प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 जुलाई pp. ८-१३
  • हाम्रा निरीक्षक येसुलाई समर्थन गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रा निरीक्षक येसुलाई समर्थन गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसु साक्षीकार्यको निरीक्षण गर्नुहुन्छ
  • येसुले दास नियुक्‍त गर्नुहुन्छ
  • येसु आफ्ना अनुयायीहरूलाई व्यवस्थित पार्नुहुन्छ
  • ‘जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूलाई सम्झ’
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • विश्‍वासी र बुद्धिमान्‌ दास को हो?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • तिनीहरू ‘थुमाको पछिपछि लागिरहन्छन्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “दास” जो विश्‍वासी र बुद्धिमान्‌ दुवै छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 जुलाई pp. ८-१३

अध्ययन लेख २९

हाम्रा निरीक्षक येसुलाई समर्थन गर्नुहोस्‌

“स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।”—मत्ति २८:१८.

गीत १३ ख्रिष्ट—हाम्रो उदाहरण

परिचयa

१. यहोवा के चाहनुहुन्छ?

राज्यको सुसमाचार पृथ्वीभरि फैलियोस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ। (मर्कु. १३:१०; १ तिमो. २:३, ४) यो उहाँको काम हो र यो धेरै महत्त्वपूर्ण भएकोले उहाँले आफ्नो प्यारो छोरालाई यसको नेतृत्व गर्ने जिम्मेवारी सुम्पनुभएको छ। येसु सक्षम निरीक्षक हुनुभएकोले अन्त आउनुअघि साक्षीकार्य यहोवाले चाहनुभएकै तरिकामा पूरा हुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ।—मत्ति २४:१४.

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ आध्यात्मिक भोजनको प्रबन्ध गर्न र इतिहासकै सबैभन्दा ठूलो साक्षी दिने अभियानमा आफ्ना अनुयायीहरूलाई सुव्यवस्थित पार्न येसुले “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई कसरी प्रयोग गर्दै हुनुहुन्छ, यस लेखमा छलफल गर्नेछौँ। (मत्ति २४:४५) हामी प्रत्येकले येसु र विश्‍वासी दासलाई यस काममा कसरी सघाउन सक्छौँ भनेर पनि बुझ्नेछौँ।

येसु साक्षीकार्यको निरीक्षण गर्नुहुन्छ

३. यहोवाले येसुलाई कस्तो अधिकार दिनुभएको छ?

३ येसु साक्षीकार्यको निरीक्षण गर्दै हुनुहुन्छ। यस कुरामा हामी किन पक्का हुन सक्छौँ? स्वर्ग जानुभन्दा केही समयअघि उहाँले आफ्ना वफादार चेलाहरूलाई गालिलको एउटा डाँडामा भेट्‌नुभएको थियो। येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।” त्यसपछि उहाँले के भन्‍नुभयो, त्यो पनि विचार गर्नुहोस्‌: “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ।” (मत्ति २८:१८, १९) हो, यहोवाले येसुलाई थुप्रै कुरामाथि अधिकार दिनुभएको छ, जसमध्ये एउटा साक्षीकार्यको नेतृत्व गर्ने जिम्मेवारी पनि हो।

४. येसुले अहिले पनि साक्षीकार्यको सुपरिवेक्षण गर्दै हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

४ येसुले “सबै जातिका मानिसहरूलाई” सुसमाचार सुनाइनेछ र चेला बनाइनेछ भनेर बताउनुभयो। साथै उहाँले चेलाहरूलाई “यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु” भनेर प्रतिज्ञा पनि गर्नुभयो। (मत्ति २८:२०) येसुले भन्‍नुभएका यी कुराहरूबाट साक्षी दिने काम उहाँको सुपरिवेक्षणमा अहिले हाम्रो समयसम्मै चल्ने थियो भनेर बुझ्न सक्छौँ।

५. भजन ११०:३ को भविष्यवाणी पूरा गर्न हामी कसरी मदत गर्न सक्छौँ?

५ येसुलाई यस युगको आखिरी समयमा साक्षी दिने चेलाहरू थोरै हुने हो कि भन्‍ने कुराको चिन्ता थिएन। भजनरचयिताका यी भविष्यसूचक वचनहरू पूरा हुनेछन्‌ भनेर उहाँलाई थाह थियो: “जुन दिन तिमी आफ्नो सेना लिएर युद्धमा जान्छौ, तिम्रा मानिसहरू राजीखुसीले तयार हुनेछन्‌।” (भज. ११०:३) साक्षीकार्यमा भाग लिँदै हुनुहुन्छ भने तपाईँ येसु र विश्‍वासी दासलाई समर्थन गर्दै हुनुहुन्छ र यो भविष्यवाणी पूरा गर्न मदत गर्दै हुनुहुन्छ। आज यो काम अघि बढ्‌दै छ तर केही चुनौती पनि छन्‌।

६. राज्य उद्‌घोषकहरूले सामना गर्ने एउटा चुनौती के हो?

६ राज्य उद्‌घोषकहरूको लागि एउटा चुनौती भनेको विरोध हो। धर्मत्यागी, धर्मगुरु र नेताहरूले हाम्रो कामबारे झूटा कुराहरू फैलाएका छन्‌। यस्तो अफवाहको पछि लागेर हाम्रा आफन्तहरू, चिनेजानेकाहरू र सहकर्मीहरूले हामीलाई यहोवाको सेवा नगर्न र साक्षीकार्य बन्द गर्न दबाब दिन सक्छन्‌। कुनै-कुनै देशमा शत्रुहरूले हाम्रा भाइबहिनीलाई डर देखाउने, धम्काउने, पक्राउ गर्ने र झ्यालखानामा हाल्ने गरेका छन्‌। तर यस्तो विरोध आइपर्दा हामी अचम्म मान्दैनौँ। किनभने येसुले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्‌।” (मत्ति २४:९) मानिसहरूले हामीलाई घृणा गर्नु नै हामीले यहोवाको अनुमोदन पाएका छौँ भन्‍ने कुराको प्रमाण हो। (मत्ति ५:११, १२) वास्तवमा यस्तो विरोधको पछाडि सैतानको हात छ। तर सैतानभन्दा येसु धेरै शक्‍तिशाली हुनुहुन्छ। येसुको मदतले गर्दा सुसमाचार सबै जातिका मानिसलाई सुनाउने काम भइरहेको छ। आउनुहोस्‌, यसको एउटा प्रमाण जाँचेर हेरौँ।

७. प्रकाश १४:६, ७ को भविष्यवाणी पूरा भइरहेको छ भनेर तपाईँ किन भन्‍न सक्नुहुन्छ?

७ राज्य उद्‌घोषकहरूको लागि अर्को चुनौती भनेको भाषा हो। प्रेषित युहन्‍नाले देखेको दर्शनमा येसुले हाम्रो समयमा हरेक भाषाका मानिसहरूलाई सुसमाचार सुनाइनेछ भनेर बताउनुभयो। (प्रकाश १४:६, ७ पढ्‌नुहोस्‌।) यो भविष्यवाणी कसरी पूरा भइरहेको छ? हामी धेरैभन्दा धेरै मानिसलाई राज्य सन्देश सुनाउँदै छौँ। आज संसारभरका मानिसहरूले jw.org वेबसाइटमा भएको बाइबलआधारित प्रकाशनहरू पढ्‌न सक्छन्‌ किनभने यो वेबसाइट १,००० भन्दा धेरै भाषामा उपलब्ध छ। परिचालक निकायले मुख्य अध्ययन सामग्री सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताब ७०० भन्दा धेरै भाषामा अनुवाद गर्न अनुमति दिएको थियो। बहिराहरूको लागि भिडियो रेकर्डिङ र दृष्टिविहीनहरूको लागि ब्रेल लिपिमा प्रकाशनहरू उपलब्ध छन्‌। हामीले आफ्नै आँखाले बाइबलका भविष्यवाणीहरू पूरा भएको देख्दै छौँ। “विभिन्‍न भाषा बोल्ने जातिजातिका” मानिसहरू “शुद्ध भाषा” बोल्न सिक्दै छन्‌। (जक. ८:२३; सप. ३:९) यी सबै काम येसु ख्रिष्टको नेतृत्वमा पूरा हुँदै छ।

८. हाम्रो साक्षीकार्यको नतिजा कस्तो भएको छ?

८ आज २४० वटा देशमा ८० लाखभन्दा धेरै यहोवाका साक्षी छन्‌। अनि हरेक वर्ष १ लाखभन्दा धेरैले बप्तिस्मा गर्छन्‌। तर सङ्‌ख्याभन्दा पनि महत्त्वपूर्ण कुरा यी नयाँ चेलाहरूले विकास गरेको आध्यात्मिक गुणहरू अर्थात्‌ “नयाँ व्यक्‍तित्व” हो। (कल. ३:८-१०) थुप्रैले अनैतिकता, हिंसा, पूर्वाग्रह र राष्ट्रियताको भावना त्यागेका छन्‌। “तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्‌” भन्‍ने यसैया २:४ को भविष्यवाणी आज पूरा हुँदै छ। हामीले नयाँ व्यक्‍तित्व धारण गर्न कडा मेहनत गरेको देख्दा मानिसहरू परमेश्‍वरको सङ्‌गठनतर्फ आकर्षित भएका छन्‌ र हामी आफ्नो निरीक्षक येसु ख्रिष्टको अनुकरण गर्दै छौँ भनेर प्रमाणित भएको छ। (युह. १३:३५; १ पत्रु. २:१२) हामीले यस्तो परिवर्तन आफ्नै भरमा होइन बरु येसुको मदत पाएर गर्न सकेका हौँ।

येसुले दास नियुक्‍त गर्नुहुन्छ

९. मत्ति २४:४५-४७ मा कस्तो भविष्यवाणी गरिएको छ?

९ मत्ति २४:४५-४७ पढ्‌नुहोस्‌। येसुले अन्तको दिनमा आध्यात्मिक भोजनको प्रबन्ध गर्न “विश्‍वासी र बुद्धिमान्‌ दास” नियुक्‍त गर्नेछु भनेर भविष्यवाणी गर्नुभयो। हुन पनि आज त्यस दासले कडा मेहनत गर्दै छ। हाम्रा निरीक्षक येसुले परमेश्‍वरका सेवकहरू र चासो दिने व्यक्‍तिहरूलाई “ठीक समयमा” आध्यात्मिक भोजन दिन अभिषिक्‍त जनहरूको एउटा सानो समूहलाई प्रयोग गर्दै हुनुहुन्छ। यी अभिषिक्‍त जनहरू आफूलाई अरूको विश्‍वासको मालिक ठान्दैनन्‌। (२ कोरि. १:२४) बरु येसु ख्रिष्ट नै “अगुवा र शासक” हुनुहुन्छ भनेर मानिलिन्छन्‌।—यसै. ५५:४.

चित्रहरूको सँगालो: चासो देखाउने व्यक्‍तिहरूलाई बाइबल अध्ययन गराउन प्रयोग गरिएका प्रकाशनहरू। १. १९४६: “परमेश्‍वर सत्य ठहरिऊन्‌।” एक बहिनी साक्षीकार्यमा एक दम्पतीलाई किताब दिँदै छिन्‌। २. १९६८: “अनन्त जीवनतर्फ लैजाने सत्य।” एक पुरुष यो किताब पढ्‌दै छन्‌। ३. १९८२ (नेपाली, १९९१): “पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ।” एक भाइ एक पुरुषलाई बाइबल अध्ययन गराउँदै छन्‌। ४. १९९५: “ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ।” एक भाइ खाजा खाने बेला सहकर्मीलाई बाइबल अध्ययन गराउँदै छन्‌। ५. २००५ र २०१५ (नेपाली, २०१८): “बाइबलले वास्तवमा के सिकाउँछ?” र “बाइबलले हामीलाई के सिकाउँछ?” एक बहिनी एक महिलालाई बाइबल अध्ययन गराउँदै छिन्‌। ६. २०२१: “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” एक बहिनी भिडियो कन्फरेन्समार्फत एक महिलालाई बाइबल अध्ययन गराउँदै छिन्‌।

१०. चित्रमा देखाइएको कुनचाहिँ प्रकाशनले तपाईँलाई अनन्त जीवनको बाटोमा हिँड्‌न मदत गऱ्‍यो?

१० सन्‌ १९१९ देखि विश्‍वासी दासले चासो दिने व्यक्‍तिहरूलाई आध्यात्मिक भोजन चखाउन थुप्रै प्रकाशन तयार पारेको छ। जस्तै: सन्‌ १९२१ मा यस दासले बाइबलको आधारभूत शिक्षा दिन परमेश्‍वरको वीणा (अङ्‌ग्रेजी) किताब तयार पाऱ्‍यो। समयसँगै अरू प्रकाशनहरू पनि उपलब्ध भए। हाम्रा स्वर्गमा बस्नुहुने बुबालाई चिन्‍न र प्रेम गर्न तपाईँलाई यीमध्ये कुनचाहिँ प्रकाशनले मदत गरेको थियो: “परमेश्‍वर सत्य ठहरिऊन्‌” (अङ्‌ग्रेजी), अनन्त जीवनतर्फ लैजाने सत्य (अङ्‌ग्रेजी), पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ, ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ, बाइबलले वास्तवमा के सिकाउँछ?, बाइबलले हामीलाई के सिकाउँछ? वा हालै प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! यी सबै प्रकाशन चेला बनाउन मदत गर्ने उद्देश्‍यले तयार पारिएका थिए र ती हामीलाई चाहिएकै समयमा प्रकाशित भएका थिए।

११. हामी सबैलाई किन आध्यात्मिक भोजन चाहिन्छ?

११ हामी सबैलाई खँदिलो आध्यात्मिक भोजन चाहिन्छ। प्रेषित पावलले यस्तो लेखे: “खँदिलो खानेकुराचाहिँ परिपक्व मानिसहरूको निम्ति हो।” हामीले सिकेको कुरा लागू गर्दा “सही र गलत छुट्ट्याउन” सक्छौँ भनेर पनि तिनले बताए। (हिब्रू ५:१४) आज हामी नैतिक स्तर एकदमै खस्किरहेको समयमा बाँचिरहेका छौँ। त्यसैले यहोवाका स्तरहरूअनुसार चल्न हामीलाई एकदमै गाह्रो हुन सक्छ। तर येसुले हाम्रो विश्‍वास बलियो होस्‌ भनेर स्वादिलो अनि पोसिलो आध्यात्मिक भोजन उपलब्ध गराउँदै हुनुहुन्छ। यस्तो भोजनको स्रोत परमेश्‍वरको वचन बाइबल हो। येसुको निर्देशनमा विश्‍वासी दासले यस्तो भोजन तयार पार्छ र वितरण गर्छ।

१२. येसुले जस्तै हामीले कसरी परमेश्‍वरको नामको कदर गरेका छौँ?

१२ येसुले जस्तै हामीले परमेश्‍वरको नामको कदर गरेका छौँ। (युह. १७:६, २६) उदाहरणको लागि, सन्‌ १९३१ मा हामीले यहोवाका साक्षीहरू भन्‍ने धर्मशास्त्रीय नाम ग्रहण गऱ्‍यौँ। यसरी हामीले परमेश्‍वरको नामलाई धेरै महत्त्वपूर्ण ठानेको र उहाँको नामद्वारा चिनिन चाहेको देखायौँ। (यसै. ४३:१०-१२) सोही वर्षको अक्टोबरदेखि यस पत्रिकाको प्रत्येक अङ्‌कको आवरणमा यहोवाको नाम छाप्न थालियो। साथै पवित्र बाइबल—नयाँ संसार अनुवाद-मा परमेश्‍वरको नाम जहाँ-जहाँ हुनुपर्ने हो, त्यहाँ-त्यहाँ पुनर्स्थापित गरिएको छ। तर चर्चजगत्‌ले भने परमेश्‍वरको नाम थुप्रै बाइबल अनुवादबाट हटाएको छ। कत्ति ठूलो भिन्‍नता!

येसु आफ्ना अनुयायीहरूलाई व्यवस्थित पार्नुहुन्छ

१३. येसुले आज “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई प्रयोग गर्दै हुनुहुन्छ भनेर तपाईँलाई कुन कुराले विश्‍वस्त बनायो? (युहन्‍ना ६:६८)

१३ शुद्ध उपासनालाई अगाडि बढाउन येसुले “विश्‍वासी र बुद्धिमान्‌ दास”-मार्फत पृथ्वीमा एउटा उत्कृष्ट सङ्‌गठन स्थापना गर्नुभएको छ। यस सङ्‌गठनको भाग हुन पाएकोमा तपाईँ कस्तो महसुस गर्नुहुन्छ? सायद तपाईँ प्रेषित पत्रुसले जस्तै महसुस गर्नुहुन्छ होला, जसले येसुलाई यसो भनेका थिए: “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईँसित छन्‌।” (युह. ६:६८) यहोवाको सङ्‌गठन नभेट्टाएको भए आज हामी कहाँ हुन्थ्यौँ होला! यस सङ्‌गठनमार्फत ख्रिष्टले हामीलाई आध्यात्मिक भोजन प्रशस्त मात्रामा खुवाउँदै हुनुहुन्छ। हामीले आफ्नो सेवाको काम राम्ररी पूरा गर्न सकौँ भनेर उहाँ हामीलाई तालिम दिनुहुन्छ। साथै हामीलाई “नयाँ व्यक्‍तित्व” धारण गर्न पनि मदत दिनुहुन्छ, जसले गर्दा हामीले यहोवालाई खुसी बनाउन सकेका छौँ।—एफि. ४:२४.

१४. यहोवाको सङ्‌गठनको भाग भएकोले कोभिड-१९ महामारीको दौडान तपाईँले कस्तो लाभ उठाउनुभयो?

१४ सङ्‌कटको समयमा येसु बुद्धिमानी निर्देशन दिनुहुन्छ। यस्तो निर्देशन लागू गर्दा हाम्रै फाइदा हुन्छ भन्‍ने कुरा कोभिड-१९ महामारीको दौडान स्पष्ट भयो। संसारका मानिसहरू के गर्ने, कसो गर्ने भनेर अन्योलमा परिरहेको बेला येसुले हाम्रो सुरक्षाको लागि स्पष्ट निर्देशनहरू दिनुभयो। हामीलाई सार्वजनिक ठाउँहरूमा मास्क लगाउन र भौतिक दूरी कायम गर्न सुझाव दिइयो। एल्डरहरूलाई मण्डलीका सबैसित नियमित सम्पर्कमा रहन र तिनीहरूको भौतिक अनि आध्यात्मिक आवश्‍यकताको ख्याल राख्न पनि सम्झाइयो। (यसै. ३२:१, २) परिचालक निकायका अपडेटहरूबाट पनि हामीले थप निर्देशन र प्रोत्साहन पायौँ।

१५. महामारीको दौडान हामीले सभा र साक्षीकार्यबारे कस्तो निर्देशन पायौँ र नतिजा कस्तो भएको छ?

१५ महामारीको दौडान सभाहरू कसरी सञ्चालन गर्ने र साक्षीकार्यमा कसरी भाग लिने भन्‍नेबारे हामीले स्पष्ट निर्देशनहरू पायौँ। त्यसको लगत्तै हामी भिडियो कन्फरेन्समार्फत सभा, सम्मेलन र अधिवेशनहरूमा उपस्थित हुन थाल्यौँ। हामीले पत्र अनि टेलिफोनबाट साक्षी दिन थाल्यौँ। यहोवाले हाम्रो प्रयासमा आशिष्‌ दिनुभयो। थुप्रै शाखाले प्रकाशकको सङ्‌ख्यामा उल्लेखनीय वृद्धि भएको रिपोर्ट गरेका छन्‌। वास्तवमा यस महामारीको दौडान थुप्रैले प्रोत्साहनदायी अनुभव बटुलेका छन्‌।—“यहोवा हाम्रो साक्षीकार्यमा आशिष्‌ दिनुहुन्छ” भन्‍ने पेटी हेर्नुहोस्‌।

यहोवा हाम्रो साक्षीकार्यमा आशिष्‌ दिनुहुन्छ

  • मध्य अमेरिकाका एक दम्पती युरोपमा बसेको १५ वर्षभन्दा धेरै भइसक्यो। महामारी सुरु हुँदा तिनीहरूले मध्य अमेरिकामा बस्ने आफ्ना सबै आफन्त र चिनेजानेकाहरूलाई साक्षी दिने निर्णय गरे। तिनीहरूले मेसेजमार्फत २०० भन्दा धेरै पत्र पठाए। तिनीहरूले पुनःभेट गरे र चासो दिनेहरूलाई प्रकाशन र भिडियोका लिङ्‌कहरू पठाए। यहोवाले तिनीहरूको प्रयासमा आशिष्‌ दिनुभयो। आठ महिनाभित्रै तिनीहरूले १४ वटा बाइबल अध्ययन सञ्चालन गरे।

  • नोभेम्बर २०२० को अभियानमा एक जना भाइले सानो बेलाको स्कुलको साथीलाई फोन गरे र तिनलाई “ईश्‍वरको राज्य के हो?” भन्‍ने प्रहरीधरहरा दिए। ती साथीले त्यो पत्रिका स्विकारे र अर्को हप्ता त्यसबाट छलफल गर्न पनि राजी भए। अर्को चोटि कुराकानी गर्दा ती साथीले यसो भने: “तिमीले फोन गर्नुभन्दा अघि मैले परमेश्‍वरलाई ‘तपाईँ मैले के गरेको चाहनुहुन्छ भनेर बुझ्न मदत दिनुहोस्‌’ भनी प्रार्थना गरेको थिएँ।” ती साथीले बाइबल अध्ययनको प्रस्ताव स्विकारे, सभाहरूमा उपस्थित हुन थाले अनि सिकेको कुरा लागू पनि गर्न थाले। पछि तिनले ती भाइलाई यसो भने: “पहिला-पहिला मलाई मेरो जीवनमा केही कुराको कमी छ जस्तो लाग्थ्यो; उहाँ यहोवा हुनुहुन्थ्यो भनेर मैले अहिले बुझेँ। उहाँसित नजिक हुन मदत गरेकोमा तिमीलाई जत्ति धन्यवाद दिए पनि पुग्दैन।”

१६. हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

१६ कसै-कसैलाई हाम्रो सङ्‌गठन महामारीको समयमा चाहिनेभन्दा बढ्‌तै होसियार भएको जस्तो लाग्न सक्छ। तर हामीले पाएको निर्देशन व्यावहारिक थियो भनेर बारम्बार प्रमाणित भएको छ। (मत्ति ११:१९) येसुले हामीलाई मायालु तरिकामा डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरामा मनन गर्दा भविष्यमा जस्तोसुकै अवस्था आइपरे पनि यहोवा र येसु हाम्रो साथमा हुनुहुनेछ भनेर ढुक्क हुन सक्छौँ।—हिब्रू १३:५, ६ पढ्‌नुहोस्‌।

१७. येसुको निरीक्षणमा काम गर्न पाएकोमा तपाईँ कस्तो महसुस गर्नुहुन्छ?

१७ येसुको निरीक्षणमा काम गर्न पाएकोमा हामी धेरै खुसी छौँ। हामी यस्तो सङ्‌गठनको भाग हौँ, जहाँ संस्कृति, राष्ट्रियता र भाषाको कारणले कुनै फूट छैन। हामीले आध्यात्मिक रूपमा पोसिलो खानेकुरा र साक्षीकार्यको लागि आवश्‍यक तालिम पाइरहेका छौँ। हामी प्रत्येकले नयाँ व्यक्‍तित्व धारण गर्नको लागि मदत पनि पाइरहेका छौँ र एकअर्कालाई प्रेम गर्न सिक्दै छौँ। हाम्रा निरीक्षक येसुमा हामी गर्व गर्छौँ!

येसुले निम्न कुराहरू गर्दै हुनुहुन्छ भनेर तपाईँ किन विश्‍वस्त हुनुहुन्छ?

  • विश्‍वव्यापी साक्षीकार्यको निरीक्षण

  • “विश्‍वासी र बुद्धिमान्‌ दास”-मार्फत आध्यात्मिक भोजनको प्रबन्ध

  • सङ्‌कटको समयमा आफ्ना अनुयायीहरूलाई डोऱ्‍याउने काम

गीत १६ यहोवा र उहाँको पुत्रको प्रशंसा

a आज लाखौँ पुरुष, स्त्री र केटाकेटी जोसका साथ सुसमाचार सुनाउँदै छन्‌। के तपाईँ पनि त्यसै गर्दै हुनुहुन्छ? हुनुहुन्छ भने तपाईँ हाम्रा प्रभु येसु ख्रिष्टको निरीक्षणमा काम गर्दै हुनुहुन्छ। यस लेखमा आज येसुले साक्षीकार्यको सुपरिवेक्षण गर्दै हुनुहुन्छ भन्‍ने कुराको प्रमाण विचार गर्नेछौँ। यस कुरामा मनन गर्दा ख्रिष्टको नेतृत्वमा यहोवाको सेवा गरिरहने हाम्रो सङ्‌कल्प बलियो हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने