प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 अप्रिल pp. २-३
  • चिन्ताले सताउँदा तपाईँ के गर्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चिन्ताले सताउँदा तपाईँ के गर्न सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चिन्ताले सताउँदा दाउदले के गरे?
  • चिन्ताले सताउँदा दाउदको अनुकरण गर्नुहोस्‌
  • यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ
  • आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तपाईंको सारा फिक्री यहोवामाथि सुम्पनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • चिन्ता
    ब्यूँझनुहोस्‌!—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 अप्रिल pp. २-३
अस्पतालको बेडमा भएकी आफ्नी पत्नीको लागि एक भाइ प्रार्थना गर्दै छन्‌।

चिन्ताले सताउँदा तपाईँ के गर्न सक्नुहुन्छ?

चिन्ताले सताउँदा हाम्रो मन भारी हुन सक्छ। (हितो. १२:२५) के तपाईँलाई पनि कुनै चिन्ताले सताएको छ। तपाईँलाई कहिलेकाहीँ ‘अब त सहन सक्दिनँ’ जस्तो लाग्छ होला। तर यस्तो महसुस गर्ने तपाईँ मात्र हुनुहुन्‍न। हामीमध्ये थुप्रैले बिरामी आफन्तहरूको हेरविचार गरेका छौँ होला, मृत्युले गर्दा आफूले माया गर्ने व्यक्‍तिलाई गुमाएका छौँ होला, प्राकृतिक प्रकोपको मारमा परेका छौँ होला वा यस्तै अन्य परिस्थितिको सामना गरेका छौँ होला। यसले हामीलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित बनाउँछ। तर यस्तो चिन्ताले सताउँदा तपाईँ के गर्न सक्नुहुन्छ?a

चिन्ताले सताउँदा राजा दाउदको उदाहरण विचार गरेर हामी धेरै कुरा सिक्न सक्छौँ। उनले जीवनमा धेरै गाह्रा परिस्थितिको सामना गरे, कति पटक त उनको ज्यानै जोखिममा परेको थियो। (१ समु. १७:३४, ३५; १८:१०, ११) चिन्ताले सताउँदा दाउदले के गरे? हामी कसरी उनको उदाहरण अनुकरण गर्न सक्छौँ?

चिन्ताले सताउँदा दाउदले के गरे?

दाउदले एकैचोटि थुप्रै परीक्षाको सामना गरे। उनलाई राजा साउलले मार्न खोजेकोले भागिरहेको बेला के भयो, विचार गरौँ। दाउद र उनका मानिसहरू एउटा युद्धबाट फर्केपछि शत्रुहरूले उनीहरूको सरसम्पत्ति सबै चोरेको, घरहरूमा आगो लगाइदिएको र उनीहरूका परिवारहरूलाई बन्दी बनाएर लगेको उनीहरूले थाह पाए। त्यतिबेला दाउदले कस्तो प्रतिक्रिया देखाए? “दाउद र उनका मानिसहरू . . . यति धेरै रोए कि उनीहरूमा अझ रुने शक्‍ति नै रहेन।” अझ त्यसमाथि दाउदले विश्‍वास गरेका उनका मानिसहरूले पनि उनलाई “ढुङ्‌गाले हानेर मार्ने कुरा गर्दै थिए।” (१ समु. ३०:१-६) त्यतिबेला दाउदले एकैचोटि तीन वटा ठूलठूला समस्याको सामना गर्नुपऱ्‍यो: उनको परिवारको ज्यान खतरामा थियो, आफ्नै मानिसहरूले मार्लान्‌ भन्‍ने डर थियो र राजा साउलले उनलाई अझै खेदिरहेका थिए। त्यतिबेला दाउद कत्ति चिन्तित भए होलान्‌, सोच्नुहोस्‌ त!

यस्तो अवस्थामा दाउदले “आफ्ना परमेश्‍वर यहोवाबाट बल पाए।” उहाँबाट बल पाउन दाउदले के गरे? उनको एउटा राम्रो बानी थियो; उनी मदतको लागि यहोवालाई प्रार्थना गर्थे र पहिला-पहिला आफूलाई परमेश्‍वरले कसरी मदत गर्नुभएको थियो भनेर मनन गर्थे। (१ समु. १७:३७; भज. १८:२, ६) यतिबेला पनि उनले यहोवाको निर्देशन खोज्नुपर्ने आवश्‍यकता महसुस गरे। त्यसैले आफूले के गर्नुपर्छ भनेर यहोवालाई सोधे अनि उहाँबाट निर्देशन पाउनेबित्तिकै कदम चालिहाले। फलस्वरूप दाउद र उनका मानिसहरूले यहोवाको आशिष्‌ पाए अनि उनीहरूले आफ्ना परिवारहरू र धनसम्पत्ति पनि फिर्ता पाउन सके। (१ समु. ३०:७-९, १८, १९) उनले गरेको तीन वटा कुरा के तपाईँले याद गर्नुभयो? उनले मदतको लागि यहोवालाई प्रार्थना गरे, विगतमा उहाँले गर्नुभएको मदतबारे मनन गरे अनि यहोवाको निर्देशनअनुसारै कदम चालिहाले। हामी कसरी दाउदको अनुकरण गर्न सक्छौँ? तीन वटा तरिका विचार गरौँ।

चिन्ताले सताउँदा दाउदको अनुकरण गर्नुहोस्‌

तस्बिरहरूको सँगालो: चिन्ताले सताउँदा हामीले चाल्न सक्ने तीन कदम। १. प्रार्थना। अस्पतालको बेडमा भएकी आफ्नी पत्नीको लागि एक भाइ प्रार्थना गर्दै छन्‌। २. मनन। ती भाइ आफू अस्पतालमा हुँदा अर्का एक भाइले पढेर सुनाएको शास्त्रपद सम्झँदै छन्‌। ३. कदम। ती भाइ आफ्नी बिरामी पत्नीलाई उक्‍त पद पढेर सुनाउँदै छन्‌।

१. प्रार्थना। चिन्ता लाग्यो भने हामी जुनसुकै बेला मदत र बुद्धिको लागि यहोवालाई प्रार्थना गर्न सक्छौँ। हामी समय लगाएर आफ्नो मनको बह यहोवालाई पोखाउन सक्छौँ। अथवा परिस्थितिले दिँदैन भने मनमनै छोटो प्रार्थना गर्न सक्छौँ। हरेक चोटि मदतको लागि यहोवालाई पुकार्दा हामी दाउदले जस्तै महसुस गर्न सक्छौँ। उनले भने: “यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्‍वर। मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ, म उहाँमै शरण लिन्छु।” (भज. १८:२) के प्रार्थनाले साँच्चै मदत गर्छ? काह्लिया नाम गरेकी अग्रगामी बहिनी यसो भन्छिन्‌: “प्रार्थना गरेपछि मन हल्का हुन्छ। प्रार्थनाले मलाई आफ्नो सोचाइ यहोवाको जस्तै बनाउन मदत गर्छ र उहाँमाथिको भरोसा पनि बढाउँछ।” साँच्चै, प्रार्थना यहोवाले दिनुभएको विशेष उपहार हो, जसले हामीलाई चिन्ताको सामना गर्न मदत गर्छ।

२. मनन। के तपाईँ विगतमा आफूले सामना गरेका परीक्षाहरूबारे सम्झन सक्नुहुन्छ, जुन तपाईँले यहोवाको मदतले गर्दा मात्र सहन सक्नुभएको थियो? यहोवाले हामीलाई र विगतका आफ्ना सेवकहरूलाई सम्हाल्नुभएका क्षणहरू सम्झँदा हामी बल पाउँछौँ र उहाँमाथिको भरोसा पनि अझ बलियो हुन्छ। (भज. १८:१७-१९) जोसुआ नाम गरेका एल्डर भन्छन्‌: “मैले यहोवाबाट जवाफ पाएका प्रार्थनाहरूको सूची बनाएको छु। यस सूचीले मलाई कुनै खास विषयमा प्रार्थना गर्दा यहोवाले कसरी चाहिएकै तरिकामा जवाफ दिनुभएको थियो भनेर सम्झन मदत गरेको छ।” हो, यहोवाले हामीलाई विगतमा कसरी मदत गर्नुभएको थियो भनेर मनन गर्दा चिन्ताको सामना गर्न बल पाउँछौँ।

३. कदम। कुनै समस्या आइपर्दा के गर्ने भनेर निर्णय गर्नुअघि हामी भरपर्दो डोऱ्‍याइको लागि परमेश्‍वरको वचन अध्ययन गर्न सक्छौँ। (भज. १९:७, ११) थुप्रैले कुनै एउटा बाइबल पदको अनुसन्धान गर्दा त्यो पद आफ्नो जीवनमा कसरी लागू हुन्छ भनेर अझ राम्ररी बुझ्न सकेका छन्‌। जेरड नाम गरेका एल्डर भन्छन्‌: “कुनै बाइबल पदको अनुसन्धान गर्दा त्यसलाई अझ राम्रोसँग बुझ्न सकेको छु र यहोवा मलाई के भन्‍न खोज्दै हुनुहुन्छ भनेर पनि थाह पाउन सकेको छु। यसो गर्दा आफूले पढेको कुरामा मेरो विश्‍वास बढेको छ र म उहाँको डोऱ्‍याइअनुसार चल्न सकेको छु।” यसरी हामीले बाइबलमा यहोवाको डोऱ्‍याइ खोज्दा र उहाँको निर्देशनअनुसार चल्दा अचाक्ली चिन्तित नहुन मदत पाउँछौँ।

यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ

अचाक्ली चिन्तित नहुन यहोवाको मदत चाहिन्छ भनेर दाउदले बुझेका थिए। उहाँबाट पाएको मदतको लागि उनी यत्ति कृतज्ञ भए कि उनी यसो भन्‍न उत्प्रेरित भए: “तपाईँको शक्‍तिले म पर्खाल नाघ्न सक्छु। मलाई बल दिने साँचो परमेश्‍वर नै हुनुहुन्छ।” (भज. १८:२९, ३२) हामीलाई पनि आफूले सामना गरिरहेको परीक्षा नाघ्नै नसकिने पर्खालजस्तो लाग्न सक्छ तर यहोवाको मदत पाएर हामी जस्तोसुकै परीक्षा पनि पार गर्न सक्छौँ। हामीले मदतको लागि यहोवालाई प्रार्थना गऱ्‍यौँ, उहाँले हाम्रो निम्ति गर्नुभएका सबै कुराबारे मनन गऱ्‍यौँ र उहाँको निर्देशनअनुसार कदम चाल्यौँ भने अचाक्ली चिन्तित नहुन उहाँले हामीलाई पक्कै बल र बुद्धि दिनुहुनेछ।

a चिन्ताले गर्दा कसैको स्वास्थ्यमा नै गम्भीर असर परेको छ भने तिनले चिकित्सकहरूको परामर्श लिनुपर्ने हुन सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने