तालिका कायम राख्न मदत गऱ्‍यो। मैले प्रचारकार्यबाट झन्‌झन्‌ आनन्द उठाउन थालेँ र नियमित अग्रगामी सेवा पनि सुरु गरेँ। वर्षौँपछि मैले मण्डलीका भाइबहिनीहरूमाझ सुरक्षित र आनन्दित महसुस गर्न सकेँ।

मैले जीवनभरि साथ दिने अग्रगामी साथी पाएँ

एक वर्षपछि मेरो भेट एलेक्ससित भयो। उहाँ दयालु हुनुहुन्थ्यो र यहोवा अनि प्रचारकार्यलाई प्रेम गर्नुहुन्थ्यो। उहाँ सहायक सेवकको रूपमा सेवा गर्दै हुनुहुन्थ्यो अनि उहाँले अग्रगामी सेवा गरेको छ वर्ष भइसकेको थियो। उहाँले केही महिना आवश्‍यकता धेरै भएको ठाउँ मलावीमा पनि सेवा गर्नुभएको थियो। त्यहाँ उहाँले मिसनरीहरूसित सङ्‌गत गर्ने मौका पनि पाउनुभयो। उहाँहरूबाट एलेक्सले यहोवाको सेवालाई सधैँ आफ्नो जीवनमा पहिलो स्थान दिन प्रोत्साहन पाउनुभयो।

एलेक्स र मैले २००३ मा विवाह गऱ्‍यौँ। विवाहपछि पनि हामीले पूर्ण-समय सेवा गरिरह्‍यौँ। हामीले थुप्रै महत्त्वपूर्ण पाठहरू सिकेका छौँ र यहोवाले हामीलाई अनगिन्ती तरिकामा आशिष्‌ दिनुभएको छ।

यहोवाले हामीलाई थुप्रै आशिष्‌ दिनुभयो

भेनेसा एक स्थानीय बहिनीसित प्रचारकार्यमा भाग लिँदै छिन्‌।

टिमोर-लेस्टेको ग्लेनोमा प्रचारकार्यमा भाग लिँदै

हामीले २००९ मा टिमोर-लेस्टेमा मिसनरी सेवा गर्ने निम्तो पायौँ। त्यो इन्डोनेसियन टापुहरूको समूहमा पर्ने एउटा सानो देश हो। त्यो निम्तो पाउँदा हामीलाई अचम्म लाग्यो र कता-कता डर पनि लाग्यो। तर हामी खुसी पनि थियौँ। पाँच महिनापछि हामी राजधानी दिलीमा आइपुग्यौँ।

त्यहाँ सरेपछि हामीले ठूला परिवर्तनहरू गर्नुपऱ्‍यो। हाम्रो लागि त्यहाँको संस्कृति, भाषा, खाना र रहनसहन बिलकुलै नयाँ थियो र हामीले त्यहीअनुसार आफ्नो जीवनमा छाँटकाँट गर्नुपर्ने भयो। प्रचारमा हामी गरिब, त्यति लेखपढ नगरेका अनि अरूको थिचोमिचोमा परेका मानिसहरू भेट्‌थ्यौँ। युद्ध र हिंसाले गर्दा शारीरिक र भावनात्मक तवरमा चोट पाएका थुप्रै मानिसहरू पनि भेट्‌थ्यौँ।a

त्यहाँको प्रचारकार्य निकै रमाइलो थियो। उदाहरणको लागि, मैले मारियाb नाम गरेकी एक जना १३ वर्षीय किशोरीलाई भेटेँ। तिनी निकै दुःखी थिइन्‌। किनकि तिनले केही वर्षअघि मात्र आमा गुमाएकी थिइन्‌ अनि बुबा पनि सँगै नबस्ने भएकोले कहिलेकाहीँ मात्र भेट्‌न पाउँथिन्‌। तिनकै उमेरको अरू केटाकेटीजस्तै तिनको जीवन पनि उद्देश्‍यविहीन थियो। एकचोटि तिनले मलाई रुँदै आफ्नो भावना पोखाइन्‌ तर तिनले के भनिरहेकी छिन्‌ भनेर मैले बुझ्न सकिनँ। किनभने मैले त्यहाँको भाषा अझै राम्ररी सिकिसकेकी थिइनँ। तिनलाई प्रोत्साहन दिन सकूँ भनेर मैले यहोवालाई प्रार्थना गरेँ। त्यसपछि तिनको लागि बाइबलबाट सान्त्वनादायी पदहरू पढेर सुनाएँ। त्यसपछिका केही वर्षहरूमा सत्यले मारियाको जीवनमा आमूल परिवर्तनहरू ल्यायो र तिनी पहिलाभन्दा खुसी देखिन थालिन्‌। तिनले बप्तिस्मा गरिन्‌ र अहिले आफ्नै बाइबल अध्ययनहरू सञ्चालन गर्दै छिन्‌। आज मारियाको ठूलो आध्यात्मिक परिवार छ र तिनले यस परिवारबाट धेरै माया पाएकी छिन्‌।

यहोवाले टिमोर-लेस्टेको प्रचारकार्यमा आशिष्‌ दिइरहनुभएको छ। त्यहाँ बितेको दस वर्षभित्र बप्तिस्मा गरेका प्रकाशकहरू धेरै छन्‌। तैपनि तिनीहरूमध्ये थुप्रै जना अग्रगामी, सहायक सेवक वा एल्डरको रूपमा सेवा गर्दै छन्‌। अरू केहीले भने अनुवाद कार्यालयमा सेवा गर्दै छन्‌ र त्यहाँको स्थानीय भाषामा आध्यात्मिक भोजन उपलब्ध गराउने काममा सघाइरहेका छन्‌। तिनीहरूले सभामा गीत गाएको सुन्दा, तिनीहरूको अनुहारमा मीठो मुस्कान देख्दा अनि तिनीहरूको आध्यात्मिक प्रगति नजिकबाट नियाल्न पाउँदा मलाई धेरै खुसी लाग्छ।

भेनेसा, एलेक्स र तीन जना स्थानीय भाइहरू मोटरसाइकलमा स्मरणार्थको निम्तोपर्ची बाँड्‌न जाँदै छन्‌।

प्रचार नगरिएको इलाकामा एलेक्ससँगै स्मरणार्थको निम्तोपर्ची बाँड्‌न जाँदै

त्योभन्दा सन्तोषजनक जीवनको म कल्पना गर्न सक्दिनँ

टिमोर-लेस्टेको जीवन अस्ट्रेलियाको भन्दा निकै फरक थियो तर त्योभन्दा सन्तोषजनक जीवनको म कल्पना गर्न सक्दिनँ। कहिलेकाहीँ हामी मानिसहरूले खचाखच भरिएको बसमा यात्रा गर्ने गर्थ्यौँ अनि भुईँभरि स्थानीय बजारबाट किनेर ल्याइएका सुकेका माछाहरू र खातका खात तरकारीहरू हुन्थे। कुनै-कुनै दिन हामी उखुम गर्मीमा सानो घरमा बाइबल अध्ययन गराउँथ्यौँ। त्यस घरको भुईँ फोहोर हुन्थ्यो र कुखुराहरू पनि यताउता दौडिरहेका हुन्थे। तर यस्ता चुनौतीहरूको बाबजुद म अक्सर यस्तो सोच्ने गर्थेँ: ‘कत्ति रमाइलो जीवन!’

भेनेसा, एलेक्स र अरू भाइहरू खचाखच भरिएको भ्यानमा चढेर इलाकातर्फ जाँदै छन्‌ र तीन जना भाइहरू भ्यानको ढोकामा झुन्डिरहेका छन्‌।

इलाकातर्फ जाँदै

विगतलाई फर्केर हेर्दा म मेरो आमाबुबाप्रति आभारी छु। किनकि मलाई यहोवाको शिक्षाहरू सिकाउन उहाँहरूले सक्दो गर्नुभयो अनि मेरो किशोरावस्थाको गाह्रो समयमा पनि मलाई साथ दिनुभयो। हितोपदेश २२:६ का शब्दहरू मेरो सन्दर्भमा सही साबित भएको छ। मेरो आमाबुबाले एलेक्स र ममा गर्व गर्नुहुन्छ। हामीले यहोवाको सेवा गरिरहेको देख्दा उहाँहरू धेरै खुसी हुनुहुन्छ। सन्‌ २०१६ देखि हामी अस्ट्रेलेजिया शाखाको इलाकामा परिभ्रमण कार्य गर्दै छौँ।

मनिष र मनिषाको भिडियो देखाउँदा खुसी हुँदै हेरिरहेका केही बच्चाहरू

कुनै समय मलाई प्रचार गर्न मन पर्दैनथ्यो भनेर सोच्दा मलाई अचम्म लाग्छ। अहिले मलाई प्रचारकार्य धेरै मन पर्छ! जीवनमा जति नै उतारचढाव आए तापनि तनमनले यहोवाको सेवा गर्दा मात्र साँचो आनन्द पाइन्छ भनेर मैले बुझेकी छु। एलेक्ससँगै यहोवाको सेवामा बिताएका १८ वर्ष मेरो जीवनको सबैभन्दा आनन्ददायी क्षणहरू हुन्‌। भजनरचयिता दाउदले यहोवालाई भनेका यी शब्दहरूको साँचो अर्थ अहिले मैले बुझेकी छु: “तपाईँको शरणमा आउनेहरू रमाउनेछन्‌; तिनीहरूले सधैँ रमाहट गर्नेछन्‌। . . . र तपाईँको नामलाई माया गर्नेहरूले रमाहट गर्नेछन्‌।”—भज. ५:११.

भेनेसा र एलेक्स एउटी आमा र उनको छोरीलाई बाहिर बसेर अध्ययन गराउँदै छन्‌।

नम्र मानिसहरूलाई बाइबल अध्ययन गराउन पाउनु कत्ति आनन्दको कुरा!

a सन्‌ १९७५ देखि टिमोर-लेस्टेमा राजनैतिक स्वतन्त्रताको लागि २० वर्ष लामो युद्ध चलेको थियो।

b नाम परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने