प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 अक्टोबर pp. १४-१७
  • यहोवासितको आफ्नो सम्बन्ध फेरि मजबुत बनाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवासितको आफ्नो सम्बन्ध फेरि मजबुत बनाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • केही चुनौती
  • व्यावहारिक लक्ष्यहरू राख्नुहोस्‌
  • हार नमान्‍नुहोस्‌!
  • ‘एल्डरहरूलाई आफूकहाँ बोलाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • परमेश्‍वरको दयाको अनुकरण आज नै गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • तपाईँ यहोवाको नजरमा अनमोल हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • एल्डरहरू हो, प्रेषित पावलको अनुकरण गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 अक्टोबर pp. १४-१७
एक भाइ आफ्नो भत्किएको घर फेरि निर्माण गर्न लाग्ने समय र प्रयासबारे सोचेर हतोत्साहित भएका छन्‌।

यहोवासितको आफ्नो सम्बन्ध फेरि मजबुत बनाउनुहोस्‌

प्रत्येक वर्ष यहोवाका थुप्रै अनमोल भेडा ख्रिष्टियन मण्डलीमा पुनर्बहाली हुन्छन्‌। तिनीहरूमध्ये एक जना मात्र पनि यहोवाकहाँ फर्कँदा स्वर्गमा कति “रमाहट” हुन्छ, कल्पना गर्नुहोस्‌! (लुका १५:७, १०) यदि तपाईँ पुनर्बहाली हुनुभएको छ भने तपाईँले सत्यको पक्षमा फेरि अडान लिएको देखेर येसु, स्वर्गदूतहरू र यहोवा धेरै खुसी हुनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। तर यहोवासितको आफ्नो सम्बन्ध मजबुत बनाउँदै लैजाँदा तपाईँले धेरै चुनौतीको सामना गर्नुपर्ने हुन्छ। तीमध्ये केही चुनौती के-के हुन्‌ र तपाईँ कसरी त्यसको सामना गर्न सक्नुहुन्छ?

केही चुनौती

थुप्रैले मण्डलीमा फर्किसकेपछि पनि नकारात्मक भावनासित सङ्‌घर्ष गर्छन्‌। राजा दाउदले कस्तो महसुस गरे, सायद तपाईँ बुझ्न सक्नुहुन्छ। आफ्ना पापहरूको क्षमा पाइसकेको भए पनि तिनले यसो भने: “मेरा दोषहरूले मलाई घेरेका छन्‌।” (भज. ४०:१२; ६५:३) कोही यहोवाकहाँ फर्किसकेपछि पनि तिनलाई लाज वा दोषी भावनाले वर्षौसम्म सताइरहन सक्छ। इजाबेल बहिष्कार भएको २० वर्षपछि मण्डलीमा फर्किन्‌।a तिनले यसो भनिन्‌: “यहोवाले क्षमा दिनुहुन्छ भनेर स्विकार्न मलाई धेरै गाह्रो भयो।” यदि तपाईँ निराश हुनुभयो भने यहोवासितको तपाईँको सम्बन्ध फेरि कमजोर हुनेछ। (हितो. २४:१०) त्यसो हुन नदिनुहोस्‌।

अरू कोही भने यहोवासितको सम्बन्ध फेरि मजबुत बनाउन गर्नुपर्ने कामहरूबारे सोचेर आत्तिन सक्छन्‌। पुनर्बहाली भएपछि एन्टवानले यसो भने: “मैले पहिला साक्षी हुँदा सिकेका र गरेका धेरैजसो कुराहरू बिर्सिसकेको जस्तो लाग्यो।” यस्तो महसुस गरेकोले कोही-कोही आध्यात्मिक गतिविधिमा पूरापूर भाग लिन हिचकिचाउँछन्‌।

उदाहरणको लागि, कसैको घरलाई आँधीबेहरीले ठूलो क्षति पुऱ्‍यायो भने त्यसलाई फेरि बनाउन लाग्ने समय र प्रयासबारे सोच्दा तिनी आत्तिन सक्छन्‌। त्यसैगरि यदि तपाईँले गम्भीर पाप गरेकोले यहोवासितको तपाईँको सम्बन्ध बिग्रिएको छ भने त्यो सम्बन्धलाई फेरि मजबुत बनाउन चानचुने प्रयासले पुग्दैन भनेर तपाईँ महसुस गर्नुहुन्छ होला। तर तपाईँको लागि मदत उपलब्ध छ।

यहोवा हामीलाई यस्तो आग्रह गर्नुहुन्छ: “आओ, हामी बसेर मामिला सुल्झाऔँ।” (यसै. १:१८; फुटनोट) यहोवासितको ‘मामिला सुल्झाउन’ तपाईँले धेरै मेहनत गरिसक्नुभएको छ। त्यसको उहाँ कदर गर्नुहुन्छ। सोच्नुहोस्‌ त, तपाईँ यहोवाकहाँ फर्किनुभएकोले उहाँले सैतानलाई मुखभरिको जवाफ दिन सक्नुभएको छ।—हितो. २७:११.

यहोवाकहाँ फर्केर तपाईँ उहाँको नजिक भइसक्नुभएको छ र उहाँले पनि तपाईँसित नजिक हुने प्रतिज्ञा गर्नुभएको छ। (याकु. ४:८) तपाईँ फेरि मण्डलीको भाग भएको कुरा मण्डलीका भाइबहिनीले थाह पाउनु राम्रो कुरा हो। तर तपाईँले गर्नुपर्ने काम अझ बाँकी छ। तपाईँले यहोवा, जो तपाईँको बुबा र साथी हुनुहुन्छ, उहाँप्रतिको आफ्नो प्रेम बढाउँदै लैजानुपर्छ। तपाईँ कसरी यसो गर्न सक्नुहुन्छ?

व्यावहारिक लक्ष्यहरू राख्नुहोस्‌

व्यावहारिक लक्ष्यहरू राख्ने प्रयास गर्नुहोस्‌। सायद तपाईँको आध्यात्मिक जग यथावतै छ। यसको मतलब, तपाईँले यहोवा र उहाँका प्रतिज्ञाहरूबारे पहिला सिकेको कुरा बिर्सनुभएको छैन होला। तर तपाईँले अब सभा र साक्षीकार्यमा नियमित रूपमा भाग लिन र भाइबहिनीसित समय बिताउन राम्रो तालिका बनाएर आफ्नो ख्रिष्टियन जीवनको संरचना फेरि खडा गर्नुपर्ने हुन्छ। तपाईँ निम्न लक्ष्यहरू राख्न सक्नुहुन्छ:

यहोवासित नियमित रूपमा कुरा गर्नुहोस्‌। तपाईँलाई दोषी भावनाले सताइरहेको छ भने प्रार्थना गर्न गाह्रो हुन्छ भनेर तपाईँको बुबा यहोवा बुझ्नुहुन्छ। (रोमी ८:२६) त्यसैले ‘प्रार्थनामा लागिरहनुहोस्‌’ र फेरि यहोवाको साथी बन्‍ने आफ्नो इच्छाबारे उहाँलाई बताउनुहोस्‌। (रोमी १२:१२) आन्ड्रे भन्छन्‌: “मलाई असाध्यै लाज लाग्थ्यो र दोषी भावनाले सताइरहन्थ्यो। म जति प्रार्थना गर्थे, त्यस्ता भावनाहरू त्यति नै कम हुँदै गए। मैले अझ धेरै मनोशान्ति पाएँ।” तर प्रार्थनामा के भन्‍ने भनेर थाह नहुँदा भजन ५१ र ६५ मा लिपिबद्ध पश्‍चात्तापी राजा दाउदको प्रार्थना विचार गर्नुहोस्‌।

नियमित रूपमा बाइबल अध्ययन गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँको विश्‍वास बलियो हुनेछ अनि यहोवाप्रतिको तपाईँको प्रेम पनि बढ्‌दै जानेछ। (भज. १९:७-११) फेलिपेले यसो भने: “मेरो नियमित रूपमा बाइबल पढ्‌ने र अध्ययन गर्ने बानी थिएन, जसले गर्दा मेरो विश्‍वास कमजोर भयो। अनि मैले यहोवालाई दुःखी बनाएँ। म फेरि त्यो गल्ती दोहोऱ्‍याउन चाहन्‍नथेँ। त्यसैले मैले फेरि व्यक्‍तिगत रूपमा नियमित अध्ययन गर्न थालेँ।” तपाईँ पनि त्यसै गर्न सक्नुहुन्छ। यदि तपाईँलाई व्यक्‍तिगत अध्ययन गर्न उपयुक्‍त विषयहरू छान्‍न मदत चाहिएको छ भने परिपक्व साथीहरूसँग सोधे कसो होला?

मण्डलीका भाइबहिनीसित फेरि मित्रता गाँस्नुहोस्‌। मण्डलीमा फर्केका कसै-कसैलाई भाइबहिनीले आफूलाई नस्विकार्ने हुन्‌ कि भनेर चिन्ता लाग्न सक्छ। लरिसाले यसो भनिन्‌: “मलाई असाध्यै लाज लाग्थ्यो। किनभने मैले मण्डलीका भाइबहिनीलाई दुःखी बनाएको थिएँ। यस्तो भावनाले मलाई लामो समयसम्म सताइरह्‍यो।” तपाईँले यहोवासितको आफ्नो सम्बन्धलाई मजबुत बनाउँदै लैजाँदा एल्डरहरू र अरू परिपक्व भाइबहिनीहरू तपाईँलाई मदत दिन तयार छन्‌ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (“एल्डरहरूले के गर्न सक्छन्‌?” भन्‍ने पेटी हेर्नुहोस्‌।) तपाईँ यहोवाकहाँ फर्किनुभएकोमा तिनीहरू खुसी छन्‌ अनि तपाईँ पनि खुसी भएको चाहन्छन्‌।—हितो. १७:१७.

तपाईँ कसरी मण्डलीसित अझ नजिक हुन सक्नुहुन्छ? भाइबहिनीसित नियमित रूपमा सभा र साक्षीकार्यमा भाग लिनुहोस्‌। यसो गर्दा कस्तो फाइदा हुन्छ? फेलिक्सले यसो भने: “भाइबहिनीले म मण्डलीमा फर्कने समयको प्रतीक्षा गर्दै थिए। तिनीहरू मलाई माया गर्छन्‌ भनेर मैले महसुस गर्न सकेँ। सबैले मलाई मण्डलीको भाग हुन, क्षमा पाएको महसुस गर्न अनि अघि बढ्‌न मदत गरे।”—“तपाईँ के गर्न सक्नुहुन्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।

तपाईँ के गर्न सक्नुहुन्छ?

आफ्नो ख्रिष्टियन जीवनको संरचना फेरि खडा गर्नुहोस्‌

एक एल्डर यहोवाकहाँ फर्केका भाइसँग प्रार्थना गर्दै छन्‌।

यहोवासित नियमित रूपमा कुरा गर्नुहोस्‌

यहोवाको साथी बन्‍ने आफ्नो इच्छाबारे उहाँलाई बताउनुहोस्‌। एल्डरहरूले तपाईँको लागि र तपाईँसँगै बसेर यहोवालाई प्रार्थना गर्नेछन्‌

उक्‍त एल्डर “यहोवासित नजिक हुनुहोस्‌” किताबबाट ती भाइलाई बाइबल अध्ययन गराउँदै छन्‌।

नियमित रूपमा बाइबल अध्ययन गर्नुहोस्‌

आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌ अनि यहोवाप्रतिको तपाईँको प्रेम बढ्‌दै जानेछ

ती भाइ मण्डलीका अरू भाइबहिनीसित सरसङ्‌गत गर्दै छन्‌।

मण्डलीका भाइबहिनीसित फेरि मित्रता गाँस्नुहोस्‌

भाइबहिनीसित मिलेर सभामा र साक्षीकार्यमा पूरापूर भाग लिनुहोस्‌

हार नमान्‍नुहोस्‌!

तपाईँले यहोवासितको आफ्नो सम्बन्ध मजबुत बनाउँदै लैजाँदा सैतानले आँधीबेहरीरूपी समस्याहरू ल्याएर तपाईँलाई कमजोर बनाउन खोज्नेछ। (लुका ४:१३) आफ्नो आध्यात्मिक घर अर्थात्‌ यहोवासितको आफ्नो सम्बन्ध बलियो बनाएर त्यसको सामना गर्न तयार हुनुहोस्‌।

आफ्नो भेडाको सन्दर्भमा यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “हराएकाहरूलाई म खोजेर ल्याउनेछु, बाटो बिराएर बगालबाट यताउता लागेकाहरूलाई फर्काएर ल्याउनेछु, घाइतेहरूलाई मलहमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो पार्नेछु।” (इज. ३४:१६) यहोवाले थुप्रैलाई उहाँसितको सम्बन्ध फेरि मजबुत बनाउन मदत गर्नुभएको छ। उहाँ तपाईँलाई पनि मदत गर्न चाहनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।

एल्डरहरूले के गर्न सक्छन्‌?

एल्डरले ती भाइलाई तिनको भत्किएको घर फेरि निर्माण गर्न मदत गर्दै छन्‌।

पुनर्बहाली भएका भाइ वा बहिनीलाई यहोवासितको तिनको सम्बन्ध फेरि मजबुत बनाउन एल्डरहरूले धेरै मदत गर्न सक्छन्‌। पुनर्बहाली भएकाहरूको लागि तिनीहरूले के गर्न सक्छन्‌, विचार गर्नुहोस्‌।

तिनीहरूलाई ढाडस दिनुहोस्‌। पश्‍चात्ताप गरेर यहोवाकहाँ फर्केको व्यक्‍ति “अति दुःखी भएर शोकमा” डुब्न सक्छन्‌ भनेर प्रेषित पावललाई थाह थियो। (२ कोरि. २:७) तिनलाई दोषी भावना र निराशाले सताइरहन सक्छ। पावलले मण्डलीलाई यस्तो सल्लाह दिए: “तिमीहरूले उसलाई दयापूर्वक क्षमा दिनुपर्छ र सान्त्वना दिनुपर्छ।” पुनर्बहाली भएको व्यक्‍तिले यहोवा र सङ्‌गी ख्रिष्टियनको माया महसुस गर्नुपर्छ। एल्डरहरूले बेलाबेलामा प्रशंसा गर्दा र व्यावहारिक मदत दिँदा तिनी निराश हुनेछैनन्‌।

तिनीहरूसँगै प्रार्थना गर्नुहोस्‌। “धर्मी मानिसको उत्कट बिन्तीले ठूलो काम गर्छ।” (याकु. ५:१६) अगाडि उल्लेख गरिएकी लरिसा यसो भन्छिन्‌: “मैले एल्डरहरूलाई आफ्नो मनमा लागेको शङ्‌का र डरबारे बताएँ। उहाँहरूले मसँगै बसेर मेरो लागि प्रार्थना गरिदिनुभयो। एल्डरहरू मसँग रिसाउनुभएको थिएन भनेर त्यसपछि मैले बुझेँ। उहाँहरू मलाई यहोवासितको मेरो सम्बन्ध फेरि मजबुत बनाउन मदत गर्न चाहनुहुन्थ्यो।” थिओ यसो भन्छन्‌: “एल्डरहरूले गरेको प्रार्थनाबाट यहोवा मलाई साँच्चै माया गर्नुहुन्छ अनि ममा भएको खराब कुरा मात्र नभई असल कुरा पनि हेर्नुहुन्छ भनेर म ढुक्क भएँ।”

तिनीहरूको साथी बन्‍नुहोस्‌। पुनर्बहाली भएकाहरूलाई मण्डलीमा साथी चाहिन्छ। जस्टिन नाम गरेका एल्डर यसो भन्छन्‌: “तिनीहरूलाई तपाईँसँग क्षेत्र सेवामा भाग लिन निम्तो दिनुहोस्‌ अनि तिनीहरूलाई घरमै गएर भेट्‌नुहोस्‌। तिनीहरूको साथी बन्‍नु एकदमै महत्त्वपूर्ण छ।” अर्का एल्डर हेन्री यसो भन्छन्‌: “पुनर्बहाली भएकाहरूलाई एल्डरहरूले साथी बनाएको देख्दा मण्डलीका अरू भाइबहिनीले पनि त्यसै गर्न कोसिस गर्नेछन्‌।”

तिनीहरूलाई अध्ययन गर्न मदत गर्नुहोस्‌। पुनर्बहाली भएकाहरूलाई परिपक्व साथीले अध्ययन गर्ने राम्रो तालिका बनाउन मदत गर्न सक्छन्‌। डार्को नाम गरेका एल्डर यसो भन्छन्‌: “व्यक्‍तिगत अध्ययन गर्दा भेटेका प्रोत्साहनदायी कुराहरू तिनीहरूसित बाँड्‌न मलाई मन पर्छ। अनि यसो गर्दा तिनीहरूले बाइबल अध्ययनप्रति मेरो जोस पनि देख्न सक्छन्‌। म कुनै-कुनै लेखहरू तिनीहरूसँगै पढ्‌ने प्रबन्ध पनि मिलाउँछु।” अर्का एल्डर क्लेटोन यसो भन्छन्‌: “म तिनीहरूलाई तिनीहरूको जीवनसित मिल्दोजुल्दो बाइबल विवरणहरू खोज्न अनि पढ्‌न प्रोत्साहन दिन्छु।”

असल गोठालो बन्‍नुहोस्‌। पुनर्बहाली भएकाहरूले एल्डरहरूले न्यायाधीशको भूमिका निभाएको देखेका छन्‌। तर अब तिनीहरूले एल्डरहरूलाई गोठालोको रूपमा हेर्नु अझ धेरै आवश्‍यक छ। (यर्मि. २३:४) तिनीहरूको कुरा सुन्‍न र मनैदेखि प्रशंसा गर्न सधैँ तयार हुनुहोस्‌। तिनीहरूसित कुराकानी गरिरहनुहोस्‌। मार्कस नाम गरेका एल्डर गोठालो भेटमा जाँदा के गर्छन्‌, विचार गर्नुहोस्‌। तिनी यसो भन्छन्‌: “हामी धर्मशास्त्रबाट प्रोत्साहनदायी कुरा बाँड्‌छौँ, तिनीहरूको प्रशंसा गर्छौँ र यहोवाकहाँ फर्कन तिनीहरूले गरेको मेहनत देखेर हामी तिनीहरूमा गर्व गर्छौँ अनि यहोवा पनि गर्व गर्नुहुन्छ भनेर बताउँछौँ। प्रत्येक भेटको अन्तमा अर्को चोटि कहिले भेट्‌ने भनेर हामी मिति पक्का गर्छौँ।”

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने