प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 अक्टोबर pp. १८-२३
  • सत्य भेट्टाएको कुरामा पूर्णतया विश्‍वस्त हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सत्य भेट्टाएको कुरामा पूर्णतया विश्‍वस्त हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी मूर्तिपूजामा भाग लिँदैनौँ
  • हामी यहोवा नामको आदर गर्छौँ
  • हामी सत्यलाई प्रेम गर्छौँ
  • हामी आपसमा प्रगाढ प्रेम गर्छौँ
  • “एउटै विश्‍वास”
  • मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • तपाईँसित सत्य छ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • साँचो धर्मको पहिचान गर्नु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वरले स्वीकार्नुहुने उपासना
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 अक्टोबर pp. १८-२३

अध्ययन लेख ४२

सत्य भेट्टाएको कुरामा पूर्णतया विश्‍वस्त हुनुहोस्‌

“सबै कुरा जाँच र जे असल छ, त्यसलाई पक्रिराख।” —१ थिस्स. ५:२१.

गीत १४२ आशालाई पक्रिराखौँ!

परिचयa

१. थुप्रै मानिस किन अलमलमा परेका छन्‌?

थुप्रै धार्मिक समूहले आफूहरू ख्रिष्टियन हौँ र परमेश्‍वरले स्विकार्नुहुने तरिकामा उहाँको उपासना गर्छौँ भनेर दाबी गर्छन्‌। त्यसैले मानिसहरू अलमलमा पर्नु स्वाभाविकै हो। तिनीहरू सोध्छन्‌: “साँचो धर्म एउटा मात्र छ कि सबै धर्मले परमेश्‍वरलाई खुसी बनाउँछ?” हामीले सिकाइरहेको कुरा नै सत्य हो र यहोवाका साक्षीहरूले उहाँले स्विकार्नुहुने तरिकामा उपासना गर्दै छन्‌ भन्‍ने कुरामा के हामी पूर्णतया विश्‍वस्त छौँ? यस कुरामा विश्‍वस्त हुन के साँच्चै सम्भव छ? आउनुहोस्‌, केही प्रमाण सँगै केलाऔँ।

२. प्रेषित पावल आफूले सत्य भेट्टाएको कुरामा किन विश्‍वस्त थिए? (१ थिस्सलोनिकी १:५)

२ प्रेषित पावल आफूले सत्य भेट्टाएको कुरामा पूर्णतया विश्‍वस्त थिए। (१ थिस्सलोनिकी १:५ पढ्‌नुहोस्‌।) सत्यले गर्दा आनन्दित महसुस गरेकोले मात्र तिनले त्यसमा विश्‍वास गरेका थिएनन्‌। पावल परमेश्‍वरको वचनको लगनशील विद्यार्थी थिए। “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो” भन्‍ने कुरामा तिनी विश्‍वास गर्थे। (२ तिमो. ३:१६) धर्मशास्त्रको अध्ययनबाट पावलले कुन कुरा थाह पाए? तिनले येसु नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भन्‍ने कुराको अकाट्य प्रमाण भेट्टाए, जुन प्रमाणलाई यहुदी धर्मगुरुहरूले स्विकारेनन्‌। ती कपटी धर्मगुरुहरूले परमेश्‍वरबारे सत्य कुरा सिकाएको दाबी गरे तापनि उहाँले घृणा गर्नुहुने कामहरू गर्थे। (ति. १:१६) पावलले तिनीहरूले जस्तो परमेश्‍वरको वचनको कुनै खास कुरामा विश्‍वास गर्ने, कुनैमा नगर्ने गरेनन्‌। तिनी “परमेश्‍वरको उद्देश्‍यबारे सबै कुरा” सिकाउन र लागू गर्न तयार थिए।—प्रेषि. २०:२७.

३. सत्य भेट्टाएको कुरामा विश्‍वस्त हुन के हामीले सबै प्रश्‍नको जवाफ पाउनै पर्छ? (“यहोवाका कामहरू र उहाँको विचार​—‘त्यसको गन्ती नै गर्न सकिँदैन’” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

३ कसै-कसैलाई साँचो धर्मले सबै प्रश्‍नको जवाफ दिन सक्नुपर्छ जस्तो लाग्न सक्छ, त्यस्ता प्रश्‍नहरूको समेत जसको जवाफ बाइबलले दिएको छैन। के यस्तो आस गर्नु व्यावहारिक छ? पावलको उदाहरण विचार गर्नुहोस्‌। तिनले सङ्‌गी विश्‍वासीहरूलाई ‘सबै कुरा जाँच्न’ प्रोत्साहन दिए तर आफूले नबुझेका कुराहरू थुप्रै छन्‌ भनेर तिनले स्विकारे। (१ थिस्स. ५:२१) “हामीसित अधुरो ज्ञान छ र . . . हामी धातुको ऐनामा हेरेजस्तो धमिलो छाया मात्र देख्छौँ” भनेर तिनले लेखे। (१ कोरि. १३:९, १२) पावलले सबै कुरा बुझेनन्‌ र हामीले पनि सबै कुरा बुझेका छैनौँ। तर तिनले यहोवाको उद्देश्‍यबारे आधारभूत सत्य भने बुझेका थिए। आफूले सत्य भेट्टाएको कुरामा विश्‍वस्त हुन पावलसित पर्याप्त ज्ञान थियो।

यहोवाका कामहरू र उहाँको विचार—“त्यसको गन्ती नै गर्न सकिँदैन”

सत्य भेट्टाएको कुरामा पूर्णतया विश्‍वस्त हुन के हामीले सबै प्रश्‍नको जवाफ पाउनै पर्छ? वा अरूले सोधेको हरेक प्रश्‍नको जवाफ दिन के हामी सक्षम हुनै पर्छ? पर्दैन। निम्न शास्त्रपदहरूले देखाएझैँ यहोवाका कामहरू र उहाँको विचारबारे हामीले कहिल्यै पनि सबै कुरा थाह पाउन सक्दैनौँ। हामी सधैँभरि परमेश्‍वरबारे सिकिरहनेछौँ। यहोवाले अहिले पनि आफूबारे र आफ्नो उद्देश्‍यबारे हामीलाई पर्याप्त जानकारी दिनुभएको छ। यसले गर्दा हामीले उहाँमाथिको आफ्नो विश्‍वास बलियो बनाउन र बाइबलको आधारभूत शिक्षाबारे अरूलाई बुझाउन सकेका छौँ।

  • भजन ४०:५: “हे यहोवा मेरा परमेश्‍वर, तपाईँले हाम्रो लागि कत्ति धेरै आश्‍चर्यजनक कामहरू गर्नुभएको छ! अनि तपाईँले हाम्रो लागि सोच्नुभएका कुराहरू कत्ति धेरै छन्‌! तपाईँको बराबरीमा कोही आउन सक्दैन। मैले तीबारे बोल्न र बयान गर्न चाहेँ भने पनि त्यसको गन्ती नै गर्न सकिँदैन!”

  • उपदेशक ३:११: “उहाँले जे-जे बनाउनुभयो, ती सबै आ-आफ्नो समयमा सुन्दर हुन्छन्‌। उहाँले मानिसको हृदयमा सधैँभरि बाँच्ने विचार पनि राखिदिनुभयो। तैपनि मानिसले साँचो परमेश्‍वरको काम पूर्ण रूपमा कहिल्यै बुझ्न सक्दैन।”

  • यसैया ५५:९: “जसरी आकाश धर्तीभन्दा उच्च छ, त्यसैगरि मेरो मार्ग तिमीहरूको मार्गभन्दा र मेरो विचार तिमीहरूको विचारभन्दा उच्च छ।”

  • रोमी ११:३३: “परमेश्‍वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ! उहाँका फैसलाहरू कत्ति अगम अनि उहाँका मार्गहरू कत्ति अपार छन्‌!”

४. सत्य भेट्टाएको कुरामा हामी कसरी विश्‍वस्त हुन सक्छौँ र साँचो ख्रिष्टियनहरूबारे हामी कुन कुरा विचार गर्नेछौँ?

४ सत्य भेट्टाएको कुरामा विश्‍वस्त हुने एउटा तरिका भनेको उपासनाको सन्दर्भमा येसुले बसाल्नुभएको उदाहरण र यहोवाका साक्षीहरूले अहिले गरिरहेको काम तुलना गरेर हेर्नु हो। यस लेखमा साँचो ख्रिष्टियनहरूले (१) मूर्तिपूजामा भाग लिँदैनन्‌, (२) यहोवाको नामप्रति आदर देखाउँछन्‌, (३) सत्यलाई प्रेम गर्छन्‌ र (४) आपसमा प्रगाढ प्रेम गर्छन्‌ भनेर विचार गर्नेछौँ।

हामी मूर्तिपूजामा भाग लिँदैनौँ

५. हामी येसुबाट परमेश्‍वरको उपासना गर्ने सही तरिकाबारे के सिक्न सक्छौँ र उहाँले सिकाउनुभएको कुरा हामी कसरी लागू गर्न सक्छौँ?

५ येसु परमेश्‍वरलाई धेरै प्रेम गर्नुहुन्थ्यो। त्यसैले स्वर्गमा हुनुहुँदा र पृथ्वीमा आउनुभएपछि पनि उहाँले यहोवाको मात्र उपासना गर्नुभयो। (लुका ४:८) उहाँले आफ्ना चेलाहरूलाई पनि त्यसै गर्न सिकाउनुभयो। येसुले र उहाँका वफादार चेलाहरूले कहिल्यै उपासनामा प्रतिमाहरूको प्रयोग गर्नुभएन। यहोवा अदृश्‍य हुनुभएकोले मानिसले बनाएको कुनै पनि कुराले उहाँको महिमा प्रतिबिम्बित गर्न सक्दैन। (यसै. ४६:५) तर सन्त कहलिएकाहरूको प्रतिमा बनाउने र तिनीहरूलाई प्रार्थना गर्नेबारे के भन्‍न सकिन्छ? यहोवाले दिनुभएको दस आज्ञामध्ये दोस्रो आज्ञा यस्तो थियो: “तिमीहरूले आफ्नो लागि कुनै मूर्ति नबनाउनू; माथि आकाशमा, तल पृथ्वीमा . . . कुनै पनि कुराको प्रतिमा नबनाउनू। तिमीहरूले तिनीहरूलाई नढोग्नू।” (प्रस्थ. २०:४, ५) परमेश्‍वरलाई खुसी बनाउन चाहने व्यक्‍तिले उहाँ मूर्तिपूजा गरेको चाहनुहुन्‍न भन्‍ने कुरा बुझेको हुन्छ।

६. उपासना गर्ने सन्दर्भमा आज यहोवाका साक्षीहरू कसको उदाहरण पछ्याउँछन्‌?

६ सुरु-सुरुका ख्रिष्टियनहरूले परमेश्‍वरको मात्र उपासना गर्थे भनेर इतिहासकारहरू बताउँछन्‌। उदाहरणको लागि, ख्रिष्टियन चर्चको इतिहास (अङ्‌ग्रेजी) किताबअनुसार ती ख्रिष्टियनहरू उपासनामा मूर्ति प्रयोग गर्ने कुरालाई घृणा गर्थे। आज यहोवाका साक्षीहरू प्रथम शताब्दीका ती चेलाहरूले बसालेको उदाहरण पछ्याउँछन्‌। हामी “सन्तहरू” अथवा स्वर्गदूतहरूको प्रतिमासामु झुकेर प्रार्थना गर्दैनौँ। हामी येसुलाई समेत प्रार्थना गर्दैनौँ। हामी झन्डा सलामी गर्दैनौँ वा देशभक्‍ति झल्किने कुनै पनि गतिविधिमा भाग लिँदैनौँ। जस्तोसुकै दबाबको सामना गर्नुपरे पनि हामी येसुको यो आज्ञा पालन गर्न दृढ छौँ: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ।”​—मत्ति ४:१०.

७. यहोवाका साक्षीहरू र अरू धर्महरूबीच कस्ता स्पष्ट भिन्‍नताहरू छन्‌?

७ आज धेरै मानिस चर्चका नाम चलेका धर्मगुरुहरूको उदाहरण पछ्याउँछन्‌। तिनीहरू ती धर्मगुरुहरूलाई यत्ति सम्मान गर्छन्‌ कि उनीहरूको उपासना गर्न समेत पछि पर्दैनन्‌। मानिसहरू उनीहरूको चर्चमा जान्छन्‌, उनीहरूले लेखेको किताब किन्छन्‌ र उनीहरूलाई वा उनीहरूले समर्थन गर्ने सङ्‌गठनलाई मनग्गे चन्दा दिन्छन्‌। केही मानिस ती धर्मगुरुहरूले भन्‍ने एक-एक कुरामा विश्‍वास गर्छन्‌। येसु नै तिनीहरूको अगाडि प्रकट हुनुभएको भए पनि तिनीहरूले उहाँलाई यत्तिको सम्मान र आदर दिने थिएनन्‌ होला! यसको ठीक विपरीत यहोवाका साँचो उपासकहरू कुनै धर्मगुरुको पछि लाग्दैनन्‌। हामी मण्डलीमा नेतृत्व लिने व्यक्‍तिहरूको आदर गर्छौँ तर येसुले सिकाउनुभएको यो स्पष्ट शिक्षालाई पनि स्विकार्छौँ: “तिमीहरूचाहिँ सबै दाजुभाइ हौ।” (मत्ति २३:८-१०) चाहे धार्मिक नेता होस्‌ वा राजनैतिक नेता, हामी कुनै पनि व्यक्‍तिको उपासना गर्दैनौँ। अनि हामी उनीहरूको धार्मिक र राजनैतिक अभियानलाई समर्थन गर्दैनौँ। बरु हामी तटस्थ रहन्छौँ र यस संसारबाट अलग रहन्छौँ। हामी यी क्षेत्रहरूमा आफूलाई ख्रिष्टियन भन्‍ने अरू धार्मिक समूहहरूभन्दा फरक छौँ।​—युह. १८:३६.

हामी यहोवा नामको आदर गर्छौँ

तस्बिरहरूको सँगालो: १. भाइ गेरिट लोश “नयाँ संसार अनुवाद” बाइबल विमोचन गर्दै हुनुहुन्छ। २. संसारभरिका भाइबहिनी साक्षीकार्यमा भाग लिइरहेका छन्‌।

साँचो ख्रिष्टियनहरू यहोवाबारे अरूलाई बताउन पाउँदा गर्व गर्छन्‌ (अनुच्छेद ८-१० हेर्नुहोस्‌)d

८. यहोवा हामीले उहाँको नामको महिमा गरेको र त्यसबारे अरूलाई बताएको चाहनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

८ एकचोटि येसुले यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌।” त्यतिबेला यहोवाले आफ्नो नाम महिमित पार्नेछु भनेर प्रतिज्ञा गर्दै स्वर्गबाट ठूलो आवाजमा येसुको प्रार्थनाको जवाफ दिनुभयो। (युह. १२:२८) सेवाको कामको दौडान येसुले परमेश्‍वरको नामको महिमा गर्नुभयो। (युह. १७:२६) त्यसैले साँचो ख्रिष्टियनहरू परमेश्‍वरको नाम प्रयोग गर्न र त्यसबारे अरूलाई बताउन पाउँदा गर्व महसुस गर्छन्‌।

९. प्रथम शताब्दीका ख्रिष्टियनहरूले परमेश्‍वरको नामप्रति आदर देखाएको कुरा कसरी प्रमाणित गरे?

९ इस्वी संवत्‌ प्रथम शताब्दीमा ख्रिष्टियन मण्डली स्थापना भएको केही समयपछि यहोवाले “अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्‍न . . . तिनीहरूतर्फ ध्यान दिनुभयो।” (प्रेषि. १५:१४) प्रथम शताब्दीका ती ख्रिष्टियनहरू परमेश्‍वरको नाम प्रयोग गर्न र अरूलाई त्यसबारे बताउन पाएकोमा गर्व गर्थे। तिनीहरूले खासगरि साक्षीकार्यमा र बाइबलका किताबहरू लेख्दा परमेश्‍वरको नाम प्रयोग गरे।b तिनीहरूले आफूहरू परमेश्‍वरको नामको लागि छानिएका मानिसहरू हौँ भनेर प्रमाणित गरे।​—प्रेषि. २:१४, २१.

१०. यहोवाका साक्षीहरू परमेश्‍वरको नामको लागि छानिएका मानिसहरू हुन्‌ भन्‍ने कुराको कस्तो प्रमाण छ?

१० के यहोवाका साक्षीहरू परमेश्‍वरको नामको लागि छानिएका मानिसहरू हुन्‌? एउटा प्रमाण विचार गर्नुहोस्‌। हाम्रो समयका थुप्रै धार्मिक नेताले परमेश्‍वरको व्यक्‍तिगत नाम लुकाउन हरप्रयास गरेका छन्‌। तिनीहरूले यस नामलाई आफ्नो बाइबल अनुवादबाट हटाएका छन्‌ र कुनै-कुनै अवस्थामा त आफ्ना धार्मिक सभाहरूमा यो नाम प्रयोग गर्न रोकसमेत लगाएका छन्‌।c स्पष्ट छ, यहोवाका साक्षीहरूले मात्र उहाँको नामप्रति उचित आदर देखाइरहेका छन्‌। हामीले मानिसहरूलाई परमेश्‍वरको व्यक्‍तिगत नामबारे अरू कुनै पनि धार्मिक समूहले भन्दा व्यापक रूपमा थाह दिइरहेका छौँ। यसरी आफूले वहन गरेको यहोवाका साक्षीहरू भन्‍ने नामअनुसार काम गर्न हामीले सक्दो कोसिस गरिरहेका छौँ। (यसै. ४३:१०-१२) हामीले पवित्र बाइबल—नयाँ संसार अनुवाद-को २४ करोडभन्दा धेरै प्रति छापेका छौँ। बाइबलको थुप्रै अनुवादमा परमेश्‍वरको नाम हटाइए पनि यस अनुवादमा परमेश्‍वरको नाम जहाँ-जहाँ हुनुपर्ने हो, त्यहाँ-त्यहाँ राखिएको छ। हामी १,००० भन्दा धेरै भाषामा बाइबलआधारित प्रकाशनहरू पनि तयार गर्छौँ, जसमा यहोवाको नाम प्रयोग गरिएको हुन्छ।

हामी सत्यलाई प्रेम गर्छौँ

११. प्रथम शताब्दीका ख्रिष्टियनहरूले सत्यलाई प्रेम गरेको कुरा कसरी देखाए?

११ येसुले सत्य अर्थात्‌ परमेश्‍वर र उहाँको उद्देश्‍यबारे सत्यलाई प्रेम गर्नुभयो। येसुले सत्यअनुरूपै जीवन बिताउनुभयो र त्यसबारे अरूलाई पनि बताउनुभयो। (युह. १८:३७) येसुका साँचो चेलाहरू पनि सत्यलाई धेरै प्रेम गर्थे। (युह. ४:२३, २४) वास्तवमा प्रेषित पत्रुसले ख्रिष्टियन विश्‍वासलाई “सत्यको मार्ग” भने। (२ पत्रु. २:२) सत्यलाई धेरै प्रेम गर्ने भएकोले प्रथम शताब्दीका ख्रिष्टियनहरूले सत्यमा आधारित नभएका धार्मिक विचारधारा, मानिसहरूको परम्परा र व्यक्‍तिगत धारणालाई तिरस्कार गरे। (कल. २:८) त्यसैगरि आज पनि साँचो ख्रिष्टियनहरूले परमेश्‍वरको वचनमा भएका कुराहरूमा विश्‍वास गरेर र त्यसैको आधारमा जीवन बिताएर ‘सत्यमा हिँडिरहन’ कोसिस गरिरहेका छन्‌।​—३ युह. ३, ४.

१२. हामीमाझ नेतृत्व लिइरहेको परिचालक निकायले हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्ने आवश्‍यकता देख्दा कस्तो कदम चाल्छ र किन?

१२ परमेश्‍वरका मानिसहरू आफूसित सत्यबारे सम्पूर्ण ज्ञान भएको दाबी गर्दैनन्‌। कहिलेकाहीँ तिनीहरूले बाइबलको कुनै शिक्षासम्बन्धी बुझाइमा र सङ्‌गठनात्मक निर्देशन दिँदा गल्ती गरेका छन्‌। तर हामी यसमा अचम्म मान्दैनौँ। समयसँगै सत्य स्पष्ट हुँदै जान्छ भनेर बाइबल बताउँछ। (कल. १:९, १०) यहोवा क्रमिक रूपमा सत्य प्रकट गर्नुहुन्छ र सत्यको ज्योति चहकिलो हुँदै जाँदा हामी धीरजी भई पर्खन इच्छुक हुनुपर्छ। (हितो. ४:१८) बाइबलको कुनै सत्यबारे हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्ने आवश्‍यकता देख्दा हामीमाझ नेतृत्व लिइरहेको परिचालक निकाय त्यस्तो छाँटकाँट गर्न हिचकिचाउँदैन। चर्चजगत्‌को थुप्रै समूहले आफ्ना सदस्यहरूलाई खुसी बनाउन वा संसारका मानिसहरूसामु लोकप्रिय हुन आफ्नो शिक्षामा छाँटकाँट गर्छन्‌। तर यहोवाका साक्षीहरू भने परमेश्‍वरसित नजिक हुन र उपासनाको सन्दर्भमा येसुले बसाल्नुभएको उदाहरण पछ्याउन छाँटकाँट गर्छन्‌। (याकु. ४:४) मानिसहरूको विचारधारा परिवर्तन भएकोले त होइन बरु धर्मशास्त्रलाई अझ राम्ररी बुझेकोले हामी छाँटकाँट गर्ने गर्छौँ। हामी सत्यलाई प्रेम गर्छौँ।​—१ थिस्स. २:३, ४.

हामी आपसमा प्रगाढ प्रेम गर्छौँ

१३. प्रथम शताब्दीका साँचो ख्रिष्टियनहरूले देखाएको सबैभन्दा महत्त्वपूर्ण गुण कुन हो र आज यहोवाका साक्षीहरूले यो गुण कसरी देखाइरहेका छन्‌?

१३ प्रथम शताब्दीका ख्रिष्टियनहरूको विभिन्‍न प्रशंसनीय गुणहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण गुण प्रेम थियो। येसुले यसो भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (युह. १३:३४, ३५) आज संसारभरिका यहोवाका साक्षीहरूमाझ साँचो प्रेम र एकता छाएको छ। हामी फरक राष्ट्र, जात र सामाजिक पृष्ठभूमिका छौँ। तैपनि हामी एउटा परिवारजस्तै छौँ। यस्तो माया र एकता अरू कुनै पनि सङ्‌गठनमा पाइँदैन। हाम्रा सभा, सम्मेलन र अधिवेशनहरूमा हामी त्यस्तो साँचो प्रेमको प्रमाण देख्न सक्छौँ। यस्ता प्रमाणहरूले हामी यहोवाले स्विकार्नुहुने तरिकामा उहाँको उपासना गर्दै छौँ भन्‍ने कुरामा अझै विश्‍वस्त बनाउँछ।

१४. कलस्सी ३:१२-१४ अनुसार आपसमा प्रगाढ प्रेम देखाउने एउटा महत्त्वपूर्ण तरिका के हो?

१४ “आपसमा प्रगाढ प्रेम” गर्न बाइबलले हामीलाई सल्लाह दिन्छ। (१ पत्रु. ४:८) एकअर्काको कमीकमजोरीलाई सहेर र क्षमा गरेर हामी त्यस्तो प्रेम देखाउन सक्छौँ। हामी मण्डलीका सबैलाई, हाम्रो चित्त दुखाउने व्यक्‍तिलाई समेत उदारता देखाउने र अतिथि-सत्कार गर्ने मौकाहरू खोज्छौँ। (कलस्सी ३:१२-१४ पढ्‌नुहोस्‌।) यस्तो न्यानो बन्धन नै साँचो ख्रिष्टियनहरूको प्रमुख चिनारी हो।

“एउटै विश्‍वास”

१५. हामी अरू कुन तरिकामा उपासनाको सन्दर्भमा प्रथम शताब्दीका ख्रिष्टियनहरूको उदाहरण पछ्याउँछौँ?

१५ हामी अरू तरिकामा पनि उपासनाको सन्दर्भमा प्रथम शताब्दीको ख्रिष्टियन मण्डलीले बसालेको उदाहरण पछ्याउँछौँ। जस्तै, प्रथम शताब्दीका प्रेषितहरूले बसालेको उदाहरणअनुसारै अहिले पनि हाम्रो सङ्‌गठनमा परिभ्रमण निरीक्षक, एल्डर र सहायक सेवकको प्रबन्ध मिलाइएको छ। (फिलि. १:१; ति. १:५) अनि तिनीहरूजस्तै हामी यौन, विवाह र रगतको प्रयोगबारे यहोवाले दिनुभएको नियमहरूको आदर गर्छौँ र गलत काम गरेर पनि पश्‍चात्ताप नगर्ने व्यक्‍तिहरूबाट मण्डलीलाई जोगाउँछौँ।​—प्रेषि. १५:२८, २९; १ कोरि. ५:११-१३; ६:९, १०; हिब्रू १३:४.

१६. एफिसी ४:४-६ बाट हामी के सिक्न सक्छौँ?

१६ धेरै जनाले उहाँको चेला हुँ भनेर दाबी गर्नेछन्‌ तर सबै जना साँचो चेला हुनेछैनन्‌ भनेर येसुले बताउनुभयो। (मत्ति ७:२१-२३) साथै अन्तको दिनमा धेरै जनाले “परमेश्‍वरको भक्‍ति गरेको ढोँग” गर्नेछन्‌ भनेर बाइबलले भविष्यवाणी गरेको छ। (२ तिमो. ३:१, ५) तर परमेश्‍वरको अनुमोदन पाएको ‘एउटै मात्र विश्‍वास’ छ भनेर बाइबलले स्पष्ट बताउँछ।​—एफिसी ४:४-६ पढ्‌नुहोस्‌।

१७. आज येसुको उदाहरण पछ्याइरहेका र एउटै साँचो विश्‍वासअनुसार चलिरहेका व्यक्‍तिहरू को हुन्‌?

१७ आज एउटै साँचो विश्‍वासअनुसार चलिरहेका व्यक्‍तिहरू को हुन्‌? हामीले प्रमाण जाँचिसकेका छौँ। हामीले उपासना गर्ने सन्दर्भमा येसुले बसाल्नुभएको र प्रथम शताब्दीका ख्रिष्टियनहरूले पछ्याएको उदाहरण पनि जाँच्यौँ। त्यसैले जवाफ स्पष्ट छ: आज एउटै साँचो विश्‍वासअनुसार चलिरहेका व्यक्‍तिहरू यहोवाका साक्षीहरू हुन्‌। यहोवाको साक्षी हुन पाउनु अनि यहोवा र उहाँको उद्देश्‍यबारे सत्य कुरा सिक्न पाउनु हाम्रो लागि ठूलो सम्मानको कुरा हो। त्यसैले सत्य भेट्टाएको कुरामा पूर्णतया विश्‍वस्त होऔँ र त्यसलाई पक्रिराखौँ!

निम्न कुराहरू गरेर हामी साँचो ख्रिष्टियनहरू हौँ भन्‍ने कुरा कसरी देखाउन सक्छौँ?

  • यहोवाको मात्र उपासना गरेर र उहाँको नामप्रति आदर देखाएर

  • सत्यलाई प्रेम गरेर

  • आपसमा प्रगाढ प्रेम गरेर

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

a यस लेखमा येसुले साँचो उपासनाको सन्दर्भमा कस्तो उदाहरण बसाल्नुभयो र उहाँका सुरु-सुरुका चेलाहरूले त्यसलाई कसरी पछ्याए भनेर विचार गर्नेछौँ। अनि यहोवाका साक्षीहरूले आज साँचो उपासनाको त्यही उदाहरण पछ्याउँदै छन्‌ भन्‍ने कुराको प्रमाण पनि केलाउनेछौँ।

b प्रहरीधरहरा, अगस्त १, २०१०, पृष्ठ ६ मा भएको “के प्रथम शताब्दीका ख्रीष्टियानहरूले परमेश्‍वरको नाम प्रयोग गरे?” भन्‍ने पेटी हेर्नुहोस्‌।

c उदाहरणको लागि, २००८ मा पोप बेनिडिक्ट सोह्रौँले क्याथोलिक धार्मिक सभाहरूमा भजन गाउँदा र प्रार्थना गर्दा परमेश्‍वरको नाम “प्रयोग गर्नु हुँदैन वा उच्चारण गर्नु हुँदैन” भनेर निर्देशन दिए।

d तस्बिरको व्याख्या: यहोवाको सङ्‌गठनले २०० भन्दा बढी भाषामा नयाँ संसार अनुवाद विमोचन गरेको छ, जसले गर्दा मानिसहरूले परमेश्‍वरको नाम उल्लेख भएको बाइबल आफ्नै भाषामा पढ्‌न पाएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने