प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 डिसेम्बर pp. १६-२१
  • सङ्‌कटको बेला तपाईँ शान्ति पाउन सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सङ्‌कटको बेला तपाईँ शान्ति पाउन सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • महामारीको बेला हामी कसरी शान्ति पाउन सक्छौँ?
  • प्रकोपको बेला हामी कसरी शान्ति पाउन सक्छौँ?
  • खेदोको बेला हामी कसरी शान्ति पाउन सक्छौँ?
  • “शान्तिका परमेश्‍वर [तपाईँको] साथमा हुनुहुनेछ”
  • कठिन परिस्थितिमा परेकाहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • “परमेश्‍वरको शान्तिले” तपाईंको हृदयलाई सुरक्षित राखून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • शान्ति कसरी पाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • “शान्ति खोज र त्यसैको पिछा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 डिसेम्बर pp. १६-२१

अध्ययन लेख ५१

सङ्‌कटको बेला तपाईँ शान्ति पाउन सक्नुहुन्छ

“तिमीहरूको हृदय व्याकुल नहोस्‌ अनि डरले गर्दा कमजोर नहोस्‌।”—युह. १४:२७.

गीत ११२ शान्तिका परमेश्‍वर यहोवा

परिचयa

१. हामी “परमेश्‍वरको शान्ति” कसरी पाउन सक्छौँ र यो पाउँदा हामीलाई कस्तो लाभ हुन्छ? (फिलिप्पी ४:६, ७)

“परमेश्‍वरको शान्ति।” यस्तो किसिमको शान्तिबारे संसारका मानिसहरूलाई केही थाह छैन। स्वर्गमा बस्नुहुने बुबासित नजिकको सम्बन्ध गाँस्दा हामीले यस्तो किसिमको शान्ति पाउन सक्छौँ। परमेश्‍वरको शान्ति पाउँदा हामी सुरक्षित महसुस गर्छौँ। (फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌।) साथै उहाँलाई प्रेम गर्नेहरूसित घनिष्ठ हुन्छौँ। अनि “शान्तिका परमेश्‍वर”-सित पनि न्यानो सम्बन्ध गाँस्न सक्छौँ। (१ थिस्स. ५:२३) शान्तिका परमेश्‍वरलाई चिन्दा, उहाँमा भरोसा गर्दा र उहाँको आज्ञा पालन गर्दा गाह्रो परिस्थितिमा समेत अचाक्ली चिन्तित नहुन मदत पाउँछौँ।

२. परमेश्‍वरको शान्ति पाउने कुरामा हामी किन ढुक्क हुन सक्छौँ?

२ महामारी, प्रकोप, देशभित्र मच्चिने कलह वा खेदोजस्ता सङ्‌कटको बेला पनि के परमेश्‍वरको शान्ति पाउन साँच्चै सम्भव छ? यस्ता सङ्‌कटहरूले हामीमा डर पैदा गर्न सक्छ। तर येसुले आफ्ना अनुयायीहरूलाई यस्तो सल्लाह दिनुभएको थियो: “तिमीहरूको हृदय व्याकुल नहोस्‌ अनि डरले गर्दा कमजोर नहोस्‌।” (युह. १४:२७) खुसीको कुरा, हाम्रा भाइबहिनीले येसुको यो सल्लाह पालन गरेका छन्‌। एकदमै गाह्रो परीक्षाको सामना गर्नुपर्दा पनि तिनीहरूले परमेश्‍वरबाट शान्ति पाउन सकेका छन्‌।

महामारीको बेला हामी कसरी शान्ति पाउन सक्छौँ?

३. महामारीले हाम्रो शान्ति कसरी खोस्न सक्छ?

३ महामारीले हाम्रो जीवनको हरेक पक्षमा असर गर्न सक्छ। कोभिड-१९ ले धेरैलाई कसरी असर गऱ्‍यो, विचार गरौँ। एउटा सर्वेक्षणमा भाग लिएका आधाभन्दा धेरै मानिसले महामारीको बेला राम्ररी निदाउन नसकेको कुरा बताए। महामारीको बेला चिन्ता, डिप्रेसन, रक्सी र लागू पदार्थको दुर्व्यसन, घरेलु हिंसा र आत्महत्या गर्न प्रयास गर्नेहरूको सङ्‌ख्या एक्कासि बढेको पाइयो। तपाईँको इलाकामा महामारी फैलिएको छ भने अचाक्ली चिन्तित नहुन र परमेश्‍वरको शान्ति पाउन के गर्न सक्नुहुन्छ?

४. अन्तको दिनबारे येसुले गर्नुभएको भविष्यवाणी थाह पाउँदा हामी कसरी शान्ति पाउँछौँ?

४ येसुले अन्तको दिनमा “ठाउँठाउँमा” महामारी हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। (लुका २१:११) यो कुरा थाह पाउँदा हामी कसरी शान्ति पाउन सक्छौँ? हामी महामारी फैलिँदा अचम्म मान्दैनौँ। किनकि यस्ता कुराहरू येसुको भविष्यवाणीको पूर्ति हो भनेर हामीले बुझेका छौँ। त्यसैले हामी “तिमीहरू नआत्तिओ” भन्‍ने येसुको सल्लाह पालन गर्छौँ।—मत्ति २४:६.

एक बहिनी हेडफोन लगाएर ट्याब्लेटमा अडियो रेकर्डिङ सुन्दै छिन्‌।

बाइबलको अडियो रेकर्डिङ सुन्दा तपाईँले महामारीको बेला शान्ति पाउन सक्नुहुन्छ (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. (क) फिलिप्पी ४:८, ९ अनुसार महामारीको बेला हामी कस्ता कुराहरूको लागि प्रार्थना गर्न सक्छौँ? (ख) सङ्‌गठनले प्रबन्ध गरेको अडियो रेकर्डिङहरूबाट तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?

५ महामारी फैलिँदा चिन्ता र डरले सताउन सक्छ। डेजी बहिनीलाई यस्तै भयो।b कोभिड-१९ ले गर्दा काका, ठूलो बुबाको छोरा र आफ्नो डाक्टरको मृत्यु हुँदा डेजीलाई आफू सङ्‌क्रमित हुने हो कि अनि आफूबाट वृद्ध आमालाई पनि रोग सर्ने हो कि भनेर चिन्ता लाग्यो। महामारीले गर्दा तिनको जागिर गुम्ने डर थियो। त्यसैले खानेकुरा र घरभाडाको लागि पैसा कसरी जुटाउने भनेर पनि तिनलाई चिन्ता लाग्यो। यस्ता चिन्ताहरूले तिनलाई साह्रै पिरोल्न थाल्यो; राती निदाउन पनि सकिनन्‌। तर डेजीले फेरि शान्ति पाउन सकिन्‌। कसरी? तिनले शान्त रहन र सकारात्मक कुराहरूबारे सोच्न सकूँ भनेर यहोवालाई प्रार्थना गरिन्‌। (फिलिप्पी ४:८, ९ पढ्‌नुहोस्‌।) बाइबलका अडियो रेकर्डिङहरू सुन्दा तिनले यहोवा आफूसित बोलिरहनुभएको महसुस गरिन्‌। तिनी भन्छिन्‌: “भावसहित पढिएको अडियो रेकर्डिङ सुन्दा मैले चिन्ता कम गर्न र यहोवा मेरो ख्याल राख्नुहुन्छ भनेर सम्झन मदत पाएँ।”—भज. ९४:१९.

६. व्यक्‍तिगत अध्ययन र सभाहरूले हामीलाई कसरी मदत गर्छ?

६ महामारीको बेला सबै कुरा पहिला जसरी नै गर्न सम्भव हुँदैन। तर व्यक्‍तिगत अध्ययन गर्न र सभाहरूमा उपस्थित हुन भने नछोड्‌नुहोस्‌। हाम्रा प्रकाशनहरू र भिडियोहरूमा यस्तै चुनौतीहरूको बाबजुद निष्ठा कायम राखेका भाइबहिनीको अनुभव पाउँछौँ। (१ पत्रु. ५:९) सभाहरूबाट बाइबलका सकारात्मक कुराहरूले आफ्नो मन भर्न मदत पाउँछौँ। साथै अरूलाई प्रोत्साहन दिने र आफूले पनि प्रोत्साहन पाउने मौका पाउँछौँ। (रोमी १:११, १२) आफ्ना उपासकहरू बिरामी पर्दा, डराउँदा वा एक्लो हुँदा यहोवाले तिनीहरूलाई कसरी साथ दिनुभयो भन्‍ने कुरामा हामी मनन गर्न सक्छौँ। यसो गर्दा हाम्रो विश्‍वास अझ बलियो हुन्छ र उहाँले हामीलाई पनि साथ दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ।

७. प्रेषित युहन्‍नाबाट तपाईँ कस्तो पाठ सिक्न सक्नुहुन्छ?

७ भाइबहिनीसित सम्पर्कमा रहने कोसिस गर्नुहोस्‌। हामीले महामारीको बेला भाइबहिनीसित पनि भौतिक दूरी कायम राख्नुपर्ने हुन सक्छ। त्यस्तो बेला हामीले प्रेषित युहन्‍नाले जस्तै महसुस गर्न सक्छौँ। तिनी आफ्ना साथी गायससित भेटेरै कुरा गर्न चाहन्थे। (३ युह. १३, १४) तर त्यतिबेला गायसलाई भेट्‌न सम्भव छैन भनेर युहन्‍नालाई थाह थियो। त्यसैले तिनले आफूले गर्न सक्ने कुरा गरे; तिनले गायसलाई पत्र पठाए। भाइबहिनीसित भेटेरै कुरा गर्न सम्भव छैन भने टेलिफोन, भिडियो कल वा मेसेजमार्फत सम्पर्कमा रहने कोसिस गर्नुहोस्‌। यसो गर्दा तपाईँले अझै सुरक्षित र शान्त महसुस गर्न सक्नुहुनेछ। अचाक्ली चिन्तित हुँदा एल्डरहरूसित मदत माग्नुहोस्‌। तपाईँले तिनीहरूबाट पक्कै प्रोत्साहन पाउनुहुनेछ।—यसै. ३२:१, २.

प्रकोपको बेला हामी कसरी शान्ति पाउन सक्छौँ?

८. प्रकोपले तपाईँको शान्ति कसरी खोस्न सक्छ?

८ तपाईँ बाढी, भूकम्प वा डढेलोजस्ता प्रकोपहरूमा पर्नुभएको थियो भने लामो समयसम्म पनि तपाईँलाई अचाक्ली चिन्ताले सताउन सक्छ। तपाईँले आफ्नो प्रियजन वा धनसम्पत्ति गुमाउनुभएको थियो भने तपाईँ शोकित हुनुभएको वा निस्सहाय महसुस गर्नुभएको थियो होला वा रिससमेत उठेको थियो होला। तर यसको अर्थ तपाईँ भौतिकवादी हुनुहुन्छ वा तपाईँमा विश्‍वासको कमी छ भन्‍ने त होइन। यस्तो गाह्रो परिस्थितिमा पर्दा नकारात्मक भावनाहरू आउनु स्वाभाविकै हो र कसै-कसैले तपाईँले त्यस्तै प्रतिक्रिया देखाएको चाहन सक्छन्‌। (अय्यु. १:११) तर यस्तो परिस्थितिमा पनि तपाईँले शान्ति पाउन सक्नुहुन्छ। कसरी?

९. येसुले हामीलाई विपत्तिहरूको लागि कसरी तयार पार्नुभएको छ?

९ येसुले गर्नुभएको भविष्यवाणी सम्झनुहोस्‌। संसारका केही मानिस प्रकोपले तिनीहरूलाई कहिल्यै असर गर्नेछैन भन्‍ने सोचाइ राख्छन्‌। तर हाम्रो समयमा प्रकोपहरू झन्‌झनै बढ्‌नेछ र कुनै-कुनै प्रकोपले हामीलाई पनि असर गर्न सक्छ भनेर हामीलाई थाह छ। येसुले आफ्ना अनुयायीहरूलाई अन्त आउनुअघि “ठूलठूला भूकम्प जानेछ” र अरू प्रकोपहरू पनि हुनेछ भनेर बताउनुभयो। (लुका २१:११) साथै उहाँले ‘दुष्टता बढ्‌नेछ’ भनेर पनि भविष्यवाणी गर्नुभयो। (मत्ति २४:१२) अहिले संसारमा भइरहेका अपराध, हिंसा र आतङ्‌ककारी हमलाजस्ता घटनाहरूले यो भविष्यवाणी पूरा भइरहेको प्रमाण दिन्छ। यस्ता विपत्तिहरूले यहोवाका वफादार सेवकहरूलाई पनि असर गरेको छ। तर यहोवाले हामीलाई त्याग्नुभएकोले हामीले यस्ता विपत्तिहरू भोग्नुपरेको हो भनेर येसुले कहिल्यै भन्‍नुभएन। (यसै. ५७:१; २ कोरि. ११:२५) यहोवाले हामीलाई यस्ता विपत्तिहरूबाट चमत्कारपूर्ण ढङ्‌गमा बचाउनुहुन्‍न तर यस्तो अवस्थामा शान्त रहन भने पक्कै मदत गर्नुहुनेछ।

१०. प्रकोपको लागि तयारी गर्दा हामीले कसरी विश्‍वास देखाइरहेका हुन्छौँ? (हितोपदेश २२:३)

१० आपत्‌कालीन अवस्थामा के गर्ने भनेर पहिल्यै तयारी गरेका छौँ भने हामी शान्त रहन सक्नेछौँ। तर के पहिल्यै तयारी गर्नुको अर्थ हामीमा विश्‍वासको कमी छ भन्‍ने हो? त्यसो त होइन। वास्तवमा भन्‍ने हो भने विपत्तिको लागि तयारी गर्दा हामीले यहोवा हाम्रो ख्याल राख्न सक्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गरेको देखाइरहेका हुन्छौँ। कसरी? परमेश्‍वरको वचनले हामीलाई सम्भावित प्रकोपको लागि तयारी गर्न सल्लाह दिन्छ। (हितोपदेश २२:३ पढ्‌नुहोस्‌।) अनि परमेश्‍वरको सङ्‌गठनले लेखहरू, सभाहरू र घोषणाहरूमार्फत हामीलाई आपत्‌कालीन अवस्थाको लागि तयार रहन बारम्बार आग्रह गरेको छ।c के हामी यहोवामा भरोसा राख्छौँ? राख्छौँ भने विपत्ति आउनुअघि नै सङ्‌गठनले दिने सल्लाह पालन गर्नेछौँ।

कारमा बसिरहेकी एक बहिनीको हातमा नक्सा छ। कारमा पानीका बोतलहरू र अरू सामानहरू छन्‌।

प्रकोपको लागि पूर्वतयारी गर्दा तपाईँको ज्यान जोगिन सक्छ (अनुच्छेद ११ हेर्नुहोस्‌)d

११. मार्गरेटको अनुभवबाट तपाईँ के सिक्न सक्नुहुन्छ?

११ मार्गरेट बहिनीको अनुभव विचार गरौँ। तिनी बस्ने इलाकामा डढेलो लागेकोले अख्तियारवालाहरूले तिनलाई तुरुन्तै घर छोड्‌न भन्यो। थुप्रै मानिस एकैचोटि भाग्न खोजेकोले सडकमा गाडीहरूको ताँती लाग्यो र ट्राफिक जाम भयो। बाक्लो धुँवाले पूरै आकाश ढाकेको थियो। मार्गरेट केही समय गाडीभित्रै फसिन्‌। तर तिनले आपत्‌कालीन अवस्थाको लागि पहिल्यै तयारी गरेकी थिइन्‌। तिनले आफ्नो झोलामा वैकल्पिक बाटोको नक्सा पनि राखेकी थिइन्‌। आपत्‌कालीन अवस्थामा अलमल नहोस्‌ भनेर तिनले पहिल्यै त्यस बाटोबाट यात्रा गरेकी थिइन्‌। यसरी पहिल्यै तयारी गरेकोले मार्गरेट बच्न सकिन्‌।

१२. हामी सुरक्षासम्बन्धी निर्देशनहरू किन पालन गर्छौँ?

१२ अख्तियारवालाहरूले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न कर्फ्यु लगाउन सक्छन्‌, सुरक्षित ठाउँमा जान भन्‍न सक्छन्‌ वा अन्य निर्देशनहरू दिन सक्छन्‌। तर कोही-कोही भने निर्देशन पालन गर्न आलेटाले गर्छन्‌ किनभने तिनीहरू आफ्नो सरसम्पत्ति छोडेर जान चाहँदैनन्‌। यस्तो बेला ख्रिष्टियनहरू के गर्छन्‌? बाइबल यसो भन्छ: “प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस: चाहे राजाको किनकि तिनी अरूभन्दा ठूला हुन्‌ वा चाहे राज्यपालहरूको किनकि तिनीहरू . . . राजाले पठाएका मानिसहरू हुन्‌।” (१ पत्रु. २:१३, १४) हाम्रो सुरक्षाको लागि परमेश्‍वरको सङ्‌गठनले पनि निर्देशनहरू दिन्छ। आपत्‌कालीन अवस्थामा हामीलाई सम्पर्क गर्न सजिलो होस्‌ भनेर हाम्रो हालको फोन नम्बर र ठेगाना एल्डरहरूलाई दिन बेलाबेलामा सम्झाइन्छ। के तपाईँले आफ्नो जानकारी दिइसक्नुभयो? साथै घरमै बस्ने कि सुरक्षित ठाउँमा भाग्ने, राहत सामग्री कसरी पाउने वा प्रकोपमा परेकाहरूलाई कहिले र कसरी मदत गर्ने भन्‍नेबारे पनि निर्देशनहरू दिइन्छ। यस्ता निर्देशनहरू पालन गरेनौँ भने हामीले आफूलगायत एल्डरहरूको ज्यान पनि खतरामा पारिरहेका हुन्छौँ। यी वफादार पुरुषहरूले हाम्रो हेरचाह गरिरहेका छन्‌ भन्‍ने कुरा नबिर्सनुहोस्‌। (हिब्रू १३:१७) मार्गरेट भन्छिन्‌: “एल्डरहरू र सङ्‌गठनले दिएको निर्देशन पालन गरेकोले नै मेरो ज्यान जोगियो।”

१३. थुप्रै भाइबहिनीले कसरी आनन्द र शान्ति कायम राख्न सकेका छन्‌?

१३ प्रकोप, युद्ध वा देशभित्र मच्चिरहेको कलहले गर्दा आफ्नो ठाउँ छोड्‌न बाध्य भएका भाइबहिनीले नयाँ परिस्थितिमा घुलमिल हुन र तुरुन्तै आध्यात्मिक गतिविधिमा लाग्न सक्दो कोसिस गरेका छन्‌। खेदोको कारण तितरबितर भएका प्रथम शताब्दीका ख्रिष्टियनहरूले जस्तै तिनीहरूले पनि ‘परमेश्‍वरको वचनको सुसमाचार घोषणा गरिरहेका छन्‌।’ (प्रेषि. ८:४) साक्षीकार्यले तिनीहरूलाई आफ्नो गाह्रो परिस्थितिमा नभई परमेश्‍वरको राज्यमा ध्यान केन्द्रित गर्न मदत गर्छ। यसो गर्दा तिनीहरूले आफ्नो आनन्द र शान्ति कायम राख्न सकेका छन्‌।

खेदोको बेला हामी कसरी शान्ति पाउन सक्छौँ?

१४. खेदोले हाम्रो शान्ति कसरी खोस्न सक्छ?

१४ पक्राउ पर्ने डरविना एकसाथ भेला हुन, साक्षीकार्यमा भाग लिन र अन्य दैनिक कामकुरा गर्न पाउँदा हामी खुसी र सन्तुष्ट हुन्छौँ। तर खेदो आइपर्दा स्वतन्त्र भई यस्ता गतिविधिमा भाग लिन पाउँदैनौँ र यसले हाम्रो शान्ति खोस्न सक्छ। ‘अब के हुने होला’ भन्‍ने चिन्ता र डरले सताउन सक्छ। यस्ता भावनाहरू आउनु स्वाभाविक हो। तर हामी होसियार हुनुपर्छ किनकि खेदो आइपर्दा आफ्ना अनुयायीहरूले ठेस खान सक्छन्‌ भनेर येसुले चेतावनी दिनुभएको थियो। (युह. १६:१, २) त्यसोभए खेदोको बेला हामी कसरी आफ्नो शान्ति कायम राख्न सक्छौँ?

१५. खेदो आइपर्दा हामी किन डराउनुपर्दैन? (युहन्‍ना १५:२०; १६:३३)

१५ परमेश्‍वरको वचन यसो भन्छ: “ख्रिष्ट येसुको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।” (२ तिमो. ३:१२) आन्ड्रे भाइलाई तिनको देशमा साक्षीहरूको काममाथि प्रतिबन्ध लगाइँदा यो सत्य स्विकार्न गाह्रो भयो। तिनले यस्तो तर्क गरे: ‘यहाँ यत्ति धेरै साक्षीहरू छन्‌। अख्तियारवालाहरूले कहाँ एक-एक जनालाई पक्रन सक्छ र?’ यस्तो सोचाइले तिनलाई झनै चिन्तित बनायो। तर अरू भाइबहिनीले भने सबै कुरा यहोवाकै हातमा छोडिदिए। आफू पनि कुनै दिन पक्राउ पर्न सक्छु भन्‍ने कुरा तिनीहरूलाई थाह थियो। तर तिनीहरू आन्ड्रे भाइजत्तिको चिन्तित थिएनन्‌। यो देखेर तिनले आफ्नो मनोवृत्ति परिवर्तन गरे र यहोवामाथि पूर्णतया भरोसा राखे। यसो गर्दा तिनले चुनौतीहरूको बाबजुद शान्ति र आनन्द पाउन सके। यो कुरा हामीलाई पनि लागू हुन्छ। येसुले हामीमाथि खेदो आइपर्नेछ भनेर बताउनुभयो तर हामी वफादार रहन सक्छौँ भन्‍ने आश्‍वासन पनि दिनुभयो।—युहन्‍ना १५:२०; १६:३३ पढ्‌नुहोस्‌।

१६. खेदो आइपर्दा हामीले कस्ता निर्देशनहरू पालन गर्नुपर्छ?

१६ हाम्रो गतिविधिमाथि प्रतिबन्ध लगाइँदा वा कडिकडाउ गरिँदा हामीले शाखा कार्यालय र एल्डरहरूबाट निर्देशनहरू पाउन सक्छौँ। यस्ता निर्देशनहरूले हामीलाई सुरक्षित रहन, आध्यात्मिक भोजन पाइरहन र सम्भव भएसम्म साक्षीकार्यमा भाग लिइरहन मदत गर्छ। कुनै निर्देशन दिइनुको कारण पूरै नबुझे तापनि त्यसैअनुसार गर्न सक्दो कोसिस गर्नुहोस्‌। (याकु. ३:१७) साथै सरोकारै नभएको व्यक्‍तिलाई हाम्रा भाइबहिनीबारे र मण्डलीको गतिविधिबारे नबताउनुहोस्‌।—उप. ३:७.

खाजा खाने बेला एक भाइ आफ्नो सहकर्मीलाई मोबाइलबाट बाइबलको केही कुरा बताउँदै छन्‌।

गाह्रो अवस्थामा पनि आफ्नो शान्ति कायम राख्न हामीलाई केले मदत गर्छ? (अनुच्छेद १७ हेर्नुहोस्‌)e

१७. प्रेषितहरूले जस्तै हामीले पनि कस्तो सङ्‌कल्प गर्नुपर्छ?

१७ परमेश्‍वरका सेवकहरूले “येसुको विषयमा साक्षी दिने काम पाएका छन्‌।” सैतानले उनीहरूको खेदो गर्नुको एउटा प्रमुख कारण यही हो। (प्रका. १२:१७) तर हामी सैतान र त्यसको संसारदेखि डराउनुपर्दैन। विरोधको बाबजुद साक्षी दिने र सिकाउने काममा लागिरहँदा हामीले आनन्द र शान्ति पाउन सक्छौँ। प्रथम शताब्दीमा यहुदी न्यायपरिषद्‌ले प्रेषितहरूलाई साक्षीकार्य बन्द गर्न आदेश दिँदा तिनीहरूले यहोवाको आज्ञा पालन गर्ने छनौट गरे। तिनीहरू साक्षीकार्यमा लागिरहे र यसले तिनीहरूलाई आनन्दित हुन मदत गऱ्‍यो। (प्रेषि. ५:२७-२९, ४१, ४२) हाम्रो काममाथि कडिकडाउ गरिँदा हामी पक्कै पनि चनाखो हुनुपर्छ। (मत्ति १०:१६) तर हामीले यहोवालाई खुसी बनाउन र जीवन बचाउने काममा भाग लिन सक्दो गऱ्‍यौँ भने आनन्द र शान्ति अनुभव गर्न सक्नेछौँ।

“शान्तिका परमेश्‍वर [तपाईँको] साथमा हुनुहुनेछ”

१८. गाह्रो अवस्थामा हामीलाई कस्तो शान्ति चाहिन्छ?

१८ एकदमै गाह्रो परिस्थितिमा पनि हामी आफ्नो शान्ति कायम राख्न सक्छौँ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। यस्तो बेला हामीलाई चाहिने शान्ति भनेको परमेश्‍वरको शान्ति हो र यो हामीलाई यहोवाले मात्र दिन सक्नुहुन्छ। महामारी, प्रकोप वा खेदोको सामना गर्नुपर्दा यहोवामा भर पर्नुहोस्‌। उहाँको सङ्‌गठनसित नजिक भइरहनुहोस्‌। सुन्दर भविष्यको प्रतीक्षा गर्नुहोस्‌। यसो गर्नुभयो भने “शान्तिका परमेश्‍वर [तपाईँको] साथमा हुनुहुनेछ।” (फिलि. ४:९) अर्को लेखमा सङ्‌कष्टको सामना गरिरहेका भाइबहिनीलाई परमेश्‍वरको शान्ति पाउन कसरी मदत गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ।

निम्न परिस्थितिमा तपाईँ कसरी शान्ति पाउन सक्नुहुन्छ?

  • महामारीको बेला

  • प्रकोप आइपर्दा

  • खेदो भोग्नुपर्दा

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

a यहोवाले उहाँलाई प्रेम गर्नेहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँले दिनुहुने शान्ति के हो र यो हामी कसरी पाउन सक्छौँ? “परमेश्‍वरको शान्ति”-ले महामारी, प्रकोप र खेदोको सामना गर्नुपर्दा हामीलाई कसरी मदत गर्न सक्छ? यी प्रश्‍नहरूको जवाफ हामी यस लेखमा छलफल गर्नेछौँ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

c ब्यूँझनुहोस्‌! सङ्‌ख्या ५, २०१७ को “विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू” भन्‍ने लेख हेर्नुहोस्‌।

d तस्बिरको व्याख्या: एक बहिनीले सुरक्षित ठाउँमा भाग्न पहिल्यै तयारी गरिन्‌।

e तस्बिरको व्याख्या: हाम्रो गतिविधिमाथि कडिकडाउ गरिएको देशमा बस्ने भाइ चनाखो भई साक्षी दिँदै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने